मर्दी ट्रेकमा पीसीआर रिपोर्ट अनिवार्य

कार्तिक १८, २०७७

दीपक परियार

पोखरा — अन्नपूर्ण क्षेत्रमा अन्यत्रका गन्तव्य बन्द हुँदा खुला भएको एकमात्र पदयात्रा मार्ग थियो, मर्दी हिमाल ट्रेक । चल्तीको यो पदयात्रा मार्गले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ७, ८ र ९ र अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडा छुन्छ ।

दसैं टीकाको अघिपछि मर्दी जानेको घुँइचो नै लाग्यो । कात्तिक २१ पछि यो क्षेत्रमा पदयात्रा गर्न पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । 

त्यस क्षेत्रका व्यवसायी, जनप्रतिनिधि र अन्य सरोकारवालाको भेलाले मंगलबार उक्त निर्णय गरेको हो । अब मर्दी जान चाहनेले ७२ घण्टाभित्र कोरोना नेगेटिभ देखिएको पीसीआर रिपोर्ट साथमै बोक्नुपर्छ । उक्त पदयात्रा मार्ग असोज १५ देखि खुला छ । दसैं बिदा सुरु भएसँगै आन्तरिक पर्यटकको चाप बढेको होटल व्यवसायी सुदिप गौतमले बताए । उनका अनुसार दसैं टीकाको अघि र पछिका ४–५ दिन दिनमै २ सय ५० पर्यटक मर्दी ट्रेक पुगे ।

अत्यधिक पर्यटक पोखराबाटै गए । काठमाडौं, चितवन र बुटवलबाट केही पर्यटक पुगे । हाल उक्त संख्या घटेर ३०–३५ पुगेको छ । पर्यटकको चहलपहल बढेसँगै पीसीआर रिपोर्ट अनिवार्य गर्नुपरेको उनले बताए । ‘यो ट्रेकमा स्थानीयको बसोबास क्षेत्र धेरै छ,’ उनले भने, ‘सुरक्षित तरिकाले चलाउनुपर्‍यो भन्ने सबैको सल्लाहमा यो निर्णय गर्‍यौं ।’ 

समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को चेकपोस्ट र ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को टिम काउन्टरसँग सहकार्य गरी पीसीआर भए नभएको जाँच गर्ने तयारी गरेको बताए । मर्दीको प्रवेश विन्दु धम्पुस र अस्ट्रियन क्याम्प (ठूलो खर्क) मा रहेको एक्याप चेकपोस्ट भने बन्द छ । 

तिहारपछि चेकपोस्ट खुल्न सक्ने एक्याप इलाका संरक्षण कार्यालय ल्वाङका पर्यटन सहायक शिव देवकोटाले बताए । पदयात्रामा आउनेले पीसीआर रिपोर्टसँगै परिचय खुल्ने कागजपत्र बोक्न समेत उनको सुझाव छ ।

मर्दी ट्रेक ३ देखि ५ दिनमा पूरा गर्न सकिन्छ । पोखराबाट धम्पुस हुँदै पोथाना–देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै मर्दी बेस क्याम्प पुगेर सिदिङ, घलेल हुँदै फर्किन ५ दिन लाग्छ । सिदिङसम्म सिधैं गाडीमा पुगेर त्यहाँबाट लो क्याम्प, हाइ क्याम्प हुँदै पुन: त्यहीं बाटो फर्किंदा ३ दिनमा पूरा गर्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको लान्द्रुक, ठूलोखर्क हुँदै पनि मर्दी पुग्छन् । तर अहिले लान्द्रुकका होटल रेस्टुरेन्ट भने बन्द छन् । अन्नपूर्ण बेस क्याम्प (एबीसी) बाट फर्कने पर्यटक मर्दीतिर उकालो लाग्न सक्छन् । हाइक्याम्पबाट अधिकासं पदयात्री ४ हजार मिटर उचाइमा रहेको भ्यू प्वान्ट पुगेर फर्किन्छन् । ४ हजार ५ सय मिटर उचाइको मर्दी हिमाल बेस क्याम्प पुगेर फर्किन हाइक्याम्पबाट ७–८ घण्टा लाग्छ ।

मर्दी ट्रेकमा धम्पुस, ल्वाङ, घलेल, लुम्रे, सिदिङ लगायत बस्ती पर्छन । माछापुच्छ्रे–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडी पीसीआर अनिवार्य गर्दा पर्यटक घट्ने चिन्ता भन्दा पनि जिउ ज्यानको सवाल प्रमुख भएको बताउँछन् । भन्छन्, ‘थोरै पर्यटक हुँदा सुरक्षित रुपमा व्यवस्थापन गर्न व्यवसायीलाई सजिलो हुन्छ ।’ मर्दीसँगै माछापुच्छ्रे मोडल ट्रेक पुग्ने पदयात्रीलाई पनि पीसीआर अनिवार्य गरिएको उनले बताए । 

अन्नपूर्ण संरक्षण क्षेत्रका पदमार्गमध्ये हाल मनाङको तिलिचो र कास्कीको माछापुच्छ्रेमा मात्रै खुला छन् । यी दुवै पदमार्गमा पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully