उचाइ छुन नसकेको 'जेरी अन टप'

फिल्म छनोटलाई लिएर अनमोलमाथि नै प्रश्न नउठेका पनि होइनन् । तर ‍संवाद र दृष्य-भाषामा देखिएका कमजोरीलाई छाड्ने हो भने 'जेरी अन टप' मार्फत उनले बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै फिल्म जगतलाई चकित पारेका छन् ।

कार्तिक १०, २०८२

रीना मोक्तान

'Jerry on Top' fails to reach the heights

What you should know

काठमाडौँ — पछिल्लो केही वर्षयता अभिनेता अनमोल केसीलाई एउटै टिप्पणीले लखेटिरह्यो,'अब अनमोलका फिल्म पनि चल्न छाडे' । बक्स अफिसमा ओरालो लाग्दै गरेको उनको फिल्म करिअरलाई कतिले व्यवसायसँग जोड्दै उनको युग नै सकिएको भन्दै आलोचना गरे । कतिले त्यसमा अनमोलको स्टारडम जोडे त कतिले उनको अभिनय !

अनमोलको फिल्म छनोटमाथि नै प्रश्न नउठेका पनि होइनन् । तर, यो पटक ‍अनमोलले बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै फिल्म जगतलाई चकित बनाइदिएका छन् । तिहारदेखि प्रदर्शनमा आएको उनको फिल्मले बक्स अफिसको खुड्किलो यसरी उकालो चढ्दैछ कि निर्माण पक्ष व्यावसायिक उचाइमा 'जेरी अन टप'ले यो वर्ष 'टप' नै गर्ने आशमा देखिन्छन् । बक्स अफिसको त्यो शीर्ष स्थानमा अनमोलको पहुँच पुग्ला कि नपुग्ला ? त्यो निर्माण टोली, उनका फ्यान र अनमोल स्वयंका लागि प्रतिक्षाको विषय होला !

तर हामी लागौं, फिल्मभित्र अनमोलको चरित्र जयवीरसिंह राणाले टप गर्न खोजेको शीर्ष उचाइको कथातर्फ । खासमा जयवीर उर्फ जेरी(अनमोल)लाई सबै कुरामा बुवाले सानैदेखि हराउँदै आए । त्यसैले जेरीमा एकदिन बुवालाई कुनै न कुनै कुरामा 'हराएरै छाड्छु' भन्ने आशा पलाउँदै आउँछ। एकदिन अचानक जेरीले थाहा पाउँछ, बुवाले हालसम्म गर्न नसकेको एउटै यात्रा रहेछ - सगरमाथा आरोहण ! विश्वको त्यही सर्वोच्च शिखर चढेर बुवालाई हराउने उद्देश्यसहित जेरीले सगरमाथा आरोहरणको यात्रा थाल्छ । जेरीले त्यही शीर्ष शिखर चढ्दा सामना गर्ने आरोह-अवरोह नै फिल्मको केन्द्रमा छ । तर, फिल्मले सगरमाथा आरोहण गर्न चाहने एक महत्त्वाकांक्षी पात्रको कथा मात्रै भन्दैन । उसँग जोडिएका दुई प्रेमिका, उनीहरूसँगको त्रिकोणात्मक प्रेम, बुवासँगको सम्बन्ध अनि मित्रवत व्यवहारका मामालाई समेट्न खोजेको छ । 

हिमालका सुन्दर दृश्य, सगरमाथा आधार शिविरसम्मका 'ट्रेकिङ ट्रेल'का मनोरम दृश्यलाई दुलिप रेग्मीले फिल्मभित्र कैद गरेका छन् । फिल्ममा चमकधमकपूर्ण दृश्य थुप्रै छन्, तर ती दृश्य कथा वाचनमा मजबुत ढंगले आइदिँदैन । सजिलै अनुमान गर्न सकिने कथा, कमजोर कथावाचन र पट्यारलाग्दो संवादले कथाभित्रको सौन्दर्य 'जेरी अन टप'ले कैद गर्दैन  । 

खासमा 'एड्भेन्चर' विधा नेपालीकै लागि बनेको विषय हुनुपर्ने हो । हिमाल र 'एड्भेन्चर' विधामा नेपाली फिल्मकर्मीले सुनाउन सक्ने थुप्रै मौलिक कथा छन् । त्यसमाथि प्रेमकथा, यो विधालाई दर्शकबीच चिनाउने बलियो कडी बन्न सक्थ्यो । तर, दृश्य भाषामाथिको पकडमा निर्देशक गुरुङ अपरिपक्व बन्दा 'जेरी अन टप', यो सम्भावनाको छेउ पुग्दैन । जस्तै, फिल्ममा थुप्रै महत्त्वपूर्ण दृश्य स्थापित गर्न चुकेका छन्, निर्देशक गुरुङ । उदाहरणका लागि जयवीर निकै दु:खले सगरमाथा आधार शिविरसम्म पुग्छन् । तर, काठमाडौंको सुख-सयलमा हुर्केका जेरीले त्यहाँबाट उच्च शिखरको बाटो पहिल्याउन सक्दैनन् ।

