केरुङे खोलाको बाढीले कावासोती जलमग्न

असार २४, २०७८

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखेर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो । 

कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ । महेन्द्र राजमार्गमा पनि पानी बगेका कारण आउजाउ गर्न समस्या भएको छ । खोला बगेका कारण कतिपय स्थानमा सडक नै देखिएको छैन । 

कावासोती रेडक्रस शाखाका अध्यक्ष वेदप्रसाद न्यौपानेले कावासोती नगरपालिका वडा नम्बर १ हात्तिखोरवाट खोलाको बाढी गाउँतिर पसेका कारण राजमार्गमा डुबान भएको टेलिफोनमा जानकारी दिए । उनले कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी पाइप पनि १ किलोमिटर बगाएको जानकारी दिए ।

बिहीबार बिहानैबाट कावासोती नगरपालिका वडा नम्बर ५ र ६ का बस्तीमा खानेपानी आपूर्ति बन्द भएको संस्थाका सचिव दीपक लम्सालले जानकारी दिए । 

बाढी-पहिरो

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully