दसैंमा नेपाली फिल्मको अपेक्षित कमाइ, तिहारमा अनमोलको रजाइँ

दसैंमा निकै अपेक्षा गरिएका फिल्मको व्यापारलाई उछिन्दै अनमोलको फिल्म ‘जेरी अन टप’ बक्स अफिसको उकालो चढ्न थालेको हो । 

कार्तिक ११, २०८२

रीना मोक्तान

Expected earnings of Nepali films in Dashain, precious quilts in Tihar

What you should know

काठमाडौँ — भनिन्छ, ‘हिरोको पालो अन्तिममा आउँछ’ ! अभिनेता अनमोल केसीले पछिल्लो केही वर्षयता बक्स अफिस धान्नै नसकेको भन्ने थुप्रै आरोप खेपे । ‘मेगास्टार’को ट्याग पाएका हिरोले बक्स अफिसमै माखो नमार्नु फिल्म जगत्‌मा चर्चाको विषय थियो । तर, यो पटक ‘जेरी अन टप’ मार्फत अनमोलले आफूलाई बक्स अफिसमा बलियो गरी उभ्याएका छन् । दसैंमा निकै अपेक्षा गरिएका फिल्मको व्यापारलाई उछिन्दै अनमोलको फिल्म बक्स अफिसको उकालो चढ्न थालेको हो । 

दसैंमा यो पटक समीर भट्टदेखि, धीरज मगर अनि हरिवंश आचार्यजस्ता चर्चित अनुहार एकै मितिमा हलमा भीड्न आइपुगेका थिए । गत वर्षको उल्लास देख्दा समीरको फिल्मले हलमा दर्शकको बाढी ल्याउने आकलन थियो । धीरज र हरिवंश पनि कम्ता प्रतिस्पर्धी थिएनन् । तर, यो पटक यी फिल्मले घरेलु बक्स अफिसमा पोहोर दसैँमा देखिएको दृश्य दोहोर्‍याउन सकेनन् । यसबीच तिहारमा मात्रै हलमा इन्ट्री हानेका अनमोलको फिल्म ‘जेरी अन टप’ ले उत्साहजनक व्यापार गरेको देखिन्छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स रिपोर्ट अनुसार गत शनिबारसम्म अनमोलको फिल्म 'जेरी अन टप'ले ६ करोड ५१ लाख ४६ हजार ५ सय एक रुपैयाँको व्यापार गरेको छ । एक लाख बढीको टिकेट बिक्री हुँदा अनमोलको फिल्मले व्यापारको यो आँकडा बनाएको हो । निर्माता सरोज न्यौपाने व्यापारको अंक हेर्दा यो कमाइ अनमोलको करिअरमै पनि सर्वाधिक कमाउने फिल्म रहेको दाबी गर्छन् । 'अनमोलको करिअरको सबैभन्दा उच्च व्यापार गर्ने फिल्म नै यही हो,' निर्माता न्यौपानेले भने । 

विदेश र नेपालको प्रदर्शन जोड्दा 'जेरी अन टप'ले अहिलेसम्म फिल्मको लगानी उठाइसक्यो । 'लगानी उठाएर फिल्म नाफातर्फ अगाडि लम्किएको निर्माता न्यौपाने सुनाउँछन् । नेपालसँगै फिल्म अहिले युरोप, अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डमा एकसाथ प्रदर्शनरत छ । फिल्मले आइतबार मात्रै ७४ लाखको आम्दानी गर्‍यो । सोमबार ८५ लाख र मंगलबार ४८ लाखको हाराहारीमा व्यापार गर्‍यो । अहिलेसम्म फिल्मले नेपालबाट मात्रै ९ करोड बढीको व्यापार गरेको छ । विदेशसहित अहिलेसम्म १३ करोड बढीको व्यापार फिल्मले गरिसक्यो । तर, निर्माता सरोजलाई लाग्छ, अझै सोचेजस्तो व्यापार भइदिएन । 'मैले त अलिकति राम्रै खर्च गरेको थिएँ फिल्ममा । अलिकति उठिदिए हुन्थ्यो भन्नेमा थिएँ । तर, देशको परिस्थिति, दसैंमा फिल्मले व्यापार गर्न नसकेको अवस्था देख्दा घाटा हुन्छ कि भन्ने थियो । तर, यो अनपेक्षित व्यापार भएको छ,' न्यौपानेले कान्तिपुरलाई सुनाए । 

फिल्ममाथि गरिएको लगानी उठ्ने वातावरण अहिलेसम्म बनिसकेको हुँदा निर्माताका लागि हतोत्साहित हुने ठाउँ देख्दैनन् उनी । दर्शकले फिल्म मन पराइदिँदा अनमोलको फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै व्यापार राम्रो गर्दै आएको उनको भनाइ छ । उनका अनुसार पहिलो दिन नै फिल्मले ७२ लाख बढीको कमाइ गर्‍यो । प्रदर्शनको नवौं दिनमा त एकै दिन १ करोड बढी कमायो । 'मेरो फिल्मको सो थपेको थप्यै छ । विदेशी फिल्मले खासै असर पारेन । व्यापारकै हिसाबले पनि कमाउँदैछ,' उनी निश्चिन्त सुनिए । 

निर्देशक सन्तोष सेन भने घरेलु बक्स अफिसमा फिल्मले सोचेजस्तो व्यापार नगरे पनि 'बलिदान'ले सन्तोषजनक व्यापार गरेको बताउँछन् । बक्स अफिस रिपोर्ट अनुसार समीर भट्ट अभिनित ‘बलिदान’ले ५ करोड ७ लाख ३१ हजार ३ सय ५२ रुपैयाँ कमायो । तर, गत वर्षको दसैँको दाँजोमा समीरको फिल्मले यो पटक बक्स अफिसमा तहल्का पिट्ने अनुमान गरिएको थियो । निर्मातासमेत रहेका सेनले फिल्ममा ६ करोड लगानी गरेका थिए । तर, जे सोचेर सेनले फिल्ममा करोडौं खर्चेका थिए, बक्स अफिसले त्यही गुणामा खुसी दिलाएन । 'नेपालको बक्स अफिसमा ५ करोड कमाउनु ठिक्कै हो । फिल्मले सुरुवाती व्यापार खासै राम्रो गरेन । २ दिन बाढी पहिरोले फिल्मलाई असर पार्‍यो । तर, त्यस्तो अवस्थामा पाँच करोडको व्यापार गर्नु पनि सन्तोषजनक नै हो,' निर्मातासमेत रहेका सेनले भने, 'वर्षभरिमा प्रदर्शनमा आएका फिल्मले यो आँकडामा व्यापार गर्नु त राम्रै हो नि ।' 

हुन त सेनले 'बलिदान'मा दर्शकको ओइरो लाग्ने अपेक्षा गरेका थिए । नगरुन् पनि कसरी ? गत वर्ष समीरको फिल्मले दर्शकलाई तँछाडमछाड गर्दै हलसम्म डोर्‍याएको थियो । निर्मातालाई करोडौंको नाफा दिलाएको थियो । यही अपेक्षा 'बलिदान'मा गरिएको थियो । तर, फिल्मले अपेक्षित दर्शकलाई हलमा जम्मा गर्न सकेन । लगानी उठाइसकेकाले निर्माता सेनले अहिले कमाएको व्यापारमै चित्त बुझाइसकेका छन् । 'निर्माताका पक्षले हेर्दा लगानी सुरक्षित भयो । वर्षभरिमा ५ करोड व्यापार गर्ने फिल्म त कमै हुन्छ नेपालमा । यी सबै पक्ष नियाल्दा सन्तोषजनक नै छ,'सेनले भने । सेनले छायांकनकै क्रममा फिल्मको डिजिटल अधिकार विदेशमा बेचिसकेका थिए । विदेशको त्यही व्यापारले 'बलिदान'को लगानी जोगियो । 

हुन त यो पटक सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, जेन–जी आन्दोलन र त्यसले सिर्जित घटनाक्रमले नेपाली फिल्मलाई प्रत्यक्ष असर पारेकै हो । फूलपातीमा प्रदर्शनमा आउने केही फिल्मले प्रदर्शन मिति नै फेरबदल गर्नुपर्‍यो । प्रचार सकेर प्रदर्शनको अन्तिम तयारीमा रहेका फिल्मको 'पब्लिसिटी खर्च' झ्वाम्म भयो । देशमा भएको उथलपुथलबीच पनि निर्माता सेनले 'बलिदान'लाई निर्धारित मितिमै प्रदर्शनमा ल्याउने आँट गरे । ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले त्यही बहादुरी देखाए । देशको यस्तो अवस्थाबीच पनि पाँच करोड बढीको व्यापार गर्नु निर्माता सेनका लागि थपिएको उत्साह पनि हो । 'हतोत्साहित त केही पनि भएन । तर, देशमा त्यस्तो दुर्घटना भएको बेलामा हामीले हलमा लगाउने आँट गर्‍यौं । दर्शकलाई हलमा ल्याउने वातावरण बनाउनुपर्छ भनेर हलमा फिल्म लगायौं । यसले निराश भन्दा पनि उत्साह थपिदिएको छ,' उनले भने । तर, ‘बलिदान’ प्रदर्शनले सेनलाई नयाँ अनुभव दिएको छ- बक्स अफिसमा बलियो उपस्थिति जनाउन फिल्म प्रदर्शनको राम्रो वातावरण हुनुपर्छ । फिल्मले सुरुवाती व्यापार भयंकर गरिदियो भने बक्स अफिसको ग्राफ उकालो लाग्दै जान्छ । अनि, त्यसमाथि ‘कन्टेन्ट’ बलियो भइदियो भने सुनमा सुगन्ध थपिन्छ ! 

गीत/संगीत हुँदै फिल्म निर्माणमा हात हालेका निर्माता सरोज ओलीलाई त जेन–जी आन्दोलनले निम्त्याएको घटनाक्रम, बाढी पहिरोबीच ‘हरिबहादुरको जुत्ता’ले बक्स अफिसमा कस्तो उपस्थिति जनाउला ? भन्ने डर थियो । फिल्ममा गरिएको पहिलो लगानी नै खेर पो जाने हो कि ? भन्ने त्रास थियो । तर, घरेलु बक्स अफिसको कमाइ, डिजिटल अधिकार र विज्ञापन जोड्दा ‘हरिबहादुरको जुत्ता’बाट उनले पनि लगानी सुरक्षित गरिसकेका छन् । पहिलो फिल्मबाट पाएको यही हौसलाले उनलाई दोस्रो फिल्म बनाउने हिम्मत पनि मिलेको छ । हालै, उनले नयाँ फिल्म बनाउने घोषणा पनि गरिसकेका छन् । बक्स अफिस रिपोर्ट अनुसार हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ले ४ करोड, ७० लाख, ७३ हजार ८ सय ८७ रुपैयाँ कमाएको छ । ‘फिल्मको पैसा उठ्यो । म त सन्तुष्ट छु । फिल्ममा ३ करोड ३७ लाख खर्च भएको थियो,’ सरोज ओलीले सुनाए,'हलबाट २ करोड हात लाग्ला, विदेशमा बेचिएको अधिकारले नै लगानी सुरक्षित भयो ।' बक्स अफिसको यस किसिमको अनुभवले सरोजलाई पनि नयाँ अनुभव बटुल्ने मौका रहेछ । उनी भन्छन्, '२ करोडसम्म लगानी गरेर फिल्म बनायो भने डिजिटल राइट बेचेर लगानी उठाउन सकिने रहेछ । १० करोड खर्चियो भने चाहिँ गाह्रै पर्ने रहेछ ।' 

प्रदर्शककै अनुभवमा पनि यो पटक कमै दर्शकले हल टेके । देशको विद्यमान अवस्थाले दर्शक संख्या ह्रास ल्यायो । करिब ४ करोड लगानीमा बनेको ‘माइतीघर’कै हकमा पनि कम दर्शक आइदिए । निर्माता रोहित अधिकारीले हलबाट फिल्मको लगानी उठाउने सोचेका थिए । तर, फिल्मले सोचेजस्तो दर्शक पाएन । ‘हलबाट १ करोड ९० लाख जति आउला, डिजिटल अधिकार र विदेश प्रदर्शन गर्दा लगानी उठ्छ । तर, अलिअलि घाटा हुने त भइसक्यो,’ रोहितले भने । शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले ४ करोड १२ लाख १७ हजार २ सय ८ रुपैयाँको व्यापार गरेको छ । शनिबारपछि फिल्म हलबाट उत्रियो । फिल्मले हलमा अझै सो पाएको भए, ‘माइतीघर’को व्यापारको गणित बढ्नेमा निर्माता रोहित ढुक्क थिए । ‘हलबाट उठ्न पैसा त्यहाँबाट उठेन । जुन दिन हाम्रो फिल्म हलबाट उतारिएको छ, त्यो बेला दर्शक अकुपेन्सी एकदमै राम्रो थियो । भक्तपुर हलमा एकै सोबाट ५३ हजारको टिक उठेको थियो, अर्को दिन त्यहीँ हाम्रो फिल्म थिएन,' रोहितले भने,'लबिमको एउटा सोमा पनि ५५ हजारको टिकट बिक्री भएको थियो, अर्को दिन त्यहाँ पनि सो थिएन । धेरै फिल्म आउँदा हलबाट हाम्रो फिल्म हटायो । तर, त्यसो गर्दा उठ्न सकिने रकम कम भयो ।अब यो व्यापारले अझ राम्रो फिल्म बनाउनुपर्छ भन्ने भएको छ ।'

रोहितलाई लाग्छ, नेपालमा हलको संख्या थपिँदै जाने हो भने उनले 'माइतीघर' प्रदर्शनमा भोगेको भोगाई कम हुँदै जाने थियो ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully