१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन् 

'मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन् ।'
कान्तिपुर संवाददाता

चितवन — एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका हुन् । 

चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन् 

चितवनमा आयोजित चुनावी सभामा सोमबार ओलीले बाटो बिराएर 'समाचार पढ्नुपर्ने' र 'बिरामी जाँच्नुपर्ने' मान्छेहरू उम्मेदवार बनेर आएको अभिव्यक्ति दिएका हुन् । 'मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन्,' उनले भने ।

पूर्वसञ्चारकर्मी लामिछाने चितवन-२ मा उम्मेदवार छन् । त्यहाँ एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार छन् । चितवन-३ मा माओवादी केन्द्रका उम्मेदवार डा. अधिकारी हुन् भने त्यहाँ एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई सघाएको छ ।

कोइरालालाई ओलीले राजनीतिक मान्छे भएको भन्दै भोट मागेका छन् । रहर लागेर कोइराला स्वतन्त्र उम्मेदवार नबनेको ओलीको भनाइ थियो । कांग्रेसको केन्द्रीय सदस्य भइसकेको व्यक्ति दिनेश कोइराला निर्वाचित हुने विश्वास ओलीले लिएका थिए ।

चितवन-१ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले भने यसबीचमा गल्ती गरेको तर अहिले सही ठाउँमा रहेको ओलीले बताए । 'सुरेन्द्र पाण्डे पुरानो, भूमिगतकालदेखि संगठन गरेको मान्छे हो । एमालेको उपाध्यक्ष हो,' ओलीले थपे, 'कहिले मान्छेबाट सानोतिनो गल्ती हुन्छ । उहाँ पनि अलमलमा पर्नुभयो एक समय । हिँड्दा ठेस लाग्दैन भन्न सकिँदैन । अब सम्हालिएर उहाँ भुइँमा हेरेर हिँड्नेमा हुनुहुन्छ ।' अहिले पाण्डेमा कुनै द्विविधा नरहेको र विगतका कुरा सच्याएर अगाडि बढ्न लागेको भन्दै कार्यकर्तालाई जिताउन उनले आग्रह गरेका थिए ।

चितवन निर्वाचन क्षेत्र नम्बर-२ का उम्मेदवार कृष्णभक्त पोखरेल क्षमतावान भएको ओलीको भनाइ थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य रहेका पोखरेल कुशल सांसद तथा कानुन निर्माता रहेको ओलीले बताए । 'क्षेत्र नम्बर २ का कृष्णभक्त पोरखेल । सक्रिय प्रतिनिधि, क्षमतावान प्रतिनिधि, संसद्‍मा पनि उहाँ समितिहरूमा सभापति हुनुभयो । संसदीय मामिलाहरूलाई आफ्नो क्षेत्रभित्र कुशलताका साथ पूरा गर्नुभयो,' ओलीले थपे, 'संसद् कानुन बनाउने ठाउँ हो, बिमारी जाँच्ने ठाउँ होइन । कानुन बनाउन जान्ने पढेका, कानुन बनाएर आएको, संविधान बनाएर आएको कृष्णभक्तलाई अत्यधिक मतले जिताउनुपर्छ ।' पोखरेल प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवधिकार समितिको सभापति थिए ।

प्रकाशित : कार्तिक २८, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?