मधेश-मुद्दालाई पृष्ठभूमि बनाएको 'राजागंज'ले विभेदकारी नीति, संरचना र राजनीतिलाई प्रश्न गर्छ । समग्र समाजको विसंगति देखाउँदै मधेश-मुद्दामा संवेदनशील बन्न झकझकाउँछ ।
काठमाडौँ — एउटा फिल्मले के भन्न सक्दैन ? मधुर लयमा यौनिक तथा अल्पसंख्यकको सुन्दर प्रेमकथा भनिदिन सक्छ । त्यो पनि ती समुदायका पात्रलाई हँसी-मजाकको विषय नबनाई ! उनीहरूका मुद्दा उठाउन न संवादमा ठूला भाषण राख्न जरुरी छ, न ठूल्ठूला सन्देश नै । संवादबिनै दृश्यमार्फत उनीहरूका प्रेम बोलिदिन सक्छ ।
दृश्यभाषाको शक्ति यतिमै सीमित छैन । यसले यौनिक तथा अल्पसंख्यकको विषयसँगै समानान्तर शैलीमा दुई आमाको कथा भनिदिन सक्छ । पहाड र मधेशबीचको द्वन्द्व पक्रँदै दुई आमाका सन्तानप्रतिका प्रेम भनिदिन सक्छ, न्याय र अन्यायबीच अल्झिएको जटिल पक्ष खोतल्न सक्छ । र भन्न सक्छ, देशको राजनीतिक अवस्था । देखाउन सक्छ, भ्रष्ट प्रहरी प्रशासन र सञ्चारमाध्यम ! १ घण्टा ४८ मिनेटभित्र फिल्मले नेपाली समाजका जटिल पक्ष देखाउँदै मधेशले भोग्दै आएको विभेद, अन्याय र द्वन्द्वका अनेक आयाम देखाउन सक्छ । यसरी फिल्मले थुप्रै संवेदनशील विषयलाई एकै आवाजमा एउटै फिल्ममार्फत सशक्त ढंगमा अभिव्यक्त गर्न सक्छ भन्ने बलियो उदाहरण हो, 'राजागंज' अर्थात 'पूजा सर' ।
हो, फिल्मले यसरी समाजका मिहीन पक्षहरूलाई पत्रपत्रमा केलाएर देखाउन सक्छ । त्यसैले त फिल्मलाई समाजको दर्पण मानिन्छ । तर, समाजलाई दुरुस्तै देखाउन निर्देशक सचेत र आफूले भन्ने कुरामा संवेदनशील हुनुपर्छ । निर्देशक दीपक रौनियार प्रस्ट छन्, फिल्ममार्फत के मुद्दा उठाउने –के देखाउने ? त्यसैले ‘राजागंज’को कथा अन्य विषयतिर बहकिएको छैन। भुईंमान्छेका कथा भन्न 'राजागंज'लाई अतिरञ्जनाको रङ्गले पोतिएको छैन, त्यसैले फिल्मभरी जबरजस्त तन्काइएका दृश्य भेटिन्नन् । पूजाको एक मुक्कामा १० गुण्डा एकैचोटी पछारिँदैनन् पनि ! त्यसअर्थमा यो फिल्म मानव जीवनसँग नजिक छ, नेपाली समाज र यहाँका मानिसले भोगेका भोगाइ र उनीहरूका पीडाको समिप छ ।
कसिलो पटकथा र सरल शैलीको कथावाचनले 'राजागंज'मा दर्शकको ध्यान बाँधिन्छ । फिल्मको कथा सरल छ । 'राजागंज' (काल्पनिक नाम)मा दुई बच्चाको अपहरण हुन्छ । घटना २०७२ को हो, मधेशमा आन्दोलन चर्किरहेको छ । त्यहीबेला काठमाडौंबाट इन्सपेक्टर पूजा थापा(आशा मगराती)लाई राजागंज पठाइन्छ । अपहरणमा परेका दुई बालक फरक वर्गका हुन् । सभासद प्रविण यादवका छोरा हुन्, आलोक । आलोककी आमा (ऋचा शर्मा) स्थानीय विद्यालयको हेडमास्टर । अमृतकी आमा भुईंमान्छे । अपहरित दुई बालकको उद्धारका लागि मधेश पुगेकी पूजाले यो मुद्दालाई कसरी सुल्झाउलिन् ? कुन संघर्षबाट उनको यात्रा अगाडि बढ्छ ? 'राजागंज'को कथा पहाडी समुदायकी पूजा सरको यात्रामार्फत देखिँदै जाने मधेश हो, मधेशी समुदायले सहँदै आएको विभेद र अन्याय हो ।
तर, फिल्मले यी पक्ष मात्रै छुँदैन । स्त्रीद्वेषी दृष्टिकोण, कार्यस्थलमा हुने लैङ्गिक विभेददेखि पितृसत्तात्मक समाजमा महिलाले गर्ने संघर्षलाई पनि देखाउँछ । 'क्राइम थ्रिलर' विधाको यो फिल्ममा सस्पेन्स जसरी खुल्दै जान्छ, त्यसरी नै समाजका जटिल विषय पट्टाक्षेप हुँदै जान्छ । महिला भएकै कारण पूजाजस्ता पात्रले कार्यक्षेत्रमा कस्तो विभेद भोग्नुपर्छ त? सुन्दर ढंगमा दृश्यले नै बोलिदिन्छ । पूजा होस् या ममता गुप्ता(निकिता चण्डक), समाजमा महिलाले अझै पनि आफ्नो स्थानका लागि लडिरहनुपर्छ र आफूले प्रत्येक पटक प्रमाणित गरिरहनुपर्छ भन्ने विषय प्रस्तुत गरिएको छ ।
उनीहरूलाई कार्यस्थलमै पुरुष सहकर्मीले कम आँक्छन्, कति कुरामा पत्याइदिँदैनन् पनि । फिल्मको एउटा दृश्यले सहजै यो कुरा देखाउँछ । जब, मुद्दाको अन्तिम नतिजाको श्रेय दिने पालो आउँछ, अधिकांशले पूजा नभई उनीभन्दा माथिल्लो तहको प्रहरीलाई 'बधाई'को हात बढाउँछन् । उत्तिकै सक्षम हुँदा पनि ब्याची साथी मदन (दयाहाङ राई) पूजाको दाँजोमा माथिल्लो पदमा बढुवा भएको छ । विपद्/संकटमा आदिवासी, सीमान्त, मधेशी र दलित महिलालाई कसरी बहिष्करणमा पारिन्छ भन्ने कुरा बिनाकारण इन्स्पेक्टर ममताको निलम्बनले नै देखाउँछ ।
तर, पूजा यस्ता लैङ्गिक विभेदसँग लड्ने साहस राख्छिन्, उनी भन्न सक्छिन्, 'मलाई सर भनेर सम्बोधन गर्नुस्' । कारण महिला भएकै कारण 'म्याम' शब्दको प्रयोगमा गरिने विभेद उनले देखेकी छन् । 'राजागंज' एउटा यस्तो महिला प्रहरी इन्स्पेक्टरको कथा पनि हो, जो लगनशील, इमान्दार भएर अन्यायको पक्षमा लड्ने हिम्मत राख्छिन् । फिल्मको पटकथा कति कसिलो छ भन्ने उदाहरण हो, यो पात्रले व्यक्तिगत जीवनमा भोगिरहने अन्य समस्या । जस्तै, अपहरित बालकको खोजीका लागि पूजा मधेश त झर्छिन्, तर सँगसँगै आफ्ना पारिवारिक समस्यासँग पनि जुधिरहेकी हुन्छिन् । बिरामी बुवाको हेरचाहका लागि रमा(गौमाया गुरुङ)लाई घरमा राखेर उनी 'राजागंज' पुगेकी हुन्छिन् । उता बिरामी बुवा र रमाबीच पनि कुरा मिलिरहेको हुँदैन, उनी दुईलाई मिलाउने साँघु बन्ने प्रयासमा हुन्छिन् । दीपकले ‘चौकठी’, ‘हाइवे’, ‘सेतो सूर्य’देखि ‘फोर नाइट्स’मा चरित्र लेखिरहँदा उनीहरूका फरक आयामलाई समेट्दै यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रयास गर्छन् ।
फिल्ममा महिला मुख्य भूमिकामा त छँदैछन्, मधेश-मुद्दालाई पनि सशक्त ढंगमा देखाइएको छ । दुई आमाको कथा भन्दै निर्देशकले ‘राजागंज’मार्फत सरल शैलीमा दर्शकलाई मधेशी मुद्दा बुझाउने प्रयास गरेका छन् । इन्स्पेक्टर पूजाको मधेश यात्राबाटै निर्देशकले भुईंमान्छेका पक्षमा वकालत गर्छन् । आखिर पिँधमा पारिएका मानिसहरूले न्याय पाए त, वा पाइरहेका छन् त ? पहुँच नभएकाहरूको न्यायका लागि कसले वकालत गर्ने ? उनीहरूले कहिले पाउने न्याय ? सरस्वती(आरती मण्डल) जस्ता महिला पात्रले भोग्दै आएको पीडामार्फत फिल्मले प्रश्न गर्छ, -के मधेश आन्दोलनले मधेशीहरूलाई न्यायको पहुँचमा पुर्यायो ? संविधानले उनीहरूलाई समावेशी र सामाजिक न्यायको प्रत्याभूति गराउन सक्यो त ? पहिचान र अधिकार संविधानमै मात्र सीमित भयो कि ? ‘राजागंज’ले अपहरित दुई बच्चा र उनीहरूको खोजीमा गरिने अनुसन्धानबाट एकसाथ यस्ता थुप्रै गहन विषयमाथि प्रश्न उठाउँछ ।
फिल्मको सुरुवातमै एउटा दृश्य छ, जहाँ रमा(गौमाया गुरुङ) 'भैया' भन्दै भान्साबाट बाहिरतिर दगुर्छिन् । फिल्मको यो दृश्यले मधेशीलाई 'भैया' मात्रै देख्ने विभेदकारी सोचलाई व्यंग्य गर्छ । रंगकै आधारमा विभेद गर्नेलाई प्रश्न गर्छ । मधेशमै जन्मिएका अमर(विजय बराल) मधेशी भनेर चिनिन चाहन्नन् । अनुसन्धानकै क्रममा जब पूजा र अमर राजागंजका भित्री गाउँ पुग्छन्, तब उनीहरू त्यहाँ भेट्ने जतिसँग नेपाली भाषामा बोल्छन् । तर, अधिकांशले मैथिलीमा जवाफ फर्काउँछन् । तब अमरले भन्छ,'नेपालीमा बोल्न आउँदैन।' फिल्मले लामो समयदेखि भोग्दै आएको भाषिक विभेद पनि उजागर गरेको छ । के मैथिली नेपाली भाषा होइन ? एउटै दृश्यले यहाँ सशक्त प्रश्नहरू गरिहन्छन् । आखिर कलाले यस्तै विषयमा खबरदारी गराउने हो । फिल्ममा भाषाको प्रयोग सुन्दर छ । जब-जब राजागंजको मैथिलीभाषी पात्र पहाडी समुदायका व्यक्तिसँग ठोक्किन्छन्, उनीहरू हिन्दीमा बोल्छन् । आखिर किन त ? पहाडी समुदायका व्यक्तिले सुरुमै मधेशीसँग हिन्दीमै त बोलिरहेका हुन्छन् । हिन्दीलाई पहाड र मधेशको सम्पर्कभाषाका रूपमा देखाएर निर्देशक रौनियार संवेदनशील देखिएका छन् ।
मधेश आन्दोलनलाई कथित मूलधारका सञ्चारमाध्यमले प्राथमिकता दिएन । २०६२/०६३ होस् या २०७२ कै आन्दोलन । मधेशका खबरलाई 'मूलधारे' सञ्चारमाध्यमले कसरी पन्छ्याए भन्ने विषयमाथि फिल्मले कटाक्ष गरेको छ । एउटा खबर पत्रिकामा छाप्ने व्यग्र प्रतीक्षामा रहेकी सरस्वतीले श्रीमान् रामतर्फ हेर्दै भन्छिन्, 'पत्रिकाको कुनै पनि पेजमा हाम्रो समाचार छैन त !' राम भन्छन्,'यहाँ अस्ति तीन जना आन्दोलनकारी मारिए, तिनीहरूको खबर छापियो ? हाम्रो के छापिएला ?' मधेश आन्दोलनमा सञ्चारमाध्यमले कस्तो भूमिका खेल्यो ? यो दृश्यले सुक्ष्म शैलीमा व्यंग्य गर्छ । फिल्ममा कसरी भ्रष्ट कर्मचारीतन्त्र, राजनीति र प्रहरी प्रशासनसँग मिलेर मिडिया आफ्नो कर्तव्यबाट विमुख हुन्छन् भन्ने देखाएको छ ।सबै मिलेर भुईंमान्छेका आवाजलाई कसरी दबाउन खोजिन्छ ? फिल्मले मूलधारे मिडियाकै असली नकाब उतारिदिन्छ । फिल्मले नेपाली राजनीतिलाई पनि प्रहार गर्छ, केन्द्रले मधेशलाई हेर्दै आएको दृष्टिकोण बोलिदिन्छ । मधेशी मुद्दा, मधेशका चरित्र चित्रण र उनीहरूका भोगाइमा सशक्त राजनीतिक अभिव्यक्तिसहितको सुन्दर कथा हो- 'राजागंज' ।
दृश्यहरूका कम्पोजिसन मात्रै होइन रौनियारले फिल्ममेकिङका तत्त्व मिसाउँदै फिल्मको कथन शिल्पलाई सशक्त बनाएका छन् । फिल्ममा चम्किलो दृश्य छैन, सर्वसाधारणका जीवन जस्तो छ, त्यसरी नै फिल्म खिचिएको छ । कथावाचनसँगै फिल्मको ध्वनि सशक्त छ । पात्रहरूको मूड, परिस्थिति र घटना बुझाउने ध्वनिले फिल्मको कथा उठाउन भूमिका खेल्छ । यो फिल्म सम्पादनको हिसाबले निकै गजब्ब छ । कथालाई सरर बगाउन सम्पादन कलामा गरिएको मेहनत देखिन्छ । फिल्मको कथा द्रुत गतिमा अगाडि बढ्छ । फिल्ममा कलाकारको अभिनय उत्तिकै सशक्त छ ।
ममताको भूमिकामार्फत पूर्वमिस नेपाल निकिता चण्डकले दर्शकलाई 'सरप्राइज' दिन्छिन् । हेडमास्टरको भूमिकामा ऋचा शर्मा होस् या साधारण आमाको भूमिकामा पशुपति राई, रमाको भूमिकामा देखिएकी गौमाया । यी कलाकारले छोटो भूमिकामा पनि आफ्नो उपस्थिति बलियो सावित गराएका छन् । पूजा सरको भूमिकामा देखिएकी आशाले लामो समयपछि फेरि पर्दामा आफूलाई बुलन्द उभ्याइएकी छन् । पूजा चरित्रको कठोरपन, उनीभित्रका जटिल पक्षलाई उनले फिल्ममा बाँचिदिएकी छन् ।
अन्तमा, मधेश-मुद्दालाई पृष्ठभूमि बनाएको 'राजागंज'ले विभेदकारी नीति, संरचना र राजनीतिलाई प्रश्न गर्छ । समग्र समाजको विसंगति देखाउँदै मधेश-मुद्दामा संवेदनशील बन्न झकझकाउँछ । र, सोचनीय बनाउँछ- मधेशमा भएका आन्दोलनले वास्तवमै मधेशका समस्यामा परिवर्तन ल्यायो ? मधेशीको जीवन परिवर्तन भयो ? समावेशी र समानुपातिक सवालमा हामी कहाँ चुक्यौं ? संविधानमा उल्लेखित संघीयताको मूल मर्म जनताले महसुस गरिरहेका छन् त ?
