नेपाली फिल्ममा सिक्वेल ट्रेन्ड : कथाको निरन्तरता कि व्यापारिक लोभ ?

पूर्वी एसियाली तथा इरानी सिनेमामा भने सिक्वेलको प्रयोग व्यावसायिक मुनाफाका लागि मात्र छैन । बरु कथावाचनको गहिराइ र वैचारिक निरन्तरताका लागि भइरहेको देखिन्छ ।

जेष्ठ ७, २०८३

समर्पण श्री

Sequel trend in Nepali films: Continuation of the story or commercial greed?

What you should know

काठमाडौँ — चार वर्षअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ रिलिज नहुँदासम्म हजारौं दर्शकहरूको मनमा एउटा कौतूहल थियो, ‘यसपालि वीरकाजी (दयाहाङ राई) को बिहे होला ?’

३ जेठ २०७९ मा फिल्म रिलिज भएपछि दर्शक हुलका हुल हल पुगे । २२ करोडभन्दा माथिको व्यापार गरेको यो फिल्म ‘कबड्डी’ को चौथो सिक्वेल थियो । १२ वैशाख २०७१ मा रिलिज भएको ‘कबड्डी’ यसको मौलिक र पृथक् कथावाचनका कारण दर्शकले अत्यधिक रुचाइदिए । त्यतिबेलै यो फिल्मले ७ करोडभन्दा माथिको व्यापार गर्‍यो ।

मुस्ताङको हिमाली गाउँको सेटअपमा काजी र मैयाको नोंकझोकको प्रेमलाई पर्दामा हेर्दा दर्शकले ताजा महसुस गरे । त्यसैबेला ‘कबड्डी’ का लेखक तथा निर्देशक गुरुङलाई लाग्यो, ‘हिमाली जनजीवनको यो कथा दर्शकलाई अझै भन्नुपर्छ । यतिले मात्रै दर्शकको आँत भरिएको छैन ।’ अनि उनले परिकल्पना गरे, ‘कबड्डी’ को सिक्वेल ‘कबड्डी कबड्डी’ को ।

अनि दयाहाङसँग ‘कबड्डी’ खेल्न रिङमा छिराए नयाँ खेलाडी सौगात मल्ललाई  । त्यसपछि त फिल्मको सुखद समीक्षा मात्रै नभई व्यापारमा समेत उछाल आयो । ‘कबड्डी’ रिलिजको १२ वर्षपछि पनि यसको शृंखला सकिएको भने छैन । जबकि चार वर्षअघि नै ‘फाइनल म्याच’ भन्दै निर्देशक गुरुङले ‘कबड्डी ४’ ल्याएका थिए । तर केही महिनाअघि मात्र उनी पाँचौं सिक्वेल खिचेर अहिले पोस्ट प्रोडक्सनको तयारीमा जुटिरहेका छन् । दर्शकलाई रिझाउन सिपालु गुरुङले यसपालि कथामा पुनः मैया (रिश्मा गुरुङ) लाई भित्र्याएका छन् ।  

रामबाबुले ‘कबड्डी’ गर्नुअघि ‘सिमाला’ र ‘कबड्डी कबड्डी’ पछिका चार वर्षभित्र ‘पुरानो डुंगा’ ‘मिस्टर झोले’ र ‘साइँली’ ल्याए । तर ती फिल्मले गुरुङलाई ‘कबड्डी’ सिरिजले जति न नाम दियो न त दाम नै । त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’ ले उनलाई पुनः उत्थान गरिदियो । तर त्यसपछि ल्याएको फिल्म ‘सेन्टिभाइरस’ ले ‘सेन्टी’ नै बनायो । अनि दर्शकलाई ‘कबड्डी’ को फाइनल म्याचको तुरुप फालेर पुनः चर्चा बटुलेका रामबाबु निर्देशनमा भन्दा बढी निर्माणमा व्यस्त भए । यो चार वर्षमा उनको निर्देशनमा ‘फूलबारी’ र ‘डिग्री माइला’ आउँदा निर्माताका रूपमा चार फिल्म आए । तर रामबाबुलाई टिकाउने र चिनाउने फिल्म ‘कबड्डी’ शृंखला नै बने भन्दा अन्यथा नहोला ।

नेपालमा व्यापारिक सफलता पाएसँगै सिक्वेल बनाउने चलन पछिल्लो समय ह्वात्तै बढेको छ । २०७९ मा रिलिज भएको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले त्यतिबेला व्यापारिक सफलता हासिल गर्‍यो । त्यसपछि हौसिएका ज्ञानेन्द्रले त्यतिबेलै ‘झिंगेदाउ २’को घोषणा गरेका थिए । आगामी असोजमा उनैको ‘झिंगेदाउ–२’ रिलिज हुँदै छ । ‘झिङ्गे दाउ–२ बनाउनुको मुख्य कारण कमर्सियल एस्पेक्ट नै हो,’ देउजा खुलस्त भन्छन्, ‘संसारभर नै पहिलो भाग हिट भएपछि सिक्वेल बनाउने चलन छ, मैले पनि पहिलेको सफलतालाई ‘क्यास’ गर्न सिक्वेल बनाएको हुँ ।’

देउजाको ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथा ‘झिंगेदाउ’ मै आधारित फिल्म हो । अघिल्लो फिल्म दाजुभाइको अंशबन्डापछि नै सकिएको थियो । ‘तर दोस्रो भाग पुस्तकमा आधारित छैन, बरु यो पात्र र परिस्थितिमा आधारित छ । जसमा आमा र सन्तान बीचकै सम्बन्धलाई देखाइएको छ,’ देउजा भन्छन् ।

यसअघि फागुन २०८० मा देउजा निर्देशित फिल्म ‘उपहार’ आएको थियो । उक्त फिल्म न समीक्षात्मक हिसाबमा सफल भयो, न व्यापारिक रूपमा नै । ‘त्यही घाटालाई पूर्ति गर्न र व्यापारिक रूपमा सफल हुन पनि मैले ‘झिङ्गे दाउ २’ को काम सुरु गरेको हुँ । तर यसमा कथा पनि उत्तिकै सशक्त छ,’ उनी दाबी गर्छन् । 

दसैं २०८१ मा रिलिज भएको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले नेपाली फिल्ममा लामो समयदेखि शून्यप्रायः भएको एक्सन विधालाई ब्युँताइदिएको थियो । फिल्मले १९ करोडभन्दा माथिको व्यापार गरेपछि यसको सिक्वेलका रुपमा ‘१२ गाउँ २’ निर्माण घोषणा गर्न विराजले रत्तिभर समय लगाएनन् । यतिबेला उनी आगामी दसैंमा रिलिज लक्षित गर्दै सिक्वेलको छायांकनमा व्यस्त छन् ।

निर्देशक प्रदीप भट्टराईलाई २०७३ मा फिल्म ‘जात्रा’ रिलिज हुँदासम्म पनि त्यसपछि कथा तन्काउँदै जानुपर्ला भन्ने सोचेकै थिएनन् । दर्शकले ‘जात्रा’ लाई रुचाइदिएपछि यसले उल्लेख्य व्यावसायिक सफलता हात पार्‍यो । ‘मैले जात्रा बनाउँदा यसको सिक्वेल वा शृंखला बनाउँला भन्ने नै सोचेको थिइनँ,’ प्रदीप भन्छन्, ‘तर फिल्मलाई ‘ओपन एन्डिङ’ मा सकाएका थियौं । त्यसका मुख्य तीन पात्रहरूको भविष्यका बारेमा धेरै कुरा स्पष्ट थिएन । तर दर्शकको माया र मागलाई देखेर हामीले ‘जात्रै जात्रा’ बनाउने निर्णय गर्‍यौं ।’

त्यसपछि सानो सूत्रलाई समातेर कथा अगाडि बढाएको प्रदीप सम्झन्छन् । २०८० मा रिलिज भएको फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा व्यावसायिक सफलताले नै नयाँ सिक्वेल बनाउने ऊर्जा दिएको प्रदीपको बुझाइ छ । ‘यदि दर्शकले पहिलो भाग नै रिजेक्ट गरिदिएका छन् वा फिल्म घाटामा छ भने त्यसको सिक्वेल बनाउनुको कुनै अर्थ हुँदैन । सिक्वेल बनाउने भनेकै दर्शकको माया पाएपछि मात्र हो । संसारभरकै प्राक्टिस यही हो,’ प्रदीप भन्छन् ।

सिक्वेल बनाउन सहज छ त ? प्रदीप यो अत्यन्तै चुनौतीपूर्ण हुने बताउँछन् । ‘नयाँ र फ्रेस फिल्म लेख्दाजस्तो सिर्जनात्मक स्वतन्त्रता सिक्वेलमा हुँदैन । किनभने पात्रहरू पहिले नै स्थापित भइसकेका हुन्छन् र अघिल्लो कथाले एउटा सीमा कोरिदिएको हुन्छ । त्यही सीमाभित्र बसेर लेख्नुपर्ने भएकाले खेल्ने ठाउँ एकदमै कम हुन्छ र लेख्न एकदमै गाह्रो हुन्छ,’ उनी थप्छन्, ‘यति धेरै चुनौतीका बाबजुद पनि हामीले पात्रहरूलाई बचाउँदै दर्शकको माया जितिरहेका छौं ।’

२९ पुस २०६८ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’ ले नेपाली फिल्मको परम्परागत धार नै परिवर्तन गरिदिएको थियो । फिल्मको कथ्य शैली मात्र नभई कलाकारको अभिनय शैली र कथाप्रतिको दृष्टिकोणमै ठूलै उथलपुथल ल्याइदिएको ‘लुट’ ले त्यतिबेला ५ करोडभन्दा माथिको  व्यापार गरेको थियो । यो व्यापार तत्कालीन समयका लागि फिल्म क्षेत्रमा अनपेक्षित नै थियो । ‘लुट’को पाँच वर्षपछि निश्चलले ‘लुट २’ ल्याए । फिल्मले १० करोडभन्दा माथिको व्यापार त गर्‍यो, तर समीक्षात्मक हिसाबमा भने कमजोर ठहरियो । त्यतिबेलै समीक्षकको आरोप थियो, ‘यो कथाको आवश्यकता भन्दा पनि बजारको आवश्यकताले बनेको फिल्म हो ।’

सफल फिल्मका सिक्वेलहरू व्यापारमा सफल भए पनि समीक्षात्मक हिसाबमा भने अघिल्लो फिल्मको तुलनामा कमजोर देखिएका छन् । कुनै सिक्वेलले भने न व्यावसायिक सफलता नै हासिल गर्न सकेका छन् न समीक्षात्मक रुपमा नै । यसको उदाहरण हुन्, ‘जारी २’, ‘पशुपतिप्रसाद २’ र ‘प्रसाद २’ ।

२०८० मा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले लिम्बू समुदायको मौलिक कथालाई स्वादिलो ढंगले पस्केको थियो । यो फिल्मपछि फरक समुदायका नयाँ कथाहरू पनि भनिन थाले । ‘जारी’ले बक्स अफिसमा १७ करोडको व्यापार गरेको थियो । ‘जारी’पछि निर्देशक सुब्बाको २०८१मा ‘मनसरा’ आयो । २०८२ मा भने ‘जारी’कै सिक्वेल बनाए । तर ‘जारी २’ पहिलो शृंखलाको तुलनामा व्यापार र समीक्षा दुवैमा कमजोर साबित भयो । फिल्मले बक्स अफिसमा ६ करोडको मात्र व्यापार गर्‍यो ।

२०७३ मा रिलिज भएको दीपेन्द्रकुमार खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद’ धेरै दर्शकको मनमा बसेको छ । पशुपति परिसरभित्र साँघुरो क्यानभासमा खिचिएको फिल्मको कथावस्तु निकै फराकिलो थियो । अभिनेता नीर शाहले त विभिन्न कार्यक्रममा बोल्ने क्रममा ‘पशुपतिप्रसाद’लाई ‘शताब्दीकै उत्कृष्ट फिल्म’ को उपमा दिएका थिए । फिल्मले त्यतिबेला साढे पाँच करोडको व्यापार गरेको थियो । तत्कालीन समयमा त्यो सफल व्यापार थियो । २०८० मा ‘पशुपतिप्रसाद’को सिक्वेल ‘पशुपतिप्रसाद २ : भष्मे डन’ रिलिज भयो । तर फिल्मको न व्यापार उत्साहजनक थियो, न समीक्षा नै सकारात्मक ।

कथाको सिक्वेल किन जन्मियो त ? निर्देशक खनाल भन्छन्, ‘फिल्मको अन्तिममा ‘भष्मे’ पात्र ट्रान्सफर्मेसन हुन खोजेको जस्तो स्थितिमा छोडिएको थियो । त्यस चरित्रलाई पूर्ण बनाऊँ भन्ने हिसाबले सुरु गरेका हौं ।’

‘पशुपति प्रसाद’को नाम जोडिनेबित्तिकै व्यावसायिक रूपमा फाइदा होला कि भन्ने लोभ पनि उनीहरूमा थियो । तर त्यही लोभ प्रमुख भने नभएको खनाल दाबी गर्छन् ।

‘यदि पैसा मात्रै कमाउनु थियो भने त हामीले यो फिल्म २–३ वर्षमै बनाइसक्थ्यौं । हामीले चाहिँ त्यो छोडिएको कथालाई पूर्ण गर्न र एक दशक पछाडिको भष्मे र त्यो एरियामा के भयो त भनेर देखाउन खोजेका थियौं,’ उनी थप्छन् । तर सिक्वेल बनाउँदा सुरुदेखि नै उनमा डर थियो । ‘यत्रो ठूलो फिल्मको सिक्वेललाई लिएर दर्शकले के भन्लान्, कसरी सोच्लान् भन्ने डर धेरै भयो । त्यो डरले फिल्मको आत्मा नै हराउँदो रहेछ,’ उनले भने ।

२०७५ मा रिलिज भएको दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ पनि व्यापारिक र समीक्षात्मक दृष्टिकोणबाट सफल रह्यो । तर सुदर्शन थापाको निर्देशनमा यसकै सिक्वेल ‘प्रसाद २’ (२०७९) ले भने अघिल्लो साख जोगाउन सकेन ।

फिल्ममा एउटा कथा रुचाइएपछि त्यही कथाको नयाँ सिक्वेल भन्ने ट्रेन्ड मात्र होइन, चर्चित फिल्मको नाममा ब्रान्ड सिक्वेल बनाउने प्रचलन पनि नेपाली फिल्म क्षेत्रमा बढिरहेको छ । जस्तो कि दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ शृंखला । कथा फरक भए पनि उनीहरू सोही नामबाट नयाँ फिल्म बनाइरहेका छन् ।

अहिले दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै २’ पनि छायांकनको क्रममा छ । ‘अरु नामहरूमा पनि कथा भन्ने सोच त नगरेको हैन । तर यी नामबाट बाहिर जाने बित्तिकै वितरक, हल सञ्चालकहरूले जोखिम मोल्न चाहन्नन् । त्यसकारण पनि हामी बाध्य छौं,’ गिरी भन्छन् ।

‘ए मेरो हजुर’, ‘नाइँ नभन्नु ल’ होस् वा ‘छड्के’ लगायत थुप्रै फिल्मले नाम मात्र भजाएर अर्कै कथामा दर्शकलाई ‘सिक्वेल’ को लोभ देखाउने ट्रेन्ड देखिन्छ । ‘के घर के डेरा’ पछि ‘के घर के डेरा : घर नं. २’ निर्देशन गरेका निर्देशक दीपेन्द्रकुमार खनाल थप्छन्, ‘यो सिक्वल त होइन, सिरिज हो । जहाँ नाम एउटै भए पनि कथा फरक हुन्छ । मेकरहरूमा अघिल्लो फिल्मको ब्रान्ड नेमको लोभ हुन्छ र राख्ने गरिन्छ ।’

संसारभर पनि सिक्वेलको ट्रेन्ड छ । र त्यस्ता अधिकांश सिक्वेलको व्यापार झन् उल्लेखनीय रहेका छन् । हलिउडमा ‘द गडफादर पार्ट २’, ‘द डार्क नाइट’ देखि ‘अवतार : द वे अफ वाटर’ सम्मका फिल्मले पहिलो भागको साख मात्र जोगाएनन्, विश्व बक्स अफिसमै कमाइको नयाँ कीर्तिमान कायम गरे । बलिउड र दक्षिण भारतीय सिनेमाले पनि पछिल्लो समय सिक्वेल र ‘सिनेमाटिक युनिभर्स’ मार्फत दर्शकलाई हलसम्म तानिरहेका छन् । ‘बाहुबली २’, ‘केजीएफ २’, ‘स्त्री २’ देखि हालै प्रदर्शनमा आएको एक्सन–स्पाइ फिल्म ‘धुरन्धर २’ सम्म आइपुग्दा भारतीय सिनेमाको व्यापारिक दायरा हजारौं करोडको क्लबमा विस्तारित भएको छ, जसले सिक्वेल फिल्मको बलियो बजार र ब्रान्ड भ्यालुलाई पुष्टि गर्छ ।

पूर्वी एसियाली तथा इरानी सिनेमामा भने सिक्वेलको प्रयोग व्यावसायिक मुनाफाका लागि मात्र छैन । बरु कथावाचनको गहिराइ र वैचारिक निरन्तरताका लागि भइरहेको देखिन्छ ।

नेपालमा निर्माण भएका सिक्वेलहरू भने पहिलो फिल्मको तुलनामा झन् कमजोर हुने गरेका फिल्म समीक्षक यज्ञश बताउँछन् । ‘धेरैजसो फिल्मको सिक्वेल हेर्दा पहिलो फिल्मलाई जित्ने गरी आएको जस्तो मलाई लाग्दैन । यसको मतलब सिक्वेल बनाउनै हुँदैन वा बन्द गरिहाल्नुपर्छ भन्ने पनि होइन,’ उनी भन्छन्, ‘तर ती सिक्वेल कथाकै निरन्तरतामा हुन् कि केवल नाम मात्रै लिएर अरू नै स्वार्थले बनाउन खोजिएको हो भन्ने कुराले फरक पार्छ ।’ बाहिर ‘ग्याङ्ग्स अफ वासेपुर’ वा ‘गडफादर’जस्ता फिल्म खालि नामका लागि मात्र सिक्वेल नभएको र ती कथाकै हिस्सा रहेकोमा उनी जोड दिन्छन् । नेपाली फिल्महरू सिक्वेलको नाममा सबै बजार केन्द्रित रहेको उनको दाबी छ ।

‘पहिलो फिल्मभन्दा दोस्रो वा तेस्रो पार्ट खासै राम्रो बनेको देखिँदैन । यदि दोस्रो फिल्मले पहिलोलाई उछिन्न सक्यो भने दर्शकका रूपमा मलाई पनि रमाइलो र मजा नै लाग्ने कुरा हो । व्यापार कति भयो भन्ने कुराले फिल्म व्यवसायसँग जोडिएका मान्छेलाई मतलब होला, तर हेर्ने दर्शकलाई त केवल कन्टेन्टसँग मात्र मतलब हुन्छ,’ उनी थप्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully