अमेरिकी सपनाको अवैध ‘डंकी रुट’ पछ्याउँदा रुकुम पश्चिम, आठबिसकोटका तीन युवा दुई वर्षदेखि बेपत्ता छन् । एकातिर छोराहरू हराएको असह्य पीडा छ, अर्कोतिर दलालले लुटेको लाखौं रुपैयाँ र साहुको चर्को ऋणले तीनै परिवारको बिचल्ली भएको छ ।
What you should know
रुकुम पश्चिम — रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–७, खारखाराको सानो एउटा घर ! सुत्ने कोठाको भित्तामा झुन्डिएको छ– दसैंको टीका थापेको एउटा सग्लो तस्बिर । तस्बिरमा छ– मुस्कुराइरहेको सिंगो परिवार, जहाँ सबै खुसी छन् ।
परिमल खत्रीले भित्ताबाट बिस्तारै त्यो तस्बिर निकाले । केहीबेर एकोहोरो हेरिरहे । त्यसपछि भिजेका आँखाले तस्बिरको एउटा अनुहारमा औंला राख्दै मसिनो स्वरमा भने, ‘यही छोरो हो, दुई वर्षदेखि हराएको । २०८१ को दसैंमा त सँगै थियौं । त्यसपछि अमेरिका जाने भन्दै घरबाट हिँडेको, कता हरायो कता..., काँ गयो काँ । खै अहिलेसम्म फर्केकै छैन ।’
यति भन्न नपाउँदै उनका आँखा टिलपिल–टिलपिल भए, गला अवरुद्ध भयो । र, शब्दहरू ओठमै थुनिए । केहीबेर कोठामा मौनता छायो । तातो आँसुलाई आँखाकै डिलमा रोक्ने असफल प्रयास गर्दै उनी सम्हालिए । र, दुई वर्षदेखि छातीभित्र गुम्स्याइराखेको पीडाको भारी बिस्तारै बिसाउन थाले, ‘मेरा दुई भाइ छोरा हुन् । दीपकचाहिँ जेठो, २९ वर्षको । कान्छो घरमै छ । दीपकले अमेरिका जाने सुरसार गरेको ४ वर्ष भयो । सुरुका दुई वर्ष कताकता पुग्दै, फर्किंदै गर्यो । वैशाख २०८१ मा घर आएर १० दिनजति बसेर गएको छोरो, त्यही सालको ८ असारदेखि सम्पर्कमै छैन ।’
परिमलका छोरा दीपक मात्रै होइन, अवैध ‘डंकी रुट’ हुँदै अमेरिका हिँडेका आठबिसकोटका थप दुई युवा पनि दुई वर्षदेखि बेपत्ता छन् । अचेल यी तीनै परिवारको कथा–व्यथा साझा छ । उनीहरू दोहोरो मारमा छन्– एकातिर सन्तान हराएको लुकाउन नसकिने असह्य पीडा, अर्कोतिर दलाललाई बुझाएको लाखौं रुपैयाँ डुब्दा थपिएको ऋणको बोझ !
दीपकसँगै यसरी सम्पर्कविहीन हुनेमा आठबिसकोट–७, औलका गोपाल केसी (१९) र आठबिसकोट–९, राडीका पहल केसी (२१) छन् । परिवार भन्छन्– उनीहरूले दुई वर्षअघि असारमा अन्तिम पटक लिबियाबाट फोन गरेका थिए । त्यसपछि ? छोराहरूको अत्तोपत्तो छैन ।
खारखारा खोला किनारको आफ्नै घरको पिँढीमा बसी परिमल र उनका परिवारले जब दीपकको कथा सुनाउन थाले, कसैको पनि आँखा ओभाना रहेनन् ।
अमेरिकी सपनाको अवैध ‘डंकी रुट’ पछ्याउादा रुकुम पश्चिम, आठबिसकोटका तीन युवा दुई वर्षदेखि बेपत्ता छन् । परिमलका अनुसार, अमेरिकाको सपना देखाएर दलालले वैशाख २०७९ मै दीपकलाई काठमाडौं बोलाएको थियो । केही दिनको काठमाडौं बसाइपछि दुबई ओरालियो तर त्यहाँबाट फेरि नेपालै फर्काइयो । त्यसपछि सुरु भयो दलालको नियन्त्रणमा दीपकको अन्त्यहीन र कष्टको भयानक यात्रा– कहिले भारतका गल्ली, कहिले दुबईका अँध्यारा कोठा ! दलालले उनलाई अनेक देश घुमाइरह्यो, फर्काइरह्यो । अमेरिका पुग्ने दीपकको यात्रा वर्षौंसम्म अन्योल, त्रास र आश्वासनकै चक्रमा घुमिरह्यो । ‘त्यो बेला छोराले कहिले कहाँ, कहिले कहाँ लग्यो भन्थ्यो, अब त सबै बिर्सियौं,’ परिमल भन्छन्, ‘जे होस्, ऊ सुरुका दुई वर्षमा तीनपल्ट घर आयो । अनि गएको वैशाख २०८१ मा यहाँबाट हिँडेको । त्यसपछि कता गयो, कता... ।’
दीपककी आमा गमी खत्रीसँग पनि दुई वर्षअघि छोरासँगको अन्तिम भिडियो कल स्मृतिमा ताजै छ । भन्छिन्, ‘असार ८ को दिउँसो २ बजेको हुँदो हो, भिडियोमा बोल्दै उसले ‘आमै म अहिले लिबिया भन्ने ठाउँमा छु, यहाँबाट ग्रीस लैजाने भनेको छ, अब उता गएपछि कुरा गरौंला, मेरो पीर नगर्नु है’ भनेको थियो, कठैबरा काँ गयो होला, यत्तिका दिनसम्म नफर्किने... ।’
त्यसै दिनको भिडियो कलको अर्को दृश्य पनि ओहोरदोहोर गरिरहन्छ– परिमलको सम्झनामा । ‘त्यो बेला उसले ‘पुलिसले घेर्न लाग्या छन्, लामो कुरा गरेपछि पुलिसले छोप्छन्, यो चौकी काटिसकेपछि फोन गरौंला’ भन्यो । ‘उसो भए फोन काट्’ भन्या हौं । साथमा एउटा कालो मान्छे थियो, सेता दाँत गरेर मुसुमुसु हाँस्थ्यो, जीउ हल्लाउँथ्यो । छोराले यस्तै इसारा गरेको थियो, अनुहार निस्तेज बनाएको थियो । उसले फोन राखिहाल्यो, त्यसबाट दुई साल बित्यो । कहाँ पुग्यो, के गर्यो, केही खबरखाबर छैन ।’
छोरा दीपकबारे प्रसंग निस्किँदा वा कुरा गर्दा वाक्य पूरा गर्नै सक्दैनन् परिमल । दीपकको परिवारमा छन्– ५५ वर्षे आमा, श्रीमती, दुई छोरा, बा र भाइ–बुहारी । दिदीबहिनीको विवाह भइसकेको छ । दीपकलाई अमेरिका पुर्याउने प्रयासस्वरूप परिवारले अहिलेसम्म एक करोडभन्दा बढी रुपैयाँ खर्च गरिसकेको छ ।
त्यो खर्चको हिसाबकिताब यस्तो छ– दीपककी दिदी विमला ओलीका अनुसार, विभिन्न चरणमा ८२ लाख रुपैयाँ बुझाइयो दलाललाई । फरक–फरक देश आउजाउ गर्दा ३१ लाख रुपैयाँ थप खर्च भयो । भाइको खोजीमा ६ लाख रुपैयाँ सकियो । काठमाडौं बस्दाको ३ लाख त अझै तिर्नै बाँकी छ । सबै जोड्दा यस प्रकरणमा अहिलेसम्म कुल १ करोड २२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
१२ कक्षासम्म पढेका र मलेसियामा तीन वर्ष पसिना बगाएर घर फिरेका दीपक नेपालमै केही गर्ने सोचमा थिए । तर, समाजको नजर अन्तै थियो । छरछिमेक र साथीसंगी ‘डंकी’ काटेरै भए पनि अमेरिका पुगिरहेकै थिए । त्यो देखेर दिदी विमलाले नै दीपकलाई कर गरिन्, ढाडस दिइन्, ‘जा बाबु, हामी छौं साथ दिने ।’ तर, आज त्यही वाक्य विमलाका लागि पश्चात्ताप र आँसु बनेको छ । ‘मलेसियामा महिनामा ५०–६० हजार कमाउँथ्यो, अमेरिका गएपछि ३–४ लाख कमाइ हुन्छ भनेर दलालले भन्यो । अनि सबै गइरहेका छन्, पुगे राम्रै हुन्छ भनेर पठायौं । यस्तो होला भन्ने के थाहा र ! अहिले थै–थै लागेको छ,’ विमला भक्कानिइन् ।
सामान्य खेती–किसानी गरी गुजारा चलाउँदै आएको यो परिवार अहिले आर्थिक रूपमा पूरै रित्तिएको छ । ‘करोडको ऋण छ । साहुले घेरा हालेका छन् । माथि औलको पुर्ख्यौली घर–सम्पत्ति सबै बेचेर यहाँको यो सानो घरमा जहान–परिवार कोच्चिएका छौं,’ रोकिँदै–रोकिँदै परिमल भन्छन्, ‘हामी त बर्बाद भयौं । यो घरबारी पनि सबै बैंकमा धितो राखेका छौं ।’
दीपकका दुई छोरा पढाउन साह्रै मुस्किल भएपछि यही वैशाखमा बुहारीसहित काठमाडौं गए परिमल । अहिले दीपककी श्रीमती दिनैभर ज्याला–मजदुरी गर्छिन् । ‘बाबा नभएको’ भनेपछि छोराहरूलाई एक बोर्डिङ स्कुलले पढाइदिएको परिमल बताउँछन् ।
असार २०८१ मा लिबियाबाट अन्तिम पटक सम्पर्कमा आएका दीपक खत्री, गोपाल केसी र पहल केसी अहिलेसम्मै बेपत्ता हुँदा परिवार दोहोरो मारमा छन् ।यति भन्दै गर्दा ऋण र पीरले थाकेका बुबा–आमा फेरि निःशब्द बने । दीपककी दिदी विमलाले भने दलालविरुद्ध आक्रोश पोखिन् । ‘दलालकै धोकाधडीले भाइ बेपत्ता भएको’ भन्दै उनले दोषीमाथि कारबाहीको माग गरिन् । विमलाले ९ मंसिर २०८२ मा मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा उजुरी त दिइन् तर राज्यका संयन्त्रबाट अहिलेसम्म दीपकको अज्ञात अवस्थाबारे कुनै ठोस सूचना आउन सकेको छैन । ‘७ महिना पुग्दा पनि हाम्रो उजुरीमाथि कारबाही भएको छैन । दलालले हाम्रो मान्छे गायब पारिदिएको छ अनि करोड पैसा ठगेको छ । तर, राज्य–सरकारले हाम्रो गुनासोको वास्तै गरेन,’ विमला भन्छिन् ।दीपकलाई ‘डंकी’ रुटबाट अमेरिका पठाउने दलाल आठबिसकोटकै स्थानीय (नाम भन्न चाहेनन्) हुन् तर उनी परिवारको सम्पर्कमा छैनन् । परिवारले चाहिँ विभिन्न माध्यमबाट दलाललाई दबाब दिइरहेको छ । दुई वर्षदेखि छोराको खबर कुरिरहेका परिमलको माग छ– ‘कि छोराको सास चाहियो, कि लास ।’
दीपकलाई नेपालबाट दुबई पुर्याइएपछि उनको भेट आठबिसकोटकै गोपाल केसी र पहल केसीसँग भयो । त्यसपछि दलालले तीनै जनालाई एउटै समूहमा राखी ‘अमेरिका लैजान’ अघि बढ्यो । अन्ततः दुई वर्षअघि लिबियाबाट भएको अन्तिम सम्पर्कपछि तीनै जना एकैसाथ बेपत्ता भए । अहिले छोराहरूको खोजीमा तीनै परिवार लागेका छन् ।
आठबिसकोट–७, औलको खेतको डिलमा भद्रकुमारी खत्री (५१) हँसिया टेकेर टोलाइरहन्छिन् । उनको ध्यान खेतमा होइन, दुई वर्षअघिको त्यही साँझमा छ, जुन साँझ रोपाइँ सकेर घर फर्किने बेला उनले छोरा गोपाललाई अनलाइन देखेकी
थिइन् । छोरालाई स्क्रिनमा देख्नेबित्तिकै उनले हतार–हतार फोन गरेकी थिइन्, जुन गोपालसँगको अन्तिम संवाद बन्न पुग्यो । ‘दुई वर्षअघि ९ असारमा साँझपख यस्तै खेत रोपेर फर्किने बेला उसलाई अनलाइन देखेर फोन हानें । काँ छौं, कता छौं भनेर सोधें । ‘अहिले लिबिया भन्ने ठाउँमा छौं, पुलिसले छोप्छ, यसकारण पर्सि–निकपर्सि फोन गरौंला’ भनेको, त्यसपछि अहिलेसम्म उसको आवाज सुन्न पाएको छैन,’ भद्रकुमारीले भनिन् ।
हँसियाको टुप्पोले भुइँ कोट्याउँदै र गहभरि आँसु पार्दै उनी भक्कानिइन्, ‘कता गयो, कहाँ गयो ? खोज्छौं त भन्छन् । तर, भेट्टाउँदैनन् । यी दलाललाई छोपेर जेल हाल्नुपर्ने । दलाललाई मुद्दा त हालेको छैन । दलालले खोज्छौं, ल्याउँछौं त भन्छन् पनि, तर अहिलेसम्म ल्याइदिएनन् ।’
भद्रकुमारीको जीवन–कथा आँसु र आँधीबेहरीको एक लामो शृंखला हो । १६ वर्षअघि भीरबाट खसेर उनका श्रीमान् सधैंका लागि अस्ताए । सिंगो परिवारको भार एक्ली भद्रकुमारीको काँधमाथि आयो । मजदुरी र मेलापात गर्दै उनले ६ भाइ छोरा र एक छोरी हुर्काइन्– न कहिल्यै थाकिन्, न हार मानिन् । जीवनका हरेक मोडमा साहस देखाएकी भद्रकुमारी अहिले कान्छो छोरो हराएपछि चाहिँ भित्रैबाट गलिसकेकी छन् ।
तीन वर्षअघि अमेरिका जाने सुरसार गर्दा गोपालको एसईई नतिजा भर्खरै आइपुगेको थियो । उनी ‘बी ग्रेड’ मा उत्तीर्ण भएका थिए । पढाइ अघि बढाउन छाडी छोरा हतार–हतार नागरिकता बनाई अमेरिका जाने ध्याउन्नमा लागेको आमा सम्झिन्छिन् । गोपाललाई अमेरिका पुग्ने सबैभन्दा ठूलो बल उनीभन्दा अघिका दाइ हुन्, जो ४ वर्षदेखि अमेरिकामा छन् ।
‘भाइलाई पनि अमेरिका आएपछि राम्रो हुन्छ भनेर राइँला छोराले उता बोलायो अनि कान्छाले पनि मस्तै रहर गर्यो । सानैमा उता पुगेपछि त उतैको नागरिकता पनि दिन्छ भनेर दलालले सुनायो,’ भद्रकुमारी भन्छिन्, ‘आफ्नै दाइ अनि घर–छिमेक सबैका छोरा अमेरिका गएको, कमाएको देखेर कान्छाले पनि रहर गर्यो । यस्तो होला भन्ने के थाहा भयो र π नत्र त नपठाएको भए पनि हुन्थ्यो ।’
गोपालका दाइ नरेन्द्रका अनुसार, भाइले अमेरिका पुग्ने यात्रा थालनी गरेको तीन वर्षभन्दा बढी भयो । सुरुमा नौ महिना दुबईमा राखियो । भिसा म्याद सकिएपछि ‘आउटपास’ बनाई सिंगापुर लगियो र फेरि नेपाल फर्काइयो । त्यसपछि कतारमा तीन महिना राखियो, फेरि दुबई पुर्याइयो । अन्ततः विभिन्न देश हुँदै असार २०८१ मा लिबिया लगिएको थियो । त्यहीँ दीपक र पहलसँग गोपालको भेट भएको थियो ।
‘गोपाल र पहललाई सँगसँगै पछिल्लोपल्ट दुबई पुर्याएपछि दीपकसँग पनि त्यहीँ भेटेर यी तीन जना सँगै बेपत्ता भएका हुन्,’ नरेन्द्र भन्छन्, ‘१० असार २०८१ मा उसले आफूहरू जहाज चढ्ने ठाउँमा भएको र सोही दिन अगाडि जाने बताएको थियो । त्यसपछि २ वर्ष बित्यो, केही अत्तोपत्तो छैन ।’
भाइ हराएपछि नरेन्द्रले आफ्नै प्रयासमा अनेक सुराक खोजे । त्यसक्रममा त्यही स्थानबाट छुटेका रुकुमका अन्य दुई युवासम्म पनि पुगे । ‘त्यो बेला उनीहरूसँग छुटेका रुकुमकै दुई जनाबारे मैले पत्ता लगाएँ । एउटा मग्माका र अर्काचाहिँ चौरजहारीका रहेछन् । तीमध्ये एक जनासँग कुरा पनि गरेको थिएँ । ऊ ‘त्यो बेला पाँच जनालाई लिएर गएको हो, हामी दुईलाई चाहिँ पछि लिन आउँछु भनेको आएन’ भन्छ । त्यसबाहेक उनीहरूलाई यस विषयमा केही थाहा रहेनछ ।’
भाइ बेपत्ता भएको तीन महिनापछि नरेन्द्र आफैं दुबई पुगे, दलाल भेटे, भाइबारे सोधखोज गरे । तर, सामान्य चासो देखाएर दलाल पनि सम्पर्कविहीन भयो । त्यसपछि उनले लिबियामा रहेका दीपक नामका एक नेपालीसँग पनि भाइको खोजीका लागि सहयोग मागे । तर, त्यो प्रयास पनि सफल भएन । भाइको खोजीमा नरेन्द्रले अर्को रहस्य पनि पत्ता लगाए ।
पहललाई अमेरिका पुर्याउने नाममा परिवारले दुई वर्षअघि दलाललाई ५१ लाख रुपैयाँ बुझाएको थियो । अन्य खर्च पनि जोड्दा करिब ५५ लाख रुपैयाँ सकिएको छ । हराएको केही महिनापछि गोपालको मेसेन्जर फेरि अनलाइन देखियो । ‘खासमा गोपालको मोबाइल एक जना बंगालीले अहिलेसम्मै चलाइरहेको पत्ता लाग्यो । हराएको केही महिनापछि अनलाइन देखेपछि मैले हतार–हतार भिडियो कल गरें । उसले कल रिसिभ पनि गर्यो । ‘यो मोबाइल त मेरो भाइको हो, कसरी तिम्रो हात पर्यो ?’ भनेर मैले उसलाई सोध्दा उसले ‘आफूहरू पानीजहाजमा चढ्ने भनेर ३५ जना त्यो डुंगामा चढेको मध्ये आफूसहित दुई जना उत्रेको’ बतायो,’ नरेन्द्र भन्छन्, ‘सुरुमा डुंगा चढाउने बेलामा ३५ जनाकै मोबाइल लिएको थियो रे ! पछि ‘एउटा मोबाइल फिर्ता गर्ने बेला त्यो मोबाइल पाएको’ भन्छ । ‘किन चलाएको त अर्काको आईडी’ भन्दा ‘त्यो ३५ जनामा मेरा पनि साथीहरू छन्, यहीमार्फत कोही सम्पर्कमा आउँछ कि भनेर बेलाबेलामा चलाउँछु’ भन्छ ।’
त्यो बंगाली अहिले ग्रीसमा रहेको खबर पाए नरेन्द्रले । ‘पछिल्लोपल्ट मैले त्यो बंगालीसँग कुरा गरेर भाइहरूसँग छुट्टिएको अन्तिम लोकेसन मागें । ऊ ‘लिबियाको बेङाजी सहरको तुपरुक भन्ने ठाउँबाट डुंगा गएको हो’ भन्छ । यही कुरा मैले त्यहाँका दीपक नामका ती नेपालीलाई बताउँदा उनले ‘आफू लिबियाको पूर्व भागमा रहेको र त्यो लोकेसन पश्चिम भागमा पर्ने भएकाले खोज्न सम्भव नहुने’ जानकारी दियो ।’
त्यसपछि अर्को झड्का लाग्यो– नरेन्द्रलाई । उही बंगालीले ‘दलालमार्फत ३५ जनाको टोलीमा रहेका आफ्ना साथी सबै मरिसकेको खबर आफूले पाएको’ सुनायो । त्यो सुनेपछि नरेन्द्रको मन चिसो भयो । तर, भाइ जीवितै भेटिने आशा उनले अझै मारेका छैनन् । किनकि मृत्युको खबर आधिकारिक रूपमा कसैले पुष्टि गरेका छैनन् ।
‘अमेरिका पुर्याइदिने’ भन्दै दलाललाई ४४ लाख रुपैयाँ बुझाइएको थियो । त्यसबाहेक खोजी र अन्य खर्चमा झन्डै १० लाख रुपैयाँ थप सकियो । अमेरिकामै रहेका गोपालका राइँला दाइ नरेन्द्र ‘कमाइले आफू त्यहाँसम्म पुग्दा लागेको ऋण तिर्नै मुस्किल भइरहेको’ सुनाउँछन्, ‘उबेलाकै ऋणमाथि कान्छाको पनि थपियो । हामी त हैरान भयौं ।’
सामान्य खेती–किसानी र कामकाजले दैनिक गुजारा चलाइरहेका आफूहरू अहिले आधा करोडभन्दा बढी ऋणको भारी बोकेर भाइको प्रतीक्षामा बसिरहेको उनी बताउँछन् ।
नरेन्द्रका अनुसार, आठबिसकोटकै चिनारु एक दलालमार्फत दुबई पुगेका थिए– गोपाल । त्यहाँबाट चिनजानकै अर्को एक दलालले लिबिया पुर्यायो । तर, उनले दलालको नाम सार्वजनिक गर्न चाहँदैनन् । ‘पहिले पैसा लगेको दलालले हामीलाई ‘यो असारभित्रै पैसा फिर्ता गर्छु’ भन्ने वाचा गरेको छ । अनि भाइ खोज्न पनि उसैलाई अत्याइरहेका छौं । अहिले दलालबारे यहाँ बताएपछि यी दुई वटै सम्भावना रहँदैनन्, यसकारण केही समय धैर्य गर्छौं ।’
केही महिनाअघि मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा मौखिक जानकारी गराए पनि लिखित उजुरी भने उनीहरूले हालिसकेका छैनन् । नरेन्द्र भन्छन्, ‘यदि मानिस र पैसाको अवस्थाबारे स्पष्ट जानकारी नआए हामी सबै प्रमाणसहित कानुनी प्रक्रियामा जानेछौं ।’
दीपक र गोपालपछि ‘डंकी रुट’ को त्यही अँध्यारो सुरुङमा हराउने तेस्रो युवा हुन्– आठबिसकोट–९, राडीका २१ वर्षीय पहल केसी । पिता नरे खत्रीका अनुसार, १० असार २०८१ को बिहान ९ बजेतिर छोरासँग उनको अन्तिम पटक कुरा भएको थियो, त्यसयता पहलको आवाज परिवारले सुन्न पाएको छैन । अमेरिकाको रंगीन सपना आँखामा सजाएर साढे तीन वर्षअघि घरबाट निस्किएका छोरा अहिले बेपत्ता छन् ।
गोपालजस्तै पहलको कथा पनि मिल्दोजुल्दो छ । एसईई उत्तीर्ण हुनेबित्तिकै सर्टिफिकेट दराजको कुनामा थन्क्याएर, हातमा भर्खरै बनेको नयाँ नागरिकता बोकी उनी पनि अमेरिकाको अन्धाधुन्ध यात्राका यात्रु भएका थिए । केही पारिवारिक बाध्यता र केही साथीसंगीको लहडले जन्मदाता अनि जन्मभूमि छाडेका पहल अहिले कुन देशको कुन कुनामा छन् ? कसैलाई अत्तोपत्तो छैन ।
‘त्यस दिन ‘लिबिया भन्ने ठाउँबाट अगाडि लैजाँदै छ’ भनेर फोन गरेको थियो । ‘दलाल पनि ५–७ दिन भयो सम्पर्कमा छैनन्, ग्रीस हुँदै स्पेनबाट ब्राजिल लैजाने कुरा छ, हामी आज या भोलि हिँड्छौं होला, कसरी लैजाने हो थाहा छैन’ भन्थ्यो,’ पहलका बुबा नरे खत्री त्यो दिन सम्झना गर्छन्, ‘उसले ‘हामी १–२ दिन सम्पर्कमा नआए पनि तनाव नलिनुहोला’ भनेको थियो । त्यसपछि २–३ दिन लगातार सम्पर्क गर्दा पनि उनीहरूसँग कुरा भएन । हिँड्ने कुरा थियो, हिँडे होलान् भन्ठानेर बसें । तर दुई वर्ष बित्यो– कहाँ छन्, कस्तो अवस्थामा छन् ? केही जानकारी छैन ।’
पहललाई अमेरिका पुर्याउने नाममा परिवारले दुई वर्षअघि दलाललाई ५१ लाख रुपैयाँ बुझाएको थियो । अन्य खर्च पनि जोड्दा करिब ५५ लाख रुपैयाँ सकिएको छ । ‘दलाललाई बुझाएको सबै रकमको भौचर छ । तर, पैसा लगेको दलालले ‘असारभित्रै फिर्ता गर्छ’ु भनेको भएर आशा लागेको छ,’ उनी भन्छन्, ‘पैसा लिएर दुबईसम्म लैजाने दलाल सम्पर्कमै छ । त्यहाँबाट अगाडि बढाएर लिबियासम्म पुर्याई बेपत्ता गराउने दलाल पनि यतैका (आठबिसकोटकै) चिनजानकै हो । तर, ऊ सम्पर्कमा छैन ।’
सबै पैसा पाँच प्रतिशत ब्याजमा ऋण लिएर जुटाएको परिवार अहिले आर्थिक रूपमा चुर्लुम्मै डुबेको छ तर नरे खत्रीले आशा छाडेका छैनन् । छोरा एक दिन फर्केर आउला भन्ने विश्वासमै उनी दलालमाथि दबाब बढाइरहेका छन् । यदि समस्या समाधान नभए चाँडै कानुनी प्रक्रियामा जाने तयारीमा छन् । असलमा रुकुम पश्चिमका अधिकांश घरको कथा अहिले अमेरिकासँग जोडिएको छ । तर, यो यात्रामा सर्वसाधारणले पाएको निकै कम र गुमाएको धेरै छ । सम्पत्ति अनि सन्तान गुमाएर पनि समाजको आँखा र प्रतिष्ठाको डरले मानिस अथाह पीडा मनभित्रै दबाएर बस्न बाध्य छन् ।
नवयुवा र युवालाई दलालहरूले ‘अमेरिका पुर्याइदिने अनि जिन्दगीमा सुखै–सुख हुने’ लोभ देखाउँछन् । अनेक उदाहरण र कहानी बनाएर परिवारलाई मनाउँछन्, मौखिक सम्झौताकै आधारमा बेहिसाब रकम माग्दै वर्षौंको यात्रापश्चात् कसैलाई अवैध रूपमै अमेरिका पुर्याउँछन्, कसैलाई बीच बाटोमै अलपत्र पार्छन् । ‘अमेरिका नै किन ?’ यी तीनै छोराका आफन्तको जवाफ समान छ, ‘धेरै कमाउन । कम्तीमा छोराहरूले यी पाखा–पखेरामा हामीजत्ति उकाली–ओराली गर्नु पर्दैन भन्ने आशाले ।’
अर्को प्रश्न– यत्ति धेरै रुपैयाँ ऋणमा पाइन्छ कसरी ? सबैको समान जवाफ छ, ‘अमेरिका पुगेर लाख कमाइरहेकाको उदाहरण नै ऋण पाइने पहिलो आधार हो । पुग्छन् अनि २–४ वर्षमा तिर्छन् भन्ने विश्वास हुन्छ । अनि घरजग्गा बैंकमा धितो राखेर, घरपरिवार र नातागोताबाट महँगो ब्याजमा सापटी गरेर जसोतसो पैसा जुटाइन्छ ।’
यसरी हराएका यी तीन छोरा दुई वर्षदेखि बेपत्ता भएको विषय घरपरिवार र आफन्तलाई थाहा छ तर प्रहरीले ‘यस विषयमा जानकारी नभएको’ जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी वेदबहादुर पौडेलले ‘तीन जनाको विषयमा कार्यालयमा कहीँकतै उजुरी नपरेको’ बताए । उनी भन्छन्, ‘कतैबाट उजुरी परे पो हामीले पनि अनुसन्धान अघि बढाउने हो त ! यस्ता घटना धेरै छन् भन्ने सुनेको छु । तर, ठ्याक्कै कारबाही वा अनुसन्धानका लागि कसैले पनि जाहेरी दिएका छैनन् ।’
यससम्बन्धी कान्तिपुरले गरेका अन्य रिपोर्टिङहरु
सशस्त्र द्वन्द्वको आधार भूमिमा ‘अमेरिकी सपना’
