आमाका दुःखका काँडा निकाल्न चाहन्छिन् लक्ष्मी बर्देवा

आमाका अनगिन्ती दुःखपीडा देखेकी लक्ष्मीलाई त्यसमा मायाको मलम लगाउन मन छ, वर्षौंदेखि बिझेका पारिवारिक विखण्डनका काँडा बोकेर विदेश भासिएकी आमाका ती खिल निकाल्नु छ उनलाई, ‘आमा जब आउनुहुन्छ, त्यतिबेला म पोखिनेछु, ममीलाई पनि पोखिन दिनेछु,’ लक्ष्मी त्यो महत्त्वपूर्ण क्षणको प्रतीक्षा गर्दै आमासँगको पहिलो अंकमालको व्यग्र प्रतीक्षामा छिन्

चैत्र २०, २०८१

समर्पण श्री

Lakshmi Bardeva wants to remove the thorns of her mother's grief

काठमाडौँ — अभिनेत्री लक्ष्मी बर्देवाकी आमा उषा ढकालले वैवाहिक जीवनको २६ वर्षपछि एउटा कठोर निर्णय लिँदै भनिन्, ‘अब म आफ्ना लागि बाँच्छु ।’ यतिका वर्ष अरूका लागि बाँचेकी उनका कति सपनाहरू फाटे, कति रहरहरू ओइलाए । जीवनको बहिखातामा त्यसको कुनै हिसाब थिएन ।

सन्तानको सपनाका लागि सम्झौतामा जेलिएकी उनले जब निर्णय गरिन्, आफ्नाहरू पनि उनको विपक्षमा उभिए । छोरीहरूले उनकै कदमलाई गलत ठहर्‍याउँदै भने, ‘तपाईं धोकेबाज हो ।’ प्रियहरूले पनि अप्रिय मानिरहेको बखत उनी कति टुक्रिइन् होला ! लक्ष्मी महसुस गर्न खोज्छिन् । तर आमा उषाले अड्डी कसिरहिन्, ‘आफू सही छु भने संसारै खनिए पनि के हुन्छ र ?’ 

पटक–पटक हारेकी उषा अब हार्न चाहन्न थिइन्, पटक–पटक गलेकी उनी अब गल्न चाहन्न थिइन् । बरु छोरीहरूलाई भन्थिन्, ‘म थाकें, एक दिन तिमीहरू पनि थाक्छौ ।’

आमाले त्यसबेला बासँग सम्बन्धविच्छेदको कठोर निर्णय लिएकी थिइन् । परिवारमा त्यो कसैलाई सह्य थिएन । आमाले रोजेको बाटोसँग लक्ष्मीले विमति राखिन् । उनी बोल्न छाडिन् । उषा वैदेशिक रोजगारीका लागि कुवेत लागिन् । पाँच वर्षसम्म छोरी नबोल्दा उनको मन कति चिसियो होला ! कति चर्कियो होला ! लक्ष्मी अनुभूत गर्न खोज्छिन् । आमा फेसबुकमा छोरीसँगका तस्बिर राख्थिन्, लक्ष्मी हटाउन लगाउँथिन् । आफ्नै बिहेमा पनि उनले आमालाई बोलाइनन् । तर उनको अनुपस्थितिले दुखाएको महसुस भने गरिन् ।

पुराना पालुवा फेरिएर नयाँ पालुवा पलाएझैँ फेरिँदो रहेछ विचार । बिस्तारै उनले आमालाई फर्किएर हेर्न थालिन् । आमाले गरेका कठिन संघर्षहरू सम्झन थालिन् । परिवारका लागि गरेको त्याग, निभेको सपना खोतल्न थालिन् । त्यसपछि आफैंमाथि प्रश्न तेर्स्याइन्, ‘के ममीेले त्यो समयमा अपाएको स्वतन्त्रता सही थिएन ?’ पश्चातापको रापमा छट्पटाउँदै आत्मसमीक्षा गर्न थालिन्, ‘हामी कति रुढिवादी परम्पराबाट ग्रसित हुँदा रहेछौं ?’ 

मान्छे किन कोहीबाट टाढिन्छ ? जवाफ भेट्दै गएपछि लक्ष्मी एउटा निर्णयमा पुगिन्, ‘आफ्ना लागि बाँच्नु त सुन्दर कुरा हो । ममीले त्यही त गर्नुभएको हो ।’

पर्खाइ पीडादायक हुन्थ्यो होला । तैपनि उषालाई थाहा थियो, एक दिन छोरीले फोन गर्नेछिन्, माफी माग्नेछिन् । अनि ममी भनेर बोलाउनेछिन् । नभन्दै वर्षौंपछि एक दिन लक्ष्मीले आमालाई फोन गरिन् । भिडियो कलमा उनी भक्कानिइन् । उषाले सम्हालिँदै भनिन्, ‘मलाई थाहा थियो । एक न एक दिन तैंले फोन गर्छेस् भनेर ।’ 

Lakshmi Bardeva wants to remove the thorns of her mother's grief

...

लक्ष्मीले रंगमञ्चमा ‘जार’, ‘माथा पञ्चर’, ‘कथा एक्सप्रेस’, ‘१२ दुर्वासा’ लगायत जति नाटकमा अब्बल चरित्र निर्वाह गरिन्, ती सबैमा आमाका प्रतिबिम्ब भेटिन् । फिल्म ‘बुलबुल’ मा टेम्पो चालकको चरित्र खेल्दा होस् वा ‘मिस्टर झोले’, ‘जालो’, ‘कागजपत्र’, ‘डम्बरुको डन्डिबियो’, सेल्फिकिङ’ वा मुख्य भूमिका रहेको आगामी प्रोजेक्ट ‘अनन्त’, ‘विच्छेद’, ‘हामी तीन भाइ’, ‘शक्ति’ लगायत हरेक फिचर फिल्म, सर्ट फिल्म र म्युजिक भिडियोमा पात्रहरू निर्वाह गर्दा उनी आफूले बाँचेको चरित्रमा आमालाई ‘पोट्रेट’ गरिरहेकी हुन्छिन् । 

उषाले छोरीका स्वतन्त्रतालाई कहिल्यै छेकिनन् । सपनामा जहिल्यै मलजल गरिरहिन् । ‘अहिले म जहाँ उभिएको छु, यहाँसम्म आउनमा ममीकै पनि हात थियो,’ लक्ष्मी सम्झिन्छिन् । काठमाडौंमा गरिबी झेलेर तीन छोरी हुर्काइरहेकी आमा लक्ष्मीका लागि कठोर पनि लाग्थिन् । दुख्ने गरी कुट्थिन् । त्यसरी आमाको कुटाइ खाएको क्षणले चिमोट्दा उनी पछिसम्म आमालाई भनिरहन्थिन्, ‘एक समय तपाईंले माया नै गर्नुहुन्न जस्तो लाग्थ्यो ।’

१० महिनाअघि लक्ष्मी पनि पहिलो पटक आमा बनिन् । त्यसपछि प्रश्नको जवाफ आफैं भेट्न थालिन् । उनी र आमाबीच १६ वर्षको अन्तर थियो । न आमालाई सघाउने कोही, न गाइड गर्ने कोही थियो । आफ्ना दुःख सुन्नेहरू पनि कोही थिएनन् । लक्ष्मीले सोचिन्, ‘मसँग सहयोगी श्रीमान् हुनुहुन्छ, छिट्टै काममा फर्कन सकिरहेको छु । र त मलाई गाह्रो भइरहेको छ । त्यतिबेला मलगत्तै १५ महिनाको अन्तरमा बहिनी जन्मेकी, ममीलाई कति गाह्रो थियो होला !’

...

२०३२ सालमा भोजपुरमा जन्मेकी उषा काठमाडौंमा ‘हुनेखाने’ परिवारमै हुर्किन् । उनीहरूको आफ्नो गार्मेन्ट फ्याक्ट्री थियो । त्यही गार्मेन्टमा काम गर्थे नवीन बर्देवा । उषाका बाले नवीनको इमानदारिताको तारिफ गर्थे । उनलाई माया गर्थे । त्यही गार्मेन्टमा बेलाबखत गइरहँदा नवीन र उषाको भेट भयो । तेह्र/चौध वर्षकी मात्र थिइन् उषा । नवीन उनीभन्दा सात वर्ष जेठा । उनीहरू एकले अर्कालाई मन पराउन थाले । अनि उषा नवीनसँग भागिन् । उषाका लागि माइतको ढोका त्यसपछि बन्द भयो । 

लक्ष्मी र माइली बहिनी जन्मेपछि बाले उषालाई रामेछापस्थित गाउँ लगेर छाडे । ‘ममी रातो माटो बोक्न जानुहुन्थ्यो । पानी परिरहेको बेलामा बाटोमा चिप्लेर लड्नुभयो । ममी बाँच्नुहुन्न भनेर हामीलाई पर राखेको पनि सम्झना छ,’ लक्ष्मी स्मृतिको आँखीझ्याल चियाउँछिन्, ‘तर ममी बिस्तारै निको हुनुभयो ।’ खानका लागि असाध्यै अभाव हुन्थ्यो त्यहाँ । खाना–खाजाको नाममा खोले खाएर चित्त बुझाउनुपर्ने दिन थिए । एक दिन बालाई कान्छा काकाले भाउजूलाई गाउँमा दुःख भयो भनेर सुनाए । त्यसपछि बाले उनीहरूलाई पुनः काठमाडौं ल्याए । काठमाडौं आउँदा लक्ष्मीलाई खोलाको किनारैकिनार हिँडेको याद छ । अनि एउटा कोठामा बिनासामान गुन्द्रीमा कति रात बिताएको सम्झना छ ।

Lakshmi Bardeva wants to remove the thorns of her mother's grief

आमा उषा जहिल्यै आफ्नो बल बुतामा उभिन चाहने । उनले तरकारी व्यापार सुरु गरिन् । पछि बाले टेलरिङको काम गर्न थाले । आमाले अरूको घरमा सहयोगीका रूपमा काम गर्न थालिन् । ‘पैसा कमाउन ममीले ड्याडीलाई जहिल्यै सघाउनुभयो । ममी ड्याडीलाई व्यापार गरौं भन्नुहुन्थ्यो । उहाँ टार्नुहुन्थ्यो,’ लक्ष्मी भन्छिन्, ‘ममीले ड्याडीलाई हिसाब बुझाउनुहुन्थ्यो । ड्याडीले बुझाउनुहुन्न थियो । यसरी नै घरमा द्वन्द्व सुरु हुन थाल्यो ।’

आमाले छोरीहरू हुर्काउन के गरिनन् ? अरूको घरमा भाँडा माझिन्, लुगा धोइन् । कतिपय बेलामा त छोरीहरू पनि सघाउँथे उषालाई । आमाले ज्यामी काम पनि गरिन् । लक्ष्मीहरू भन्थे, ‘हामी पनि जान्छौं ।’ उषा भन्थिन्, ‘गह्रुँगो गह्रुँगो भारी उठाउनुपर्छ, तिमीहरू सक्दैनौ ।’ उषाले त्यतिन्जेलसम्म ज्यामी काम गरिरहिन्, जब छोरीहरूले आफ्नो खुट्टामा उभिएर भने, ‘अब तपाईंले यो काम गर्नुपर्दैन ।’ लक्ष्मीहरू सानै हुँदा आमा उदेक मान्दै भन्थिन्, ‘यो स्थितिबाट माथि आउन तिमीहरूले पढ्नैपर्छ ।’ 

...

कक्षा ९ मा पढ्दाताका, एक दिन लक्ष्मी स्कुलबाट डेरा पुगेकी थिइन् । डेरामा कोही अपरिचित पाहुना आएका थिए । बाआमाले मामा र माइजू भन्दै चिनाए । उनले मामाको अनुहारमा हेरिन्, दुरुस्तै आमाजस्ता । ‘ममीले पहिला पनि हामी सानो हुँदा लिएर जानुभएको रहेछ । हजुरबाले ममीकै कारण घर छाडेर बाहिर बाहिर बस्न थाल्नुभएको रहेछ । हजुरआमाले पनि अपमानित गरेपछि ममी माइत जान छाड्नुभएछ,’ लक्ष्मी सुनाउँछिन् । आमाको बासँग अन्तरजातीय सम्बन्धका कारण मामाघर रुष्ट थियो । त्यसकारण लक्ष्मीलाई मामाघरबारे कहिल्यै थाहा भएन । 

उषाकी बहिनी डाक्टर छिन् । उनी अस्ट्रेलियामा बस्छिन् । जब मामाघरमा कान्छो मामाको बिहे भएर माइजू भित्रिइन्, सुरुमा त उनलाई एउटा मात्रै छोरी छ भनेर सुनाइयो । ‘माइजू बिहे गरेर आएपछि पहिला एक जना मात्र दिदी भनेका थिए रे । पछि अर्को एक जना दिदी पनि छिन् भन्ने थाहा भएछ । त्यसपछि माइजूले सोधखोज गर्न थाल्नुभएछ,’ लक्ष्मी सुनाउँछिन् । अहिले लक्ष्मी कान्छी माइजूसँग नजिक छिन् ।

लक्ष्मी थिएटरमा काम गर्न थालिसकेकी थिइन् । एक दिन घर पुग्दा एक जना ढाकाटोपी लगाएका अग्लो कदका मान्छे बासँग कुरा गरेर बसिरहेका थिए । उनी लक्ष्मीका मामाघरका हजुरबा रहेछन् । त्यसपछि हजुरबा हरेक दसैंमा टीका लगाउन डेरामा पुग्थे । उनलाई हजुरबाप्रति माया पलाउन थालिसकेको थियो । तर, एउटा दसैंमा टीका लगाउन भनेर हिँडेका हजुरबा डेरासम्म पुग्न पाएनन् । उनलाई बालाजुमा गाडीले हान्यो । त्यसपछि कहिल्यै फर्केनन् ।

...

लक्ष्मीमा अभिनयको भोक कहाँबाट आयो ? श्रेय आमालाई नै दिन्छिन् । त्यो भोक लक्ष्मीमा मात्र हैन, आमाभित्र पनि रहेछ । ‘ममी पनि कलाकार बन्न चाहनुहुँदो रहेछ । टेलिसिरियल नि खेल्नुभएको रहेछ,’ लक्ष्मी सुनाउँछिन् । एक पटक फिल्म ‘सुन्दर मेरो नाम’को सुटिङमा उषा कोरसका लागि गइछन् । उनले लक्ष्मीलाई पनि साथमा लगिछन् । ‘फिल्ममा गरिमा पन्त दिदीको रौनक देखेर अचम्म लाग्यो । मलाई पनि कलाकार बन्ने भोक जाग्यो,’ उनी सुनाउँछिन् । 

लक्ष्मी स्कुल छँदा नाटक पनि खेल्थिन् । कक्षा १२ मा पढ्दा उनलाई फिल्म ‘माला’का लागि अफर आयो । उनले निर्णय दिन सकिनन् । उषाले नै फिल्म गर्न छोरीलाई सुझाव दिइन् । त्यसपछि लक्ष्मीलाई नाटक सिक्ने हुटहुटी जाग्यो । तर बा नवीन त्यसको विरुद्धमा थिए । ‘संघर्ष गरिरहेको मान्छे सफल हुन्छ भनेर एक प्रतिशतलाई पनि विश्वास हुन्न । त्यही भएर होला ड्याडीले जान दिनुभएन,’ लक्ष्मी सुनाउँछिन् ।

त्यतिबेला अनामनगरमा थियो मण्डला थिएटर । लक्ष्मी त्यहाँ नाटक सिक्न चाहन्थिन् । उषाले अनामनगरमा छोरीको जागिर छ भनेर झूट बोलेर पठाइन् । पछि पहिलो नाटक हेर्न पुगेका बाले असन्तुष्टि जनाउँदै नाटक गर्न नदिने अड्डी कसे । लक्ष्मी घरबाट निस्केर पनि हिँडिन् । त्यतिबेला आमाले चित्त दुखाउँदै भनिन्, ‘छोरीले केही गर्छु भन्दा पनि नमान्ने, उनीहरूको सपना के हो भन्ने पनि थाहा नहुने ?’

नाटक ‘माथा पञ्चर’मा काम गरिसकेपछि बालाई अभिनेता दयाहाङ राई र राजन खतिवडाले एकपल्ट सम्झाए, ‘नाटकमा तपाईंको छोरीको भविष्य एकदम राम्रो छ । अभिनय राम्रो गर्छिन् । तपाईंले भोलिपर्सि म लक्ष्मी बर्देवाको बा हो भनी गर्व गर्न पाउनुहुन्छ ।’ छोरीको प्रशंसा सुनेर फुरुङ्ग बनेपछि उनले कहिल्यै रोकेनन् । अहिले लक्ष्मीका बाले कान्तिपुर साप्ताहिकमा छापिएको छोरीको ब्लोअप फोटो पसलमा टाँसेका छन् । मान्छेहरूले सोध्छन्, ‘तपाईं उहाँको फ्यान हो ?’ नवीन गर्वका साथ भन्छन्, ‘ऊ मेरो छोरी हो ।’ त्यसपछि उनीहरूले पनि आफूलाई मनपर्ने अभिनेत्री भएको बताउँछन् । बा खुसीले गद्गद् हुन्छन् ।

...

आमा उषा उदार स्वभावकी लाग्छिन् लक्ष्मीलाई । छोरीहरूको कुरा सुनिदिने, भावनाको कदर गरिदिने । ‘मेरो साथीसंगतप्रति उहाँ ओपन माइन्डेड । परिवारमा केटा साथी घर लिएर जान सकेको भनेको ममीका कारण हो । साथीको भ्यालु एकदम बुझ्ने,’ लक्ष्मी सुनाउँछिन् । उनी अभिनेता जीवन भट्टराई (हालका श्रीमान्) सँग सम्बन्धमा रहँदा सबैभन्दा खुसी थिइन् आमा । पछि लक्ष्मी जीवनसँग बस्न थालिन् । घरमा विग्रहको अवस्था झन्–झन् बढ्दो थियो । त्यो स्थितिमा लक्ष्मी कमजोर भएकी थिइन् । ‘काममा पनि फोकस हुन सकिनँ । स्कुटरमा कहाँ पुग्थें, लड्थें,’ लक्ष्मी सुनाउँछिन् ।

Lakshmi Bardeva wants to remove the thorns of her mother's grief

बाको तास खेल्ने बानीले पनि आजित थियो परिवार । आमाले गरेको दुःखलाई दुःख नबुझिदिँदा, आमाले गरेको त्यागलाई त्याग नबुझिदिँदा दुईबीच चिसोपना बढ्दै गइरहेको थियो । आमा चाहन्थिन्, बाले कमजोरी सुधारुन् । तर आमाले चाहेको बाले कहिल्यै गरेनन् । एक समयपछि आमाले सम्बन्धबाट हात उठाइन् । बाआमाको सम्बन्धविच्छेदको ८ वर्ष भयो । बाले अर्को बिहे गरे । आमा अहिले साइप्रसमा छिन् । बा र आमा दुवै आफ्नो लयमा जिन्दगी बाँचिरहेका छन् । 

...

लक्ष्मीलाई आजसम्म आमाले अंकमाल गरेकी छैनन् । न आमालाई लक्ष्मीले । आमाका लागि उनले लामो समयदेखि साँचेको कोसेली हो, ‘अँगालो ।’ अघिल्लो पालि कुबेतबाट आमा आउने बेलामा लक्ष्मीले घरबाटै सोचेर गएकी थिइन्, ‘आमालाई अंकमाल गर्छु ।’ तर ममीको अनौठो कपाल देखेर उनी बेस्मारी हाँसिन् । अनि अंकमाल गर्नै बिर्सिन् । लक्ष्मीलाई लाग्छ, ‘अंकमाल न्यानो माया हो, साथ हो ।’ उनले बा कमजोर मनस्थितिमा भएको बेला म छु भनेर आश्वासन दिँदै अंकमाल गरेकी थिइन् । बा भक्कानिएर रोएका थिए त्यतिबेला । त्यसपछि हलुका महसुस गरेका थिए । 

आमाभित्रका पीडा, घाउहरूमाथि मलम लगाउन मन छ लक्ष्मीलाई । वर्षौंदेखि बिझेका काँडा निकाल्न मन छ उनलाई । ‘आमा जब आउनुहुन्छ । म त्यतिबेला पोखिनेछु, ममीलाई पनि पोखिन दिनेछु,’ लक्ष्मी त्यो महत्त्वपूर्ण क्षणको प्रतीक्षा गर्दै भन्छिन्, ‘त्यतिबेला म ममीलाई अंकमाल गर्नेछु ।’

Lakshmi Bardeva wants to remove the thorns of her mother's grief

आमा-फिचर श्रृंखला

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully