स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले बजेट छुट्याउनु पर्छ : रामकली खड्का

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Government should allocate budget to create jobs in the country: Ramkali Khadka

काठमाडौँ — महिला सीप विकास संस्था, पोखराकी कार्यकारी निर्देशक रामकली खड्काले पढ्न नपाएका महिलाहरू विदेश जानबाट रोक्नुपर्ने बताइन् । कान्तिपुर मिडिया ग्रुपले पोखरामा आयोजित ‘गन्तव्य गण्डकी’ कार्यक्रमको दोस्रो सत्र ‘मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार’ मा बोल्दै  खड्काले सरकारले रोजगारी सिर्जनाका लागि बजेट छुट्याउनु पर्ने बताइन् ।

‘पढेलेखेकाहरू युरोपका देशमा जाने र अवसर पाइने तर नपढेका महिलाहरू खाडी मुलुकमा जाने हुन्, त्यसलाई सरकारले रोक्नुपर्छ,’ उनले भनिन्, ‘महिलालाई रोजगारी दिनका लागि सरकारले बजेट नै छुट्याउनु पर्छ, सरकारले ध्यान दिए हुन्थ्यो ।’

सुरुमा अनुदान दिएर स्वरोजगार बनाउने हो वा के गर्ने हो त्यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । ‘पछिल्लो समय हामी अनुदान/अनुदान भनिरहेका छौँ, तर बिना धितो ऋण पायो भन्दा पाइएन भन्छन्,’ उनले भनिन्, ‘ठूलालाई मात्र छुट्टाएर अनुदान दिएर हुँदैन, अनुदानमा समान पहुँच हुनुपर्छ ।’

घरपरिवारमै बस्न पाउने, रमाउन पाउने र पैसा  कमाउन सकिने भएकाले अधिकांश महिलाहरू हस्तकला व्यवसायमा अघि बढी रहेको समेत उनले सुनाइन् । ‘घरपरिवारमै बस्न पाउने, रमाउन पाउने, पैसा पनि कमाउन सकिनेछ, त्यसैले हस्तकला क्षेत्रमा महिलाको सहभागिता बढाउन हामीले पहल गरिरहेका छौँ,’ उनले भनिन् ।

नेपाल हस्तकला महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त क्षेत्रमा १० लाख जना आबद्ध छन् । हस्तकला क्षेत्रबाट मात्रै वार्षिक १२ अर्ब भन्दा बढीको कारोबार हुने समेत उनले जनाइन् । ‘एसएलसी पास नभएका, पढ्न नपाएका छोरीहरू बाध्य भएर विदेश जानुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘उनीहरू धेरै महत्त्वाकाङ्क्षी हुँदैनन्, छोराछोरीलाई उच्च शिक्षा दिन र घरबार चलाउनकै लागि विदेश जान बाध्य भइरहेका छन् ।’ विदेश जाने महिलाहरूलाई रोक्न सकियो भने मुलुकको गरिबी निवारण कम गराउन समेत मदत पुग्ने उनको तर्क छ । 

कान्तिपुर

Link copied successfully