चुनावपछि कोसँग गठबन्धन गर्ने भन्ने चिन्ता छैन : प्रवक्ता महत

कार्तिक २८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि कोसँग गठबन्धन गर्ने भन्नेबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले चुनावपछि अहिलेकै गठबन्धनको दुईतिहाइ वहुमतको सरकार बन्ने दाबी गरे ।

‘हामीलाई चुनावपछि कोसँग गठबन्धन गर्ने भनेर चिन्तित हुनुपर्ने अवस्था छैन । हामी अहिले नै आगामी पाँच वर्षका लागि निश्चित कुराहरूमा समझदारी बनाएरै चुनावमा होमिएका छौँ,’ उनले भने, ‘चुनावपछि यही गठबन्धनको शक्तिशाली सरकार बन्छ, यही गठबन्धनले अहिलेको व्यवस्थाको रक्षा, संविधानको कार्यान्वयन, मुलुकको विकास र समृद्धिको काम गर्छ ।’

प्रवक्ता महतले यो निर्वाचनमा सत्ता गठबन्धनले स्पष्ट दुईतिहाइ वहुमत प्राप्त गर्ने र चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा पुनः गठबन्धनकै सरकार बन्ने दाबी गरे । प्रवक्ता महतले अहिले देशमा सबैलाई जोड्न सक्ने नेतृत्वको खाँचो रहेको पनि बताएका थिए ।

‘अहिले देशलाई अघि बढाउन सबैलाई जोडेर अघि बढ्न सक्ने नेतृत्व आवश्यक छ । त्यस्तो नेतृत्व गर्न अनुभवी नेता आवश्यक पर्छ,’ उनले भने, ‘नेपाली कांग्रेसमा त्यस्तो अनुभवी नेतृत्वको कमी छैन ।’

प्रवक्ता महतले सामाजिक सञ्जालको घोषणाको भरमा स्वतन्त्रको पछि नलाग्न पनि आग्रह गरे । ‘अहिले स्वतन्त्र, राप्रपा र अन्य पार्टीहरूको नाममा देखिएकाहरू सबै उस्तै अनुहारका छन् । उनीहरूले सामाजिक सञ्जालबाट घोषणा गर्न सक्छन्, तर काम गर्न सहज छैन,’ उनले भने, ‘नेपालको अहिलेको राष्ट्रिय राजनीतिमा सुस्पष्ट नेतृत्व स्वतन्त्रले गर्न सक्दैनन् । सामाजिक सञ्जालमा कसैले घोषणा गर्दैमा देश चल्दैन, देश चलाउनका लागि अनुभव चाहिन्छ, समर्पण चाहिन्छ । अहिले जुन प्रवृत्ति देखिएको छ, यस्तो प्रवृत्ति लोकतन्त्रकै लागि हानीकारक हुनसक्छ ।’

कान्तिपुर

Link copied successfully