सीमित विधामै रुमल्लिरहेको नेपाली फिल्म

एउटा विधामा दर्शक बाक्लिनासाथ निर्माताहरू त्यस्तै किसिमका फिल्म निर्माणको लहर चलाउँछन् । २०८१ मा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारंगी’यता नयाँ ट्रेन्ड सुरु भएको छ । ‘रुवाउने फिल्मले दर्शक तान्छ’ भन्ने मनसायको प्रभाव पछिल्ला फिल्ममा परिरहेका छन् । २०८२ मा रिलिज भएको ‘परान’ हिट भएपछि त्यो क्रम झन् बढ्दो छ ।

जेष्ठ २, २०८३

समर्पण श्री

Nepali film struggling in a limited genre

What you should know

काठमाडौँ — लामो समय एउटै फर्मुलामा रुमल्लिएको नेपाली फिल्म क्षेत्रले डेढ दशयता फरक र नयाँ स्वादका कथाहरू पस्किँदै आयो । त्यसपछि भिन्न समुदाय र भूगोलका रैथाने कथा काँचका पर्दामा अटाउन थाले । कथामा विविधता भेटिए पनि नेपाली फिल्म क्षेत्रले परम्परागत प्रवृत्ति भने छाड्न सकेको छैन ।

एउटा विधामा दर्शकहरू बाक्लिनासाथ निर्माताहरू त्यस्तै किसिमका फिल्म निर्माणको लहर चलाउँछन् । २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारंगी’यता नयाँ ट्रेन्ड सुरु भएको छ । ‘रुवाउने फिल्मले दर्शक तान्छ’ भन्ने मनसायको प्रभाव पछिल्ला फिल्ममा परिरहेका छन् । ‘पूर्णबहादुरको सारंगी’ रिलिजयता हलमा दर्शक रुवाउने फिल्म बनाउने तरखरमा फिल्म निर्माताहरू देखिन्छन् । २०८२ मा रिलिज भएको ‘परान’ हिट भएपछि त्यो क्रम झन् बढ्दो छ ।

निकै वर्ष सुस्ताएको एक्सन विधालाई ०८१ दसैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ले उल्लेखनीय व्यापारका साथ ब्युँतायो । ‘१२ गाउँ’पछि फेरि एक्सन फिल्म निर्माण धमाधम बढ्न थाले । तर त्यसयता बनेका ‘बलिदान’, ‘नरसिंहा अवतार’, ‘राम नाम सत्य’ जस्ता ‘लार्जर देन लाइफ’ फिल्महरूले उल्लेख्य व्यापार गर्न सकेनन् । छिमेकी भारतीय फिल्म क्षेत्रमा हरेक वर्ष फरक विधाका फिल्महरू बनिरहँदा नेपालमा भने पारिवारिक र सामाजिक विधाबाहेक फरक विधामा मेकरहरू अभ्यस्त हुन सकिरहेका छैनन् ।

भारतमै पछिल्ला दुई वर्षको ट्रेन्ड हेर्दा, ‘कल्की २८९८ एडी’ जस्ता पौराणिक कथा र अत्याधुनिक प्रविधिको फ्युजन गराएर ‘डिस्ट्रोपियन साई–फाई’ विधाको फिल्म बनिरहेको छ । स्थानीय लोककथा र दैवी शक्तिलाई बुनेर ‘मिस्टिकल फ्यान्टासी’ विधाको ‘कान्तारा ः च्याप्टर १’ पनि यही बेला बनिरहेको छ । ‘स्त्री २’, ‘मुञ्ज्या’ र ‘भूत बंगाला’ जस्ता ‘हरर–कमेडी’ले त व्यापारिक सफलतालाई निरन्तरता दिइरहेकै छन् । ‘लापता लेडिज’ जस्ता सामाजिक व्यंग्य विधाका फिल्म पनि भारतमा बनिरहेका छन् भने ‘जोली एलएलबी ३’ जस्ता ‘कोर्टरुम ड्रामा’ले त व्यावसायिक ब्रान्ड नै बनाइसकेको छ ।

हुन त नेपालमा पछिल्लो समय नयाँ विधामा प्रयास नभएका हैनन् । ०८१ मा ‘फर्की फर्की’ र ०८२ मा ‘एक्लो’ जस्ता साई–फाई फिल्म बने । दुवै फिल्म व्यापारिक हिसाबमा सफल हुन सकेनन् । ०८२ मै क्राइम थ्रिलर सोसल ड्रामा ‘अभिमन्यु’ रिलिज भएको थियो । यो पनि व्यापारिक हिसाबमा सफल हुन सकेन । ०८१ मा फुटबलर एन्जिला तुम्बापोको कथामाथि बनेको फिल्म ‘एन्जिला’ले भने नेपालमा बायोपिकको अभाव पूर्ति गर्‍यो । यो फिल्मले ८ करोडभन्दा माथिको व्यापार गरेको थियो ।

०८२ मा रिलिज भएको ‘रोमान्टिक एड्भेन्चर–ड्रामा’ ‘जेरी अन टप’ ले पनि १२ करोडमाथिको व्यापार गरेको थियो । ०८० मा रिलिज भएको म्याजिकल रियालिजम ‘द रेड सुटकेश’ पनि विधागत हिसाबमा नेपालमा नौलो प्रयोगको फिल्म थियो । फिल्मले सकारात्मक समीक्षा पाए पनि बक्स अफिसमा व्यापार भने सुखद रहेन । ०८१ मा रिलिज भएको सोसल साइकोलोजिकल थ्रिलर ‘बोक्सीको घर’ले भने सकारात्मक समीक्षा मात्रै हैन, व्यापार पनि राम्रो गरेको थियो । फिल्मले १० करोड माथिको व्यापार गरेको थियो ।

नेपालमा हरर विधाका फिल्म पनि बेलाबखत बनिरहेका छन् । ०६४ मा रिलिज भएको ‘सुपरनेचुरल थ्रिलर/हरर’ विधाको ‘कागबेनी’ नेपाली फिल्ममा डिजिटल प्रविधि भित्रिँदाको सुरुवाती फिल्म हो । ‘सुनकेसरी’ (०७५), ‘घर’ (०७६), ‘कठपुतली ः द पपेट’, ‘ममी’ (०८१) जस्ता हरर फिल्महरू बनिरहेका त छन्, तर सोही विधामा बनेका भारतीय फिल्मले झैं व्यापारिक सफलता हासिल गर्न सकिरहेका छैनन् ।

फिल्म ‘नुमाफुङ’, ‘गाउँ आएको बाटो’ फिल्मका निर्देशक नवीन सुब्बा अहिले नेपाली फिल्म क्षेत्रमा ‘हरर’ र ‘एक्सन’ जस्ता विधाहरूमा काम भए पनि तिनीहरूमा प्रेम र हास्यरस मिसाएर पुरानै ढाँचामा सीमित रहेको बताउँछन् । सुब्बा नयाँ प्रयोग हुन नसक्नुमा चलचित्रकर्मीहरूमा नयाँ प्रयोग गर्ने आँटको कमी र सफल भइसकेका फिल्मका सिक्वेल बनाउने प्रवृत्ति प्रमुख कारण ठान्छन् ।

Nepali film struggling in a limited genre

नेपाली फिल्मको बजार सानो छ । यसले गर्दा फिल्मको लगानी र बजेटमा निर्माताहरू सीमा तोक्छन् । ‘पर्याप्त बजेट अभावले फिल्मकर्मीहरू सामाजिक वा पारिवारिक विषयवस्तुमै खुम्चिनुपर्ने बाध्यता छ । यदि बजार ठूलो हुने हो भने नयाँ प्रयोगहरूको सम्भावना पनि बढ्थ्यो,’ सुब्बा भन्छन् । उनको ठम्याइमा फिल्म लेखनको पाटो पनि एउटा कारण हो । कुनै पनि विधामा आधारित फिल्म लेख्न त्यस क्षेत्रको विज्ञता अपरिहार्य हुन्छ । ‘जस्तो कि साइन्स फिक्सन लेख्न विज्ञानको र कोर्टरुम ड्रामा लेख्न कानुनको गहिरो ज्ञान चाहिन्छ, जसको अहिले नेपाली लेखकहरूमा अभाव देखिन्छ । यही प्राविधिक ज्ञान र विज्ञताको कमीका कारण धेरैजसोले सामाजिक ड्रामालाई सबैभन्दा सजिलो विधाका रूपमा रोज्ने गरेका छन्,’ उनी कमजोरी औंल्याउँछन् ।

फरक प्रयोग गर्दा व्यापारको जोखिम हुँदाहुँदै पनि ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारती भने आफ्नो रोजाइमा निर्धक्क थिए । अहिले उनी क्राइम सस्पेन्स थ्रिलर फिल्म ‘स्टेसन’ बनाउँदै छन् । फिल्मकी निर्माता केकी अधिकारी ‘स्टेसन’को कथा मन परे पनि फिल्म रिलिजको बेला व्यापारको कुरालाई लिएर दुविधामा थिइन् । ‘मैले स्पष्ट भनेको थिएँ– यदि ममाथि विश्वास छ भने मात्र पैसा हाल्ने हो, किनकि मैले बनाउने फिल्म त यही नै हो,’ सुलक्षण निर्माता अधिकारीलाई भनेको कुरा सम्झिन्छन् ।

‘बोक्सीको घर’ बनाउँदा पनि सुलक्षणको एउटै मात्र ध्येय थियो– आफ्नो कथा कसरी ल्याउने ? अन्ततः फिल्मलाई धेरै दर्शकले रुचाए । तर सुलक्षणले पछिल्लो समय अभिनय गरेका प्रयोगात्मक फिल्म ‘बाटो’ र ‘ममी’मा दर्शकहरू नगन्य संख्यामा हलमा गए । ‘साँच्चै भन्ने हो भने हाम्रोमा अडियन्सले नयाँ चिजलाई सहजै स्वीकारिरहनुभएको छैन । सायद उहाँहरूले नेटफ्लिक्स र वर्ल्ड सिनेमा हेर्ने भएकाले सिनेम्याटिक हिसाबले हामीलाई विश्वास नगर्नु भएको पनि हुन सक्छ । विदेशी फिल्मको एक–दुई दिनको सुटमा हुने खर्च बराबर त हाम्रो एउटा फिल्मको कुल बजेट हुन्छ । चाहँदा–चाहँदै पनि त्यो क्वालिटीसम्म पुग्न सकिरहेका छैनौं,’ उनी नेपाली फिल्म पछि पर्नुको कारण खोतल्छन्, ‘पर्याप्त र उचित टेक्निकल सामानहरू पनि हामीसँग छैनन् ।’ गाउँका कथाहरूमा धेरै टेक्निकल कुरा चाहिन्न, तर नयाँ जनरामा जाँदा भीएफएक्सदेखि धेरै कुरा चाहिने हुँदा बजेटकै कारण नेपाली फिल्मकर्मी पछि पर्नुपरेको उनीको धारणा छ ।

‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘दिमाग खराब’ जस्ता फिल्मका निर्देशक निश्चल बस्नेत क्राइम थ्रिलर, वार र पोलिटिकल ड्रामा जस्ता फरक विधाहरूमा प्रयोग गर्न रुचाउने निर्देशक हुन् । उनीसामु फरक विधामा नौलो प्रयोग भएका कथाहरू बेलाबेला आइरहन्छन् । ती सुन्दा राम्रा पनि लाग्छन् । ‘तर अहिले हामी यसको लागि सही समयमा छैनौं कि जस्तो लाग्छ, अनि अगाडि नै बढिन्न,’ निश्चल भन्छन् । एउटा एनिमेटेड प्रोजेक्टका लागि उनलाई लगानी गर्न प्रस्ताव आएको थियो । सुन्दा त एकदमै रुचिकर लागे पनि ‘कसरी बनाउने कसरी ?’ भन्ने प्रश्न उनले आफैंलाई गरे । ‘बजेटकै कारण हामीले अहिलेसम्म धेरै चिजहरू राम्ररी एक्सप्लोर गर्न र प्राविधिक रूपमा जान सकिरहेका छैनौं,’ उनी भन्छन् ।

निश्चल एउटा ट्राभल जर्नी फिल्म बनाउन तम्सिएका थिए । त्यसको पटकथा फाइनल हुँदाहुँदै पनि भीएफएक्सको कामहरू एकदमै महँगो हुने भएकाले त्यो प्रोजेक्टलाई थाती राख्न बाध्य भए । बलिउडका ‘दृश्यम्’ ‘जोली एलएलबी’जस्ता थुप्रै कोटरुम ड्रामा नेपाली दर्शकका पनि रोजाइका फिल्म हुन् । तर नेपालमै कोर्ट रुम ड्रामा बनेका छैनन् । पत्रकारिताकै विषयमा ‘पिप्ली लाइभ’जस्ता फिल्म भारतमा र विश्वका विभिन्न देशमा पनि उत्कृष्ट फिल्महरू बनेका छन् । तर नेपालमा भने पत्रकारितामाथिको कथा फिल्ममा छैनन् ।

निर्देशक बस्नेतकहाँ एक दुई जनाले कोर्ट रुम ड्रामाका कथा लिएर पुगेका थिए । कथा मन पर्दापर्दै पनि निश्चल यसका लागि तयार हुन सकेनन् । ‘कोर्ट जस्तो कुरामा एउटा फिल्ममेकरका रूपमा सिर्जनात्मक स्वतन्त्रता लिएर काम गर्द यहाँका संस्थाहरूले त्यसलाई कसरी लिन्छन् भन्ने डर हुन्छ । हामीले जतिसुकै काल्पनिक फिल्म बनाए पनि यहाँ जहिल्यै यथार्थसँग दाँजिन्छ र ‘यस्तो देखाउन पाइन्छ, यस्तो पाइँदैन’ भन्ने मान्यता छ । यसले हामीलाई कथा भन्नबाट रोक्छ,’ उनी भन्छन् ।

नेपाली फिल्मको बजार साँघुरो छ । त्यसैले कुन फिल्मले कस्तो प्रभाव पार्छ भन्ने कुरा फिल्मकर्मीलाई थाहा हुँदैन । लगानी मात्रै सुरक्षित गर्ने निश्चित नभएपछि निर्माताहरू सुरक्षित बाटो खोज्छन् । त्यो सुरक्षित बाटो भनेकै सबै कुराको मिश्रण भएको फिल्म बनाउनु रहेको निश्चलको ठहर छ ।

लेखक विना थिङ नेपाली र नेपालबाहिरका फिल्महरू नियमित हेर्छिन् । बाहिरका फिल्मको तुलनामा उनले नेपाली फिल्ममा भने खोजेको स्वाद र गम्भीर कन्टेन्ट खासै पाउन सकेकी छैनन् । ‘यहाँ कि त अत्यधिक होहल्ला र क्राउडवाला फिल्म बन्छन्, कि त उही परम्परागत ‘चक्लेटी’ र बनिबनाउ कथा दोहोरिइरहेका छन् । विश्व सिनेमाले आज साइन्स फिक्सन, कोर्टरुम ड्रामा र साइकोलोजिकल थ्रिलर जस्ता फरक–फरक विधामा उचाइ लिइरहँदा हाम्रो सिनेमा भने गाउँ र सस्तो कमेडीको घेराभन्दा बाहिर निस्कन सकेको छैन,’ उनको विश्लेषण छ ।

बजार सानो हुनु र लगानी डुब्ने डरले निर्माताहरू पनि नयाँ विधामा जोखिम मोल्न डराइरहेको आकलन थिङको छ । ‘कान्स जस्ता अन्तर्राष्ट्रिय महोत्सवमा पुगेर विश्वलाई चकित पार्ने हाम्रा मौलिक फिल्महरूलाई समेत हाम्रै रैथाने दर्शकले हेर्न नरुचाउने वा हेर्नै नपाउने परिस्थिति यहाँ छ । त्यसकारण पनि फरक–फरक विधामा फिल्महरू कम बनाइन्छन् होला,’ उनी ठम्याउँछिन् ।

फिल्म लेखन, निर्देशन र निर्माण अनुभवसमेत रहेका अभिनेता खगेन्द्र लामिछानेलाई लाग्छ, ‘नेपाली फिल्म बजार आर्थिक रूपले एकदमै जोखिमपूर्ण छ ।’ यस्तो अवस्थामा फिल्म निर्माताहरूले बजारमा कस्तो खालको सिनेमा चलिरहेको छ, त्यस्तै ट्रेन्ड पछ्याउने बताउँछन् उनी । यदि कुनै एउटा विधाको फिल्म चल्यो भने केही समयसम्म लगातार त्यस्तै फिल्महरू मात्र बनाउने एउटा चलन नै बसिसकेको उनको विश्लेषण छ । कलाकार, निर्देशक र निर्माताको समेत अनुभव भएका आधारमा उनी भन्छन्, ‘एउटा कलाकारका रूपमा मलाई फरक–फरक क्यारेक्टर र विषयवस्तुमा काम गर्न धेरै मजा आउँछ । तर, निर्देशक र निर्माताका अनुभवले भन्नुपर्दा यहाँ एक्सपेरिमेन्ट गर्दा सुरक्षित भइन्छ कि चलिरहेको ट्रेन्ड पछ्याउँदा भन्ने दुविधा हुन्छ । धेरैजसोले आर्थिक जोखिम कम देख्ने हुनाले ट्रेन्डलाई नै पछ्याउँछन् ।’

उनी आफूले यो ट्रेन्ड तोड्न कोसिस गरेका उदाहरण दिन्छन् । हुन पनि करिब १ दशकअघि ‘पशुपति प्रसाद’ र ‘टलकजंग भर्सेज टुल्के’ मार्फत खगेन्द्रहरूले ट्रेन्ड ‘ब्रेक’ गर्ने र एक्सपेरिमेन्ट गर्ने आँट गरेका थिए । ‘तर, हामी बारम्बार एकदमै धेरै जोखिम लिइरहन सक्ने स्थितिमा छैनौं । हाम्रो जस्तो सीमित आर्थिक स्रोत भएको व्यक्तिलाई एक पटक ठूलो क्षति भयो भने फेरि उठ्न धेरै गाह्रो हुन्छ,’ खगेन्द्र बताउँछन् ।

रोड थ्रिलर फिल्म ‘बाटो’का निर्देशक मदन थापा युनिक जनरामा फिल्म बन्न नसक्नुको मुख्य कारण मेकरहरूमा देखिने दृढ विश्वास कमी रहेको बताउँछन् । ‘फरकधारको सिनेमा बनाउन सुरुमै कथा र कन्सेप्ट यति बलियो हुनुपर्छ, जसले लगानीकर्तालाई पहिलो गाँसमै आकर्षित गर्न सकोस्,’ उनी भन्छन् ।

नेपालको बजार सानो भएकाले बाह्य देश वा भारतका चलचित्रकर्मीसँगको सहकार्य यसको वैकल्पिक निकास हुन सक्ने मदनको ठहर छ ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully