‘हरिबहादुर’को यात्रा : टेलिफिल्मदेखि फिल्मसम्म

हरिवंश आचार्यले दुई दशकदेखि निर्वाह गर्दै आएको हरिबहादुर पात्रले दर्शकको हाँसो, आँसु र वर्गीय प्रतिनिधित्व गर्दै समाजमा गहिरो प्रभाव छोडेको छ ।

आश्विन २५, २०८२

समर्पण श्री

The Journey of 'Hari Bahadur': From Telefilm to Film

काठमाडौँ — अभिनेता हरिवंश आचार्यले पर्दामा थुप्रै चरित्र निर्वाह गरे । उनका कुनै पात्रहरूले धाराप्रवाह हँसाए, कुनै पात्रले देशभक्ति जगाए । कुनै पात्रले गम्भीर बनाउँदै रुवाए ।

हरिवंशका फरक-फरक पात्रहरूको कोलाज उनका नियमित दर्शकका स्मृतिमा सदाबहादर सञ्चित छन् । यतिबेला भने दर्शकहरूमा उनको लोकप्रिय चरित्र ‘हरिबहादुर’को प्रसंग चलिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्म हरिबहादुरको जुत्ता अहिले देशभर प्रदर्शनरत छ ।

कथावाचनको पुरानै शैली, भद्दा जोक र लम्बेतान दृश्यहरूले फिल्मको गुणवक्तामा प्रश्न गर्ने ठाउँहरू छन् । अन्य फिल्महरूको तुलनामा यो फिल्ममा निर्देशक दीपेन्द्रको उपस्थिति निकै कमजोर देखिन्छ । कथाले बिराएको लय र मुख्य पात्रहरूको अस्पष्ट उद्देश्यका कारण फिल्म औसतहरूकै सूचीमा छ । 

यद्यपि, पर्दामा लोकप्रिय हरिबहादुर पात्रसँग दर्शकहरूको प्रेम र फिल्मसँगको यात्राका कारण धेरै दर्शकहरूका निम्ति यो फिल्म प्रतिक्षित थियो । हामी यो आलेखमा हरिवंशले टेलिफिल्मको पर्दादेखि, प्रहसन र ठूलो पर्दासम्म डोहोर्‍याएर हिँडेकी यो पात्रको कथा भन्नेछौँ ।

हरिवंशले दुई वर्षअघि हरिबहादुरमाथि नयाँ कथा लेखेका थिए । निर्माता सरोज ओली फिल्म बनाउने धुनमै थिए त्यतिबेला । हरिवंशले शीर्षक राखिनसकिएको हरिबहादुरको नयाँ कथा सुनाए । सरोजलाई कथा मन पर्‍यो । उनैले जुराइदिए शीर्षक– हरिबहादुरको जुत्ता ।

The Journey of 'Hari Bahadur': From Telefilm to Film

भनिन्छ, जुत्ताले वर्गको कथा भन्छ । हरिबहादुरले लगाउने जुत्ताले आर्थिक हिसाबले समाजको पिँधका मानिसको प्रतिनिधित्व गर्थ्यो । त्यो वर्ग, जसलाई आधारभूत आवश्यकता पूरा गर्नै हम्मे हुन्छ । त्यस्तो बेलामा हरिबहादुरले चोरीको सहारा लिन्छ । चोर्ने बेलामा हरिबहादुरले लगाउने जुत्ता नै फिल्मको ‘मेटाफर’ हो । धेरै वर्षअगाडि हरिवंश र मदनकृष्ण श्रेष्ठको ‘दशैं’ भन्ने फिल्म छ । हरिवंशको भैरे भन्ने चरित्रको फाटेको जुत्ता यो फिल्मको कथा लेख्ने बेला झल्झल्ती याद गरे उनले । ‘लुगा र जुत्तालाई हेरेर हामी मानिसलाई मूल्यांकन गर्छौँ । केही सत्य भन्नुपर्ने । केही व्यंग्य थप्नुपर्ने । त्यसकारण जुत्तालाई फिल्मको क्लु बनाएँ,’ हरिवंश भन्छन् ।

‘हरिबहादुर’ चरित्रको जन्म भने आजभन्दा दुई दशकअघि भएको थियो । त्यसयता आजसम्म त्यो चरित्र कुनैमा असाध्यै इमान्दार छ । कुनैमा छुच्चो छ र कुनैमा रिसउठ्दो । यो चरित्र हरिवंशले एकजना इमान्दार मान्छेको हाउभाउ र बोलीचालीबाट उनले सुटुक्कै धारण गरेका थिए । २ दशकअघि  माइतीघर मण्डलानिर महसञ्चारको अफिस थियो । मदन र हरिवंश बिहानदेखि अफिस बसेर पटकथाका काम गर्थे ।

एकदिन कार्याकालयमा एकजना कमल सिलवाल नाम गरेका व्यक्ति आए । उनी सोझा र इमान्दार देखिन्थे । बोली युनिक थियो, हरिबहादुरको जस्तो । ‘उनी काम खोज्दै आए । हामीलाई स्टाफ चाहिएको थिएन । तर पनि हामीले स्टाफमा राख्यौँ,’ हरिवंश सम्झन्छन् । हरिवंश कमललाई उनकै स्वर बनाएर जिस्क्याउँथे ।

टेलिफिल्म ‘भाइरस’मा हरिवंशले इमान्दार मान्छेको चरित्र निर्वाह गर्नुपर्ने थियो । उनले कमलकै स्वर र हाउभाउ बनाए ।  त्यसपछि विभिन्न कथामा उनले त्यो चरित्रलाई फरक फरक स्वभावमा प्रस्तुत गरे । टेलिफिल्म आउनेबेला कमलले महसञ्चारको काम छाडिसकेका थिए । पछि टेलिफिल्म रिलिज भएको समयमा हरिवंशले फोन गरेर सोधे, ‘तपाईंले हेर्नुभयो ?’

‘हेरेँ नि । राम्रो छ,’उनले जवाफ फर्काए । हरिवंशले जिज्ञासा राखे, ‘अरुले के भने ?’ ‘सेम तिम्रो गरेछन् भने । मलाई त रोयल्टी चाहिन्छ सर ,’ कमलले उही लवजमा ठट्टा गरे । 

हरिबहादुर चरित्र चर्चित भयो । तर कमलले पछि आफ्नो स्वरलाई परिवतर्न गरे । ‘अहिले उनले स्वरलाई बदलिसके । त्यस्तो सुनिन्न,’ हरिवंश भन्छन् । 

पछिल्लो समय पनि विभिन्न स्टेजहरूमा होस् वा टिकटकमा, हरिबहादुरको क्यारिकेचर गर्ने थुप्रै छन् । कोभडको समयमा एकपल्ट हरिवंशलाई प्राइभेट स्कुलहरूले विद्यार्थीहरूका लागि अनलाइक क्लास लिन आग्रह गरे । उनले केही समय १२/१५ वर्षका विद्यार्थीसँग अनलाइन कक्षामा बिताए । कक्षामा हरेक विद्यार्थीले उनलाई हरिबहादुरकै स्वरमा कुरा गर्न आग्रह गरे । ‘सुरु सुरुमा त मैले हरिबहादुरको स्वरमा उनीहरुसँग कुरा गरेँ । पछि यसले पनि हरिबहादुरको गर्छ उसले पनि गर्छ भन्दाभन्दै धेरै विद्यार्थीले गरे । त्यतिबेला थाहा भयो– यो त बच्चाहरूको लागि मन पराउने क्यारेक्टर रहेछ,’ हरिवंश भन्छन्, ‘अहिले पनि हल भिजिटमा जाँदा बच्चाहरू यति रमाइरहकेका हुन्छन् कि उनीहरूले बोलाउँदा मेरो नाम नै हरिबहादुर ठान्छन् ।’

हरिवंश क्यारिकेचरकै कारण आलोचित नभएका हैनन् । क्यारिकेचरमार्फत् पात्रहरूलाई मजाकको विषय बनाइएको भन्दै टिप्पणी पनि हुन्छन् । तर हरिवंशको दाबी छ, ‘कुनै अपांगता भएका व्यक्तिहरूको गरेको छैन । जातीयतालाई होच्याएर पनि गरेको छैन । त्यसमा हामी सचेत छौँ ।’

जहाँ हरिबहादुर छन्, त्यहाँ नछुट्ने पात्र हुन् मदनबहादुर । यसपटक फिल्ममा मदनकृष्णको चरित्र मदनबहादुरलाई झुलुक्क झुल्काइएको छ । हरिबहादुर र मदनबहादुरको पुरानो सम्बन्धलाई फिल्मले पुनर्ताजगी दिएको छ ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully