गोरखामा धार्मिक स्थलको निषेधाज्ञा हट्यो

मंसिर २५, २०७७

हरिराम उप्रेती

गोरखा — यहाँका धार्मिक स्थलहरुमा निषेधाज्ञा हटाइएको छ । बिहीबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

कोरोना जोखिम बढेसँगै चैत दोस्रो साताबाट धार्मिक स्थल प्रवेशमा सर्वसाधारणलाई रोक लगाइएको थियो ।

निषेधाज्ञा हटेसँगै मठ, मन्दिर, गुम्बा मस्जिद,चर्च लगायतका स्थानमा दर्शन तथा पूजा गर्न सर्वसाधारणका लागि शुक्रबारबाट खुला भएको छ । प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखा कालिका र गोरखनाथ मन्दिर खुलाउने तयारी थालिएको छ । मनकामना मन्दिर मंसिर २८ गतेबाट खुलाउने तयारी थालिएको छ ।

भक्तजन तथा दर्शनार्थीलाई व्यक्तिगत स्वास्थ्य तथा सुरक्षामा ख्याल गरी मास्कको प्रयोग गर्न,भौतिक दुरी कायम गर्न, भिडभाड नगर्न, स्वास्थ्य सचेतना लगायत स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरिएको प्रशासन कार्यालका अधिकृत हर्क रोकाले बताए । 

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully