भारतीय बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्म 'मेरी कोम'मा सुनिल थापाले प्रियंका चोपडाको 'गुरु'को भूमिका निभाएका थिए ।
काठमाडौँ — पूर्व मिस वर्ल्ड एवं हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली अभिनेता सुनिल थापाको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेकी छन्।
उनले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसमा थापासँग भारतीय बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्म 'मेरी कोम' को सुटिङका समयमा बिताएका क्षणको सम्झना गर्दै कठिन समयमा पाएको साथलाई स्मरण गरेकी हुन्। फिल्ममा थापाले चोपडाको 'गुरु'को भूमिका निभाएका थिए । सञ्जयलीला भन्सालीको निर्माण रहेको उक्त फिल्मलाई उमंग कुमारले निर्देशन गरेका थिए ।
प्रियंकाले लेखेकी छन्, ‘सर तपाईं सधैं मेरो कोच रहनुहुनेछ। मैले बुबालाई गुमाएको बेला तपाईंले मलाई सम्हाल्नुभयो। तपाईंले नजानिँदो रूपमा पनि धेरै कठिन दिनहरूमा माया र साथ दिनुभयो।’
उनले थप लेखेकी छन्, ‘तपाईंको न्यानो अँगालो र हाँसो सधैं मेरो सम्झनामा रहनेछ। हामीले तपाईंलाई निकै चाँडै गुमायौं, तर तपाईंलाई कहिल्यै बिर्सिने छैनौं। म टुटेको समयमा तपाईंले देखाउनुभएको माया र साथका लागि धन्यवाद। तपाईंको आत्माले शान्ति पाओस् ।’
प्रियंकाले थापाको परिवार र निकटजनप्रति समवेदना व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेकी छन्।
थापा शनिबार बिहान शंखमूलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएपछि नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।
