उनले बलिउडमा लामो समय बिताएनन्, तर एउटा खास सिनेमामा यसरी छाए कि उनलाई खासखास मोडमा सम्झिने गरिन्छ ।
What you should know
मुम्बई — बलिउडका ‘कल्ट’ खलनायकको चर्चा गर्दा एउटा त्यस्तो नाम पनि आउँछ, जसले एक समय भारतीय समाजमा एक खाले त्रासदी नै उत्पन्न गराएको थियो ।
सुनिल थापाको नाम लिनेबित्तिकै एउटा डर तयार हुन्थ्यो । यिनै थापाको शनिबार निधन भएको छ ।
उनले बलिउडमा लामो समय बिताएनन्, तर एउटा खास सिनेमामा यसरी छाए कि उनलाई खासखास मोडमा सम्झिने गरिन्छ । त्यसैले उनको त्यो खलनायक पात्र कालान्तरमा ‘कल्ट’ साबित भयो ।
हामीले कुरा गर्न लागेको सिनेमा हो, ‘एक दुजे के लिए’ । सन् १९८१ को यो सिनेमालाई कस्तो छ भन्दा प्रयोग गर्ने शब्द हुन्, रोमान्टिक त्रासदी । त्यस सिनेमामा रोमान्स गर्ने थिए, कमल हसन र रति अग्निहोत्री । अनि त्रासदी उत्पन्न गराउने थिए, तिनै सुनिल थापा । उनले त्यस सिनेमामा लाइब्रेरियनको भूमिमा निभाएका थिए, जसको रतिले निभाएको सपना पात्रप्रति कहिले पनि राम्रो दृष्टिकोण रहेन ।
यो त्यही सिनेमा हो, जुन कमल हसनले खेलेको पहिलो हिन्दी सिनेमा थियो । सिनेममा उनको नाम थियो, बासु । रतिको त डेब्यु सिनेमा नै थियो । त्यति बेला उनी किशोर उमेरमै थिइन् । सिनेमाका निर्देशक थिए, दक्षिणतिरका नामचिन के बालचन्दर । ‘एक दुजे के लिए’ तेलगु चलचित्र ‘मारो चरित्र’ को रिमेक थियो । त्यसमध्ये सबैभन्दा सफल सिनेमा भने ‘एक दुजे के लिए’ नै रह्यो, त्यति बेलाको कमाईको आधारमा पनि ।

यो सिनेमाको एउटा बलियो पक्ष संगीत पनि थियो, लक्ष्मीकान्त प्यारेलालको जोडीले गज्जब गीत बनाएका थिए । अहिले पनि ती गीत दोहोर्याएर सुन्नुपर्छ, त्यसमध्ये केहीले अथाह खुसी दिन्छ, अनि केहीले त्यो भन्दा बढी दुःख र पीडाको अनुभव ।
त्यसैले त हो ‘एक दुजे के लिए’ लाई सर्वकालीन उत्कृष्ट हिन्दी सिनेमामध्ये एक मानिन्छ । यसले त्यति बेला थुप्रै अवार्ड पनि जितेको थियो । यो सिनेमाको तत्कालीन भारतीय सिनेमामा कति धेरे प्रभाव थियो भने युवा जोडी आफ्नो प्रेम सम्बन्ध सफल हुने आधार देखिएन भने परिवार र सहर छाडेर भाग्थे ।
कतिपयले सिनेमाको दुःखद अन्त्य जस्तै परिस्थितिलाई पनि आत्मसात् गरे । त्यसै कारण ‘एक दुजे के लिए’ को आलोचना गर्ने पनि धेरै छन्, किनभने यसले त्यो बेलाको समाजमा खलबली नै मच्चाएको थियो ।
बासु र सपनाको प्रेम सम्बन्धलाई तोड्ने काम गरेका थिए, तिनै सुनिल थापाले खेलेको लाइब्रेरियन पात्रले ।
