गोरखाको लक्ष्मी बजार सिल

श्रावण २२, २०७७

हरिराम उप्रेती

गोरखा — एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा थप तीन जनामा संक्रमण देखिएपछि गोरखा नगरपालिका–९ को लक्ष्मी बजार क्षेत्र सिल गरिएको छ । बिहीबार बसेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित कमान्ड पोष्टको बैठकले चार किल्ला तोकेर लक्ष्मी बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो । 

पूर्वतर्फ खोलखोले चोक, पश्चिम टक्सार सातदोबाटो, उत्तरको सिर्दी खोला र दक्षिणको लुदि खोलाको सिमा क्षेत्र भित्रको क्षेत्र सिल गरिएको हो । कोरोना भाइरस संक्रमण थप फैलन सक्ने जोखिम न्यूनिकरण तथा संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ बढाउन वडाको सिफारिसको आधारमा उक्त क्षेत्र सिल गरिएको जिल्ला प्रशासनका अधिकृत हर्क रोकाले बताए । उक्त क्षेत्रलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । ‘अत्यावश्यक बाहेकको काममा हिँडडुल गर्न पाइँदैन, सार्वजनिक सेवा प्रवाह पनि तत्कालका लागि बन्द हुन्छ’, उनले भने । 

गोरखा नगरपालिकाका तीन जनासहित बिहीबार सात जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully