डंकी रुटको कथा : ‘न सन्तान साथमा न पैसा हातमा’

गैरकानुनी आप्रवासीलाई अमेरिकाले कडाइ गरेपछि लाखौं रकम खर्चेर अमेरिका हिँडेका वा पुगेका आफ्ना सन्तान डिपोर्टमा पर्लान् कि भन्ने चिन्तामा अभिभावक

फाल्गुन २४, २०८१

महेश केसी

The Story of Donkey Root: 'No Child with No Money in Hand'

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–३ स्थित दह गाउँमा विवाहको कार्यक्रम धुमधामसाथ चलिरहेको थियो । एकातिर दुलहा–दुलहीलाई टिकाटालो लगाउने अनि आशीर्वाद दिनेको लाइन । अर्कातिर नाचगानको उल्लास ।

यही बेला गीत सुनियो–

‘गिद्धैले खायो हेर गाई मर्‍यौको सिनो

अम्रिका पठाउनुहोला वैरागीको चिनो ।’

यही गीतको लाइन काफी छ, रुकुम पश्चिममा अमेरिका मोह कति छ भनेर बुझ्न । रुकुम पूर्व र पश्चिममा सायदै कुनै यस्तो गाउँ होला, जहाँका तन्नेरी लाखौं रुपैयाँ बुझाएर अवैध बाटोबाट अमेरिका छिरेका नहोऊन् । अनेक दलाललाई किस्ता–किस्तामा पैसा बुझाएको वा दर्जनौं देशको सीमा अवैध रूपमा छिचोलेका, अमेरिका छिरेर अध्यागमन हिरासतमा बसेका, बीच बाटोबाटै फर्काइएका वा अमेरिका छिरेर पनि डिपोर्ट भएकाहरूको कथा प्रत्येक गाउँमा सुन्न पाइन्छ । 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले गैरकानुनी आप्रवासीका सम्बन्धमा कडा नीति लिएका छन् । त्यसको प्रभाव भने रुकुम पूर्व र पश्चिमका गाउँ–गाउँसम्म परेको छ । लाखौं रकम खर्चेर अमेरिका हिँडेका वा पुगेका आफ्ना सन्तानहरू डिपोर्टमा पो परिहाल्छन् कि भन्ने चिन्ता अभिभावकमा देखिएको छ । 

The Story of Donkey Root: 'No Child with No Money in Hand'

बाँफिकोट–३ का जगत क्षेत्री (परिवर्तित नाम) ले ३१ वर्षकी ठूली छोरी चार वर्षअघि र १८ वर्षका छोरा हालै अमेरिका पुगेको बताए । उनकी २५ वर्षीया कान्छी छोरी पनि ५ महिनाअघि अमेरिका पुगेर जेलमा छिन् । ‘ठूली छोरी अमेरिका पुगेर कमाउन थालेपछि बाँकी छोराछोरीले पनि उता जान कर गरे,’ उनले भने, ‘अहिले ४१ दिन जेल बसेर निस्केको छोरो र थुनामा रहेकी छोरीको अवस्था केकसो हुने हो भन्ने डर छ । सबैतिर अमेरिकाले फर्काउँछ भन्छन्, त्यस्तो भयो भने त हामीलाई मर्नु न बाँच्नु हुन्छ ।’

सुरुमा ठूली छोरी पठाउँदा ३१ लाख रुपैयाँ खर्च भएको र पछिल्लोपल्ट दुई सन्तान पठाउन थप ७५/७५ लाख दलाललाई बुझाएको उनी बताउँछन् । यसभन्दा अघि एक जना दलालले छोरालाई अमेरिका पठाउँछु भनेर ५० लाख रुपैयाँ लिएको तर उक्त पैसा खाएर सम्पर्कविहीन भएको समेत उनले सुनाए । 

‘अहिले मेरो थाप्लोमा झन्डै २ करोड ऋण छ । म त पागलजस्तो भएको छु । झन् अमेरिकाले फर्काउँछ भन्ने सुनेदेखि होस ठेगानमा छैन,’ उनी आफ्नै सुरमा बर्बराए । केही रकम ठूली छोरीले व्यवस्था गरे पनि त्यो पनि ऋण नै भएको र २ करोडको ब्याज बढेर ३ करोड नाघिसकेको उनको भनाइ छ । ‘एकातिर छोराछोरी साथमा छैनन्, अर्कोतिर ऋणको भार छ । अमेरिकाको चक्करमा परेर हामी नराम्ररी डुब्यौं,’ निराश हुँदै उनी सुनाउँछन् ।

The Story of Donkey Root: 'No Child with No Money in Hand'

यो जगत्को प्रतिनिधि कथा हो । रकम ठूलो–सानो होला तर अमेरिकाको चक्करमा रहेका धेरैको एकै प्रकारको व्यथा छ । बाँफिकोट–३ कै सुरबहादुर ओली (परिवर्तित नाम) आफ्नी २० वर्षकी छोरीलाई ७५ लाख रुपैयाँ दलाललाई बुझाएर अमेरिका पठाएको बताउँछन् । छोरी झन्डै १३ महिनाअघि घरबाट निस्केको र तीन महिनादेखि मेक्सिकोमा अलपत्र परेको उनले दुखेसो गरे । ‘२ देखि ३ प्रतिशत ब्याजमा ऋण काढेर अमेरिका पठाएँ । आजभोलि गर्दागर्दै वर्ष बित्यो तर छोरी अमेरिका नै पुगेकी छैन,’ उनले भने ।

‘दलालले मेक्सिको पुर्‍याएको खबर आएको छ । तर अमेरिका छिर्न नै धेरै कडा गरेको छ भन्ने सुन्छौं । बर्बाद भयो,’ उनले भने ।छोरीको फोनसमेत दलालले खोसेर लिएकाले अरूकै फोनबाट एक साताअघि छोटो कुरा भएको ओलीको भनाइ छ । ‘दलालले पूरा पैसा लियो तर अमेरिकामा चुनाव छ भनेर अघि नै बढाइदिएन । अहिले त उता (अमेरिकामा) कडाइ गरेको छ रे, त्यहीँ (मेक्सिको) बाटै फर्काउने हो कि भन्ने डर छ,’ उनी भन्छन्, ‘छरछिमेकको लहैलहैमा लागेर आँटेको कामले आफैंलाई दुःख दियो ।’ 

कुरैकुरामा छोरीलाई अमेरिका पठाइदिन्छु भनेर यसअघि अर्को एक दलाललाई ५० लाख बुझाएको तर छोरी अमेरिका पठाउन नसकेको ओलीले सुनाए । ‘प्लेन टु प्लेन अमेरिका पठाइदिन्छु भनेर ५० लाख बुझाएँ तर अमेरिका पठाउने त परको कुरा, त्यो पैसा नै फस्यो,’ उनी भन्छन्, ‘आफ्नै मान्छेमार्फत दलालसँग सम्पर्क भएको थियो । दलाल नै सम्पर्कविहीन भएपछि के गर्ने, कसो गर्ने भन्ने अवस्थामा छु ।’ 

यस्तै दुःख झेलिरहेका छन् रुकुम पूर्व सिस्ने–३ पोखराका दलवीर खत्री (परिवर्तित नाम) पनि । अमेरिका जान भनेर घरबाट निस्केको आफ्नो छोरा साढे दुई वर्षपछि बल्ल अमेरिका पुगेर त्यहाँको जेलमा परेको बताए । 

‘करिब ८० लाख रुपैयाँ खर्च भयो अहिलेसम्म । एक महिनाअघि टेक्सास जेलमा परेको भन्ने खबर आएको छ,’ छोराबारे उनी बताउँछन्, ‘अब त जेलबाट निस्केर काममा लाग्ला कि भन्ने आस थियो, मान्छेहरू फर्काउँछ पो भन्न थाले । साहुहरू पैसा माग्न आइरहन्छन्, आफूसँग सुको छैन । अब के होला भन्ने डर मात्रै छ ।’

पोखराकै रमिता खड्का (परिवर्तित नाम) की २४ वर्षीया कान्छी छोरी १५ दिनअघि मेक्सिको पुगेकी छन् । सुरुमा दलालले ३० लाख रुपैयाँ खाइदिएपछि फेरि अर्को दलालमार्फत ७० लाख बुझाएर पछिल्लो प्रयास गरेको उनले बताइन् । करोडको ऋण दोब्बर हुन लाग्दा पनि अमेरिका सपना पूरा नभएको र फेरि फर्किने डरले उनलाई थिचेको छ । 

The Story of Donkey Root: 'No Child with No Money in Hand'

दलालले अमेरिका पुग्न खोज्नेहरूलाई १३ देशको कठिन रुट पार गराउने गरेका छन् । नेपालबाट भारत अथवा दुबईसम्म लैजाने र त्यहाँबाट एजेन्टमार्फत रुस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर र कोलम्बिया हुँदै पानामा पुर्‍याउने गरेका छन् । सन्तान र आफन्तहरू अमेरिका पठाउनेहरू त्यहाँको पछिल्लो सरकारी आदेशका कारण खुलेर कुरा गर्न चाहँदैनन् । गरिहाले पनि आफ्नो परिचय खुलाउँदैनन् । उनीहरूको ध्यान कसरी सन्ततिको लक्ष्य पूरा गर्ने र फसेको पैसा उठाउने भन्ने छ । 

रुकुम पश्चिमबाट के–कति संख्यामा अमेरिका पुगेका छन् र उनीहरूको अवस्था के छ भनेर कुनै तथ्यांक आफूहरूसँग नभएको जिल्ला समन्वय समितिका उपप्रमुख दीपेन्द्र विक बताउँछन् । बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरले पनि पालिकाभित्रका प्रायः घरका युवा कोही न कोही अमेरिका पुगेको, बाटोमा गइरहेको वा फर्केर आएको बताए । ‘यहाँ अमेरिकाप्रतिको आकर्षण निकै धेरै छ । एकै घरबाट ३–४ जना पनि गएका छन् । ठ्याक्कै यति जना गएका छन् र अवस्था यो छ भनेर भन्ने स्थिति छैन ।’

रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले आफ्नो पालिकाबाट मात्रै झन्डै ६ सय जना अमेरिकामा रहेको र २ सय जना बाटोमा गइरहेको अनुमान गरे । ‘उनीहरूको सुरक्षाका विषयमा संघीय सरकारले नै पहिला सोच्नुपर्छ,’ उनले भने ।

अमेरिका हिँडेका पूर्णबहादुर घानामा अस्ताए

अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ । गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीका अनुसार डाँगीको होटलमा मृत्यु भएको हो ।

‘उनका साथीले होटलमा हृदयाघात भएर मृत्यु भएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘रिपोर्ट आएपछि मृत्युको खास कारण खुल्नेछ ।’ उनको शव प्रहरी अस्पतालमा राखिएको छ ।

मलेसियाको रोजगारीबाट फर्केको केही समयपछि डाँगी अमेरिका जान ‘तल्लो बाटो’ हिँडेका थिए । आफन्त तोपेन्द्र डाँगीका अनुसार उनी अमेरिका जान घरबाट हिँडेको तीन वर्ष भएको थियो । ‘विभिन्न एजेन्ट हुँदै घाना पुगेका हुन्,’ तोपेन्द्रले भने, ‘यसबीच करोडभन्दा बढी खर्च भइसकेको छ ।’ उनी कहिलेदेखि घानामा थिए भन्ने खुलिसकेको छैन । उनको शव पठाउन एनआरएनए घानाले घाना मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावाससँग समन्वय गरेको छ । 

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले शवलाई छिटो पठाउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको बताए । ‘हामीले एनआरएनए र डाँगीका साथीसँग मृत्युबारे थप सोधखोज गरिरहेका छौं,’ उनले भने, ‘शव पठाउन लाग्ने खर्च बेहोर्न सम्बन्धित पक्षलाई नै आग्रह गरेका छौं ।’

डाँगीका साथमा अरू नेपाली पनि अमेरिका हिँडेका थिए । ‘डाँगीको टोलीमा अरू नेपाली पनि छन् तर संख्या यकिन भएको छैन,’ एनआरएनए घानाका अध्यक्ष सुवेदीले बताए । डाँगीले बोकेको राहदानीको म्याद गत डिसेम्बरमा नै सकिएको थियो । ‘राहदानीको म्याद गुज्रेको दुई महिना भइसकेको छ । यो हेर्दा डाँगीसहितको टोली घानाको ट्रान्जिटमा बसेको धेरै समय भएको देखिन्छ,’ उनले भने ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully