कोरोना नियन्त्रणका लागि गण्डकीका ११ जिल्लालाई ८० लाख रुपैयाँ

जेष्ठ २६, २०७७

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेश सरकारले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि प्रदेशका ११ वटा जिल्लालाई ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को वैठकले ८० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेशभित्र कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि सरकारले व्यवस्थापन गर्नको लागि सबै जिल्लामा आर्थिकको आवश्यक परेको भन्दै रकम उपलब्ध गराउन लागेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । वैठकले तनहुँको भानु नगरपालिकाको केन्द्र परिवर्तन गर्नका लागि संघीय सरकारसँग सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशको प्रवेश नाका मुग्लिङमा स्थापना हुने नयाँ प्रहरी पोस्टको भौतिक निर्माणको लागि १४ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको प्रवक्ता बस्नेतले बताए । नयाँ संरचना भएकाले भवनसहित किचन र शौचालय पनि निर्माण गर्ने गरी रकम विनियोजन भएको उनले जनाएका छन । यसैगरी भौतिक पूर्वाधारको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सम्बन्धमा पनि निर्णय गरेको छ ।

संघीयतासँगै जिल्लाबाट प्राप्त सेवाबाट जनता वञ्चित थिए । मनाङका बासिन्दा खानेपानीको माग गर्दै गोरखा जिल्ला पुग्नुपर्ने जस्तो समस्याको अन्त्य गर्न आफ्नै जिल्लाबाट सेवा पाउने गरी प्रदेशका संरचना निर्माण गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस

प्रतीक्षा

Link copied successfully