२ महिनामा ११ फिल्म, १० वटा घाटामा

२०८२ सालमा रिलिज भएका ५७ फिल्ममध्ये ४ ले मात्र १० करोडमाथिको व्यापार गरेका थिए । ३७ फिल्मले त १ करोडभन्दा कमको व्यापार गरेका थिए ।

जेष्ठ ३१, २०८३

समर्पण श्री

11 films in 2 months, 10 in losses

What you should know

काठमाडौँ — वैशाखयता हलहरूमा ११ फिल्म रिलिज भए । तीमध्ये ‘लालीबजार’ बाहेक कुनैले पनि नाफा कमाउन सकेनन् । वैशाख २५ गते रिलिज भएको यम थापा निर्देशित फिल्म ‘लालीबजार’ले गत सोमबार जारी गरेको चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार ८ करोड ७८ लाख ५ हजारमाथिको व्यापार गरेको थियो । फिल्म अहिले पनि हलमा प्रदर्शन भइरहेको छ । 

‘लालीबजार’पछि धेरै कमाइ गर्नेमा पर्छ ‘परालको आगो’ । वैशाख ११ गते रिलिज भएको लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ले सोमबारसम्मको रिपोर्टअनुसार ४ करोड २८ लाखको व्यापार गर्यो । 

जेठ ८ गते रिलिज भएको अनिल बुढामगर निर्देशित फिल्म ‘मित ज्यू’को कमाइ करिब १ करोड ३१ लाख ११ थियो । सोमबारसम्मकै तथ्यांकलाई आधार मान्दा  जेठ २५ गतेमा रिलिज भएको फिल्म ‘रोल नं वान’ले ९४ लाख ९१ हजारको मात्र बक्स अफिस व्यापार गरेको छ । त्यसैगरी फिल्म ‘काजी’ले ४४ लाख, ‘लाइफ ड्यामेज’ले ३४ लाख,  ‘कुम्भ’ले ३ लाख, ‘मालती मंगले’ले ५१ लाख, ‘गुरुआमा’ले २९ लाख, ‘एक मुठी बादल’ले ५ लाख र ‘पहाड’ले ६३ लाख आसपासको मात्र व्यापार गरे ।

हुन त नेपालीभाषी भारतीय फिल्म ‘सेप अफ मोमो’ पनि गत जेठ १५ मा रिलिज भएको थियो । नेपालमा व्यापार गर्न नसके पनि फिल्मले फिल्मपारखी, फिल्मकर्मी र समीक्षकहरूबाट सकारात्मक प्रशंसा पाएको थियो ।  

यस अवधिमा ‘चल्तीका अनुहार’ले अभिनय गरेका फिल्महरूले पनि सुखद व्यापार गरेनन् । ‘मित ज्यू’मा अभिनेता दयाहाङ राई र सौगात मल्ल प्रमुख भूमिकामा थिए । फिल्म ‘काजी’मा अभिनेता विपिन कार्कीको प्रमुख भूमिका थियो । फिल्म ‘पहाड’मा पनि अभिनेता विपिनको महत्वपूर्ण भूमिका थियो । फिल्म ‘मालती मंगले’मा अभिनेता विजय बरालको मुख्य भूमिका थियो । फिल्म ‘लाइफ ड्यामेज’मा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका थियो । त्यसैगरी फिल्म ‘एक मुठी बादल’मा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका थियो । हालसम्मको तथ्यांकलाई आधार मानेर हेर्दा वैशाखयता न नयाँ निर्देशकहरूको फिल्मले व्यापार गर्यो, न स्थापित मेकरको कमब्याक नै फाप्यो ।

२०८२ सालमा रिलिज भएका ५७ फिल्ममध्ये ४ वटा फिल्मले मात्र १० करोड माथिको व्यापार गरेका थिए । ३७ फिल्मले त १ करोडभन्दा कमको व्यापार गरेका थिए ।

निर्माता आफै भन्छन्- अहिले मात्र हैन, पहिल्यैदेखि यस्तै हो

फिल्म निर्माता तथा वितरक प्रचण्डमान श्रेष्ठको अनुभवमा नेपाली फिल्मको एकाध बाहेक लगातार घाटा व्यहोर्ने क्रम विगतमा पनि थियो । ‘यो अहिलेमात्र हैन, पहिल्यैदेखि यस्तै हो । नेपाली फिल्मको एउटा साइकल छ, जहाँ एउटा फिल्मले कोर्स चेन्ज गर्छ, त्यसपछि केही समय राइज देखिन्छ र फेरि डाउन हुन थाल्छ,’ उनी भन्छन्, ‘अहिले फेरि एउटा नयाँ प्याराडाइम सिफ्ट ल्याउने खालको फिल्म वा मेकरको खाँचो छ ।’ 

लगातार घाटा व्यहोरिरहँदा जब पहिलो पटक डिजिटल प्रविधि भित्रियो, त्यतिबेला नेपाली दर्शकहरू बढेको सम्झना प्रचण्डमानसँग छ । ‘जब सानो संसारपछि नेपाली फिल्म डिजिटल प्रविधिमा सिफ्ट, किरमिर देखिरहने पर्दामा दृश्य सफा देखिन थाले । त्यतिबेला पनि दर्शकहरूको आकर्षण बढेको थियो,’ उनी भन्छन् ।

फिल्म ‘मञ्जरी’, ‘गाजाबाजा’, ‘पारी बुटवल’का निर्देशक गणेशदेव पाण्डे २ महिनाको अवधिमा रिलिज भएका अधिकांश फिल्महरू नचल्नुको दोष ‘कन्टेन्ट’मा देख्छन् । पछिल्ला फिल्मका ट्रेलरहरु हेर्दा एकाधबाहेक कुनैले पनि आकर्षण नगरेको उनले सुनाए । नेपाली फिल्मलाई युवापुस्ताले विश्वास नगरेको उनी बताउँछन् । ‘युवा पुस्ताले नेपाली फिल्म मेकरहरूलाई विश्वास गर्न छाडिसकेका छन् । ट्रेलर हेर्दै 'हेर्न जाउँ' जस्तो लाग्ने फिल्महरू कमी छन् । उद्योगमा प्यासनेट फिल्म मेकर र ज्ञानको कमी हुँदा फिल्महरू झुर र बोरिङ बन्ने गरेका छन्,’ उनी भन्छन् ।

हाम्रो समाजमा सानैदेखि नै 'पैसा कमाउनुपर्छ' भन्ने कुरा सिकाइनुको असर कलामा कसरी पर्छ भन्ने कुरा पनि उनी बताउँछन् । ‘हाम्रोमा ज्ञान आर्जन गर्नुपर्छ वा साधना र मिहिनेत गर्नुपर्छ भन्ने सिकाइएन । फिल्म मेकिङमा पनि क्षणिक पैसाका लागि मात्र काम गरिन्छ,’ उनी थप्छन्, ‘फिल्म बनाउँदा समाजको संवेदना र दर्शकको सेन्सिबिलिटीलाई ध्यान दिनुको सट्टा स्टार, एउटा गीत र अत्यधिक खर्चिलो प्रमोसनमा मात्र ध्यान दिने गरिन्छ । ’

फिल्म चल्नका लागि पटकथाले दर्शकलाई बाँधेर राख्नुपर्छ । 'लुट' पछि एउटा प्याटर्न फेरिए पनि पछिल्ला धेरै फिल्ममा पटकथाको कमजोरी देखिनुले व्यापारमा त्यसको प्रभाव परेको उनी बताउँछन् । ‘कबड्डी', 'छक्का पन्जा' वा 'पूर्ण बहादुरको सारङ्गी'’ चलेपछि सबैलाई 'गाउँकै कथा भन्नुपर्छ र रुवाउनुपर्छ' भन्ने मात्र लाग्न थाल्यो । तर आजका युवा दर्शक धेरै कुरा बुझ्ने र अन्तर्राष्ट्रिय सिनेमा हेर्ने खालका छन्,’ उनी भन्छन् ।

कतिपय फिल्म राम्रो हुँदाहुँदै पनि पक्षपात गरिनुले चल्नबाट वञ्चित हुने उनको अनुभव छ । ‘वितरणको जिम्मा लिनेहरूमा फिल्म कसरी चलाउने भन्ने आइडियाको कमी छ । कहिलेकाहीँ राम्रा फिल्मलाई बजार र डिस्ट्रिब्युटरले पहिले नै 'सानो' बनाइदिँदा ती फिल्म जनतासम्म पुग्नै पाउँदैनन्,’ उनी भन्छन् । 

पछिल्लो समय राम्रो फिल्म बनाउन वा राम्रो एक्टर खोज्नमा पैसा लगानी गर्नुको साटो ‘स्टार’को पछि लाग्ने प्रवृत्तिले पनि समस्या थपिरहेको पाण्डेको बुझाइ छ । ‘राम्रो एक्टरभन्दा पनि स्टारको चर्चा बढी भएपछि उसैले बढी पैसा पाउनुपर्छ भन्ने धारणा यहाँ छ, यसको असर काममा देखिन्छ,’ उनी भन्छन् । 

निर्माता तथा वितरक प्रचण्डमान पनि पछिल्लो समय नेपाली फिल्मप्रतिको विश्वास दर्शकमा कम हुँदै गएको दाबी गर्छन् । त्यसकारण अत्यधिक मार्केटिङ गरिएका फिल्म मात्र चलिरहेको उनको ठम्याइ छ । ‘नेपाली फिल्मको ब्रान्ड भ्यालु र लोयल्टी नै कमजोर हुँदै गएको छ । आम मध्यम वर्गीय दर्शकमा हलमा पैसा खर्च गर्यो तर पनि फिल्म भने जस्तो नहुने भन्ने खालको छाप पर्दै गएको छ,’ उनी भन्छन् ।

उनका अनुसार नेपालमा सफलतालाई कपी गर्ने चलन अत्यधिक छ । कुनै समय कमेडी फिल्म चल्न थालेपछि सबैले त्यस्तै फिल्म बनाउन थाले । ‘पछिल्लो समय ‘टियर-जर्किङ’ ड्रामाहरूमा मात्रै फोकस गर्दा दर्शकलाई एउटै खालको इमोसन भएको फिल्म कति हेर्नु भन्ने भएको छ, ’ उनी भन्छन्, ‘अहिलेको दर्शकको चोइस, टेस्ट र इमोसनहरू फरक भइसकेका छन्त र फिल्मकर्मी र कलाकारहरू ती परिवर्तनहरूसँग अप्रासंगिक हुँदै गएका छन् ।’ 

फोर्सफूल्ली गरिएका मार्केटिङले पनि अन्य फिल्ममा प्रभाव पर्ने श्रेष्ठ बताउँछन् । उनी प्रस्ट्याउँछन्, ‘कतिपय अवस्थामा फोर्सफुल्ली मार्केटिङ गरिएको हुन्छ । तर, फिल्मको कन्टेन्टमा त्यो अनुसारको दम हुँदैन । त्यसले अरु फिल्ममा असर पुग्छ ।’

कलाकार सरिता गिरी पछिल्लो समय हेरेका जति नेपाली फिल्म उस्तै किसिमको लागेको बताउँछिन् । त्यसकारण पनि फिल्मले व्यापार नगर्नुको पछाडि कमजोर कथावस्तु रहेको उनी बताउँछिन् । ‘दर्शकले विश्वभरका उत्कृष्ट फिल्महरू ओटीटी प्लेटफर्ममा हेरिरहेका भए पनि नेपाली फिल्ममेकरहरू अझै पुराना र एउटै खालका घिसेपिटेका कथामा अल्झिरहेका छन् । जसले गर्दा धेरै फिल्मको कथावस्तु एउटै जस्तो देखिने गरेको छ,’ उनी भन्छिन्, ‘मौलिक र अर्गानिक कथाहरू भए तापनि तिनमा पर्याप्त अनुसन्धान नगरिनु र एउटै कथा ४-५ वटा फिल्ममा दोहोरिनुले दर्शकलाई निराश बनाएको छ । र कुन फिल्म हेर्ने भन्नेमा अन्योल सिर्जना गरेको छ ।’ 

फिल्म निर्माणमा गुणस्तरभन्दा परिमाणमा जोड दिने र हतारमा प्रदर्शन गर्ने प्रवृत्तिले नेपाली फिल्म क्षेत्रलाई ठूलो  असर उनको ठम्याइ छ । ‘६ महिना पनि नभई फिल्म तयार पारेर प्रदर्शन गर्ने दौडधुपले गर्दा पोस्ट-प्रोडक्सन र कलात्मक पक्ष कमजोर भइरहेका छन् । साथै, मिडिया र मेकरहरूले कलाकारको 'क्राफ्ट' र अभिनयको प्रक्रियाभन्दा पनि उनीहरूको पहिरन र पब्लिसिटी स्टन्टलाई मात्र प्राथमिकता दिने 'सतही' संस्कृतिका कारण वास्तवमै राम्रो फिल्म ओझेलमा परेको छ,’ उनको तर्क छ । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully