पाँच अन्तर्राष्ट्रिय विमान कम्पनीको उडानमा ‘राजागंज’ हेर्न सकिने

राजागंज फिल्मका निर्माता नीरज श्रेष्ठ भन्छन्, ‘यो हाम्रो कथाहरुको उडान मात्रै होइन । ३० हजार फिट उड्ने विश्व दर्शकबीच पुग्ने नेपाली फिल्महरुको यात्राकै सुरु हो ।’

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

'Rajaganj' can be seen on flights of five international airlines

What you should know

काठमाडौँ — पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा सर’ हेर्न सकिने भएको छ । कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले विमानभित्रै बसेर यो फिल्म हेर्न सक्नेछन् ।  

रौनियार निर्देेशित ‘हाइवे’ सन् २०१२ मा प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको थियो । यो फिल्म नै विश्वका प्रमुख महोत्सवमा प्रिमियर हुने पहिलो नेपाली फिल्म हो । गत वर्ष विश्वकै पुरानो फिल्म महोत्सव भेनिसमा प्रिमियर भएको 'राजागंज' त्यसयता बुसान, टानिक ब्ल्याक नाइट्स, गोथेबर्ग, सोलोनिकी, सिड्नी, मुम्बईलगायत दर्जन बढी महोत्सव घुम्यो ।

नेपालबाट बाँसुरी फिल्मस् र नर्वेको ट्यानहाउजर गेटको सहकार्यमा आदि फिल्मस्‌ले निर्माण गरेको ‘राजागंज’मार्फत रौनियारले अन्तर्राष्ट्रिय एयरलाइन्सको ‘प्रोगामिङ’तर्फ फिल्मलाई पुर्‍याएर नेपाली फिल्मका लागि नयाँ बजार उघारिदिएका छन् । 

'कतारजस्तो विश्वकै नम्बर एक मानिएको एयरलाइन्स नेपालमा उड्छ, तर उनीहरुले त्यसमा नेपाली फिल्म प्रोगाम गर्दैनथे । हामीलाई आफ्नो सांस्कृतिक उपस्थितिको लागि भए पनि यो स्पेस हाम्रो फिल्ममा चाहिन्छ भन्ने लागेको हो । हाम्रै फिल्मबाट यो यात्रा सुरु हुँदा हामी गौरवान्वित छौं,' राजागंजका निर्माता नीरज श्रेष्ठ भन्छन्, 'यो हाम्रो कथाहरुको उडान मात्रै होइन । ३० हजार फिट उड्ने विश्व दर्शकबीच पुग्ने नेपाली फिल्महरुको यात्राकै सुरु हो ।' 

ग्लोबल इन-फ्लाइट इन्टरटेन्टमेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले ‘राजागंज’लाई अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरेको हो । यो कम्पनीले भेनिसमै फिल्मको इन-फ्लाइट वितरण अधिकार किनेको थियो । हलमा देखाउने अवधि सकिएलगत्तै दीपकको टोलीले फिल्मलाई एयरलाइन्स 'स्क्रिनिङ' सुरु गरेको हो । पेनी ब्ल्याकको कन्टेन्ट डिस्ट्रिब्युसनकी भीपी हुलिएटा एयरलाइन्स स्क्रिनिङको यो यात्रा प्रारम्भिक रहेको र अझै सम्झौता अगाडि बढाइरहेको बताउँछिन् । 'राजागंजलाई एयरलाइन्स चढ्ने विविध दर्शकलाई आकर्षित गर्न सक्ने फिल्म हो। यसको इन-फ्लाइट यात्रामा साथ दिन पाउँदा अत्यन्त गर्व महसुस गरिरहेको छु । फिल्मलाई अझ धेरै विश्वभरका इन-फ्लाइट स्क्रिनमा हेर्न आतुर छु, 'उनले भनिन् । 

'Rajaganj' can be seen on flights of five international airlinesजनकपुरमा खिचिएको ‘राजागंज’ सत्य घटनाबाट प्रेरित छ । क्राइम थ्रिलर जनराको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित फिल्म हो । मधेश आन्दोलन चलिरहँदा अपहरित दुई बालकको खोज अनुसन्धानका लागि इन्सपेक्टर पूजा थापा(आशा मगराती)लाई काठमाडौंबाट खटाइन्छ । दुई बालकलाई खोजिरहँदा पूजाले त्यहाँभित्रको भेदभाव, लैंगिक विभेद र शक्तिको आडमा हुने राजनीतिको सामना गर्छिन् । उनले हालै अमेरिकाको स्यान डिएगोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । मगरातीसँगै यो फिल्ममा निकिता चाण्डक, दयाहाङ राई, विजय बराल, रिचा शर्मा, आरती मण्डल, गौमाया गुरूङ, पशुपती राई, घनश्याम मिश्रा र निरज श्रेष्ठको अभिनय छ । 

यो फिल्म हालै फ्रान्सका ६२ स्क्रिनमा एकसाथ देखाइएको थियो । निर्देशक रौनियारका अनुसार फ्रान्समा १७ हजारभन्दा बढी दर्शकले यो फिल्म हेरेका थिए । यो फिल्म बेलायतको मुख्य टेलिभिजन 'च्यानल फोर'मासमेत प्रसारणमा आयो । नेदरल्यान्डमा 'फ्री टु बी मी अवार्ड' जितेको यो फिल्म प्रतिष्ठित विश्वविद्यालय हार्वर्ड, न्यूयोर्क, बोस्टनमा पनि देखाइएको छ । फिल्मले नेपाल प्रदर्शनमा भने सेन्सर झमेला सहनु परेको थियो । नर्वेको ह्वाइट र्‍याबिट र अमेरिकाको किनेमामा दुई फ्युचरिस्टिक प्लाटफर्मबाट यो फिल्म प्रदर्शन हुँदैछ । नेपाली दर्शकले यही डिजिटल प्लाटफर्ममार्फत फिल्म हेर्न पाउने निर्माता पूर्णसिंह बराइलीले बताए । 'हामी एउटा नयाँ एक्सपेरिमेन्ट गर्ने तयारीमा छौं । किनेमामार्फत संसारभरि दुई सयभन्दा बढी स्क्रिनिङ र कन्भर्सेसन गर्ने हाम्रो प्लान छ,'बराइलीले भने । 

यो फिल्मको लेखन दीपकसहित अभिनेत्री मगराती र डेभिड बार्करले गरेका हुन्। निर्देशक रौनियार, रामबाबु गुरूङ, आशा मगराती, एलन आर मिलिगन र निरज श्रेष्ठ निर्माता रहेको यो फिल्मका कार्यकारी निर्मातामा दयाहाङ राई, ग्याङ्स अफ वासेपुर निर्देशक अनुराग कश्यप, अस्कर नोमिनेटेड निर्माता जस्लिन बार्न्स र 'नेपाल अमेरिका फिल्म फेस्टिभल'का पूर्णसिंह बराईलीलगायत छन् ।

सम्बन्धित समाचारहरु :

'राजागंज'मा महिला र मधेश

मधेशमा ‘राजागंज’ राज

कान्तिपुर संवाददाता

Link copied successfully