सयौं उपस्थित धान रोपाइँमा प्रजिअ नै सहभागी
पर्वत — गत सोमबार जिल्ला प्रशासन कार्यालयले आगामी २४ असारसम्मका लागि जिल्लाभर निषेधाज्ञा थप्ने निर्णय गर्यो । उक्त निर्णयमा विवाह, मृत्युलगायतका संस्कारमा समेत १० जनाभन्दा बढी भेला भए विभिन्न ऐन र विधेयकबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
आफैंले हस्ताक्षर गरी निषेधाज्ञा जारी गरेको २४ घण्टा नबित्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री मोदी गाउँपालिकामा आयोजित रोपाइँ जात्रामा पुगिन् । मोदीमा आयोजित धान दिवसमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, इजरायली राजदूत हनान गोडरलगायत करिब सय बढी सहभागी थिए । उक्त समुहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत जिल्लाका मुख्य तालुकदार निकायका प्रमुख पनि सहभागिता थिए ।
त्यतिमात्रै होइन, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान जोन, फलेबास नगरपालिका र कृषि निर्देशनालय पोखराले फलेबास–४ मुडिकुवामा एक सय बढीको भीडभाड गरेर धान दिवस भव्यरूपमा मनाइयो । त्यहाँ रोपाइँभन्दा पनि औपचारिक कार्यक्रम र विभिन्न नेताहरूको भाषण सुनाउन सर्वसाधारणलाई भेला पारिएको थियो । भाषण गर्नेमा फलेबासका नगरप्रमुख, जिल्ला समन्वय प्रमुख, एमालेका विभिन्न जिल्ला नेता, विभिन्न कार्यालयका प्रमुखलगायत थिए ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले गाउँको पुरानो याद दिलाउन धान दिवस मनाउन गाउँमै आएको बताएका थिए । सुरुमा फलेबास आउने कार्यक्रम तय गरेका तिमिल्सिना निषेधाज्ञाको बीचमा भीडभाड हुने र त्यसको विरोध हुने कारण जन्मगाउँ गएका थिए । ‘मुडिकुवा नै जाने कार्यक्रम थियो,’ उनीनिकट स्रोतले भन्यो, ‘सामाजिक सञ्जालमा विरोध हुने देखिएपछि गाउँमा रोपाइँ गर्ने निधो गर्नुभयो ।’
आफैं जारी गरेको निषेधाज्ञा तोड्दै भीडभाड गरेर रोपाइँ जात्रामा निस्किएकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र स्थानीय प्रशासनको सामाजिक सञ्जालमा खरो विरोध भइरहेको छ । बिभिन्न राजनीतिक दलदेखि सर्वसाधारणसम्मले प्रशासनको व्यवहारप्रति आक्रोश पोखेका छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बालकृष्ण पौडेल सामाजिक सञ्जालमा लेख्छन्, ‘नियम कानुन गरिबलाई मात्रै हो । धनीलाई पटक्कै छुँदैन हाम्रो नेपालमा । समाजवाद उन्मुख गरिबमारा व्यवस्था ।’ राप्रपा नेपालका जिल्ला नेता प्रकाश पौडेल सामाजिक सञ्जालमै लेख्छन्, ‘कानुनको धज्जी उडाउने र यस्तो कार्यक्रम आयोजना गर्ने सबैलाई कानुनी कारबाही हुनुपर्छ । होइन भने अब निषेधाज्ञा जनस्तरबाट अवज्ञा हुन सक्छ ।’ परशुराम सुवेदीले प्रशासन र सरकारी निकायबाटै निषेधाज्ञा उल्लंघन भएकोप्रति आक्रोश पोख्दै लेखेका छन्, ‘धन्न राजा महेन्द्रले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बनाइदिएका रहेछन् र अहिले हाम्रो सरकारलाई काम लागेको छ ।’
प्रशासनले जारी गरेको निषेधाज्ञाको सूचना अक्षरशः पालना गर्ने हो भने विपन्न, निजी सवारी नभएका खान र उपचार नपाएर मर्नुपर्ने अवस्था आउन सक्ने सर्वसाधारणको चिन्ता छ । ‘कोरोना १ बजेपछि बाजा बजाएर आउँछजस्तो गरी पुलिसले सिट्ठी फुक्दै सटर तान्छ,’ कुश्माका व्यवसायी विनोद शर्माले भने, ‘कि ठप्पै गरिदिए हुन्थ्यो । कि नियमित खोल्न पाए सहज हुन्थ्यो । सीमित समयमा खुल्दा झनै भीडभाड हुन्छ । प्रशासनले यो कुरा किन सोच्दैन ?’ अर्का व्यवसायी प्रदीप ठाकुर प्रशासनको निर्णयप्रति व्यंग्य गर्दै भन्छन्, ‘कुश्मामा कोरोना १ बजेपछि आउँछ रे । प्रशासनले भनेपछि पत्याउनैपर्यो ।’ मुडिकुवाका सागर गौंडेल भन्छन्, ‘दुई जना ग्राहक टेबलमा राखेर खाजा खुवाउँदा सेवा दिने मान्छे हिरासत जान्छ । सयौंको भीडभाड गरेर जात्रा गर्दा प्रजिअज्यू कता लामो निद्रामा हुनुहुन्छ ?’
जिल्लामा कोभिडको संक्रमण बढिरहेको समयमा सयभन्दा बढी मानिस जम्मा पारेर कार्यक्रम गर्दा जोखिम बढेको स्थानीयको गुनासो छ । ‘हामीले दुई/चार जना आएर अनौपचारिक कार्यक्रम होला भनेर रिोध जनाएनौं,’ मुडिकुवाका दिनेश लामिछानेले भने, ‘लस्करै लगाएर यत्रा मान्छे आएपछि हामीलाई बाहिर निस्किनै डर भयो । केटाकेटी कोठामा थुन्नुपरेको छ । केही भइहाले कसले जिम्मा लिन्छ ?’
मानिसको भीड जम्मा पारेर कार्यक्रम आयोजना गरिएको विषयमा प्रजिअ पाण्डेले प्रतिक्रिया दिन मानिनन् । ‘यस विषयमा म पछि कुरा गर्छु,’ पाण्डेले भनिन् । प्रशासनका प्रशासकीय अधिकृत विमल गौतमले राष्ट्रिय सभा अध्यक्ष सहभागी कार्यक्रममा भीडभाड नभएको दाबी गरे । ‘राम्जामा औपचारिक कार्यक्रम भएन । भीडभाड पनि खासै थिएन,’ गौतमले भने, ‘मुडिकुवामा भएको कार्यक्रमबारे मैले प्रतिक्रिया दिन मिल्दैन ।’