त्यसैबीच कसैले भनिदिन्छ,'तिमी सगरमाथा चढ्न सक्दैनौं, फोटो खिचेर हिमाल चढेको फोटोसप गरे भइहाल्यो ।' त्यसपछि तुरुन्तै फिल्मको अर्को दृश्यमा जेरी स्टुडियोभित्र फोटो खिचाउँदै गरेका देखिन्छन् । लाखौं खर्चेर, बुवादेखि थुप्रैको भनाइ सहेर, लामो ट्रेल नापेर बल्लतल्ल पुगेको आधार शिविरबाट यो पात्र अचानक कसरी काठमाडौं फर्कन्छन् ? त्यसको विश्वासिलो कारण फिल्ममा देखाइँदैन । उक्त पात्रले आफ्नो त्यति ठूलो सपनासँग कसरी सम्झौता गर्लान् ? यस किसिमको विषयलाई फिल्ममा स्थापित गर्न नसक्दा यी दृश्यमाथि दर्शकले सजिलै विश्वास गर्न सक्दैनन् । 

अर्को त फिल्ममा त्रिकोणात्मक प्रेमलाई समेत राम्रोसँग स्थापित गरिएको छैन । यात्राकै क्रममा जेरी गाइड पेमा (जसिता गुरुङ)सँगको प्रेममा पर्छन् । बालसखा प्रेमिका श्रेया(आँचल शर्मा) जीवनमा हुँदाहँदै जेरीको मनमा पेमाका लागि प्रेम कसरी पलाउँछ ? यही विषयलाई पनि दृश्यले बलियो ढंगले स्थापित गर्दैन । जबरजस्त दर्शकले उनीहरूबीचको प्रेमलाई विश्वास गरिदिनुपर्छ । जेरी, पेमा र श्रेयाबीचको त्रिकोणात्मक प्रेम स्थापना गर्न नसक्दा पनि फिल्ममा उक्त सम्बन्धले ल्याउन सक्ने द्वन्द्व सतही लाग्छ । त्यसमाथि यही सम्बन्ध पनि सजिलै अनुमान गर्न सकिने किसिमले फिल्ममा देखाइएको छ । 

फिल्मको सबैभन्दा पट्यारलाग्दो विषय हो यसमा प्रयोग- संवाद । फिल्ममा कलाकारले संवादलाई यसरी बोल्छन् कि उनीहरू सामान्य दैनिकीमा होइन, कुनै रंगमञ्चमा उभिएर संवाद कहँदैछन् । अहिले त रंगमञ्चमै समेत बोलीचालीका संवाद प्रयोग गर्छन् ।

तर, यो फिल्ममा कलाकारले बोल्ने संवाद नै पट्यारलाग्दो सुनिन्छ । जसले फिल्मको मूल मर्मबाट दर्शकको ध्यान अन्तै हटाइदिन्छ । अभिनेता केदारप्रसाद घिमिरेले समातेको संवादमा भने केही सन्तुलन भेटिन्छ । फिल्मभर उनले बोल्ने संवाद, कमिक संवादले दर्शक हँसाइरहन्छ । तर, प्रमुख कलाकारहरू अनमोल, जसिता र आँचलको अभिनयमा भने त्यो निखार, त्यो सन्तुलन भेटिन्न । यी तीन कलाकारले अभिनयमा अझ मेहनत गरिदिएको भए, फिल्ममा दर्शक स्वत: बाँधिने थिए । भीएफएक्सको सवालमा भने केही उल्लेखनीय काम फिल्ममा भएको छ । सगरमाथा आरोहण गर्दाका एक दृश्यमा हिमाल अँध्यारो देखिए पनि अधिकांशमा भीएफएक्स कला बलियो सावित हुन्छ । 

'फर्कीफर्की'बाट नेपाली फिल्म क्षेत्रले पाएको नयाँ कथावाचक हुन्, निर्देशक गुरुङ । दोस्रो फिल्मसम्म आइपुग्दा निर्देशक गुरुङले फरक विधा पक्रँदै कथा भन्ने प्रयास गरेका देखिन्छन् । तर, निर्देशक गुरुङले चम्किला दृश्यका अलावा कथाभित्रका चमक, दृश्य भाषाका बलियो तत्त्वलाई दृश्यमा स्थापित गर्ने गुण अंगाले फिल्म क्षेत्रका लागि गुरुङको उपस्थिति सार्थक बन्ने थियो !

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully