डंकी रुट हुँदै अमेरिका, सवा करोडको लगानी, १४ महिनामा १८ देशको यात्रा

रुकुम पश्चिम, मुसीकोट–१ का राजेन्द्र खड्का ३० महिनापछि नेपाल फर्किए, अब उनीसँग १८ वटा देश पार अमेरिका छिर्न दलाललाई पटक–पटक बुझाएको १ करोड १५ लाख रुपैयाँको ऋण र शून्य उपलब्धि मात्र छ ।

जेष्ठ २९, २०८३

महेश केसी

America via the Donkey Route, investment of 1.25 crores, travel to 18 countries in 14 months

What you should know

रुकुम पश्चिम — २१ मंसिर २०८० मा रुकुम पश्चिमको मुसीकोट–१ का राजेन्द्र खड्काको मोबाइलमा बजेको घण्टीले एउटा फरक खबर ल्यायो– ‘अमेरिका जाने बेला भयो, तुरुन्त काठमाडौं आउनु ।’

फार्मेसी पढेर रुकुम सदरमुकाम मुसीकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली–कुम्लो कसेर, आफन्त अनि कुल देवतालाई ढोगेर घरबाट निस्किए । खबरमा यो पनि भनिएको थियो, ‘हप्ता–दस दिनमा फ्लाइट टु फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ ।’ राजेन्द्रले यसका लागि रुकुमकै एक जनालाई केही समयअघि पासपोर्ट बुझाएका थिए । त्यसैको ‘सुखद खबर’ थियो उनका लागि ।

काठमाडौं पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुबई लैजाने भनेर होटलमा पुर्‍याएर राख्यो । चौथो दिन बिहानै उनी दलालले भनेअनुसार अन्य चार जनासँग काठमाडौंबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे । त्यहाँबाट जहाजमा मुम्बई पुगे । त्यहाँ अमेरिका जान हिँडेका उनीजस्तै ८०–८५ जना नेपाली भेटिए ।

मुम्बईमा उनीहरूलाई ४ दिन राखियो । दलालले दुबई लैजाने भनेको थियो तर के कुरा नमिलेर हो फेरि काठमाडौं फर्काइदियो । त्यसको केही दिनपछि दलालले भनेअनुसार राजेन्द्र काठमाडौंबाट सिधै यूएईको दुबई पुगे । त्यसपछि सुरु भयो दलालको पैसा माग्ने काम । सुरुमा ५ लाख मागियो । उनले घरमा खबर गरेर दलालले भनेअनुसार गरे । तर दुबईबाट अघि बढ्ने कुनै सुरसार मिलेको थिएन ।

त्यहाँ पुगेको एक महिनापछि दलालले ‘अब चाँडै अगाडि बढ्ने हो’ भन्दै एकैचोटि ४० लाख रुपैयाँ माग्यो । सुरुमा त उनी आत्तिए । तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हारगुहार गरेर भनेजति रकम बुझाए । त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अघि बढेन ।

पर्खाइको समय बित्दै गयो । दुई महिना बितेपछि पो उनले थाहा पाए, उनीसहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालोसूचीमा परेका रहेछन् । त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्के । उस्तै आश्वासनका बीच उनले त्यहाँ चार साता गुजारे । राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, ‘दलालले मिलाउँदै छु, जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो । हामीले पत्यायौं ।’

एक दिन दलालले भन्यो, अब यतैबाट उज्वेकिस्तान जाने हो । उनीसहितका ४ जान एयरपोर्ट लगियो । राजेन्द्रसहित २ जनालाई उज्वेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो । त्यहाँ एक दिन बसेर उनी एक्लै उज्वेकिस्तान पुगे । दलालले भनेको थियो, एयरपोर्टबाट ननिस्किनु । हामी क्युवाका लागि टिकट मिलाउँछौं ।

तर उनी एयरपोर्ट उत्रेको धेरैबेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन । केही समय बिताएपछि उनी दलालकै निर्देशनअनुसार एयरपोर्टबाट निस्के । त्यसपछिका दुई महिना उनले फेरि अनिश्चित पर्खाइमा बिताए । फेरि उस्तै कथा भयो, जस्तो दुबईमा भएको थियो । भिसाको म्याद सकियो । कालोसूचीमा परे । अनि मुम्बई फिर्ता भए ।

फेरि उनले पट्यारलाग्दो एक महिना मुम्बईमा बिताए । भने, ‘घुमाइ–फिराइ घरी दिल्ली त घरी मुम्बई गर्दा मलाई दिक्क लागिसकेको थियो । त्यहाँबाट हामीलाई अफ्रिकाको युगान्डा पुर्‍याइयो । ४ दिन राखेर प्रजातान्त्रिक गणतन्त्र कंगोको किन्सासा पुर्‍याइयो ।’ त्यहाँ पनि उनको बसाइ सहज थिएन । उनले थपे, ‘यहाँको बसाइ निकै कठिन थियो । खानपिन राम्रो थिएन । पानी परे चुहिने कोठा थियो ।’ यो हैरानीबाट उनले एक महिनापछि छुटकारा पाए । किनकि दलालमार्फत उनलाई त्यहाँबाट कंगो गणतन्त्रको राजधानी बाजाभिल्ल लगियो ।

बाजाभिल्लको बसाइ ठीकै थियो तर अमेरिका पुर्‍याउने जिम्मा लिएको दलाल सम्पर्कमा आउन छाडेपछि उनको हैरानी बढ्न थाल्यो । करिब २ महिना त्यहाँ बसेपछि राजेन्द्रसँगै दुई जनालाई दक्षिण अमेरिकी देश ब्राजिलको भिसा लागेको थाहा भयो । तर उनीहरूलाई ब्राजिल नलगेर फेरि गणतन्त्र कंगोको राजधानी किन्सासा नै पुर्‍याइयो ।

त्यहाँ पुर्‍याएपछि दलालले १० लाख रुपैयाँ माग्यो । उनले घरमा सम्पर्क गरेर पैसा जुटाए । पैसा हात परेपछि दलाल सम्पर्कविहीन भयो । हरेकपल्ट घरमा पैसाका लागि हारगुहार गर्दा उनले अमेरिका जाने काममा प्रगति भइरहेको बताउँथे । अनि घरका सदस्य ऋण काढेर पैसा जुटाउँथे ।

किन्सासा बसाइका २८ दिन सजिला थिएनन् । उनले सुनाए, ‘निकै गर्मी हुने बेला थियो, पानी पर्‍यो भने केही शीतल हुन्थ्यो । नत्र हालत खराब ।’

२८ दिनपछि उनले दलाल फेला पारे । ऊसँग आक्रोश पोखे । भने, ‘किनभने मैले दलाललाई ६० लाख बुझाइसकेको थिएँ ।’ दलालले उनलाई त्यहाँबाट हवाई मार्ग हुँदै इथियोपिया पुर्‍यायो । अनि करिब १७ घण्टाको ‘ट्रान्जिट’ पछि ब्राजिल पुर्‍यायो ।

अफ्रिकाबाट दक्षिण अमेरिकी देश पुग्दै गर्दा उनलाई अमेरिका नजिक पुगेजस्तै अनुभूति भइरहेको थियो । तर अनिश्चित यात्रा अझै बाँकी नै थियो । किनकि उनले घर छाडेको ११ महिना भइसकेको थियो ।

ब्राजिल पुगे पनि उनका दुःख सकिएनन् । उनले सुनाए, ‘हाम्रै दलालले मान्छे लगाएर उल्टै हामीलाई ‘किडन्याप’ गरेको नाटक रच्यो । साथमा भएको ३–४ हजार डलर लुटियो ।’

बारम्बार दलालबाट शोषणमा परेपछि उनले दलाल फेर्न पनि खोजे । तर त्यो भनेजस्तो सजिलो थिएन । उनले सुनाए, ‘त्यो बेला एक जना कास्की पोखराको साथी र म गरेर हामी दुई जना मात्रै थियौं । २ दिन हामीलाई ब्राजिलमै बन्द कोठामा हुलेर राखे । त्यसपछि ८ दिन लगातार बसमा यात्रा गराइयो ।’

ब्राजिलबाट उनी संगठित मानव तस्करका एजेन्टको सहयोगमा बोलिभिया, पेरु, इक्वेडरको भूगोल हुँदै कोलम्बिया पुगे । उनले त्यो यात्रामा भोगेको हैरानी सुनाउँदै भने, ‘यो यात्रा निकै कष्टकर भयो । बीचमा २५–३० ठाउँमा हामीलाई लुटे । पेरुमा त पुलिसले नै लुट्ने रहेछ । त्यहाँ कपडा खोलेर नांगै बनाएर हाम्रो जाँच गर्‍यो । यस यात्रामा गाडी त हाम्रोतिर हुनेजस्तै बस थियो । तर त्यसमा हामीजस्तै सबै इलिगल मान्छे मात्रै चढेका थिए ।’

कोलम्बिया पुगेपछि पनि उनका हैरानी बाँकी नै थिए । कोलम्बियाको निक्कोलिकोको पुगेपछि उनलाई दलालले भन्यो, ‘अब छिट्टै पानामा हिँडिहाल्नुपर्छ । पहिले भनेभन्दा धेरै पैसा लाग्ने भयो ।’ यतिन्जेल उनले ६० लाखभन्दा धेरै पैसा खर्चिसकेका थिए । उनले फेरि ५/७ लाखको जोहो गरे र दलाललाई बुझाए । त्यसपछि फेरि उही घटना दोहोरियो । उनले सुनाए, ‘दलाल गायब भयो ।’

मानव तस्करका एजेन्टहरूले उनीहरूलाई अवैध रूपमा एक देशबाट अर्को देश प्रवेश गर्ने बेला डोंकर (बाटो देखाउने मान्छे) को सहायता मिलाउँथे । तर कोलम्बियामा भने उनको डोंकरसँग नै हैरानी पर्‍यो । उनलाई सीमापार गर्न सघाउने भनेको डोंकरले नै उनीहरूलाई बन्दी बनायो । कारण थियो, उनीहरूको दलालले उक्त डोंकरलाई पुरानो हिसाबकिताब नमिलाएको । भने, ‘हामी २ र अन्य समूहका १० नेपालीलाई डोंकरले थुनेर राख्यो ।’ उनका तीन साथी त्यहाँबाट भाग्न त खोजे । तर डोंकरले भागेकाहरूलाई २४ घण्टा नबित्दै समातेर ल्यायो । त्यसपछि त डोंकरले बन्दुक देखाएर उनीहरूसँग जनही २० हजार डलर माग्यो । पैसा नदिएको भन्दै खाना पनि दिन बन्द गर्‍यो । उनले सुनाए, ‘हामी ४७ दिन बन्दी बन्यौं ।

त्यो अप्ठ्यारो समय सम्झिँदा राजेन्द्रको अहिले पनि गला अवरुद्ध हुन्छ । डोंकरले नछाड्ने भएपछि राजेन्द्रले १७ लाख रुपैयाँ जुटाएर बुझाए । त्यसपछि डोंकरले उनलाई भने छोडिदियो । उनले सुनाए, ‘पैसा पाएपछि त्यही डोंकरले उनलाई डुंगा चढाएर अर्को गन्तव्यतिर पठाइदियो ।’

कहिले जंगलको यात्रा, कहिले समुद्रको । कहिले हप्तौंसम्म अञ्जान ठाउँमा बन्धक त कहिले कैयन् दिनसम्म भोकै–प्यासै । सबै हैरानीका उनले अनुभव गरे । कहिले जंगलको यात्रा, कहिले समुद्रको । कहिले हप्तौंसम्म अञ्जान ठाउँमा बन्धक त कहिले कैयन् दिनसम्म भोकै–प्यासै । सबै हैरानीका उनले अनुभव गरे । कोलम्बियाबाट उनको फरक यात्रा सुरु भयो । एकातिर परिवारको चिन्ता, अर्कोतिर अगाडि चाल्ने पाइला कस्ता हुन्छन् भन्ने पीर । परिवारसँग छोटो कुरा भए पनि उनी आफ्ना दुःख खासै सुनाउँदैन थिए । राजेन्द्र भावुक भए, ‘यो यात्रामा नेपाली म मात्रै थिएँ । अरू विभिन्न देशका मान्छेहरू थिए । भाषा न संवाद । एकदम चुपचाप एउटा डरलाग्दो यात्रामा ।’

कोलम्बियाको सानो सहर टुर्बोमा पुगेपछि भने उनले चार नेपाली भेटे । दाङका १ युवक र १ युवती अनि रोल्पाको र अर्को रुकुमका । उनले सुनाए, ‘नेपाली नै भेटेपछि भने मेरो सास पलाएजस्तो भयो ।’ दुई दिन टुर्बोमा बिताएपछि सुरु भयो उनको डरलाग्दो जंगली बाटो पार गरेर डेरियन ग्याप छिचोल्ने यात्रा ।

न बस्ने टुंगो । न खाने । न यात्राको निश्चितता । अन्योल र अनिश्चितता मात्रै उनको साथीजस्तो थियो । डेरियन ग्यापको डरलाग्दो यात्रामा त उनले मृत्यु भोगेका यात्रीका शवहरू ठाउँ–ठाउँमा देखे । उनले सुनाए, ‘डरको कुनै मापन थिएन, धन्नै बेहोस भइएन । भगवान् पुकार्दै हतार–हतार अघि बढ्यौं ।’

एक ठाउँमा त उनी डोंकरहरूकै आक्रमणमा परे । उनीहरू लुट्न आएका थिए । तर उनी बेतोडले भागेर मृत्युबाट जोगिए । तर एक जना डोंकरले धारिलो हतियारले हानेको प्रहार उनको टाउकामा पर्‍यो । धन्न उनी मृत्युबाट भने जोगिए ।

यो यात्रामा उनले लुटिएका यात्रीहरू देखे । दुर्व्यवहार भोगेका महिला यात्री देखे । मृत्यु नजिकै आएको महसुस धेरैपल्ट गरे । उनले भने, ‘त्यो बेलाको दुःख म शब्दमा बताउनै सक्दिनँ । त्यतिबेला म बरु मर्न पाए हुन्थ्यो, यो के भोग्नु र देख्नु परिरहेको छ भनेर जमिनलाई आमाको अँगालो सम्झेर धेरै रोएँ । तर यहाँ मेरो यो आँसुको मूल्य पानीभन्दा सस्तो भइदियो । अब यहीँ मरिन्छ जस्तो लाग्यो अनि मनमनै कस्तो ठाउँमा मरिने भइयो, घरकाले लास त के खबर नै नपाउने भए भन्ने लाग्यो ।’

डेरियन ग्यापको डरलाग्दो बाटो काटेर उनी पानामा पुगे । त्यहाँको आप्रवासी केन्द्रमा पुगे । अनि घरबाट ३ सय डलर मगाए । त्यसपछि पनि उनको अनिश्चित यात्रा बाँकी नै थियो । त्यहाँबाट उनको यात्रा कोस्टारिका हुँदै निकारागुवातिर अघि बढ्यो । यो हरेक यात्रामा उनका सहयात्रीहरू फेरिन्थे तर दुःख र हैरानी उस्तै थिए । हरेकपल्ट डोंकरहरूबाट लुटिन्थे वा ठगिन्थे अनि धन्न बाँचियो भन्दै अघि बढ्थे ।

निकारागुवा पुगेपछि उनले हिसाब गरे । नेपालबाट उनलाई अमेरिका पुर्‍याउने जिम्मा लिएको दलालले ८४ लाख ७५ हजार लिएर बेपत्ता भइसकेको थियो । यात्रामा डोंकरहरू फेरिरहँदा उनको थप ११ लाख जति खर्च भइसकेको थियो । यसरी उनले झन्डै १ करोड गुमाइसकेका थिए । तर उनको गन्तव्य अझै भेटिएको थिएन ।

निकारागुवाबाट करिब १२ घण्टाको यात्रापछि उनी होन्डुरस पुगे । लगातार थप १२ घण्टाको यात्रापछि ग्वाटेमाला । त्यहाँ पुगेर उनलाई दलालले दुई दिन राख्यो । अनि मेक्सिको बोर्डर पुर्‍याइदियो ।

अमेरिकासँग सीमाना जोडिएको मुलुक पुगेपछि बल्ल राजेन्द्रलाई खुसी फर्किएजस्तो भयो । उनले सुनाए, ‘यति खुसी त म जीवनमा कहिल्यै भएको थिइनँ होला । किनकि अब अमेरिका नजिकै छ जस्तो लाग्यो ।’ त्यहाँबाट उनीसहितका अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करका एजेन्टले १०–१५ जना अट्ने ट्रकमा ४५–५० जना कोचेर राख्यो । अनि बाहिरबाट त्रिपालले छोप्यो । उनले थपे, ‘त्रिपालले छोपेपछि मेरो खुसी त्यसै निभ्यो ।’

निकारागुवा पुगेपछि उनले हिसाब गरे । नेपालबाट उनलाई अमेरिका पुर्‍याउने जिम्मा लिएको दलालले ८४ लाख ७५ हजार लिएर बेपत्ता भइसकेको थियो अवैध रूपमा अगाडि बढिरहेका बेला उनीहरू पक्राउ परे । उनीहरू मेक्सिकोको तापाचुलास्थित हिरासत कक्षमा पुगे । उनीहरू ५५ जना थिए । चार दिनसम्म छोड्ने सुरसार नदेखाएपछि आफूहरूले अनशन बस्ने योजना बनाएको सुनाए । उनले भने, ‘अनशन बसेपछि २४ घण्टाभित्र मेक्सिको छोड्ने सर्तमा कागज गराएर छोडिदिए ।’

हिरासत कक्षबाट छुटे पनि उनीहरूका दुःख सकिएका थिएनन् । उनले आफूहरू आधा–आधा घण्टाको अन्तरमा फरक–फरक गाडी फेर्दै अमेरिकी सिमानातिर अगाडि बढेको सुनाए । उनले भने, ‘गाडीको डिक्कीदेखि माइक्रोमा कोच्चिएर ६ दिनसम्म यात्रा गरिराख्यौं ।’

भोकै–प्यासै कुदेका उनले अमेरिकी सीमामा पुगेपछि बल्ल आरामसँग चाउचाउ खान पाए । पेट भरिएकै दिन उनी फेरि लुटेराहरूको फन्दामा परे । उनले अमेरिकी सीमाछेउ पुगेको खुसीमा यो लुटपाट भुल्ने प्रयास गरे । राजेन्द्रले सुनाए, ‘मध्यरात २ बजेतिर हामी दलालले भनेअनुसार ३ तला अग्लो घरजत्तिकै उचाइ भएको पर्खाल चढ्यौं र अमेरिकी सीमामा हामफाल्यौं ।’ उनलाई स्पष्ट सम्झना छ, त्यो ११ माघ २०८१ को राति थियो । अनि उनलाई यो पनि सम्झना छ, त्यो दिन उनले घर छाडेको १४ महिना बितिसकेको थियो । अनि एक करोडभन्दा धेरै पैसा सकिइसकेको थियो ।

उनीहरू क्यालिफोर्नियाको भूमिमा थिए । त्यही बेला अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले उनीहरूलाई पक्राउ गरे । १८ घण्टा एक ठाउँमा नियन्त्रणमा राखेपछि उनीहरूलाई एरिजोनास्थित हिरासत कक्षमा चार दिन राखेर मिसिसिपी पुर्‍याइयो । त्यहाँको हिरासत कक्ष पुगेपछि उनले बल्ल घरमा खबर पुर्‍याए, म अमेरिका आएँ है भनेर । तर उनले आफू थुनामा परेको भने बताएनन् । त्यसपछि सुरु भयो उनको फरक तर अत्यासपूर्ण दिन । उनले सुनाए, ‘खानाको नाममा बिहान र बेलुका दुई/दुई वटा पाउरोटी र पानी मात्रै दिन्थ्यो । अनि आइतबार बेलुकाचाहिँ तीन पिस चिप्स र एउटा स्याउ दिन्थ्यो । यही खाएर दिन कटाउनुपर्थ्यो । सुरु–सुरुमा त गाह्रो भयो । तर बिस्तारै बानी पर्दै जान थाल्यो ।’

एउटा पातलो म्याट र एकसरो पातलो कपडा ओढेर रात काट्नुपर्ने र भोलिको दिनमा के हुन्छ भनेर अनुमान गर्न नसकिने दिनचर्या उनका निम्ति सजिला थिएनन् । त्यसमाथि अमेरिका आउँदा उठाएको कर्जाले उनको पूरै परिवार थिचिएको थियो ।

हिरासत कक्षाको सानो कोठा नै उनको संसार थियो । उनले सुनाए, ‘ब्लकको पालोअनुसार हप्तामा १–२ पल्ट एक घण्टाका लागि बाहिर निकाल्थ्यो, त्यही बेला आकाश हेर्न पाइन्थ्यो ।’

नेपाली स्वादको खाने रहरले उनले नेपालकै एजेन्टमार्फत पैसा झिकाउँथे । अनि हिरासत कक्षको नियमअनुसार शनिबार र आइतबार अनलाइनबाट एक पटकमा १५ वटासम्म चाउचाउ र २ वटा बिस्कुट अर्डर गर्थे । उनले सुनाए, ‘११ महिना १६ दिनसम्म मैले यस्तै खाएर बिताएँ ।’

हिरासत कक्षबाटै उनले शरणार्थीका लागि आवेदन दिएर मुद्दा लडिरहेका थिए । उनले आफूलाई नेपाल सरकारबाट असुरक्षा भएको र उता बस्न नसक्ने भएर यता आएको तर्क गर्दै शरण मागिरहेका थिए ।

२७ भदौ २०८२ मा राजेन्द्रको अन्तिम सुनुवाइ थियो । जेलकै एउटा कोठामा भिडियो कलमार्फत आफ्नो बयान दिने व्यवस्था थियो । दोभासेको सहयोगमा उनले आफ्ना तर्कहरू वकिलमार्फत राखे । राजेन्द्रले त्यो दिन नेपालमा जेन–जी आन्दोलन भएको तीन दिन मात्रै बितेको कुरा पछि मात्र थाहा पाएका थिए । सुनुवाइका बेला न्यायाधीशले उनलाई भने, ‘तिमीलाई सरकारबाट असुरक्षा छ भनेका थियौ । अब त्यहाँ तिम्रो देशमा त्यो सरकार रहेन । यसकारण अब तिमीलाई गाह्रो छैन । आफ्नै देश फर्कन सक्छौ ।’

यस्तो सुन्नेबित्तिकै उनी खङ्ग्रङ्ग भए । सबै सपना टुटेजस्तो भयो । उनले भविष्य सम्झे, करोडमाथिको ऋण सम्झे । अनि साहुहरूको लस्कर सम्झे ।

ᴼᴼᴼ

फैसला सुनाएको ५ महिनापछि राजेन्द्र अमेरिकाबाट डिपोर्ट भए । उनले सुनाए, ‘डिपोर्ट गर्नेबित्तिकै फर्काइहाल्ने रहेनछ । र, मलाई फेरि जेलमै राखिरह्यो । अब घर जाने दिनगन्ती सुरु भयो । करिब ५ महिनापछि गत माघ महिनाको एक दिन नेपाल फर्किने मेरो पालो आयो ।’

२ वर्ष ६ महिनापछि उनी नेपाल फर्किने भए । उनले सुनाए, ‘हामीलाई हात, खुट्टा र कम्मरमा फलामको नेल लगाइयो । अनि त्यही अवस्थामा नेपाल फर्काइयो ।’ उनले यसरी फर्किनेमा उनीसहित ८० नेपाली, २५–३० बंगाली र अरूचाहिँ कम्बोडियाका रहेको बताए ।

अमेरिकाको जेलबाट निस्किएको ७ दिनपछि गत १८ माघ बिहानपख नेपाल आइपुगे । उनीसँग स्वदेश फर्किनुको खुसी थियो । तर घण्टौं लामो उडान र फलामका नेलले बाँधिएका हातखुट्टाको दुखाइले उनी रनाहमा थिए । हिरासतबाट लुजियाना पुर्‍याइयो । अनि डेढ घण्टाको उडानबाट टेक्ससफ्लाइट गरेर टेक्सस एयरपोर्ट ल्यायो ।

अमेरिकाको जेलबाट निस्किएको ७ दिनपछि गत १८ माघ बिहानपख नेपाल आइपुगे । उनीसँग स्वदेश फर्किनुको खुसी थियो । तर घण्टौं लामो उडान र फलामका नेलले बाँधिएका हातखुट्टाको दुखाइले उनी रनाहमा थिए । विमानस्थलबाट बाहिर निस्कँदा सयौं अपरिचित आँखाले उनलाई हेरिरहेजस्तो लाग्यो । उनले सुनाए, ‘सबैको नजर हामीतिरै थियो । कसैले केही सोध्न खोजेजस्तो अनि कसैले भिडियो–फोटो खिच्न खोजेजस्तो । म यो सबैबाट सकेसम्म जोगिएर बाहिर निस्किएँ । अब त आफ्नै देश जो आएको थिएँ । भुइँमै थुचुक्क बसे पनि घरजस्तै लाग्ने भाव मनमा आएको थियो । फुरुंग थिएँ ।’

उनले काठमाडौंमा रहेको एक जना साथीसँग सम्पर्क गरे र उनको कोठामा पुगेर आफूलाई बिसाए । २ महिना काठमाडौंमा बिताएर उनी चैतमा घर पुगे । जहाँबाट उनी अमेरिका छिर्ने र मनग्गे कमाउने सपना बोकेर निस्केका थिए । तर उनीसँग १८ वटा देश पार गरेर अमेरिका छिर्ने क्रममा पटक–पटक गरेर दलाललाई बुझाएको ९४ लाख ७५ हजार रुपैयाँ र यस क्रममा लागेको अन्य २० लाख २५ हजार गरेर कुल १ करोड १५ लाख रुपैयाँको ऋण र शून्य उपलब्धि थियो ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully