तुलसी घिमिरेका सिर्जनामा निरक्षर आमाको दर्शन

तुलसीलाई मन थियो, ‘आमामाथि फिल्म बनाऊँ, आमालाई नै खेलाऊँ ।’ फिल्म खेल्नका लागि अब आमा नर्वदा त छैनन्, तर आमाको अवतारमा कुनै कलाकार सोचिबसेका छन् । जसले आमाको भावनालाई न्याय गर्न सकुन् । तुलसी एउटा दृढ वाचा कस्छन्, ‘अब म फिल्ममा आमाको आँखाबाट संसार चियाउन चाहन्छु ।’

श्रावण २७, २०८२

समर्पण श्री

What you should know

काठमाडौँ — निर्देशकले ‘एक्सन’ भनेपछि ‘कट’ भन्न बिर्सिएको क्षण थियो त्यो । जब रणभूमिमा वीरगति प्राप्त गरेका छोराको आमा बोलिन् । हेर्नेहरूका आँखा रसाए । सामुन्ने उभिएका कलाकार स्तब्ध भए । ७३ वर्षको उकालो चढिरहेका निर्देशक तुलसी घिमिरे ‘पहाड’ खिचेर विश्राम गरिरहेको एक बिहान वर्षौंअघिको त्यो दिनलाई धूमिलसम्झना गरिरहेका थिए ।

‘त्यो बेला म ‘देश’ खिचिरहेको थिएँ । युद्धमा मारिएको छोराको आमालाई इन्डियाको राष्ट्रपति भवनमा बोलाएर वीर चक्र दिने सिन थियो,’ फिल्मका दृश्यझैं तुलसी फ्लासब्याकमा पुगे । फ्लासब्याकको त्यो श्यामश्वेत दृश्यमा उनले परिकल्पना गरेको सेटमा वीरगति प्राप्त गरेको योद्धाको आमा उभिएकी छन् ।

आमालाई प्रेसिडेन्टले मेडल थमाउँछन् । आमा ओल्टाइपल्टाइ हेर्छिन् । र भन्छिन्, ‘यो मेडल मेरो छोराले ७ सय मान्छे मारेर पाएको हो ?’ मेजर वीरताका साथ भन्छन्, ‘हैन आमा, सात सय दुस्मन मारेर पाएको ।’ त्यसपछि आमा कारुणिक लयमा भन्छिन्, ‘त्यति साह्रो मिल्थ्यो त गाउँमा । ७ सय दुस्मन कसरी बनाएछ हौ त्यसले ? हेर्नुस् साहेब, मैले यो मेडल घरमा लगेर झुन्ड्याएँ भने बिहान उठ्दा म सात सय विधुवाहरू देख्छु । सात सय घरमा टुहुराटुहुरी देख्छु । जिन्दगी जिउन त गाह्रो पो हुन्छ होला ।’ वरिपरि हेर्छिन् र गहिरो श्वाससहित मेडल देखाउँदै भन्छिन्, ‘यो छेउछाउमा बुद्धको मन्दिर छ ? छ भने त्यहाँ सेलाइदिनु...।’

पहिलो पटक छायांकन सेटमा पुगेर पहिलो टेकमै निर्देशकलाई ‘जिल’ खुवाउने ती आमा को थिइन् ? तुलसी खुसीले ओतप्रोत अनुहारलाई थप गर्विलो बनाउँदै भन्छन्, ‘मेरी आमा ।’

‘देश’ फिल्ममा आमाको जीवन्त अभिनय देखेर राष्ट्रपतिको भूमिका निभाइरहेका कलाकार पनि अड्किए । तुलसीले सोधे, ‘तिमीलाई के समस्या भयो ?’ उनले भावुक मुद्रामा भने, ‘मैले त तिम्रो आमाको आँखामा हेरेछु ।’ आमाले संवाद रटेकी थिइनन्, आफैं सिर्जना गरेकी थिइन् । ‘आमाको कारण त्यो सिन नै यति बलियो भइदियो कि, त्यसपछिका बाँकी कथा फिका भइदिए,’ ट्रलीमा खिचिएको लामो ‘सट’लाई तुलसी स्मृतिबाट नियाल्छन् ।

