धौलागिरी फेदीमा भारी वर्षा, बाढीले पुल र होटल बगायो

श्रावण ५, २०७७

म्याग्दी — धौलागिरी हिमालय श्रृंखलाको फेदीमा भारी वर्षापछि त्यसक्षेत्रबाट झर्ने खोला म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसाखोलामा बाढीले विभिन्न संरचनामा क्षति पुर्‍याएको छ । 

भारी वर्षापछि रुप्सेखोलामा आएको बाढीले छहराको छेउमा रहेको एउटा होटल र एस्काभेटर बगाएको स्थानीय इन्द्रसिं शेरचनले बताए । शेरचनका अनुसार रुप्सेखोलामाथि निर्माणाधीन मोटरपुलमा प्रयोग भएको एस्काभेटर र नजिकै पार्किङ गरेको एउटा बस पनि बाढीले बगाएको छ । 

त्यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार तल्लो घाँसाको ठाडो खोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा निर्माणाधीन पुल बगाएको छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दी र राहुघाट खोलामा पनि बाढी आएको छ । यी खोलाले ठूल्ठूला रुखमुढा बगाएको छ । बाढी पूर्वानुमान महाशाखाको वेबसाइटको रेनफल वाचमा म्याग्दीमा घोरेपानी, तातोपानी र दरवाङ तीनवटै स्टेसनले पानी परेको देखाएको छैन । तर कालीगण्डकी नदीमा बहाव बढ्दो देखाएको छ ।

बाढी-पहिरो

Link copied successfully