लमजुङ — लमजुङमा बिहीबार एक स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा एक स्वास्थ्यकर्मीसँगै एक जना कर्मचारी र २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रशासनका अनुसार लमजुङ मोडेल अस्पतालका एक जना स्वास्थ्यकर्मी, क्व्होलासोंथर गाउँपालिकाका एक कर्मचारी र सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायिक तालिम केन्द्रका २ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कन्ट्याक्ट ट्रेसिङको आधारमा २ जना सैनिकमा कोरोना देखिएको हो र स्वास्थ्यकर्मी र कर्मचारीमा कम्युनिटी स्क्रीनिङमा कोरोना पुष्टि भएको हो बताए । उनका अनुसार सबैलाई आइसोलेसनमा राखिएको छ ।
लमजुङ मोडेल सामुदायिक अस्पतालमा नयाँ बिरामी भर्नामा रोक लगाइएको छ । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म (मिदिमखोला वारी) सिल गरिएको बताए । उनले कार्यालय पनि एक सातासम्म बन्द गरिएको बताए । कोरोना संक्रमित बढ्दै गएपछि लमजुङको बेंसीसहरमा बुधबारदेखि १ सातासम्मको लागि निषेधाज्ञ जारी गरिएको छ ।
बिहीबार ४ जना संक्रमित थपिएसँगै लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ । यीमध्ये आइसोलेसनमा ३२ जना छन् । अरु संक्रमित निको भएर घर फर्किसकेका छन् ।
