रगत–पसिना बगायौं, बदलामा के पायौं ? : संगीता लामिछाने

बिर्ता आन्दोलनको आइकनिक फोटो

माघ ६, २०८१

दीपक सापकोटा

We shed blood and sweat, what did we get in return? : Sangeeta Lamichhane

काठमाडौँ — ‘बिर्ताको व्यथा’ को पहिलो भागमा एउटा तस्बिर छापिएको थियो– सयौं आन्दोलनकारीका बीच हलो बोकिरहेकी एक किशोरीको । रूखमुनि रातो बर्को ओढेकी, रातो टीका लगाएकी, कालो स्वेटर लगाएकी त्यो तस्बिरकी उदास किशोरी अब आमा बनिसकेकी छन् । उनकी ४ वर्षकी छोरी छिन् । रसुवाको कालिका गाउँपालिका– २, गैराघरकी उनी हाल काठमाडौंको तारकेश्वरमा बस्छिन् ।

धेरै वसन्त र हिउँद बितिगए, आन्दोलन पनि चलिरह्यो । उनको बिहे भयो, जिन्दगीको धुन र लय बदलियो । कुनै कम्प्युटरको अर्काइभ–फोल्डरमा सुरक्षित आफ्नो पुरानो तस्बिर ई–कान्तिपुर र कान्तिपुरमा प्रकाशन भएपछि रसुवाकी तिनै संगीता लामिछानेलाई उनका साथीहरूले, आफन्तले खुब फोन गरे, फेसबुक म्यासेन्जरमा सन्देश पठाए । तिनले भने, ‘ओइ ! तँ त भाइरल पो भइछस् । अनलाइनलगायत पत्रिकामा फोटो आएछ है ।’ 

फोटोमा संगीता किशोरी छिन् । ‘अहिले त म फेरिएँ नि ! आमा नै भइसकें,’ उनी भन्छिन् । उनले सहरको कालोपत्र भुइँमा टेकाएको त्यो हलो–कथा बेग्लै छ । रसुवादेखि काठमाडौंसम्म सरकारलाई आफ्ना व्यथा सुनाउन आएका महिला आन्दोलनकर्मीहरूले आफ्नो बलियो काँधमा बोकेर ल्याएका थिए त्यो हलो । 

२०६७ चैत १ देखि ८ सम्म ५० जिल्लाका भूमिहीन महिलाको आन्दोलन चलिरहेको थियो । रसुवाबाट प्रतिनिधित्व गरी आफ्ना आफन्त, साथीहरूसँग आन्दोलनमा सहभागी थिइन्, १७ वर्षे संगीता । र, उनी काठमाडौं खुलामञ्चमा भएको त्यो ८ दिने धर्नामा बसेकी थिइन् आफन्तहरूसँग । उनी र उनका साथीहरूको एउटै माग थियो– आफूले जोतिरहेको बिर्ताको जमिन आफ्नै होस् ।  

We shed blood and sweat, what did we get in return? : Sangeeta Lamichhane

आन्दोलनमा मानिसको ठूलो पंक्ति थियो, धेरैले सहरमा हलो बोक्न लाज मानेका थिए । तर, मैले भनें– म बोक्छु नि !

-संगीता लामिछाने

ई–कान्तिपुरसँग संगीताले भनिन्, ‘आफ्नै पुरानो फोटो छापिएको देखेर म त खुसी भएँ नि !’ त्यो फोटो–सम्झना उनीसँग यस्तो छ, ‘आन्दोलनमा मानिसको ठूलो पंक्ति थियो, धेरैले सहरमा हलो बोक्न लाज मानेका थिए । तर, मैले भनें– म बोक्छु नि !’ यो फोटो ‘कान्तिपुर’का तत्कालीन फोटो–पत्रकार किरण पाण्डेले खिचेका थिए । किरण भन्छन्, ‘आन्दोलनको भीडबीच एक किशोरी हलो बोकेर प्रदर्शन गरिरहेकी थिइन् । त्यो फोटो मेरो क्यामरामा कैद भयो ।’ फोटोमाथि थुप्रै प्रतिक्रिया पाइरहेको अनुभूति संगीताले सुनाइन् । फोटो पत्रकार किरण सम्झिन्छन्, ‘ती निर्दोष नानीको आँखामा विद्रोहको ज्वाला थियो ।’ 

पुरानो आफ्नो फोटो पुनः छापिएपछि संगीता ती दुःखमय आन्दोलनका पुराना दिनतिर फर्किइन्, जतिबेला उनी सडकमा नारा ललाउँदै हिँडेकी थिइन् । रोमाञ्च पनि थियो, आन्दोलनकारीको आँखामा विद्रोह थियो । ती नारा यस्ता थिए– 

आन्दोलनमा महिला, भूमि चाहियो पहिला....

रगत–पसिना बगायौं, बदलामा के पायौं ?

सामन्ती प्रथा बिर्तार्ले, जालझेलको पुर्जा फिर्ता ले.....

हाम्रै नारा, हाम्रै भोट, बिर्सेउ बाचा, दियौ चोट.......

बिर्तार् जग्गा रैकर गर, रैकर गर, रैकर गर.......

अहिले पनि उनको प्रश्न छ– रगतपसिना बगायौं, बदलामा के पायौं त ?

उनलाई लाग्छ– खुब नारा लगाइयो, कति हिउाद–वर्षा हिँडियो नारा लगाएरै । सँगै यस्तो पनि लाग्छ– तर, नाराहरू हावामै बिलाए । ‘फोटोले विगत सम्झायो । भोकभोकै गोडामा ठेला उठाउँदै  हिँडेको झलझली सम्झना आयो,’ संगीता भन्छिन्, ‘हाम्रो थोरै खेत पनि बिर्तामा थियो । त्यसैले आन्दोलनमा जोडिएकी थिएँ । आन्दोलनमा हिँड्दाहिँड्दै अधिकार नपाई कत्ति बितिसके, कत्ति थला परिसके । कहिलेसम्म गर्ने आन्दोलन ?’

उनले त्यसबेला सोचेकी थिइन्– अब हाम्रा सबै माग पूरा होलान् । त्यो आन्दोलनमा उनले समय व्यतित गरिन्, तर के पाइन् ? त्यसको जवाफ उनीसँग छैन । वसन्तले पालुवा फोरिरह्यो, तर सरकारले उनीहरूका मागमाथि कुनै रूचि देखाएन । भन्छिन्, ‘मेरो परिवार (माइती) बिर्तापीडित हो– उहिले पनि, अहिले पनि । हामीहरुसँग भएको थोरै खेत पनि सबै बिर्तामा थियो । बुबा त्यो खेत जोत्नुहुन्थ्यो, गाउँमा अरु धेरैको पनि खेतबारी बिर्तामै थियो । त्यसैले म पनि आन्दोलनमा जोडिएको थिएँ ।’ 

अगेनावरिपरि बसेर संगीताका बुबा चूडाप्रसाद लामिछाने कुत बुझाएका कथाहरू सुनाउँथे साँझ–साँझ । बुबाले सुनाउने कथा यस्ता थिए– पाखो खनीखोस्री, झाडी र पहरा फोरेर हाम्रा बाबु–बाजेले त्यसलाई उब्जनी हुने खेत–बारी बनाए । पुर्खाहरू राणा र धनीहरूका दरबार, हवेलीमा कुत बुझाउन गइरहे, रात–साँझ । म पनि उब्जनी कुत बुझाउन निकैपटक काठमाडौं गएको छु  । वर्षौं लगाएर खेत उब्जाउयुक्त बनाएका थियौं, तर राजाको एक आदेशले किसानको जग्गा बिर्तावालाको भयो । जग्गामा न बिर्तावालाको मिहिनेत छ, न पसिनाको थोपै परेको छ । 

We shed blood and sweat, what did we get in return? : Sangeeta Lamichhane

‘गाउँमा बिर्तावालहरू आए भने धेरै मान–सम्मान गर्नुपर्थ्यो, डोको लिएर बोक्न जानुपर्थ्यो । खानेकुरा जुटाइदिनु पर्थ्यो । 

-चूडाप्रसाद लामिछाने

रिपोर्टिङमा रसुवा पुग्दा गाउँमै भेटिएका थिए संगीताका बुबा चूडाप्रसाद । उनले हामीसँग आफ्ना पुराना घाउ–व्यथा सुनाएका थिए । ‘मेरो बिर्ता ३ रोपनी छ– खेत । ०३५/०३६ सालसम्म बाली उठाउन आउँथे बिर्तावाल । बिर्तावालले द्वारे भनेर राखेको काठमाडौं बस्नेको प्रतिनिधि नै आउँथे घरघर । मैले पनि धेरै पटक कुत बुझाएको छु । कुत बुझेपछि ती भर्पाई दिन्थे । राम्रो जग्गाको १५ पाथीदेखि १ मुरीसम्म धान बुझाइन्थ्यो, मास पनि बुझाउनु पर्थ्यो,’ रसुवामा पुसको सिरेटोबीच भेटिएका चूडाप्रसादले भनेका थिए, ‘गाउँमा बिर्तावालहरू आए भने धेरै मान–सम्मान गर्नुपर्थ्यो, डोको लिएर बोक्न जानुपर्थ्यो । खानेकुरा जुटाइदिनु पर्थ्यो । उहिले बाबु–बाजेदेखि अहिलेसम्म हामी किसानले दुःख पाइरह्यौं ।’ 

संगीता भन्छिन्, ‘बुबा, हजुरबुबा, जिजुबाजेहरूले भूमिकै लागि धेरै संघर्ष गर्दै आउनुभयो । अहिले पनि मेरो बुबालगायत किसान आमाबुबा, दाजुभाइ दिदीबहिनी जमिनको कानुनी स्वामित्व (लालपुर्जा) को लडाइँमै हुनुहुन्छ । बुबाहरूको आफूले जोतेको जग्गा आफ्नो बनाउने सपना कहिल्यै पूरा भएन । गरिब किसानलाई कहिल्यै अधिकार नदिएर, भूमिहीनसरह पारेर सरकार टुलुटुलु हेरेर बस्न मिल्दैन । जोतभोगका आधारमा लालपुर्जा दिइयोस् । समस्या पालेर राख्ने होइन, समाधान गर्ने हो । त्यो जिम्मेवारी राज्यकै हो ।’ 

उनको सम्झनामा खुलामञ्चको त्यो धर्नाका दिनहरू सुखमय थिएनन् । दुःखै थिए । त्यो दुःख–सम्झना १४ वर्षपछि पनि दुरुस्तै छ संगीतासँग । ‘८ दिनसम्म पालमुनि सुतेका थियौं । न खान पाइन्थ्यो, न मज्जाले सुत्न नै । गाउँबाट ल्याएको मानो–मुट्ठी पकाएर खान्थ्यौं । पानी पनि प्रशस्त खान पाइन्नथ्यो । दलका नेताहरु आएर सहमति त गरेका थिए । तर, केही भएन,’ उनले भनिन् । 

‘केही नभए’ पनि संगीतासँग आशाको झिल्को बाँकी छ । ‘यसबीच थुप्रै सरकार बने, हामी पनि सिंहदरबार पुगिरहेकै छौं, ज्ञापनपत्र बुझाइरहेकै छौं । न्यायको याचना गरेका छौं, तर सरकारसँग कान भएर पनि सुन्दो रहेनछ,’ उनी भन्छिन्, ‘सरकारले एकदिन हाम्रा दुःख अवश्य अनुभूत गर्ला र माग अवश्य सुन्ला । त्यसकै लागि हाम्रो आन्दोलन जारी छ ।’  

सायद यो फोटो बिर्ता आन्दोलनमध्येकै ‘आइकनिक’ फोटो हो, जसमा संगीताले बोकेको हलोले किसानका मुद्दा सम्झाइरहनेछ ।

सम्बन्धित समाचार

बिर्ताको व्यथा : रसुवामा मात्रै  ७ सय १८ परिवार बिर्ता जग्गामै आश्रित 

बिर्ता : इतिहासदेखिका भूमिहीन भूमिनन्दहरूका कथा

बिर्ता : जग्गामा कानुनी उल्झन जस्ताको तस्तै 

दीपक सापकोटा कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully