बेंसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध

आश्विन १२, २०८१

कान्तिपुर संवाददाता

Bensisahar-Chame road and Madhyapahari road blocked

लमजुङ — वर्षाका कारण बाढीपहिरो जाँदा शुक्रबार रातिदेखि हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

 यस्तै, बाढीले सडक बगाउँदा लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठका अनुसार मनाङतर्फ लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, रामबजार काप्रेभीर र च्याम्चेको अक्टोपस झरना नजिकै पहिरोले सडक अवरुद्ध बनाएको छ ।

यस्तै, सुन्दरबजार नगरपालिका ५, खहरेलगायत आसपासका खोल्साखोल्सीमा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको उनले बताए । यस्तै, बेंसीसहरदेखि घलेगाउँ–भुजुङतर्फ जाने सडक बेंसीसहर नगरपालिका ९ र ६ को सीमावर्ती क्षेत्र पुमाभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार बेंसीसहर–चामे सडक खण्डको लमजुङतर्फ रामबजार र च्याम्चेमा पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवागमन रोकिएको बताए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बिहीबारदेखि निरन्तर पानी परिरहेको र बाढीपहिरोका कारण सडकहरु अवरुद्ध भएको बताए । उनले सडक खुलाउने प्रयास भइरहेको बताए । उनले अत्यावश्यक कामबाहेक जोखिम मोलेर नहिँड्न नागरिकलाई सुझाव दिएका छन् ।

बाढी पहिरो

कान्तिपुर

Link copied successfully