अबको दुई वर्षमा त म ७५ को हुनेछु, मेरा २५ वटा फिल्म पुग्नेछन् । फिल्म क्षेत्रमा लागेको वर्ष पनि ५० पुग्नेछ । मसँग सब हुनेछ तर आमा छैनन् 

तुलसीका हरफिल्महरूमा आमाका भूमिगत कला बाँचिरहेका छन् । सानोमा आमा नाचेको खुब देख्थे तुलसी । आमा नाच्दै गाउँथिन्, ‘लहनाले जुरायो कि, बहानाले भेटायो ।’ टाउकोमा कलश राखेर संगिनीहरूसँगै नाचिरहेकी आमाको गीत र नृत्य नै उनले ‘दर्पण छायाँ’ को सेटमा उने । त्यो गीत आजसम्म दर्शकका मानसपटलमा घुमिरहेको छ ।

कुनै कथा लिएर तुलसी आमाकहाँ हाजिर हुन्थे । कुशल श्रोता बनेर कथा सुनिरहेकी आमा चित्त बुझे स्याबासी दिन्थिन् । मन नबुझे मुखै फोडेर भन्थिन्, ‘यस्तो पनि कहीँ हुन्छ ? कसले लेखेको ?’ आमाका शब्द टिपेरै लेखेका गीतहरू बाँचेका छन्, सापटी लिएरै लेखेका संवाद बाँचेका छन् । आमाको जादुयी अभिनय देखेपछि साथीहरूले त भनेका पनि थिए, ‘तुलसी तिमी हुनुमा केवल आमाको देन छ ।’

आमा तुलसीका लागि आमा मात्रै भइनन् । साथी भइन्, जसले दुःखको सुस्केरा सुनिदिन सक्थिन् । दुःखलाई दुःखबाटै अलग गरिदिन सक्थिन् । सानो छँदा कालिम्पोङमा तुलसीको परिवारले एउटा कठिन समय गुजार्‍यो । आफन्तहरूले मुद्दा हालेर उनीहरूको जग्गाजमिन हडपे । बलिया आफन्तहरूका सामु उनीहरू निरीह देखिए । बाले हात उठाउँदै भने, ‘जाओस्, अब झगडा गरेर सकिन्न ।’

अनिश्चित भविष्यको डरले सताइरहेका बेला तुलसीले नर्वदालाई कोट्याए, ‘आमा, यति साह्रो दुःख त कसैलाई नि छैन होला है !’ नर्वदाले शान्त लयमा भनिन्, ‘संसारमा हामीभन्दा धेरै दुःखी पनि छन् ।’ त्यो रात बेलुका काखमा बहिनी च्यापेर आमा अँगेना नजिक बसेकी थिइन् । आमाको छेउमा भाइ र तुलसी टुसुक्क बसेका थिए । त्यतिबेला आमाले केही अनमोल ज्ञान बाँडेकी थिइन्, ‘एउटा कुरा ध्यान राख्नु नानी हो । हामीलाई दुःख धेरै किन लागेको भने दुःखको दिन धेरै ढिला सर्छ जस्तो लाग्छ । सुख मिलिक्कै गएजस्तो लाग्छ । तर जिन्दगीमा दुःख र सुख बराबर हुन्छ ।’

त्यतिबेला आमाले पिलाएको यो अमृतवाणीलाई तुलसीले जीवनभर पछ्याइरहे । नर्वदाले जीवनमा मानिसहरूको अन्योन्याश्रित सम्बन्धमा दुई किनारझैं लाग्ने सुःख र दुःखबीचको सेतु पनि छुट्याइदिएकी थिइन् । सन्तानलाई सोधेकी थिइन्, ‘लु भन त ? सुख कस्तो ठाउँमा बस्छ ?’ बत्तीको उज्यालोमा पिल्पिलाइरहेको छोराको अनुहार पढ्दै उनले थपिन्, ‘सुख कहाँ बस्छ, दुःखलाई थाहा हुन्छ । सुख बस्ने ठाउँ बनाउन दुःख आएको हो रे ।’

आमा अन्न फलिरहेको हरिया खेतबारी देखाउँदै भन्थिन्, ‘हेर यो खेतबारीमा पनि मकैपछि धान फलाउँछौं । धान काटिसकेपछि उजाड हुन्छ, बन्जर हुन्छ । फेरि त्यसमा हामी पानी हाल्छौं, जोत्छौं । जिन्दगी यस्तै त हो । केही न केही परिवर्तन भइरहन्छ । त्यसैले सुखको दिन रहेन भने दुःखको पनि त रहँदैन नि ।’

आमाको यो पंक्ति तुलसीको उमेरसँगै बगिरह्यो । एकदिन फिल्म ‘दुई किनार’का लागि उनले गीत रचे, ‘सुखका दिन रहेनन् भने दुःखका नि रहँदैनन् ।’ जीवनमा अक्षर नछिचोलेकी आमाभित्र यो अथाह ज्ञानको सागर कहाँबाट उर्लियो । तुलसी आजसम्म पनि सोचिबस्छन् ।

ताप्लेजुङको पहाडमा जन्मिएकी आमाले त्यहाँका उकालीओरालीहरू भोगिन् । त्यहाँबाट बसाइँ सरेर कालिम्पोङ जाँदासम्मका उतारचढावहरू भोगिन् । ‘पहाडका दुःख र जीवनको उबडखाबडले नै आमालाई यति गहिरा कुरा सिकाए कि !’ तुलसी लख काट्छन् ।

एक समय आमालाई पढ्ने रहर जाग्यो । ‘ए तुलसी, लु मलाई पनि लेख्न सिका त,’ छोरालाई अह्राइन् । तुलसीले लेख्न सिकाए । नर्वदाले नामसम्म लेख्न जानिन् । बुबा ध्वजमान र आमाको उमेरबीच २० वर्षको दूरी थियो । ध्वजमानका पहिलो श्रीमती बितेपछि आठ सन्तानका बिचल्ली हुने भए । सन्तान हुर्काउनै पनि ध्वजमानले कान्छी बनाएर नर्वदालाई २००६ सालमा भित्र्याए । नर्वदाको कोखको पहिलो सन्तान थिए तुलसी । ‘आमाले हामी र दाइहरूलाई कहिल्यै फरक व्यवहार गर्नुभएन । दाइहरूले यति माया गर्नुहुन्थ्यो कि मैले कहिल्यै ग्याप महसुस नै गर्न पाइनँ,’ तुलसी भन्छन् ।

दसैंमा टीका लगाएर नर्वदा छोरालाई आशीर्वाद दिन्थिन्, ‘राजाले चिन्ने हुनु, प्रजाले मान्ने हुनु ।’ आमाको आशीर्वाद सुनेर हाँस्दै तुलसी भन्थे, ‘राजाले त के चिन्थे होला र आमा ।’ त्यसको धेरै वर्षपछि आमाले तुलसीको जवाफ दिन पाइन् ।

तुलसीले आदिकवि भानुभक्तमाथिको वृत्तचित्र बनाउँदा रिलिजको दिन सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी पुगेका थिए । वृत्तचित्त हेर्न आमा पनि पुगेकी थिइन् । नरबहादुरले भाषणमा तुलसीको खुब प्रशंसा गरे । घर गएपछि नर्वदाले मक्ख पर्दै भनिन्, ‘आज राजाजस्तो मान्छेले चिन्यो तँलाई । मेरो आशीर्वाद काम लाग्यो ।’ 

एक पटक काठमाडौंमा तुलसीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहको हातबाट अवार्ड थाप्ने संयोग जुर्‍यो । त्यो दिन ज्ञानेन्द्रले तुलसीलाई फिल्मबारे केही प्रश्न पनि गरे । अवार्ड थाप्नासाथ खुसीले हौसिँदै तुलसीले नर्वदालाई फोन गरे, ‘आमा, मलाई नेपालको राजाले पनि चिने नि !’ आमा त जिल परिन् । सोधिन्, ‘हो र नानी ? तँ तुलसी नै भनेर चिने नि !’ छोराले भने, ‘अँ, तुलसी भनेरै चिने ।’ आमाले असीम खुसीको श्वास तान्दै भनिन्, ‘त्यसोभए तेरो जनम सफल भयो ।’ 

तुलसीले नेपाल आएर आफ्नो समयमा थुप्रै चर्चित फिल्म बनाए । ‘कुसुमे रुमाल’, ‘दक्षिणा’, ‘दर्पण छायाँ’, ‘देउता’, ‘बलिदान’, ‘चिनो’ हरू त धेरै मानिसका नोस्टाल्जियामा सुरक्षित छन् । नेपाल गएर कर्म गरिरहेको छोरालाई आमाको एउटा आग्रह थियो, ‘नेपाल तेरो मातृभूमि हो । बरु त्यहाँबाट केही ल्याउनुपर्दैन । तर ऋण छाडेर नआउनु ।’ नर्वदालाई आफ्नो जन्मभूमिप्रति खुब माया थियो । जन्मेको ठाउँ फर्केर हेर्ने इच्छा थियो । तर त्यतिबेलासम्म सडक पुगेको थिएन । आमाको रहर अधुरै रह्यो लाग्छ तुलसीलाई ।

आमाले सिकाएका साना कुराहरू पनि जीवनमा कति महत्त्वपूर्ण छन् । जस्तो कि होटलमा खाना खाइरहँदा सिता खस्यो भने पनि तुलसी टिपेर माथि राख्छन् । आमा जहिल्यै भन्थिन्, ‘एकै सिता किन नहोस्, अन्नहरू कहिल्यै फाल्नुहुन्न ।’ यदि फाल्यो भने तुलसीलाई आमाको अपमान गरेको अनुभूत हुन्छ । ‘के म आमाको अपमान गर्न सक्छु ?,’ तुलसी थप्छन्, ‘आज हामी जे जति छौं । नराम्रो कुरा आफैंले सिक्यौं होला । राम्रा कुरा सबै आमाले सिकाउनुभएको ।’

आमालाई यति प्रेम र श्रद्धा गर्थे तुलसी, आमाको भनाइमा कहिल्यै तर्क खोजेनन् उनले । जसरी सन्तानप्रतिको मायामा नर्वदाले स्वार्थ खोजिनन् । तुलसी एउटा भनाइ जोड्छन्, ‘भगवान्ले सबै ठाउँ आफू जान भ्याउँदैन रे, त्यसकारण आमा बनाइदिएका रे ।’ आमाछोरा उमेरका अंक गनिबस्थे । तुलसी भन्थे ‘आमा, सय त कटाउनुपर्छ ।’ नर्वदा भन्थिन्, ‘सय पुग्यो भने त मान्छे भगवान् हुन्छ ।’ तर तुलसीका लागि त आमा सधैं देवता थिइन् । होस सम्हालेदेखि छातीमा टाँसेर हुर्काएकी आमा हेर्दाहेर्दै बूढी भइन् । 

शरीरका छालाहरू चाउरिए । अन्ततः उनी ९५ पुगिन् । सन् २०१४ तिर हुनुपर्छ, त्यो वर्ष तुलसीले बाँचेका वर्षमध्ये सबैभन्दा पीडादायी थियो । त्यो वर्ष उनले आमा गुमाए । अन्तिम दिनहरूमा आमा बिरामी थिइन् । भन्थिन्, ‘मलाई हस्पिटल नलैजा ।’

तर आमाको प्राण आफ्नोभन्दा पनि प्यारो थियो तुलसीलाई । कहाँ मान्थ्यो मन । हतारहतार हस्पिटल लगे । आईसीयूमा भएकी आमाले पटकपटक छोरालाई आग्रह गरिरहिन्, ‘मलाई घर लैजौं ।’ आमाको जीवन डाक्टरको हातमा पनि थिएन । केही नलागेपछि तुलसीले आमालाई घर लगे । आमा हाँस्दैहाँस्दै घरसम्म पुगिन् । घरको पलङमा बिसाएपछि आमालाई वरिपरि सबैले घेरे । त्यतिबेला आमाले तुलसीलाई अह्राइन्, ‘सुन्दर काण्ड पढ् त ।’

तुलसीले रामायणका पन्ना पल्टाएर पढ्न थाले । उनी पढ्दै गए । आमा सुनिरहिन् । सुन्दासुन्दै आमाले अत्यन्तै शान्तसँग आफूलाई बिसाइन् । तुलसीले बिस्तारै आमाको अनुहारमा हेरे । जानुको पीडा पनि छ । तर ऐया, आत्था नभनी जानुको सन्तुष्टि पनि । १३ दिन बित्यो । त्यतिन्जेल घरभरि मान्छेको भीड थियो । सोध्न र सान्त्वना दिन आउनेहरूको लर्को । त्यसपछि सबै आ–आफ्ना घर फर्के । अब तुलसीलाई सन्नाटाले छोप्दै गयो । आफैं कतै छुटे छुटेजस्तो, हराए हराएजस्तो ।

विरहको पोलिरहेको मनलाई सोधे, ‘अब स्टोरी कसलाई सुनाउने, गीतहरू कसलाई सुनाउने ?’ आमा सम्झिरहेका तुलसीको गला एकाएक अवरुद्ध भए । आँखाबाट झरिरहेका आँसु पुछे । पानी पिए । केही सेकेन्ड शान्त बसे । अनि आफूलाई सम्हाल्दै भने, ‘आइ मिस यु ममी ।’ वृद्धाश्रममा तुलसी सन्तान पर्खिरहेका आमाहरू देख्छन् । मन चसक्क हुन्छ । आक्रोशले थामिनसक्नुहुन्छ । ‘त्यतिबेला ती छोराहरूप्रति मेरो मनमा सैतान आउँछ,’ उनी आक्रोशित सुनिन थाल्छन्, ‘एउटा अनमोल रत्न हुन्, आमा । कसरी छोराछोरी त्यस्तो गर्न सक्छन् ?’

आमालाई लिएर तुलसीको एउटा सपना थियो । उनी सुनाउँथे, ‘मेरो फिल्म २५ वटा पुग्नु, ठूलो कार्यक्रम हुनु, त्यो कार्यक्रमको मञ्चमा तिमी बसिदिएको हुनु । अनिमात्र मेरो जीवन सफल हुनेछ ।’ तर तुलसीको त्यो सपना साकार हुन पाएन । अहिले पनि आमाको फोटो हेरे उनी एक्लै संवाद गरिबस्छन् । ‘अबको दुई वर्षमा त म ७५ पुग्नेछु । मेरा २५ वटा फिल्म पुग्नेछन् ।

फिल्म क्षेत्रमा लागेको वर्ष पनि ५० पुग्नेछ । मसँग सब हुनेछ । तर आमा हुने छैनिन्,’ पीडालाई सेलाउँदै गरेका तुलसी फेरि भक्कानिन्छन् । आमाबिनाका वर्षहरू त चिसा हुने रहेछन् । सन्तानलाई कहिल्यै नबिझाएकी आमालाई सम्झेर यतिबेला बिझाउँदो रहेछ तुलसीलाई ।

‘आमालाई भुल्न सबैभन्दा गाह्रो के भयो भने, मैले ‘दक्षिणा’मा एउटा डाइलग राखेको छु । एकदिन पनि गाली गर्दिया भए हुन्थ्यो । एकदिन पनि नराम्रो गरिदिएको भए हुन्थ्यो । त्यही सम्झेर भुल्न सजिलो हुन्थ्यो । तर भुल्नका लागि एउटा बिन्दु पनि छैन,’ उदास सुनिन्छन् उनी । 

आमासँगका थुप्रै संवादहरू छन्, जो अहिले पनि गुन्जिरहन्छन् । कथाहरू छन्, जो स्मृतिमा बाटिइरहेका छन् । तुलसीलाई उतिबेलै मन थियो, ‘आमामाथि फिल्म बनाऊँ । अनि आमालाई नि खेलाऊँ ।’ फिल्म खेल्नका लागि अब आमा त छैनन् । तर आमाको अवतारमा कुनै कलाकार सोचिबसेका छन् । जसले आमाको भावनालाई न्याय गर्न सकुन् । संवादलाई बिट मार्नुअघि तुलसी एउटा दृढ वाचा कस्छन्, ‘अब म फिल्ममा आमाको आँखाबाट संसार चियाउन चाहन्छु ।’

आमा श्रृंखलाअन्तर्गतका अन्य फिचरहरू पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully