‘राम नाम सत्य’ फिल्मको अन्तिम सिन थियो- सुनिलको पात्र चितामा जल्नुपर्ने । उनले शुक्रबार बेलुकी निर्देशक माइकललाई भनेका थिए, ‘यो सिन राम्रो छ, अब भोलि बिहान गरौं ।’ राति १० बजे सुटिङ प्याकअप भयो । बिहान ७ बजे सुटिङ गर्ने योजनासहित सुनिल घर गएका थिए ।
What you should know
काठमाडौँ — नर्भिक अस्पताल परिसरमा शनिबार दिउँसो फिल्मकर्मीहरूको अनुहार उदासीले छोपिएको थियो । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइरहेका थिए, ‘हिजो भर्खर हाँसेर बोलेको । आज रुवाएर जानलाई रहेछ हगी ।’
असीम श्रद्धा र प्रेम गर्ने व्यक्ति गुमाउँदाको कठिन क्षणलाई कलाकार विल्सन विक्रम राई सम्हाल्न सकिरहेका थिएनन् । छिनछिनमै उनी भक्कानिरहेका थिए । सरोज खनाल, शिव श्रेष्ठ, जितु नेपालहरू मौन देखिन्थे । नेपाली फिल्म क्षेत्रमा खलनायक चरित्रलाई सानदार ढंगले स्थापित गर्ने अभिनेता सुनिल थापाले नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा बिहान अन्तिम श्वास बिसाए ।
शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई शनिबार बिहान नर्भिक अस्पताल पुर्याइएको थियो । नर्भिकमा उपचारको क्रममा सुनिलको निधन भयो । ‘राम नाम सत्य’ निर्देशन गरिरहेका माइकल चन्दलाई अहिले पनि लागिरहेको छ, 'कतै यो सपना त हैन ?’ शुक्रबार बेलुका फिल्मको अन्तिम सिन खिच्नुपर्ने भयो । त्यो सिनमा सुनिललाई चितामा राखेर जलाउनुपर्ने थियो । सुनिलले माइकललाई भनेका थिए, ‘यो सिन राम्रो छ अब भोलि बिहान गरौं ।’ राति १० बजे सुटिङ प्याकअप भयो । बिहान ७ बजे सुटिङ गर्ने योजनासहित सुनिल घर गए । ‘मैले दाइसँग बस्ने मान्छेलाई बिहान ७ बजे अलार्म बज्छ, उठाइदिनु भनेको थिएँ । हामी चिताको सिनका लागि दाइलाई नै पर्खिरहेका थियौँ । बिहान अलार्म त बज्यो, तर दाइ उठ्नुभएन,’ माइकल सुँक्सुकाउँदै भन्छन् ।
माइकललाई शुक्रबार निर्णय बदलेको कुराले पिरोलिररहेको छ । ‘केहीबेरको जलाउने सिन मात्र बाँकी थियो, कतै हामीले भोलिको लागि सारेर पाप त गरेनौं, ’ उनी ग्लानीजडित पीडा पोख्छन्, ‘नत्र जुन सिन बाँकी थियो, आज त्यस्तै घटना कसरी...?’
सुटिङ अवधिभर सुनिल ठिकठाक थिए । चुरोटको भने अम्मली । बेलाबेला बेस्सरी खोकी लाग्थ्यो उनलाई । ‘खोकी देख्दा नै डर लाग्थ्यो, मानौं आँखा नै बाहिर निस्केला जस्तो हुन्थ्यो,’ माइकल सम्झन्छन् ।
मुम्बईमा डान्स क्लास गरिरहेका माइकललाई आजभन्दा १३ वर्षअघि सुनिलले बोलाए, ‘ए माइकल, अन्त धेरै बसिस, अब नेपाल आइजा ।’ उनी नेपाल आएर काठमाडौंमा सुनिलसँगै बस्न थाले । ‘उहाँसँग मेरो एउटा पारिवारिक सम्बन्ध जस्तै थियो । यी कुरा म त सिनेमा रिलिज भएपछि मात्र बोल्छु भन्ने सोचमा थिएँ, तर आज परिस्थिति यस्तो भइदियो कि नबोली बस्नै सकिनँ,’ माइकल भक्कानिँदै भन्छन् ।
करिब साढे तीन दशकअघि फिल्म 'चिनो’मा एउटा भयानक खलनायक देखापरे । जसलाई पर्दामा देखेर दर्शकहरू तर्सन्थे । ती थिए– रातेकाइँला । सुनिलको यो चरित्रको अहिले पनि उत्तिकै तारिफ हुन्छ । रातेकाइँलाले दर्शकको मनमा जति डरको डेरा जमायो, सुनिल थापाले उत्तिकै प्रेमको ‘महल’ बसाए । ‘ऊ फिल्मको चरित्रमा जति खुंखार थियो, असलमा ऊ बच्चाजस्तै थियो । सानो कुरामा पिलिक्क रोइदिन्थ्यो । इमोस्नल थियो,’ तुलसी सुनिलभित्रको कोमल मानिसबारे सुनाउँछन् ।
रातेकाइँलाबाट स्थापित भए पनि सुनिलले गरेको पहिलो नेपाली फिल्म भने ‘मसाल’ थियो । सुनिललाई सम्झन सन् १९८१ तर्फ फर्कनुपर्छ । बलिउड सिनेमामा उनको पहिचान जग्जगी फैलाउने अवतारबाट भएको थियो । त्यसबेलाको फिल्म ‘एक दुजेके लिए’मा उनी क्रूर पात्रका रुपमा देखिएका थिए । यो अभिनेता कमल हसनले खेलेको पहिलो हिन्दी सिनेमा समेत थियो । त्यसैगरी ‘मानव हत्या’, ‘आजकी आवाज’, ‘मनु द ग्रे’, ‘अल्बेला’, होस् वा ‘नासिबवाला’ ।
उनी हिन्दी सिनेमाको पर्दाभित्र छाइरहे । सन् २०१४ को फिल्म ‘मेरी कोम’मा उनी अभिनेत्री प्रियंका चोपडाले निभाएको चरित्रको बक्सिङ कोच थिए । उनको अभिनयको तारिफ त्यतिबेला बलिउड फिल्म वृत्तमा पनि राम्रै भइरहेको थियो । सुनिलले बलिउड अभिनेता मनोज बाजपेयीको शीर्ष भूमिका रहेको सिरिज ‘द फेमिली म्यान’ को तेस्रो श्रृंखलामा पनि दमदार अभिनय गरेका थिए । यसमा उनी एक सम्मानित स्थानीय नेता र नागाल्याण्डका एमसीए प्रमुख डेभिड खुजोउको भूमिकामा थिए ।
उतिबेला बलिउडमा ‘प्राइम टाइम’ चलिरहेको बेला तुलसीले सुनिललाई नेपाली फिल्मका लागि प्रस्ताव गरेका थिए । उनीहरू मुम्बईदेखिका हितैषी मित्र थिए । तुलसीले एकदिन भने, ‘ए सुनिल नेपाली फिल्म गर्न नेपाल आऊ । तर म तिमीलाई टिकट पठाउँदिनँ ।’ पटकथा कस्तो छ ? चरित्र कुन हो ? पैसा कति हो ? सुनिलले सोधेनन् । उनी सरासर नेपाल आए । जब स्क्रिप्ट सुने, तब दंग पर्दै भने, ‘मज्जा आयो ।’
फिल्म ‘चिनो’को सुटिङ चल्दाचल्दै सुनिलको पहिलो छोरा जन्मिए ।
खुसी हुँदै तुलसीलाई सोधे – नाम के राखौँ ?
तुलसीको मनमा एउटा सुन्दर नाम झुल्कियो । उनले सुझाए– अनमोल । छोराको नामै अनमोल रह्यो । फेरि सुनिलकी छोरी जन्मिइन् । उनले तुलसीलाई सोधे, ‘नाम के राखौं ?’ तुलसीले अनमोलको अंग्रेजी अर्थ भने, ‘प्रिसियस’ । छोरीको नाम प्रिसियस रह्यो । फिल्ममा सहकार्यसँगै दुःख सुख सेयर गर्ने साथी थिए तुलसी र सुनिल । आफ्नो सबैभन्दा समिपको साथी सबैभन्दा टाढा जाँदा कस्तो हुन्छ ? तुलसीलाई अहिले त्यस्तै भइरहेको छ । ‘हो कि हैन भनेर आफैंलाई कोट्याइरहेको छु । भोलि बिहान जुरुक्क उठ्दा सपनामा सुनिल मरेको पो सुनेको थिएँ होला कि लागिरहेको छ,’ तुलसी अझै अपत्यारिलो ठान्छन् ।
सुनिलले नेपाली फिल्महरूमा छाडेको अभिनयको पदचापलाई नवीन पुस्ताहरूले पनि पछ्याइरहेका थिए । उनले राँको, सपना, परिभाषा, गोर्खा पल्टन, शिकारी, शिकारी-२, पापी मान्छे, पापी मान्छे-२, अल्झेछ क्यारे पछ्यौरी, देवर बाबू, कर्म योद्धा, क्याप्टेनलगायत दर्जनौं नेपाली फिल्ममा काम गरे । नेपाली हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा पनि उनले काम गरे । पछिल्लो समय उनी फिल्म ‘एक्लो’मा थिए ।
तुलसीको कमब्याक फिल्म ‘पहाड’मा सुनिल थापाले मुखियाको भूमिका निर्वाह गरेका थिए । ‘पहाड’को छायांकन समय सम्झनामा आइरहन्छन् तुलसीलाई । उनीहरू ‘चिनो’देखि ‘पहाड’सम्मका यात्रा सम्झन्थे । अनि भन्थे, ‘हामी कति परिवर्तन भएछौं है तुलसी ।’
