प्राणभन्दा प्यारो बन्न नसकेको- ‘माइतीघर’

वचन दिने अजीबको किस्सा फिल्ममा छ, त्यो थाहा पाउन भने फिल्म नै हेर्नुस् !

आश्विन २०, २०८२

रीना मोक्तान

Not becoming dearer than life - 'Maitighar'

What you should know

काठमाडौँ — गत वर्षको दसैं, बेजोड थियो । नेपालीको घर आँगन मात्रै होइन, फिल्म क्षेत्रकै लागि दसैं 'बडा दिन' भइदियो । कारण त्यसबेला प्रदर्शनमा आएका तीन फिल्मले गाउँ फर्कँदै गरेको नेपालीको भीड हलमै सोहोरेजस्तो देखिन्थ्यो । जुन फिल्म पनि हाउसफूल, सातासम्म पनि टिकटको खडेरी ! फिल्मकर्मीबीच करोड कमाउने होडबाजी ! 

यो पटक पनि दसैं आउन त आयो, तर नेपाली फिल्मका लागि खासै उल्लासमय देखिएन । यसपालि घटस्थापना र फूलपाती आइपुग्नुअघि जेन-जी आन्दोलन, त्यसले खडा गरेको राजनीतिक अस्थिरता आइपुग्यो ।

फूलपाती पर्खिरहेका नेपाली फिल्मले यो पटक सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध देख्यो । प्रचारको प्रमुख शस्त्र बन्दै आएको प्लेटफर्म नै बन्द हुनु, निधारमा लगाउन मुछेको अक्षतामा पानी बढी भएजस्तो भइदियो । देशको आरोहअवरोहले दर्शकको ध्यान अस्थिर राजनीतितर्फ तानिरह्यो, तानिरहेछ । यद्यपि फिल्मकर्मीले दसैं बिदामा फिल्म प्रदर्शन गरी छाडे । अब दसैंसँगै लामो छुट्टी पनि त आइपुग्छ । यही बिदामा गत दसैंबाट नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता समीर भट्टदेखि धिरज मगर अनि हरिवंश आचार्यका तीन फिल्म हलमा लागेका छन् । बाढीको कहरपछि सामान्य बन्दै जनजीवनले बल्ल नेपाली फिल्ममा दसैं सुरु भएको देखिन्छ । 

अब कुरा गरौं, प्रदर्शनमा आएका फिल्ममध्ये ‘माइतीघर’को । तामाङ समुदायको कथा समेटिएको यो फिल्मलाई मिलन तामाङले निर्देशन गरेका हुन् । ‘प्रेमगीत २’का निर्देशक रामशरण पाठकले लेखेको कथामा बनेको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

फिल्ममा प्रेमकथा छ, प्रेमका लागि गरिएको संघर्ष छ । पारिवारिक द्वन्द्वबीच प्रेम प्राप्तिको भरमग्दुर प्रयास छ । पृष्ठभूमिमा तामाङ समुदाय र संस्कृतिको लेपन मिसाउने प्रयास छ । तर, कमजोर पटकथा, पट्यारलाग्दो कथा वाचन अनि परम्परागत शैलीको संवादले ‘माइतीघर’ले त्यो स्वाद पस्कन सकेको छैन, जुन मिठास कथाले बोक्छ । 

सोनाम(प्रकाश) मार्स्याङ अर्थात पूर्णिमा(उपासना सिंह ठकुरी)सँग प्रेम गर्छन् । तर, उनीहरूको प्रेममा परिवार अड्चन बनिदिन्छ । सानैमा बुबा आमा बितेकाले मार्स्याङ काका (बुद्धि तामाङ)को परिवारसँग हुर्किन् । यता सोनामलाई जुन बुबाले धर्मपुत्र बनाएर पाल्यो, उनी मार्स्याङको काकाका साख्खै भिनाजू । सोनामलाई धर्मपुत्र बनाएसँगै काकाको दिदी गायब छन् ।

दिदी गायब बनाइदिनेको परिवारसँग मार्स्याङको बिहे गरिदिन तयार छैनन्, काका । त्यसैले पोङ (तामाङ संस्कृतिमा केटी माग्न जाँदा लिएर जाने रक्सी) लिएर घरमै आइपुगेको युद्धवीर(शिशिर वाङ्देल)का लाहुरे छोरा विनय(धिरज मगर) सँग बिहे गरिदिने वचन दिन्छन् । वचन दिने अजिबको किस्सा फिल्ममा छ, त्यो थाहा पाउन भने फिल्म नै हेर्नुस् ! 

झट्ट हेर्दा फिल्मको कथा सलल बग्छ, समस्या कहाँ छ भन्नुहोला ? खासमा फिल्मको प्रमुख समस्या नै प्रेम हो । जस्तै, फिल्मभरि मार्स्याङ र सोनामले आफूहरुबीचको प्रेम जोगाउन कहिले परिवारको बाधा सहन्छन्, त कहिले बीचमा आइपुगेको विनयबाट जोगिरहन्छन् । फिल्ममा जति पनि घटनाक्रमहरु अघि बढ्छन्, त्यो सोनाम र मार्स्याङले आफ्नो प्रेम प्राप्त गर्न गरिएको संघर्षउपर छ । तर, निर्देशक मिलनले यी दुईको प्रेम देखाउनमै कन्ज्युस्याइँ गरेका छन् ।

दुईबीचको गहिरो प्रेम फिल्ममा स्थापना हुँदैन, केही गीत र फ्ल्यासब्याकमै उनीहरुको प्रेम देखाइन्छ । त्यसैले उनीहरुबीचको प्रेम दर्शकले आभास गर्न पाउँदैनन् । अब दुईबीच त्यो किसिमको प्रेम नदेखाइँदा, उनीहरुले त्यही मायाकै लागि भन्दै गरिएको संघर्षले दर्शकलाई कत्तिको छुन्छ होला ? निर्देशक तामाङले यी दुईको प्रेमलाई गहिरोसँग स्थापना गरिदिएको भए, सोनाम र मार्स्याङले प्रेमकै लागि सहेको पीडा, तड्पन र खसालेको आँसु हामीले अनुभव गर्न पाउने थियौं । र, उनीहरुले प्रेमका लागि गरेको संघर्षमा सहानुभूत र समानुभूत गर्न पाउने थियौं । त्यस्तो नहुँदा क्रमश: कथाबाट दर्शकको ध्यान भड्किन्छ । 

त्यसमाथि फिल्ममा खासै केही नौलो छैन । पोङ लिएर छोरीको हात माग्न गएको दृश्य पनि किराँत संस्कृतिबाट सापट लिएको भान हुन्छ । उक्त दृश्यमा बोलिने संवाद र लवजमै पनि तामाङ कम किराँती लवज धेरै भेटिन्छन् । उक्त दृश्य त दर्शकले थुप्रै पटक किराँत समुदायको कथामा देखिसकेका छन् ।

यसमा तामाङ लवज, उनीहरुका संस्कृति र सौन्दर्य मिसाउन सकिएको भए ‘माइतीघर’ वास्तवमै, ‘मासिन्या’ बनाइएको जातिको हराउँदै गएको संस्कृतिको दस्तावेज बन्ने थियो । पोङ लिएर जाँदा तामाङ समुदायले अभ्यास गर्दै आएको रिमठिम र लवजलाई चुस्स छोइदिएको भए फिल्म मजबुत हुने थियो । 

तर, कथा लेखन यो संस्कृति र समुदायप्रति संवेदनशील देखिन्न । उदाहरणका लागि, फिल्मको मूल मुद्दा नै मार्स्याङले परिवारको इज्जतका लागि सामना गर्नुपरेको चुनौतीसँग सम्बन्धित छ । तर, बिहे सम्बन्ध होस् या आफ्ना लागि गरिने निर्णय, त्यसमा तामाङ महिला स्वतन्त्र हुन्छन् ।

उनीहरु आफ्ना खुसीका लागि प्रेमीसँग भागेरै बिहे गर्छन् । त्यसपछि मात्र, संस्कृति अनुसार घर भित्रिने चलन व्याप्त छ । तर त्यही उन्मुक्त तामाङ महिलालाई परिवारको इज्जत धानिदिएको चरित्र लेखिरहँदा लेखकले हिन्दु मान्यतालाई यो पात्रमाथि थोपरिदिएको देखिन्छ । फिल्मले प्रदान गरेको विचार, समातेको मान्यता हेर्दा उतिबेला निजी संस्थाबाट बनेको माला सिह्ना अभिनित ‘माइतीघर’ले बोकेको खोक्रो आदर्श नै यो फिल्ममा दोहोरिएको छ ।

आदिवासी, जनजाति समुदायका महिलालाई असाहय, पीडित, आवाजविहीन देखाउँदै उनीहरुलाई परिवार, इज्जत अनि माइतीघरको मानसँग जोडिदिनु ३० वर्षअघिको ‘माइतीघर’ले बोकेको विचारभन्दा माथि उक्लन नसकेको देखिन्छ मिलन तामाङ निर्देशित यो फिल्म ।

छोरीलाई निर्णय अधिकार दिएको समुदाय, तामाङ रिमठिम(चारदाम) अनुसार बिहेमै पनि महिलालाई प्राथमिकतामा राख्ने यो समुदाय पर्दामा देखाइरहँदा इतर समुदायको लेखकले यस्ता मिहिन पक्षमा ध्यान दिएको भए तामाङहरुका लागि प्राणभन्दा प्यारो बन्ने थियो ‘माइतीघर’ । 

धन्न फिल्ममा गैरतामाङ समुदायका कलाकारलाई ध्यानपूर्वक चरित्रमा ढालिएको छ । जस्तै, प्रकाश सपुतको चरित्रलाई तामाङ परिवारले हुर्काए पनि, उनको नाम, थर अज्ञात रहेको देखाइन्छ । अर्कोतर्फ धिरज मगर र उपासनासिंह ठकुरीलाई पनि उसैगरी मिलाइएको छ । तर, यी कलाकारलाई तामाङ चरित्रमा देखाइए पनि यो समुदायको लवज, भाषा र संवादमा उनीहरुको मेहनत देखिन्न ।

‘आस्याङ’ (मामा), ‘ज्योज्यो’ भन्ने शब्द संवादपिच्छे फरक तरिकाले उच्चारण गरिएको छ । फरक समुदायको चरित्र धारण गर्दा, उक्त चरित्रको लबज, भाषा, भावभंगीमा कलाकारले अलिकति मेहनत गरे पो चरित्रप्रति विश्वास जाग्छ त ! संवाद पनि परम्परागत शैलीमा प्रयोग छ । त्यसलाई बोलीचालीको भाषामा ढालिएको भए सुन्दर सुनिने थियो ।

बुद्धि तामाङबाहेकका कलाकारले बोलेको तामाङ भाषा पनि अप्ठ्यारो सुनिन्छ । बरु केही दृश्यमा ‘माग्ने बुढा’ले बोल्ने तामाङ भाषा र लवज सुन्दर सुनिन्छन् । ‘माइतीघर’ बोलको गीत फिल्मको शीर्षककै लागि जबरजस्त राखिएको छ । फिल्ममा डम्फू बजाउँदै गाइने सेलो गीतलाई सुन्दर ढंगले प्रयोग गरिएको छ ।

पार्श्व ध्वनिमा मिसाइएको तामाङ बाजाको धुन कथा वाचनमा सशक्त सुनिन्छ । फ्ल्यासब्याकको प्रयोग सुन्दर छ । 

अन्तमा, आदिवासी जनजाति समुदायका कथामाथि मूलधारे फिल्मकर्मीको आँखा पुग्नु आफैंमा सुन्दर पक्ष हो । ‘माइतीघर’को निर्माण टोलीले तामाङ संस्कृति र विश्वास समेट्दै कथा भन्न खोज्नु नेपाली फिल्म क्षेत्रमा दिन खोजिएको नयाँ स्वाद हो, प्रयास हो । तर, वर्षौंदेखि दबाइएका समुदायको कथा भन्दै गर्दा निर्माण पक्षले विषयवस्तुप्रतिको संवेदनशीलता पक्रँदै कथा भन्नुपर्छ । त्यसो नभएमा, उक्त समुदायले सोध्न सक्छन्, ‘के तिमी हाम्रो समुदायको कथा सुनाउने उपयुक्त पात्र हौ ?’

‘आफ्नो कथा आफैंले सुनाउनुपर्छ’ भन्ने भाष्य स्थापना भइरहँदा विश्व सिनेमामै पनि यस किसिमका प्रश्न उठ्ने गरेको छ । अब ‘माइत घर’का निर्माण टोलीलाई प्रश्न, ‘के माइतीघरले तामाङ समुदायको मर्म, विश्वास र मान्यता’लाई सटिक रुपमा प्रस्तुत गर्छ ?’

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully