दसैँमा भारतीय फिल्म 'कान्तरा : च्याप्टर १' ले नेपाली फिल्मलाई धक्का पुर्याउनुका साथै देशमा भएको जेन-जी आन्दोलन र प्रदर्शन, टीकापछिको भारी वर्षा एवं बाढीले व्यापारमा असर पुगेको फिल्मकर्मीहरूको गुनासो छ ।
What you should know
काठमाडौँ — २०८१ सालको दसैंमा विराज भट्टको फिल्म '१२ गाउँ'ले १९ करोडभन्दा बढीको व्यापार गर्यो । डेब्यु फिल्मले नै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि अभिनेता समीर भट्टको क्रेज त्यतिबेला निकै बढेको थियो ।'१२ गाउँ'सँगै रिलिज भएको दीपाश्री निरौला निर्देशित 'छक्का पन्जा–५' ले पनि नेपालमा १५ करोडमाथिको व्यापार गरेको थियो । 'ज्वाइँसाब'ले भने दुई फिल्मको तुलनामा निकै कम व्यापार गरेको थियो ।
यसपटकको दसैंमा पनि अघिल्लो सालझैं तीन फिल्म रिलिज भए- बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता । अघिल्लो पटक डेब्यु फिल्मबाटै सानदार इन्ट्री गरेका समीर भट्टको यस वर्ष सन्तोष सेन निर्देशित 'बलिदान' हेर्न दर्शकहरू प्रतीक्षारत थिए । करिब एक वर्षदेखि नै चर्चामा रहेको यो फिल्म रिलिजयता भने खासै चर्चामा रहेन ।
गत २३ गतेसम्मको रिपोर्टअनुसार फिल्मले ४ करोड ४२ लागि सम्मको व्यापार गरेको थियो । अघिल्लो वर्षका दुई फिल्मको कमाइको तुलनामा यो निकै कम हो । 'बलिदान' मात्र हैन अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म 'हरिबहादुरको जुत्ता'ले सोही रिपोर्टअनुसार ३ करोड ९० लाख र धीरज मगर तथा उपासनासि़ंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म 'माइतीघर'ले २ करोड ८५ लाख संकलन गरेका थिए ।
तीनै फिल्मले अपेक्षित व्यापार नगर्दा निर्माताहरू निराश छन् । उसो त '१२ गाउँ', 'छक्का पन्जा ५' हुँदै 'पूर्णबहादुरको सारंगी'सम्म आइपुग्दा त्यतिबेला नेपाली फिल्मकर्मीहरू फिल्म निर्माणमा हौसिएका थिए । किनकि 'पूर्णबहादुरको सारंगी'ले बक्स अफिसको अहिलेसम्मको रेकर्ड नै ब्रेक गरेको थियो । तर त्यसयता जति फिल्म रिलिज भए, त्यसमध्ये 'ऊनको स्वीटर' र 'अन्जिला'ले मात्र बक्स अफिसमा राम्रो व्यापार गर्न सके ।
दसैंमा नदेखिएको 'जादु'
कतिपय फिल्मकर्मीहरू फिल्म रिलिजका निम्ति दसैं तिहार नै पर्खिरहेका हुन्छन् । त्यतिबेला लामो बिदा हुने भएकाले दर्शकहरूले फिल्म हेर्न समय छुट्याउने विश्वास अभिनेता हरिवंश आचार्यले लिएका थिए । दसैँअघि कान्तिपुरसँग गरिएको कुराकानीमा उनले भनेका थिए, 'दसैँमा लामो समयदेखि फेस्टिभल मुडमा रमाइलो गर्ने भन्ने हुन्छ । श्रीमान्, श्रीमती, बा आमा छोराछोरीसहित पारिवारिक रुपमै फिल्म हेर्न जाने माहोल बन्छ । लामो बिदामा फिल्म रिलिज गर्न पाए लगानी सुरक्षित हुन्छ, पैसा पनि कमाउन सकिन्छ भनेर दसैँमा धेरै फिल्म जुध्न आउँछन् ।'
माइतीघरका निर्माता रोहित अधिकारीले फिल्म रिलिज हुनुअघि कान्तिपुरसँग भनेका थिए, 'दसैँको बेला मानिसहरू मनोरञ्जन खोज्छन् । म फिल्मको बिजनेस गरिरहेको छु । नाफा खोज्छु । त्यसकारण यो समय व्यापारको राम्रो सिजन हो जस्तो लाग्छ ।'
लामो बिदा र फेस्टिभल मुडमा पनि फिल्म किन अपेक्षा अनुरुप चलेनन् ? त्यतिबेला रोहित अधिकारीले यदि फिल्म चलेनन् भने त्यसको जिम्मेवार फिल्मकर्मी स्वयम् हुने बताएका थिए । 'यतिबेला फिल्म धेरै जुध्दा पनि निर्देशकहरू जोखिम लिन चाहन्छन् । फिल्म राम्रो छ भने सबै चल्छन् । राम्रो छैन भने एउटै मात्र लगाउँदा पनि चल्दैन,' अधिकारीले भनेका थिए, 'यदि चलेन भने जुधेर चलेन भन्ने छुट कसैलाई पनि छैन । हामीलाई बहानाबाजी गर्ने छुट छैन ।'
अधिकारीले भनेजस्तै २०८० सालको फूलपातीमा 'पशुपतिप्रसाद २ : भष्मे डन' मात्र प्रदर्शनमा आएको थियो । रिलिजको अघिल्लो दिनसम्म फिल्मको जुन क्रेज थियो, रिलिजपछि भने त्यो स्वाट्टै घट्यो । जसरी 'वर्ड अफ माउथ'कै कारण 'पशुपतिप्रसाद' चलेको थियो, 'वर्ड अफ माउथकै' कारण सिक्वेलको क्रेज घटेको थियो । 'भष्मे डन'ले राम्रो समीक्षा नपाएसँगै दोस्रो दिनदेखि दर्शकहरू घट्न थालेका थिए ।
यतिबेला तीन नेपाली फिल्मको तुलनामा अहिले कन्नड फिल्म 'कान्तरा : च्याप्टर १' ले गत २३ गते सम्मको बक्स अफिस रिपोर्टअनुसार ६ करोड ३९ लाखसम्मको व्यापार गरेको थियो । दसैँको बेलामा ठूला बजेटमा बनेका भारतीय फिल्म जुधाउनु र उनीहरूलाई धेरै सो दिनुले पनि नेपाली फिल्महरूमा धक्का लागेको फिल्मकर्मीहरूको गुनासो छ । केहीदिनअघि भएको कुराकानीमा अभिनेता हरिवंश आचार्यको गुनासो थियो, 'त्यति ठूलो बजेटमा बनेको कान्तरा र २/४ करोडमा बनेका हाम्रा फिल्महरू बीच तुलना नै हुँदैन । दसैँको बेलामा हाम्रो फिल्महरूसँग जुधाइएको छ । सो पनि बढी दिइएको छ । यदि हाम्रा फिल्महरूले ती शो पाएका भए तीनैवटालाई राम्रो हुन्थ्यो ।'
तर, भारतका चर्चित ब्यानरका फिल्म नेपालमा जुध्दा नेपाली फिल्महरूले पछि पारेका उदाहरण नभएका हैनन । अघिल्लो तिहारमा 'पूर्णबहादुरको सारंगी'ले उत्कृष्ट व्यापार गरिरहँदा बलिउडका ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३' व्यापार र शो दुवैमा निकै पछि परेका थिए ।
जेन–जी आन्दोलनको प्रभाव
यसपालि फिल्मले अपेक्षित व्यापार नगर्नुको विविध कारणमध्ये एउटा कारण जेन-जी आन्दोलनको प्रभाव भएको पनि धेरै फिल्मकर्मीको ठम्याइ छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७४ जनाले ज्यान गुमाए । ४ सयभन्दा बढी घाइते भए । प्रदर्शनका क्रममा कैयौँ निजी तथा सार्वजनिक सम्पत्तिहरूमा आगजनी तथा तोडफोड भए । त्यसयता हेर्ने हो भने देशमा विभिन्न घटनाक्रमहरू द्रुत गतिमा भइरहेका देखिन्छन् । आन्दोलनको बेला पनि रिलिज भइरहेका 'गुन्युचोलो', 'माग्ने राजा' लगायतका फिल्महरू स्थगित भएका थिए । लगत्तै रिलिज हुने भनिएका 'जारी २' र 'अभिमन्यु'को रिलिज डेट त सार्नु परेको थियो । टीकाको भोलिपल्टबाट देशमा भएको भारी वर्षा र बाढी पहिरोको प्रभाव पनि फिल्म क्षेत्रमा केही दिन पर्यो ।
अब आगामी दिनमा रिलिज हुने फिल्मले कस्तो व्यपार गर्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