ती दिन सम्झिरहँदा तुलसी स्वीकार्नै सकिरहेका छैनन् कि सुनिल अब छैनन् भनेर । ‘सुनिलको विषयमा यति छिटो भन्नुपर्छ लागिरहेकै थिएन,’ उनी बहकिन्छन्, ‘पहाड रिलिजको बेलामा यसो भनौं ल भनेर सल्लाह गर्थ्यौं । मजाक गर्थ्यौं । फिल्म रिलिज हुँदा कति जना भाडामा बोलाउने, आजकल भाडामा रुने मान्छे बोलाइन्छ भनेर जिस्कन्थ्यौं ।’
नयाँ फिल्ममा पनि तुलसी सुनिललाई काम गराउन चाहन्थे । भनेका थिए, ‘तिमीले गर्नुपर्छ । त्यो एकदम गाह्रो क्यारेक्टर छ ।’ सुनिललाई कसैले कुरैकुरामा भन्थे,‘तपाईंको बेस्ट क्यारेटर राते काइँलो हो ?’ उनी टाउको हल्लाउँदै भन्थे, ‘हैन । बेस्ट त अझै आउँदैछ ।’ सधैं ‘बेस्ट’ खोजिरहने सुनिल आफैंमा भने धेरैका ‘बेस्ट’ थिए । छायाँकार गौरीशंकर धूँजु त गहिरो शोकमा डुबेका छन् यतिबेला । ‘उनीहरू धेरै क्लोज थिए । झगडा गरिरहने साथी,’ तुलसी सुनाउँछन् । गौरीशंकरको जीवनसाथी ०७८ मा बितिन् । कठिन समय बाँचिरहेका गौरीलाई सुनिलले बोलाए, ‘कहाँ घरमा बसेर दुखी हुने । चलो, सँगै बस्ने हो ।’ ‘म जहिल्यै भेट्न जाँदा ओ गौरी भनेर सुनिल सानो सानो कुरामा कराउँथ्यो । उनीहरू प्रेमिल झगडा गर्थे । तर अब गौरीशंकरको जीवनमा अर्को खालीपन छायो,’ तुलसी भन्छन् ।
सुनिलले साथी सम्बन्ध र काममा देखाएको संस्कार बडो मिस हुनेछ तुलसीलाई । आफ्नो न्यानो सम्बन्धहरू सम्झँदै तुलसी नयाँ पुस्तालाई सम्झाउन समेत चाहन्छन्, ‘यो कल्चर फलो गर नानी हो । नत्र पछि गएर एक्लो हुन्छौ ।’
फिल्म निर्देशक प्रकाश सायमि सुनिलसँगका न्याना सम्बन्धबारे सम्झन्छन् । ‘सुनिल र मेरो सम्बन्ध सदा मित्रवत् रह्यो । एकपटक हामी फिल्म वर्कशपमा लेखक विक्रमभक्त जोशी, फिल्मकार राजेन्द्र शलभ, कलाकार बसुन्धरा भूषाल अनि सुनिल एउटै फ्लाइटमा लुम्बिनी गएका थियौं, सँगै एउटै होटल बसेका थियौं । त्यो याद अझै पनि ताजा छ,’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनी पोखिन्छन्, ‘सुनिल, हाम्रो मनमष्तिस्कमा सदैव जीवित रहनेछौ द ग्रेट आर्टिस्ट एन्ड ग्रेट ह्यूमन विइङ्ग ।’
अभिनेता नीर शाहलाई भने साथी गुमाउनुको पीडाले विक्षिप्त बनाइरहेको छ । ‘म केही सोच्न र बोल्न सकिरहेको छैन,’ मन गह्रुँगो बनाउँदै उनी भन्छन्, ‘मेरो असाध्यै मिल्ने साथी । सो आइ लस्ट अ भेरी गुड फ्रेन्ड ।’ केही दिन अगाडिसम्म नीर शाहको कुरा भइरहेको थियो सुनिलसँग । सुनिल त्यतिबेला सुटिङमा थिए । ‘भेट्छु भनेर वाचा गर्नुभएको थियो । तर वाचा नै पूरा गर्न पाउनुभएन,’ नीर शाह मधुर सुनिन्छन् ।
सुनिललाई हेरिरहने र पर्दामा पर्खिरहेका दर्शकहरूलाई पनि यो विस्मातले दुखाइरहेको छ । पर्दामा ‘खलनायक’ बाँचिरहने सुनिलले रिलमा त पटकपटक मृत्युको अभिनय गरे । ‘नायक’को पक्षमा देखिने दर्शकहरूले त्यसमा पक्कै खुसीमनाउ गरे । तर ‘रियल’ जीवनमा कुशल सम्बन्ध निभाइरहेका सुनिलको यो महाप्रस्थानले कसैलाई सजिलो बनाएन । सुनिल अब भौतिक रुपमा छैनन्, तर उनको न्यास्रो भने सारा फिल्म जगतले सदैव मानिरहनेछ ।
