'राजनीतिक आन्दोलन र सिद्धान्तहरू समुन्द्रको छाल जस्तै हो । कहिले आउँछ, कहिले फेरि फर्कन्छ ।'
काठमाडौँ — भक्तपुर नगर कला, संस्कृति, पुरातत्वको दृष्टिकोणले आफ्नै पहिचान छ । यो पहिचानसँग त्यहाँको सरसफाई, शिक्षा, स्वास्थ्यमा सुधार पनि जोडिएको छ । २०४८ देखि भक्तपुर १ बाट निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टीको अर्को पहिचान भक्तपुर भएको छ ।
२०४८ मा प्रतिनिधिसभामा ४ सिट जितेको नेमकिपा हाल एक सिटमा सीमित भए पनि भक्तपुर नगरका बासिन्दाको भने सँधै मन जित्दै आएको छ । ०७४ को निर्वाचनदेखि पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले दोस्रो पुस्तालाई चुनावी मैदान खाली गरे । भक्तपुर बदल्न कसरी सम्भव भयो ? यस्तै विषयमा ८२ वर्षीय बिजुक्छेंसँग कान्तिपुरका गंगा बीसी र लिला श्रेष्ठले गरेको अन्तर्वार्ता :
चुनावमा उम्मेदवार हुनुहुन्न, केमा व्यस्त हुनुहुन्छ ?
साथीहरू कहिलेकाहिँ जिज्ञासा लिएर आउनुहुन्छ । पार्टीभित्रबाटै पनि जिज्ञासा लिएर आउनुहुन्छ । जिल्ला–जिल्लाबाट सम्पर्कमा आएका साथीहरू पनि भेटेरै हामी कुरा गरौं भन्ने हुन्छ । उहाँहरूको जिज्ञासाको विषयमा पार्टी किन सानो भयो/राष्ट्रिय पार्टी होइन भन्ने प्रश्न गर्नुहुन्छ । राष्ट्रिय भनेर कसरी थाहा पाउने ? देशभरिमा पार्टीको ब्रान्चहरू भएपछि राष्ट्रिय हुन्छ भन्ने कुरा साँचो होइन । दृष्टिकोण कस्तो छ ? राष्ट्रिय दृष्टिकोण छ कि छैन, स्थानीय दृष्टिकोण छ कि धार्मिक ? यो मैले सदनमा धेरैपल्ट सरकारलाई पनि भनेको हो । दृष्टिकोण धर्म र जातको आधारमा पार्टीलाई मान्यता दिनुहुन्न । क्षेत्रको आधारमा पनि दिनुहुन्न । राष्ट्रिय दृष्टिकोण भन्नुहुन्न । राष्ट्रियता भन्दा जाति अर्थ लाग्छ । त्यसकारण कसैले राष्ट्रवादी हुनुहुन्छ भन्दा म होइन भन्छु । देशभक्त हुँ भन्छु । भारत एउटा राज्य हो तर, भारतमा धेरै राष्ट्रहरू छ ।
जातजाति, भाषाभाषी, धर्मको आधारमा देश त एउटै हो । उसको सीमा हुन्छ । स्टेट भन्नलाई उनीहरूको यतियति क्षेत्रफल भन्ने हुनुपर्यो, जनता हुनुपर्यो । सरकार हुनुपर्यो । सार्वभौमिकता हुनपर्यो । सार्वभौमिकता भनेको शक्ति हो । त्यो देशभित्र वा बाहिरी कुनैपनि शक्तिको अगाडि झुक्नु नपरेको होस् भन्ने सिद्धान्त । यदि हामी कुनै धर्मबाट संचालित छौं भने त्यो स्टेट त धर्म जस्तो बस्ने भयो । अर्को भारतले जे भन्छ, हामीले त्यही मान्नुपर्छ भने हाम्रो देश सार्वभौम हुँदैन, त्यो भारतकै एउटा अङ्ग हुन्छ ।
नेमकिपाको मुख्य चुनावी मुद्दा के छ ?
राष्ट्रिय हिसाबले एमसीसीको विरोध नै हो । एमसीसी के हो ? देशलाई फाइदा छ कि बेफाइदा छ भन्ने कुरा राजधानीमा विरोध त भयो । गाउँगाउँ जिल्ला जिल्लामा बहस नभएको हुनाले हामी त्यो कुरालाई बुझाउनको निमित्त लागेका छौं । हाम्रो चुनावको मुद्दा दुई किसिमका छन् । एउटा एमसीसीको समर्थनमा सरकार छ, हामी विरोधमा छौं । नागरिकताको पनि त्यस्तै भयो ।
सबै सरकारमा बस्नेहरूले नागरिकता दिनुपर्छ भन्यो, हामीले हुन्न भन्यौ । यसबाट के-के नोक्सान हुन्छ त, हाम्रो केही रहँदैरहदैन । जस्तो, उदाहरणको निम्ति जन्मसिद्ध अधिकार उनीहरूलाई दिइसकेपछि हामी नागरिकहरूले जसरी सबै कुराहरू उपभोग गर्न पाउँछौं, उनीहरूले पनि पाउने भयो । त्यो भनेको व्यापारमा सबै छुट विदेशहरू दिनुहुँदैन, सेनामा दिनुहुँदैन । गुप्तचर विभागमा दिनुहुँदैन । उनीहरू ‘कमान्डर इन चिफ’ पनि हुने भए । हिजो कुनै एक विदेशी नागरिक जो थियो, उसको भित्री मनसायचाहिँ विदेशी छ भने हामी त्यस्तो मान्छेलाई ‘कमान्डर इन चिफ’ बनाउने, न्यायाधीश बनाउने, प्रधानमन्त्री, राष्ट्रपति बनाउने ? ठीक होइन । संसारमा कँही पनि छैन ।
कसैले अहिले भन्ला एकजना भारतीय मूलको मान्छे त बेलायतमा प्रधानमन्त्री भयो भनेर, उनीहरू त दुई तीन पुस्ता बसी सकेको हो नि त्यहाँ ।
चुनावमा विकासका मुद्दाहरू लिएर उम्मेदवार मैदानमा छन् नि ?
त्यसमा हाम्रो फरक मत छ । जस्तो, हामी अहिले पत्रपत्रिकामा हेर्छौं । उम्मेदवारहरूले बाटो बनाईदिन्छु, यस्तो/उस्तो गरिदिन्छु भन्नु गलत हो । संसद् सदस्यहरू भनेको विकासका कार्यकर्ता होइनन् । विकास स्थानीय निकायको हातमा जान्छ । बरु ठूल्ठूलो आयोजनाहरू, राष्ट्रियस्तरको अर्बभन्दा माथिका योजनाहरू छन् भने योजना आयोगमा पर्छ, त्यो सरकारको निर्णयमा पर्छ ।
थाहा नभएर पनि त्यस्तो भएको हुनसक्छ । जस्तो कि, उत्तर कोरिया त हामी जस्तै सानो छ । आकारमा पनि सानो छ, जनसंख्या पनि थोरै छ । तीनवटा पञ्च वर्षीय योजना (१५ वर्षपछि) उनीहरूलाई चाहिने जति बनिसकेको थियो । हाम्रो त १३/१४ वटा पञ्चवर्षीय योजनाहरू अहिले पनि जहाँको त्यही छ । यहाँ एउटा किला पनि बन्दैन, त्यो बाहिरबाटै आउँछ । किन त्यस्तो भो त ? दृष्टिकोण नै छैन ।
राष्ट्रिय दृष्टिकोण एक जना उम्मेदवारले भन्ने कुरा होइन । देशलाई कता लाने कुरा सिद्धान्त हो । हामी यो बनाउँछौं भनेर भन्ने हो । यहाँ भन्न नहुने, गर्न नहुने धेरै कुराहरू भइरहेको छ । जस्तो, छालाजुत्ता कारखाना, त्यही जुत्ता कारखानालाई पहिले किन सिध्याउनुपर्यो, त्यो स्ट्राटेजीक कुरा छ । त्यो भनेको के हो भन्नु होला भने, सेनालाई कति जुत्ता चाहिन्छ भन्ने कुरा पहिला हिन्दुस्तानलाई भन्यो, हिन्दुस्तानले थाहा पाउँछ । यत्ति लाख सेना, यत्ति हजार प्रहरी रहेछ । जुन कुरा गुप्त राख्नुपर्ने हो, त्यही विदेशलाई थाहा पाउने भो भन्देखि हामीसँग हाम्रो देश रहन्छ कसरी ? ‘शत्रुलाई चिन, आफूलाई चिन लडाईं जित्छ’ भनिन्छ ।
नेपाली कांग्रेसको सरकार आउने बित्तिकै त्यो एकीकरण भयो । त्यो भारत गयो ।नीजि भएन त्यो । यहाँ कारखाना चलेन । अब हामीले सबै उसैसँग माग्नु पर्ने भएपछि हाम्रो देश रहन्छ कसरी ? । यो मुद्दा हिजो पनि हामीले उठायौं, आज पनि हामी उठाउँछौं । त्यसकारण अहिलेको सबै सरकारहरू त्यसमा उत्तिकै जिम्मेवार छ । देशप्रति र जनताप्रति तिनीहरू राम्रोसँग इमान्दार छैनन् ।
२०४८ सालमा नेमकिपाले दैलेख, जुम्ला, भक्तपुर दुई क्षेत्र गरी ४ ठाउँमा जित्यो, अहिले किन खुम्चियो । किन भक्तपुर केन्द्रित भएको हो ?
तुलनात्मक रुपमा म स्वास्थ्यको कारण बाहिर कम निस्किन्छु । राजनीतिक आन्दोलन र सिद्धान्तहरू समुन्द्रको छाल जस्तै हो । कहिले आउँछ, कहिले फेरि फर्कन्छ । उनीहरूलाई के थाहा भयो भने, (भूमिगत काम गर्दाखेरी उनीहरूलाई थाहा भएन त्यो) थाहा भएपछि त धेरै मान्छे हाम्रो पक्राउ परे । लौ यिनीहरू एकजुट भएपछि त नसकिने रहेछ,नछोड्ने रैछ भनेर सबै पार्टी (कांग्रेस, एमाले, माओवादीलगायत) एक भए । अहिले चुनावमा एकै भोटले पनि हारजित हुने नि !
हाम्रो संगठन तुलनात्मक रुपले सबैलाई जित्नसक्ने खालको थिएन । अब हाम्रो देश विभिन्न जातजाती, भाषाभाषीको बनोटको आधारमा छ । अब त्यहाँपछि कसरी हराउने त यिनीहरूलाई धेरै भोट त हातमा लिए । त्यो त ठकुरी ठकुरी बसेको ठाउँ भयो, अनि उनीहरूलाई अप्ठ्यारो परेपछि यो त ज्यापु पार्टी, नेवार पार्टी भनेर भोट किन दिने भन्दै सबै मिले । उनीहरूले पैसा खर्च गर्न थाले धुमधामसित । त्यसपछि हामीसँग अलिकति सचेत भित्रभित्र काम गरेको कार्यकर्ता मात्र रहने भयो ।
पछि त कुन क्षेत्रमा कति भोट पकेटमा रहेछ यिनीहरूको । अनि हाम्रो आधार भत्काइयो । अनि नेपाल जस्तो साक्षरता नै पुरा नभएको ठाउँमा मार्क्सवाद जस्तो ‘हाईली इटलेक्च्यूअल’ कुरा बुझ्छन् त ? थोरै बुझ्छन्, धेरै बुझ्दैनन् । सुरुमा त्यहाँका धनीका छोराहरू पनि विद्यार्थीहरू कोही इञ्जिनियर पढेकाहरू हाम्रो हातमा आए ।उनीहरूले हाम्रो कुरालाई बुझे । त्यसलाई ‘अप्लाई’ गरे तिनीहरूले । यी केटाहरूले त उपद्रो गर्या छ, अब तल्लो जातको पनि उठ्ने भो, गरिबहरू पनि उठ्ने भो, यिनीहरूले त हाम्रै विरोधमा उठेको रहेछन् भनेर संघर्ष गर्न थाले । हामी भर्खर संगठित भएको हुनाले बिगार्न पनि त्यतिकै सजिलो भयो तिनीहरूलाई । गरिबमूलुक पैसा लिइराछ ।
भक्तपुर मोडेल (शिक्षा, स्वास्थ्य, सरसफाई, सम्पदा संरक्षण) कसरी सम्भव भयो ?
दशवर्षे जनयुद्ध ताका हामी जान्थ्यौं मध्यपश्चिमाञ्चलमा । शौचालय खोई भनेर सोध्थ्यौं । माओवादीले आफ्नो इलाकाहरू कब्जा गर्ने, अनि शौचालय बनाउने काम पनि किन गर्ने ? भनेर प्रतिप्रश्न गर्थ्यो ।
चीनको क्रान्ति के हो थाहा छ ? चीनमा सहर पहिला कब्जा गर्छ, त्यो ठाउँ ३/४ वटा कुरा गर्छ । पार्टीका मुख्यमुख्य मान्छेहरूले चौकीको हेरचाह गर्नुपर्ने, बस्तीभन्दा अलि पर राख्नुपर्ने, नङ काट्न दिने, उमालेको पानी मात्र खान दिने । सबैभन्दा पहिले गर्नुपर्ने काम यिनैले गरेको हो । माओवादीलाई यो सोध्दा त्यो त गरेको छैन भन्थे । अनि के को माओवादी नि ?
शिक्षकहरूसँग हामीले सल्लाह गर्यौं । रिजल्ट किन तलमाथि हुन्छ? खै? किन हो भन्थे ।मैले बुझेको कुरा गरौं है । पेटमा जुका भएपछि खाएका सबै कुरा लिक्वीड हुन्छ । जुकाले खान्छ । बालबालिका निदाउन थाल्छ । शक्ति घट्छ । त्यसकारण त्यसको उपचार गर्नुपर्छ । पहिले हाम्रै साथीहरूको स्कुलमा प्रयोग गरेर हेर्दाखेरी ९९ प्रतिशत बालबालिकाको पेटमा जुका देखियो । एक पाटो औषधिउपचार रह्यो, अर्को सफाईमा हुनुपर्यो । त्यसपछि टोलटोलमा सफाई अभियान सुरु भयो । मान्छेहरूको मनमा के आयो भने, धनी मान्छे पो सफा गर्छ, गरिब किन सफा हुनुपर्यो । त्यसको विषयमा हामीले अभियान थाल्यौं ।
समाजवादी देशमा त सबै मजदुर किसानहरू मिलेर काम गर्ने हो, दलहरू त्यसको विरोधी हुन्छन् । हामी जहिलेसम्म सफा रहदैनौं, रोगहरू फैलिरहन्छ, भनेर जनतालाई जागृत गर्यौं । औषधि पसलमा गएर के छ हालचाल भन्दा पेटको औषधि कहीँ पनि बिर्को छैन भन्थे । सफाईले गर्दा पेटको औषधि कम बिकेको प्रष्ट भयो । त्यसपछि स्कुल स्कुलमा स्वास्थ्य जनचेतना संचालन गर्यौं । खुला शौचालय बन्द गरेर टोलटोलमा सफाई अभियान थाल्यौं । सफाई मजदुरको पक्षमा लेखहरू लेख्ने, हरेक टोल हरेक पुस्तकालयमा, वडा कार्यालयमा फोटो राखेर सम्मान गर्ने, इज्जत गर्ने गर्यौं । स्वास्थ्य यसरी सुधार भयो ।
नगरमा शिक्षाको स्तर कसरी सुधार भयो नि ?
म पञ्चायतकालमा भारतबाट आइसकेपछि यहाँका मान्छेहरूले भन्थे- न्याय नपाए गोरखा जानु, एसएलसी पास नभए भक्तपुर जानु । एकचोटी मेरो घरमा जुलुस आयो । एसएसलसीमा चिट चोर्न दिएन भनेर आएको रहेछ । त्यो उनीहरूले एउटा स्कुल खोलेको रहेछ । त्यो स्कुलबाट जाँच दिने रैछ पैसा दिएर । म भाइहरूको पक्षमा छैन है भने । तपाईंहरूको पैसा कतिकति लियो भन्दा लाख-लाख पैसा लिएको पाइयो ।
चिट चोरेर पास गराउनेहरूलाई तुरुन्त पैसा फिर्ता गर्नुस् भने । उनीहरूले स्कुल खोलका रैछन् । प्रश्नपत्र नै किनेर पैसा लिएर पास गरिदिने रैछ । २०३६ सालतिर त्यो पैसा फिर्ता दिन लगायौं । अनि विस्तारै त्यो हट्यो ।
स्कुल अनुगमन गरे । फेल भएका विद्यार्थीलाई तपाईंहरूले किन ग्रेस दिएर पास गर्नुभयो ? यसले के के नोक्सान हुन्छ थाहा छ? भन्ने प्रस्ट पारें । जाँच दिनु भनेको म कति योग्य छु, भनेर हेर्नु हो । हामी के विषयमा कमजोर छौं र बलियो छौं भन्ने कुरामा हामीलाई थाहा हुनुपर्छ । चोरेर पास गरेपछि हाम्रो योग्यता आफैंलाई पनि थाहा छैन । अभिभावकहरूलाई बोलाएर टोलटोलमा शिक्षा अभियान थाल्यौं ।शिक्षमा सुधार हुँदै गयो । हाल भक्तपुरमा महिलाको परिणाम राम्रो छ ।
१५ लाख रुपैयाँमा एमबीबीएस पढाउने भनेर सरकारसँग मेडिकल कलेजको माग गर्नुभएको छ, यो कसरी सम्भव छ ?
विश्वविद्यालयको मान्यता पाएमा सहुलियत शूल्कमा एमबीबीएस पढाउन सकिनेछ । भवन त एकपल्ट बनाएपछि पुग्छ । पहिलो र दोस्रो वर्षसम्म सिद्धान्त पढ्ने हो, तेस्रो वर्षपछि महङ्गो सामग्री आवश्यक पर्छ । त्यो हामीले ल्याउने हो । क्षमतावान शिक्षक, सर्जनहरू ल्याउनुपर्यो, अस्पताल खोल्नुपर्यो, त्यसको निम्ति लाखौं रकम लिन्छ । अहिले नै २ लाख रुपैयाँ लिन्छ । त्यो त पछि हुन्छ । अहिले स्टार्ट गर्न धेरै पैसा चाहिँदैन । जसरी यसअघि संचालित कलेजहरू चलायौं, त्यसैगरी एमबीबीएस पढाउँछौं । नाफाको निम्ति पैसा धेरै लाग्यो । हामीले नाफा लिने होइन । अहिले इञ्जिनियरिङ्ग कलेज पनि पहिले नगरपालिकाले भवन बनाईदियो, पछि विस्तारै विकास भएपछि त उनीहरूको पैसाले नै पुग्छ ।
भक्तपुरको मोडेललाई किन देशव्यापी रुपमा लान सकिएन ?
त्यो विषयमा हामीले यहाँ प्रयोग गर्यौं । ठीकै गर्यौं भन्ने लाग्छ । पहिलेभन्दा धेरै फरक भयो । अब त्यसलाई हामीले आफैंले प्रचार गरेर हिड्नुभन्दा पनि त्यसका रिजल्टहरू के-के आउँछ भनेर हेर्नुपर्ने भयो । अरुले भक्तपुर मोडेल भन्दियो । त्यो जहाँको पनि हुन सक्छ । यहाँकf महत्वपूर्ण कुरा काम गर्दा भ्रष्टाचार हुँदैन ।
नगरपालिकाले चलाएको ल कलेजमा ठेकेदारले के गर्दियो भने, करोडौं रुपैयाँको भवनलाई नक्कली सामान राखेर बनाइदिएछ । हल्ला आउन साथै भवनमा जडान गरेको डण्डी, सिमेन्ट इञ्जिनियरिङ्ग कलेजमा परिक्षण गर्दै टुक्रिने रैछ र भवन तोड्यो । भक्तपुरमा जतिपनि भवन बनेका छन्, त्यसमा एक पैसा पनि भ्रष्टाचार भएन । सामान कलेजले किनेर दिन्छ, काम उनीहरूले गर्छन् । कलेजकै शिक्षकहरूले परिक्षण गर्छन् । आफ्नै घरको काम भन्दा पनि स्वामित्व लिएर काम गरेको हुनाले राम्रो काम भएको हो ।
नेपाल मजदुर किसान पार्टीको समाजवादी मोडेल के हो ?
समाजवाद भनेको उत्पादनका सबै साधनहरू सामाजिकरण हुनु हो । काम प्राइभेट गर्नुस् न । किन तपाईंहरू नगरपालिकाको काम भन्नुहुन्छ ? भनेर सिकाउने त धेरै आए पनि हामीले मानेनौं । निजी भनेको पुँजीवाद हो । यो सार्वजनिक भनेको समाजवाद हो, त्यही भन्थ्यौं । निजीकरण गर्दा फाइदा हुन्छ हामीलाई । तर, गलत हुन्छ । हामी कम्युनिस्ट भन्ने, समाजवाद भन्ने अनि पैसा कमाउने । त्यो हामीबाट हुँदैन भन्यौं । त्यसले के फाइदा भयो भने जनतामा पनि यो भावना उठ्यो । ‘योग्यता अनुसारको काम, काम अनुसारको ज्याला’, यो समाजवादी सिद्धान्त हो । शिक्षकहरू राख्दा पनि योग्य शिक्षकहरू राख्दिने, नातागोता होइन् । उनीहरूले जे काम गर्यो, त्यसको तलब राम्रो दिने । त्यही हिसाबले अगाडि बढेको हो । समाजवादको अर्थ त्यही हो ।
अर्को महत्वपूर्ण कुरा हाम्रो सरकारले गर्न सक्ने तर, नगरेको छ । यहाँ सजिलैसित व्यक्तित्व विकासमा समान अवसर छ । जस्तो, हामी २० जना, ३० जना बीए, एमए पास गरेको होला र एसएलसी पास गरेको होला तर, तिनीहरूलाई फेरि विभिन्न विषयको जानकारी दिने तालिम दिने गर्नुपर्छ । तालिम दिएपछि उनीहरू योग्य हुन्छन् । योग्य भएपछि के विषयमा योग्य छन्, त्यो विषयमा हामीले काम दिने, त्यही अनुसारको ज्यालाको व्यवस्था गर्ने । पक्षपात नगर्ने ।
नेपालमा असली कम्युनिस्ट पार्टी कुन हो ?
त्यसमा त काम हेर्नुपर्छ । मुखले भनेर त हुँदैन । अब अरु अरु देशमा पनि २ सय वर्ष अघि पनि सबैले आफूलाई समाजवादी कम्युनिस्टको नाउँ लिए । त्यो जानजान पुँजीपति वर्गले पनि कम्युनिस्ट नाम दिन्छ, जनतालाई भ्रममा पार्नको निम्ति । त्यसकारण एउटा ‘क्राउड’ नै चल्यो । यो समाजवाद भनेको एउटा ‘ह्याङ’ हो सबैले लगाउँदा लगाउँदा उसको रुप नै बिग्रियो । यहाँ नेपालमा पनि कम्युनिस्ट रुप नै बिग्रिइसकेको छ । हामीले कम्युनिस्ट नराखीकन नेपाल मजदुर किसान राखिदियौं । जनतालाई बुझ्न सजिलो भयो नि त।
तपाईँ चुनावमा किन उम्मेदवार बन्नु भएन ?
एक त आफ्नो शरीरले नै नदिने भयो । नयाँपुस्तालाई नयाँ अनुभव दिनुपर्यो । अब नयाँ साथीहरूपनि भिड्दै छन् नि त ।
संसद्मा पहिले म एक दिन मात्र गयल भएको थिएँ । त्यो पनि हामीलाई धोका दिएको माओवादीले, केही दिन अघिदेखि प्रचण्डजी र बाबुरामजीसँग भेट्ने कुरा मिलाउनुपर्यो भनेर इन्डिया गयौं हामी । जुनदिन हामी कुराकानी गर्ने भन्यौं, त्यही बेलामा यहाँ नागरिकता विधेयक पास गर्दियो हेर्नुस् । एक मतले पास गर्दिएपछि हामी झल्यास्स् भयौं । त्यो धोका हो भनेपछि मैले नारायणकाजीलाई समातें ।
तपाईँको पार्टी संसद्मा आवाज उठाइराख्ने तर सरकारमा कहिले नजाने किन ?
सिद्धान्त त अहिले हामी जेलाई प्रजातन्त्र भनिरहेकाछौं, त्यो त ‘वेस्ट मिनिस्टर सिस्टम’ बेलायतको जस्तो हो नि । बेलायतको सिस्टममा जो बहुमत प्राप्त छ, उसले सरकार चलाउँछ । अर्को कुरा प्रधानमन्त्री भनेको केन्द्र हो । कतिले त बुझेको छैन, त्यसकारण हामी मन्त्रीमण्डलमा जानुहुँदैन । हामीलाई त जनताले सरकारमा जाऊ भनेर त्यस्तो मत दिएकै छैन । त्यसकारण जानुहुँदैन, एउटा सिद्धान्त त्यो हो ।
अर्को सिद्धान्त, यहाँको जनताले नबुझेरै खाली कराउने, मन्त्रीमा गएपछि त भैहाल्छ भन्ने । त्यो जनतालाई थाहा नभएर भनेको । जस्तो, उदाहरणको निम्ति, हामीले निःशुल्क शिक्षा आउनुपर्छ । निःशुल्क स्वास्थ्य आउनुपर्छ भनेर करायौं । अब हामी मन्त्री भएपछि त त्यसलाई गराएर देखाउनुपर्यो । त्यसको प्रस्ताव त क्याबिनेटमा आउँछ । आएपछि हाम्रो बजेट नै छैन, त्यो हुँदैन भन्ने प्रधानमन्त्रीबाट आएपछि बहुमतले त त्यसलाई रिजेक्ट गर्दिन्छ । त्यसबेला हाम्रो साथीहरूको दुईवटा उपाय, कि त चुप लागेर बसेर आलोचना खपिरहनुपर्यो । होइन भने राजीनामा दिनुपर्यो ।
मन्त्रीबाट राजीनामा गर्दा त उसले सुख पाउँदैन । जनताले भन्छ नि तपाईंले के गर्नु भयो ? पुँजीवादी व्यवस्थामा गएर तपाईंले समाजवादको कल्पना गर्नुहुन्छ । वर्षको एकचोटी गाईजात्रा हुने, अर्को गाईजात्रा तपाईंले देखाएको भन्यो भने तपाईं कहाँ भाग्नुहुन्छ ?पुँजीवादी व्यवस्था फोहोरी व्यवस्था हो । फोहोर पानी हो । त्यो फोहोर पानीमा नुहाएर तपाईं सफा बन्नु होला त ? यी सबै कारणले हामीले सरकारमा जान अस्वीकार गर्दै आयौं ।
एकचोटी त माधवजी ले राजाकै अगाडि प्रधानमन्त्री बन्नुस् भन्दिनुभयो । मैले भने, हुँदैन । यसबारे साथीहरूसँग सल्लाह गुर्छ भने । एकैपल्ट ड्याङ्गडुङ्ग बोल्ने त कुरा आएन, अशिष्टता हुन्छ भनेर । हामीले त्यस्तो कुरामा वास्ता गरेनौं ।
१०० वर्षपछिको भक्तपुर लेख्नु भयो, सय वर्षपछिको नेपाल लेख्नु भएन नि ?
त्यसमा ५० वर्षपछिको नेपाल छ नि त । ५० वर्षपछि नेपाल रहन्छ कि रहँदैन एउटा ‘लजिक’ यो छ । छिमेकी अर्को राज्य पनि छ, त्यो गर्न दिँदैन भन्ने जनतामा चेतनाको स्तर बढेको छ । वामपन्थी आन्दोलन इन्डियामा भए पनि त्यो काम गर्दैन । अहिले सम्म भारतीय विस्तारवादको गतिविधिले गर्दा उसले नेपाल खान सक्छ । उसले सेना पठाउन सक्छ । जसरी बंगालमा पठायो । जसरी सिक्किमलाई खाइदियो । यी कुराहरूले राष्ट्रिय लेभलमा नछोएको हो । पहिले भक्तपुरमा मात्र छोएको हो ।
तपाईंहरूले भक्तपुरबाहेक अरु क्षेत्रमा मत मागेको देखिएन नि ?
बुद्धिजीवीसँग हामीले भोट माग्नु पर्दैन, बुद्धिजीवीले आफैंले सोचेर दिने हो । बुद्धिजीविहरूलाई समाजवाद भनेको राम्रोसँग थाहा छ । थाहा नभएको मान्छेलाई पो हामीले भोट माग्ने हो । युनिभर्सिटीमा त बुझेकै मान्छेहरू हुन्छन् । त्यसकारण यो बुद्धिजीविहरूले इनिसेटिभ लिनुपर्छ । हामीसँग सिमित कार्यकर्ताहरू हुन्छन् । प्रोफेसरहरूले नै विद्यार्थीहरूलाई मोटिभेट गर्नुपर्छ यस विषयमा । जहिलेसम्म त्यसो गरिँदैन, त्यतिबेलासम्म देशमा चाँहि परिवर्तन हुन्छ भन्ने कुरा साँचो होइन ।
तस्बिरहरूः इलिट जोशी/कान्तिपुर
