कांग्रेसजनलाई ओनसरीको आग्रह : मलाई काठमाडौंमा जिताउनुस्, हामी रोल्पाका कांग्रेस जिताउँदैछौं - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसजनलाई ओनसरीको आग्रह : मलाई काठमाडौंमा जिताउनुस्, हामी रोल्पाका कांग्रेस जिताउँदैछौं 

'दुई-दुई पटक संसद् विघटन गर्ने ओलीलाई निर्वाचनबाट जनताले दण्डित गर्नुपर्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले मंसिर ४को निर्वाचनमा माओवादी,  कांग्रेस र एकीकृत समाजवादी अर्काप्रति इमान्दार रूपमा प्रस्तुत हुने बताएकी छन् । सत्तारुढ गठबन्धनले साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन् ।

४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रुपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रुपमा लिनुपर्ने उनको भनाइ थियो । घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रूपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र काँग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाण्डौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् । घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् ।

‘कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘कांग्रेस मतदातालाई लक्षित गर्दै उनले भनिन्, ‘तपाईंहरु हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर कांग्रेसका उम्मेदवार जिताउँदैछौं । कतै कलम र कतै ग्लासको जित गराउँदैछौं ।’

त्यस्तै घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छिन् । ओली प्रधानमन्त्री हुँदा दुईदुई पटक संसद् विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने उनको भनाइ छ । 'यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे ? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिस्ट पार्टीलाई फेरि फोर्नका लागि बहुमत ? वा दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शय्यामा पुर्‍याउनको लागि बहुमत ? वा उहाँले गरेको यो बीचको तानाशाही प्रवृत्ति र यो बीचको कुकर्मको लागि बहुमत ? केका लागि भोट केपी ओलीलाई ? मैले आज उहाँलाई भोट दिनुपर्ने कारण देखेको छैन,' उनले भनिन्, 'उहाँले इतिहासमा ठूलो भूल गर्नुभएको छ । जनताले ५ वर्षका लागि कम्युनिस्टलाई चलाउन दिएको देशको जनादेशलाई कुल्चिएर उहाँले जे अपराध गर्नुपर्छ, उहाँलाई भोट होइन,नेपाली जनताले दण्ड दिनुपर्छ ।'

प्रकाशित : कार्तिक २८, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्

पदक विजेता सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर जिल्ला खेलकुद विकास समितिले नवौं राष्ट्रिय खेलकुदका पदक विजेता ललिपतुरका खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य गरी ७३ पदक विजेतालाई सम्मान गरिएको हो । ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कांस्य जितेका थिए । स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई २ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।

उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाली कांग्रेसका नेता मदनबहादुर अमात्य, ललितपुर क्षेत्र २ ‘ख’ का कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकारलगायतले सम्मान प्रदान गरे ।

प्रकाशित : कार्तिक २८, २०७९ १९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×