मधेशमा ‘राजागंज’ राज

मधेशलाई नेपाली फिल्मले समेट्नै सकेन । अनुहारमा कालो पोतेर, चटपटे बेच्दै वा मुख बंग्याउँदै दर्शक हँसाइरहेका चरित्रमा मधेशीले आफूलाई कहाँ देख्लान् ? तर, ‘राजागंज’ मा मधेशीले आफू भेटेका छन् ।

चैत्र ९, २०८१

रीना मोक्तान

'Rajaganj' rule in Madhesh

बुट्टेदार कार्पेट गिरिजा हलको मुख्य ढोकाबाट भित्रको प्रवेशद्वारासम्म बिछ्याइएको छ । हलको प्रांगणमा एउटा ढावा छ, यहाँ बन्दै छ भान्टाको तरुवा, चटपटे । छेवैमा चियाको थर्मस, नजिकै छन् कटिङ चियाका ग्लासहरू । चियाका पारखीलाई गर्मीको के परवाह, पिउँदै छन् चिया मस्त । बिस्तारै गिरिजाको प्रांगणमा भीड जम्मा हुँदै छ । रेड कार्पेट कुल्चँदै प्रांगण आइपुगे जनकपुरका एसपी, अधिकारकर्मी, अभियन्ता, फिल्मकर्मीदेखि स्थानीय पत्रकार ।

यसअघि गिरिजा न यसरी सजिएको थियो, न यस किसिमको भव्य जमघट नै भएको थियो । आज झिलीमिली बत्तीले गिरिजा सजिएको छ । यसरी सजाइनुको एउटै कारण छ, त्यो हो हल स्थापनाको २५ वर्षमा पहिलो पटक यहाँ नेपाली फिल्म प्रिमियर हुँदै छ – ‘राजागंज’ । हिन्दी, भोजपुरी र मैथिली फिल्मले मात्रै चहलपहल बढाउने यो प्रांगण आज ‘राजागंज’ कै कारण भरिएको हो ।

सन् २००० मा स्थापित यो हलको काँचुली ‘राजागंज’ को प्रिमियरले फेरिदिएको हल व्यवसायी नरोत्तम शाह बताउँछन् । ‘गिरिजामा यो भन्दा अगाडि कहिल्यै नेपाली फिल्मको प्रिमियर भएन । त्यसैले हामी पनि प्रिमियरलाई लिएर उत्साहित भयौं,’ नरोत्तमले भने, ‘२५ वर्षमा पहिलो पटक प्रिमियर हुँदा मनै फुरुंग भयो ।’

यो हलमा दक्षिण भारतीय फिल्मले नै हाउसफुल दर्शक पाउँछ । ‘पुष्पा’ को समयमा यो हलको प्रांगणमा खुट्टा राख्ने ठाउँ थिएन । दर्शक तँछाडमछाड गर्दै हलभित्र प्रवेश गर्थे । ‘केजीएफ’ देखि ‘जवान’ जस्ता हिन्दी फिल्महरूले नै यो हल चलायमान बनाउँदै आएको थियो । ‘गंगा जैसन माई हजर’ भन्ने मैथिली फिल्म धेरै वर्षअघि हिट भयो । भोजपुरी फिल्म ‘सात सहेली’ पनि हिट । गिरिजा होस् या जनकपुरका अन्य हल, दक्षिण भारतीय फिल्म मात्रै चल्नुका पछाडि मधेश आन्दोलन नै कारक देख्छन् नरोत्तम, ‘आन्दोलनपछि पहाडे मूलका मानिसहरू जनकपुरबाट छुट्टिए ।’

‘दर्पण छाया’ जस्ता नेपाली फिल्मले नै चलायमान बनाएको यो हलमा मधेश आन्दोलनपछि पहाडे दर्शक देखिन छाडेको नरोत्तमको विश्लेषण छ । ‘पहाडेहरू हुँदा नेपाली फिल्म मज्जाले चल्थ्यो । दर्पण छायाजस्ता फिल्महरूले सुरुमा यो हल धानेका हुन् । आन्दोलन हुँदा पहाडेहरू छुट्टिए, अनि बिस्तारै दर्शक पनि छुट्टिँदै गए,’ गिरिजा हलतर्फ हेर्दै नरोत्तमले भने, ‘काठमाडौंमा जारी, सारंगी चल्यो भने त्यो फिल्म यता चल्छ । तर, जति प्रचार गरेको नेपाली फिल्म पनि यहाँ चल्दैन । होस्टेल ३ हेर्न दर्शकको भीड छ काठमाडौंमा । यहाँ मान्छे पनि आउँदैन ।’ 

दक्षिण भारतीय फिल्मको एक्सन हेर्दै आएका यी दर्शकका लागि भाषाले पनि नेपाली फिल्मतिर आकर्षित गर्न नसकेको नरोत्तमको अनुभव रहेछ । अर्को तितो यथार्थ त मधेशलाई नेपाली फिल्मले समेट्नै पनि सकेको छैन । मधेशी पात्रलाई फिल्ममा यथार्थ चित्रण गरिँदैन । कालो पोतेर, कहिले चटपटे बेच्दै गरेको त कहिले मुख बंग्याउँदै दर्शक हँसाउँदै गरेको चरित्रमा मधेशीले आफूलाई कहाँ देखुन् ? आफूलाई अपमानित ढंगले देखाइएको चरित्रका फिल्म हेरुन् कसरी ? विराज भट्टको ‘१२ गाउँ’ एक हप्ता चलेछ । यसबीच ‘एक भागवत र एक गीता’ मा ‘झिँझिया’ बोलको चर्चित भोजपुरी गीत समेटिएकै कारण दर्शक हलसम्म ओइरिएका थिए । मधेशको चरित्र होस् या मधेशका भाव, मधेश जोडिएका कुनै न कुनै फिल्मलाई जनकपुरले हेर्न खोजेको नरोत्तम सुनाउँछन् । मधेश आन्दोलन

(२०७२) को पृष्ठभूमिमा बनेको ‘राजागंज’ प्रिमियरले १५–२० वर्षदेखि फिल्मै नहेरेका दर्शकलाई पनि गिरिजाको प्रांगण टेक्न बाध्य बनायो । त्यस अर्थमा कलाको शक्ति २५ वर्षमा भएको नेपाली फिल्मको प्रिमियरमै प्रदर्शित गर्‍यो । आमिर खानको ‘मेला’ देखाउँदै सुरु भएको यो हलमा ‘पूजा’ हरूको कथा देखाइयो, जसमा एक महिला पात्र मुख्य भूमिकामा देखिन्छिन् । 

फिल्म प्रिमियर हुनुअघि ‘राजागंज’ नायिकालाई डर थियो– प्रहरीले राजागंजलाई कसरी हेर्लान् ? इन्स्पेक्टरको भूमिकामा देखिएकी आशा प्रहरीबाटै पाएको प्रतिक्रियाले दंग छिन् । 

पूजा मधेशी होइन, पहाडे हुन् । ‘राजागंज’ (काल्पनिक सहर) मा अपहरित दुई बच्चा उद्धार गर्न काठमाडौंबाट मधेश झर्छिन् । तर, यही पहाडे पात्रले बिस्तारै मधेश, मधेशी महिला र आन्दोलन देख्छिन् । त्यहीं आन्दोलन, सत्ता र शक्तिको दुरुपयोगमा भइरहेको उत्पीडन र विभेद देख्छिन् । र, न्यायका लागि लड्छिन् ।

फिल्म हेरिसकेपछि जनकपुरमा भेटिएका अधिकांश महिला भन्दै थिए, ‘समाजमा पूजाजस्ता महिलाहरू छन्, जसले वास्तवमै न्यायका लागि लड्छन् ।’ जनकपुरमै खिचिएको यो फिल्ममा महिला प्रहरीले न्यायका लागि चालेको कदमको प्रशंसा गर्दै प्रिमियर हेरिसकेपछि भनिन्, ‘सल्युट छ पूजाजस्ता चरित्रलाई । प्रहरी निकायले कसरी काम गर्नुपर्छ भन्ने उदाहरण पूजाको चरित्रले खेलेको छ ।’ 

'Rajaganj' rule in Madhesh

यो फिल्ममा लैंगिक हिसाबले फरक समुदायका महिलाले कसरी विभेद सहनुपर्छ भन्ने पनि देखाइएको छ । फिल्ममा सरस्वती (आरती मण्डल) पात्रले हेडमास्टरको छोरो अपहरण गर्छे । एक मधेशी महिला अर्की पहाडे आमाको बच्चा अपहरण गर्ने अवस्थासम्म किन पुग्छिन् ? बालबालिकालाई ट्युसन पढाउने एक सामान्य महिला कुन तहमा पुगिसकेपछि यस्तो निर्णय लिन्छिन् ? के निर्धक्क बोल्न नसक्ने सामान्य मधेशी महिलाले न्यायका लागि लड्न सक्दिनन् ? फिल्मको कथा बिस्तारै पहाडे र मधेशी आमाहरूतर्फ मोडिन्छ । र, बिस्तारै यसले देखाउँछ न्यायका लागि बुलन्द आवाज उठाउन सक्ने मधेशी महिला ।

प्रिमियरपछि अन्तरक्रिया दिँदै गर्दा जमुना भुजेलले यो फिल्मले मधेशी महिलाको वास्तविकता चित्रण गरेको धारणा दिइन् । ‘एउटी महिला बच्चा अपहरण गर्नसमेत पछाडि पर्दिनन् भने अर्की महिला तीनै महिलाको हकका लागि अगाडि बढ्छिन् । हामी मधेशी महिला अहिले पनि कसको घर कहाँ छ भन्दा बोल्न पनि नसक्ने छौं । तर, यो फिल्मले हामी मधेशी महिलालाई पूजा सरजस्तो बन्न प्रेरित गरेको छ,’ उनले भनिन्, ‘न्याय दिलाउन नसक्दा उहाँ आफैंले एक किसिमको छटपटी, हीनताबोध गरेको पनि देखाइएको छ । म नै दोषी हो कि भन्ने अनुभव पूजा सरले गर्नु हुँदा आँखामा आँसु आयो ।’ भुजेल मानवअधिकारकर्मीसमेत हुन् । मधेशकै मुद्दाको कारण १६ वर्षपछि भुजेलले नेपाली फिल्म हलसम्म धाएर हेरिन् । 

यो फिल्ममा पहाडे मूलकी पूजा समलिंगी महिला हुन् । उनले आफ्नो यौनिक पहिचानसँग लड्दै आएको मौन युद्धलाई पनि फिल्ममा देखाइएको छ । लैंगिकतासँग जोडिएको यो मिहिन मुद्दा फिल्ममा रोचक शैलीमा प्रस्तुत गरिएको भुजेलले बताइन् । ‘एउटी महिला न्यायका लागि कहाँसम्म पुग्छिन् ? यसको अर्थ हो महिला कम छैनन् । पूजा सर पनि पहाडे मूलको भएर, इमानदार भएर काम गर्नुहुन्छ । उहाँ आफैं अल्पसंख्यक हुनुहुन्छ । घरको अर्कै समस्या छ,’ उनले भनिन् । 

मधेश–मुद्दा भएरै डाक्टर रामजी रामले ‘राजागंज’ हरे । त्यसैले जीवनमा दोस्रो पटक उनले ‘गिरिजा’ को प्रांगण टेके । यसअघि दीपेन्द्र गौचन निर्देशित ’केटी हराएको सूचना’ हेरेका उनी ‘राजागंज’ को जनकपुर प्रिमियर हेर्न आइपुगेका रहेछन् । फिल्म हेरिसकेपछि पूजा सरमार्फत देखाइएको महिला नेतृत्वले उनको मन प्रफुल्लित थियो । ‘महिलाहरू समाजका हिरो हुन्, तर नेपाली फिल्ममा महिलाको त्यस किसिमको चरित्र चित्रण देखिन्न । महिला नेतृत्वलाई जसरी देखाइएको छ, त्यो राम्रो लाग्यो । महिला पनि हिरो हुन्छन् भन्ने देखाइयो,’ हलमा भेटिएका रामजीले भने, ‘फिल्ममा मधेशको विषयलाई थपघट गरेर देखाइएको छैन । के कारण एउटी मधेशी महिला बच्चा अपहरण गर्न पुग्छिन् भन्ने हो ।’ 

सम्झना बर्माले पहिलो पटक सामाजिक सञ्जालमार्फत ‘राजागंज’ बारे थाहा पाएकी थिइन् । जब जनकपुर प्रिमियरको खबर उनीकहाँ आइपुग्यो, उनले ‘नाइँ’ भन्न सकिनन् । मधेशका पात्रमा मधेशी कलाकारले गरेको अभिनयले उनलाई मधेशी हुनुमा गर्विलो अनुभव गरायो । सम्झनाले पनि करिब ७ वर्षपछि फिल्म हेरेकी हुन् । यौनिक तथा अल्पसंख्यक समुदायले सहँदै आएको विभेदलाई फिल्मले समेटेको यही समुदायको न्यायको आवाज उठाउँदै आएका प्रदीप बताउँछन् । ‘यौनिक तथा अल्पसंख्यक महिलाको प्रतिनिधित्व गर्ने पात्र फिल्ममा देखाइएको छ । यस्ता महिलाले कस्तो विभेद सहन्छन् भन्ने पनि देखाइएको छ । यो फिल्ममा देखाइएको विभेदको कथा वास्तविक घटना हो,’ फिल्म हेरेपछि प्रदीपले भने ।

२०७२ को मधेश आन्दोलनमा सरिक भएकी दीपिका कार्कीले पनि प्रिमियरमै फिल्म हेर्ने मौका पाइन् । दीपिकालाई याद छैन, अन्तिम पटक उनले कुन नेपाली फिल्म हेरिन् ? उनलाई पनि फिल्मको विषयवस्तुले हलसम्म डोर्‍याएको रहेछ । फिल्ममा अभिनय गरेका घनश्याम मिश्राकी आफन्त पर्ने दीपिकाले पारिवारिक सदस्य सरिक भएकै कारण पनि फिल्म हेरिन् । आन्दोलनको पाटोले दीपिकालाई छोयो । ‘नेपाली फिल्म राम्रो बन्दैन त्यसैले हलसम्म गइएन । मधेश आन्दोलनमा हामी आफैं पनि हिँडेका थियौं । त्यस अर्थमा यो फिल्ममा आन्दोलनको अर्को पाटो पनि देखाउन सकिन्थ्यो । त्यतिबेला पहाडे पनि आन्दोलनमा हिँडेको थियो,’ उनले भनिन्, ‘त्यतिबेला फिल्ममा देखाएजस्तो पहाडे र मधेशी भन्ने छुट्टिइसकेको थियोजस्तो लाग्दैन ।’ 

गिरिजा प्रांगणमा भेटिएका अधिकांश महिला दर्शकको फिल्म हेर्ने बानी थिएन । उनीहरू अधिकांशले १५ वर्षपछि नेपाली फिल्म हेरेका थिए । ‘पहिलाजस्तो नेपाली फिल्म बन्दैन, त्यसैले पनि नेपाली फिल्म हेर्दैनौं । यो फिल्म त हामीकहाँ खिचेको थियो, विषय पनि मधेशको भएर फिल्म हेर्न आइपुगें,’ एक महिलाले भनिन् । इन्दु कर्णले पनि १५ वर्षपछि नेपाली फिल्म हेरिन् । ‘मधेशको आन्दोलन कसरी देखायो होला ? मधेशको मुद्दा कसरी देखाएको छ भन्ने हेर्न आएको हुँ,’ इन्दुले भनिन् ।

इन्दुदेखि त्यहाँ उपस्थित अधिकांश दर्शकलाई मधेशको मुद्दाले एक ठाउँमा उभ्याएको थियो । यी महिलाको फिल्म हेराइले देखाउँछ, अझै पनि मूलधारे फिल्मले मधेशलाई छुन सकेको छैन । उनीहरूले मधेशलाई नेपाली फिल्ममा समेट्न सकेको भए मधेशी दर्शकले फिल्म हेर्ने थिए । अनि फिल्मकर्मीले ‘मधेशमा नेपाली फिल्म चल्दैन’ भन्दै रुनु पर्थेन । त्यहाँका ठूलो जनसंख्यालाई नेपाली फिल्मले समेट्नै सकेन भन्ने उदाहरण हुन् ती महिला ।

फिल्म प्रिमियरका लागि देश दौडाहमा निस्कनुअघि आशा मगरातीलाई डर थियो, प्रहरीले राजागंजलाई कसरी हेर्लान् ? कस्तो प्रतिक्रिया आउला ? प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी आशा अहिले प्रहरीबाटै पाएको प्रतिक्रियाले दंग थिइन् । ‘न्याय दिलाउन खोज्दा इन्स्पेक्टर पूजाले झैं हामीले आफ्नै निकायभित्र लड्नुपर्छ, फिल्ममा जे देखाइएको छ त्यस्तै हुन्छ भन्ने खालका प्रतिक्रिया दिनुभयो,’ जनकपुर प्रिमियरपछि आशाले सुनाइन्, ‘महिला भएकै कारण त्यो मुद्दामा पूजाले विजय हासिल गरेको कुरा उहाँहरूले बुझ्नुभयो । सरस्वती चरित्रलाई उहाँहरूले भिलेन देख्नुभएन ।’ 

बिर्तामोडमा प्रहरीको ठूलो संख्याले फिल्म हेरेर पूजाको प्रशंसा गरिदिए । मधेशका दर्शकले फिल्मका मिहिन पक्षमा प्रतिक्रिया दिँदा आशालाई खुसी पनि लाग्यो । ‘छोरा नै चाहिने नेपाली समाजको कुरा उठाउँदै कतिले यो मेरो कथा हो भन्दै प्रतिक्रिया दिनुभयो,’ आशाले भनिन्, ‘बक्स अफिसमा फिल्मले तहल्का पिट्दा भन्दा पनि दर्शकको यस किसिमको माया, प्रतिक्रियाले मन खुसी बनायो ।’

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully