काठमाडौँ — पर्यटक आकर्षित गर्न सेवामा विविधता आवश्यक रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रमको दोस्रो सत्र ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ मा बोल्दै उनले पर्यटकलाई विभिन्न सेवा सुविधा दिनुपर्ने बताए ।
‘हामीले दिने सेवा हरेक किसिमको हुनुपर्छ । धेरै पैसा एकै पटक लिनुपर्छ भन्ने होइन, राम्रो सेवा दिन सक्नु पर्छ । सेवामा विविधता भए पर्यटकलाई आकर्षित गर्न सक्छौ,’ उनले भने, ‘पैसा खर्च गर्ने पर्यटकलाई दिनुपर्ने सेवा सुविधा नै हो । गुणस्तरीय सेवा सुविधा दिन सके राम्रै हुन्छ ।’
आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उनले ५ सय रुपैयाँको सेवाबाट ५०/६० हजार रुपैयाँ आम्दानी गरेको बताए ।
‘हामीले गर्ने सेवामा ५ सय रुपैयाँबाट सेवा दिन्छौं । आउने व्यक्तिले दिनमा ५० देखि ६० हजार रुपैयाँ खर्च गरेर जानुहुन्छ,’ उनले भने, ‘त्यसैले सेवा महत्त्वपूर्ण हो । विविधता आवश्यक छ।’
द क्लिफ प्रोजेक्ट ३ वर्षमा सम्पन्न गर्न लक्ष्य रहे पनि ६ वर्षमा तयार भएको उनले सुनाए । प्रोजेक्ट सञ्चालनको अवधिमा सरकारबाट केही सहयोग नपाएको उनले बताए ।
‘द क्लिफ ल्याउँदा सजिलो थिएन, धेरै चुनौती पार गरेको सञ्चालन गरेका छौ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रोजेक्ट सक्न ६ वर्ष लाग्यो,’ उनले भने, ‘यस क्रममा सरकारले केही सहयोग गरिदिन्छ भनेर अपेक्षा गरेनौं । नीति नियमअनुसार नै गर्यौं । हामीले सपना देखेका थियौँ, नौलो बन्नु गर्नुपर्छ भन्ने थियो ।’
कार्कीका अनुसार द क्लिफले २ सय २८ मिटर अग्लो र ५ सय २० मिटर लम्बाइको पुल बनाएको छ । पुल एसियाकै नमुना बनेको उनको दाबी छ । ‘नेपालले प्राकृतिक देन पाएको छ, त्यही हिसाबले नमुना बनाएर अगाडि बढ्यो । सबै जनाले मन पनि पराएका छन्,’ उनले भने, ‘कोभिडको बीचमा सानो मनले सञ्चालनमा ल्यायौँ । सर्वसाधारण धेरै आए, कुस्मामा पूरै जाम थियो । सबैको साथ पाएका छौं ।’
