ओनसरीका लागि भोट माग्दै सिंहले भने : स्थापित महिलाले नेतृत्व लिन आउँदा साथ दिने कि खुट्टा तान्ने ?

कार्तिक २८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली (कांग्रेस)का नेता प्रकाशमान सिंहले स्थापित महिला उम्मेदवारलाई सबैले साथ दिनुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीको पक्षमा मत माग्दै सिंहले सक्षम महिलालाई अगाडि बढाउन मतदातालाई आग्रह गरेका हुन् । 

पाँच दलीय गठबन्धनको साँखुमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका नेता सिंहले काठमाडौं २ को विकास मतदाताले सोचेभन्दा बढी विकास गर्नसक्ने क्षमताको उम्मेदवार लाई निर्वाचित गराउन आग्रह गरेका थिए ।

'पूर्वसभामुख यहाँबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई मैले संविधानसभाकै क्रममा सदस्यका नाताले नजिकबाट चिन्ने मौका पाएको हो । सभामुख हुँदाखेरि संसद्मा उहाँले खेलेको सकरात्मक भूमिका, उहाँको क्षमता देखेको कारणले गर्दाखेरि समर्थन गर्न आग्रह गर्दछु,' उनले भने, 'नेपालमा तपाईं-हामी सबैले मानसिकता परिवर्तन ल्याउन पर्‍यो, महिलालाई पुरुष सरह अधिकार हुनुपर्‍यो भनेर आवाज उठाउने अब स्थापित महिलाले नेतृत्व लिन आएपछि साथ दिने कि खुट्टा तान्ने ?'

संसद्‍मा निर्वाचित भएर आउनेहरू सबै सांसद हुने तर सरकारमा सहभागी भएर कार्यकारी अधिकार पाउने क्षमता कमैमा हुने गरेको सिंहको भनाइ थियो । '१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सांसद नै हुन्छन् । तर सबैको मन्त्री, उपप्रधानमन्त्री, सभामुख र उपसभामुख हुने हैसियत हुँदैन,' उनले भने, 'उपसभामुखबाट सभामुख भइसकेको संसद्‍मा उहाँको क्षमता राम्रोसँग देखिएकाले गर्दाखेरि भरोसा र विश्वास छ ।' 

त्यस्तै, नेता सिंहले संविधान कार्यान्वयन गर्नका लागि लोकतान्त्रिक-वाम गठबन्धन बनेको बताए । उनले संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न नसकेको, स्थानीय तह र प्रदेशहरूलाई संविधानमा सुनिश्चित अधिकार प्राप्त नभएको बताए । 'संघीय लोकतान्त्रिक, समावेशी संविधान जारी गर्‍यौं । नयाँ संविधान जारी गरिसकेपछिको प्रथम प्रतिनिधिसभाले कार्यान्वयनमा तलमाथि गरेको छ । संविधान तलमाथि परेको कारणले गर्दा संविधान कार्यान्वयनका लागि गठबन्धन गरिएको कुरा तपाईं हामीले मनन गर्नुपर्नेछ,' उनले भने । 

शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्ने, संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले गठबन्धन बनेको सिंहको भनाइ थियो । संविधान कार्यान्वयन हुन नसक्दा जनताले सोहीअनुसारको सेवा नपाएको उनको भनाइ छ । संविधान कार्यान्वयन हुन नसक्दा मुख्यमन्त्रीहरू काठमाडौंमा धर्ना बस्नुपरेको र स्थानीय तहका जनप्रतिनिधिले पनि सेवा दिन नसकेको उनले बताए । राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र संस्थागत गरेर देशमा आर्थिक विकास गर्नका लागि लोकतान्त्रिक-वाम गठबन्धनलाई जिताउन उनको आग्रह थियो । 

कान्तिपुर

Link copied successfully