सात दशकदेखि नेपाली फिल्मको ज्यूँदो इतिहास जय नेपाल हल

कोरोना महामारीपछिका ५५ महिना बन्द भएको 'जय नेपाल' गत वैशाखदेखि पुन: संचालनमा आएको छ, तत्कालीन राजा महेन्द्रदेखि बीरेन्द्र र राजपरिवारका सदस्यसम्म पुग्थे फिल्म हेर्न ।

जेष्ठ ४, २०८३

रीना मोक्तान

The living history of Nepali cinema for seven decades, Jai Nepal Hall

What you should know

काठमाडौँ — नीर शाह ज्ञानेश्वरमा बस्थे । त्यसताक नजिकै हात्तिसारमा थियो, जय नेपाल हल । उनी फिल्म हेर्न नियमित सोही हल पुग्ने गर्थे । २०२२ सालमा नेपालकै पहिलो फिल्म ‘आमा’ यस हलमा पनि चल्यो । त्यसपछि त नीर स्कुलबाट भागेर दिनकै त्यही फिल्म हेर्न जय नेपाल पुग्थे । गेटमा बस्ने ‘गुजे दाई’ लाई उनले साथी बनाईसकेका थिए, टिकट नकाटी छिर्न पाउँथे । ‘फोर्थ क्लास’ मा बसेर नीरले महिनादिनसम्म जयनेपालमा ‘आमा’ हेरे । ‘मलाई फिल्मप्रतिको मोह जगाउनमा जय नेपाल हलकै मुख्य हात छ,’ छ दशकअघिको स्मृती ताजा गर्दै निर्देशक नीर शाह थप्छन्, ‘एक महिनासम्म हेरेपछि मेरो बालख दिमागमै आमा फिल्मका डायलगदेखि सबै कन्ठस्थ थियो । सायद त्यसैबेलादेखि नै मेरो फिल्मप्रतिको मोह जागेको हो ।’

पछि उनै नीर नेपाली फिल्ममा कलाकारका रूपमा भित्रिए । हिरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’ बाट सुरू भएको उनको कलाकारिता पछि ‘सिन्दूर’, ‘बदलिँदो आकाश’ हुँदै अघि बढ्यो । उनी अभिनित ‘कुसुमे रुमाल’ ले जय नेपाल हलमै प्रदर्शनको ५१ औं दिनको उत्सव मनाएको थियो । त्यसैले पनि नीरका लागि जय नेपालको बेग्लै महत्व छ । ‘गुजे दाईले भित्र छिर्न दिएकैले फिल्म हेर्दै यो क्षेत्रप्रति आकर्षित भएको एउटा सानो केटो पछि आफैंले खेलेको फिल्मको ५१ औं दिनको सेलिब्रेसन यहीं मनाउन पायो,’ नीर सुनाउँछन्, ‘यो ठाउँ मेरो लागि वास्तवमै प्रेरणाको स्रोत हो ।’

The living history of Nepali cinema for seven decades, Jai Nepal Hall

तर तिनै नीरले ४ असोज २०७८ मा अप्रीय समाचार सुने, जय नेपाल हल बन्द भएको । हिन्दी फिल्म ‘श्री गणेश महिमा’ देखाउँदै २००९ सालदेखि संचालनमा आएको जय नेपाल हल बन्द हुनु उनका लागि केवल एउटा हलको विषय थिएन, आफ्नो वाल्यस्मृतसँग जोडिएको जय नेपालले नेपाली फिल्म क्षेत्रको इतिहास पनि बोकेको थियो । ‘मेरो मनमस्तिष्कमा बसेको यति अद्भुत सिनेमा घर भत्केर भग्नावशेष बन्दा मन साह्रै दुखेको थियो,’ हालैको एक भेटमा उनले सुनाए ।

जय नेपाल ५५ महिना बन्द भएपछि अन्ततः १८ वैशाख २०८३ देखि पुनः सन्चालनमा आएको छ । यो खबरले सबैभन्दा धेरै नीरकै मन फुरुङ्ग छ । सन्जय वास्तव श्रेष्ठ (अध्यक्ष), रुपेश श्रेष्ठ (प्रबन्ध निर्देशक) र हरिकृष्ण लोहला (बोर्ड निर्देशक) को समूहले जय नेपाल सिनेमाजलाई नयाँ कलेवरमा सन्चालनमा ल्याएका हुन् । ‘यो हलको इतिहास जोगाउन पनि यसलाई संचालनमा ल्याउका हौं । आजका १८–३० वर्षका दर्शकका लागि त यो हल एउटा इतिहास नै हो नि,’ अध्यक्ष श्रेष्ठले भने, ‘इतिहासलाई पनि जोगाउँदै व्यापार गर्ने हो । नेपाली फिल्मका लागि यो हल संग्राहलय नै हो ।’

The living history of Nepali cinema for seven decades, Jai Nepal Hall

जय नेपाललाई सुरुमा अशोक राणाले खोलेका हुन् । लामो समय उनैले चलाए । बीचमा व्यापारी निर्मल प्रधानले सम्हाले । उनीपछि टिम क्वेस्टले ‘क्युएफएक्स’ अन्तर्गत यो हललाई झन्डै २० वर्षसम्म चलाए । त्यतिबेला निर्मलसँगकै साझेदारीमा क्युएफक्सले यो हललाई पुनः संचालनमा ल्याएको थियो । अहिले पनि यसको स्वामित्व राणाका तीन दाजुभाईसँग छ ।

खासमा सुरुमा हरिले हलको मर्मत सुरु गरेका रहेछन् । जीर्ण अवस्थामा पुगिसकेको पूरानो संरचनामा खर्च उतिकै लाग्ने । त्यसपछि हरिले सहयोग गुहारे । रुपेशको सल्लाहमा संजय जोडिन आइपुगे । आफूले फिल्म हेर्दै हुर्केको घर नजिककै हललाई जोगाउने जिम्मेवारी महसुस गरे । व्यापारी सन्जयले हलमा यसरी लगानी गर्नुको अर्को कारण, जय नेपालसँगको स्मृतीलाई मान्छन् । सन्जयले पनि बाल्यकालमा यही हलमा थुप्रै फिल्म हेरेका रहेछन् ।

The living history of Nepali cinema for seven decades, Jai Nepal Hall

पूरानो संरचना र यी सम्झनाहरुले मात्रै होइन, यो हलले जोगाइ राखेको फिल्म हेर्ने सांस्कृतिक इतिहासको जगेर्ना गर्न पनि आफूहरुले संचालनको जिम्मा लिएको सन्जयले सुनाए । सन्जयको समूहलाई थाहा छ, बजारमा अहिले मल्टिप्लेक्स हलकै दबदबा छ । जय नेपाल जस्ता सिंगल स्क्रिन हललाई क्यूएफएक्सले बन्द हुनुको मुख्य कारण पनि यही थियो । तर, आफूहरुले त्यही चुनौतीको सामना गर्न जय नेपाललाई मल्टिप्लेक्स हलकै सेवा सुविधाको हाराहारीमा म्याकको साउन्ड सिस्टम, सुविधासम्पन्न आधुनिक सिटसहित निर्माण गरेको सन्चालकको दाबी छ ।

३ सय ६ दर्शक अटाउने यो हल पुनःनिर्माण गर्न २ वटा हल बनाउने खर्च लागेको संजय सुनाउँछन् । सन् २००१ मा यो हललाई क्युएफएक्सले पुनः निर्मण गर्दा २ करोड ८५ लाख खर्चेको थियो । क्युएफएक्सका संचालक नकिम उद्दिन आफूहरुले यो हल सन् २००१ मा लिएपछि १ वर्ष लगाएर मर्मत गरेको सुनाए । ‘त्यो बेला नेपालको सबभन्दा पूरानो हल यही थियो,’ नकिमले भने । वर्षौं पूरानो संरचनालाई त्यतिबेला उनीहरुले पछिल्लो समयको साउन्ड र प्रोजेक्सन मिलाएर २००२ देखि संचालनमा ल्याए । झन्डै १० वर्ष राम्रै चलेपछि व्यापार खस्किदै गएको नकिम सुनाउँछन् ।

The living history of Nepali cinema for seven decades, Jai Nepal Hall

‘कोभिड आउनुअघिको वर्षदेखि नै दर्शकले मल्टिप्लेक्समै फिल्म हेर्न रुचाएको देखियो । टिकट नपाउँदा मात्रै सिंगल स्क्रिन थिएटर रोजेको देख्यौं,’ नकिमले भने, ‘क्रमिक रुपमा व्यापार घट्दै गएपछि बन्द गर्नुको विकल्प भएन ।’ त्यसपछि क्युएफएक्सले ‘जय नेपाल हल’ नै छोड्यो । जबकी देशको सबैभन्दा ठूलो फिल्म प्रदर्शन चेन बनेको क्यूएफएक्सका नकिमहरुले जय नेपाल हलबाटै सिनेमाको व्यापार सिकेका हुन् । क्यूएफएक्स ब्रान्ड यही हलबाटै सुरु भएको हो । ‘हामीलाई सिनेमाको व्यापार नै थाहा थिएन, यहींबाट व्यापार सिक्यौं । क्यूएफएक्स ब्रान्डलाई देशभर पुर्‍याउन सक्यौं । यहींबाट वृहत्तर बन्यौं हामी । त्यसैले पनि हाम्रो लागि जय नेपाल लर्निङ प्रोजेक्ट हो,’ नकिमले भने ।

नकिमहरुले पछि कुमारी सिनेमा पनि लिए । सन् २०१० देखि सिभिल मलमा हल खोलिसकेपछि सबै हललाई क्यूएफएक्स अन्तर्गत ल्याए । त्यतिबेला निर्मल प्रधानले पनि १० प्रतिशत सेयर लिएका थिए । नकिमका अनुसार पूरानो जय नेपाललाई उनीहरुअघि निर्मल प्रधानले चलाएका हुन् ।

हल बन्द हुँदा धेरैले अशोकसँग यो ठाउँ भाडामा नमागेका होइनन् । हल भत्काएर उनीहरु अरु नै व्यापारीक संरचना बनाउन चाहन्थे । तर, नेपाली फिल्मको इतिहाससँग साक्षात्कार गरेको यो हल मासेर जग्गा भाडामा लगाउन अशोकको मनले मानेन । यही हलमा कुनै समय तत्कालीन राजा महेन्द्रदेखि वीरेन्द्र र राजपरिवारका सदस्यहरु फिल्म हेर्न आउने गरेको अशोकले देखेका थिए । ‘यस्तो ऐतिहासिक सम्झना जोडिएको हल जोगाउन पनि यो ठाउँमा अरु संरचना बनाउन दिन मन लागेन,’ उनी सुनाउँछन् ।

तस्बिरहरु :  अंगद ढकाल/कान्तिपुर

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully