फिल्मको क्यानभास मात्रै ठूलो देखिन्छ, त्यसमा रङ लगाउने भाँती मिलेको देखिन्न । तर स्रोत, साधनको अभावबीच पनि ठूलो क्यानभासमा ‘बलिदान’जस्तो कथा कल्पनु निर्देशक सेनले देखाएको हिम्मत नै हो ।
What you should know
काठमाडौँ — फिल्ममा एउटा गज्जबको शक्ति हुन्छ । निर्देशकले पर्दाभित्र यस्तो काल्पनिक संसार खडा गरिदिइसक्छन् कि त्यसलाई विश्वास नगरी दर्शक बस्नै सक्दैनन् । त्यो वास्तविक संसारसँग मिल्दो देखिन्छ अथवा, यथार्थबाट निकै पर भए पनि त्यसमा यस्ता पक्षहरु हुन्छन्, जसले दर्शकलाई त्यो संसारसँग नजिक बनाइरहन्छ ।
त्यसैले त ती कथाले हलमा २ घण्टा बाँधेर राखेको पत्तो हुँदैन । त्यस्ता कथाका पात्रमा दर्शकले आफूलाई समानूभुत गरिसक्छन्, अनि त पर्दामा हिरोले मुठ्ठी कस्दा बलचाहिँ दर्शकले दिइरहेका हुन्छन् । तर, यदि निर्देशकले त्यही संसार निर्माण गर्न सकेन भने, के हुन्छ ? दर्शकले त्यो संसारलाई विश्वास गर्न सक्दैन । फलस्वरूप कथाबाट दर्शकको ध्यान भड्किन्छ । अनि, दर्शक आङ तन्काउन थाल्छन् ।
हो, सन्तोष सेन निर्देशित ‘बलिदान’मा यही समस्या छ । निर्देशक सेनले यस पटक फेरि निकै ठूलो क्यानभासमा ‘बलिदान’को चित्र कोर्ने कोसिस गरेका छन् । तर, फिल्मको क्यानभास मात्रै ठूलो देखिन्छ, त्यसमा रङ लगाउने भाँती मिलेको देखिन्न । जस्तै, फिल्ममा भिल्लमगढ भन्ने ठाउँको कल्पना गरिएको छ । भिल्लमगढमा बस्दै आएको आमा छोराको कथा फिल्ममा समेटिएको छ । तर, फिल्ममा एकसाथ थुप्रै विषय समेट्ने प्रयास छ । जस्तै, यहाँ आमा छोराको सम्बन्ध मात्रै होइन, राजनीति छ, पहिचानको लडाइँ छ । भिल्लमगढका मानिसहरूमाथिको शोषण छ, सत्ताको लोभ अनि धरती माताको विषय छ । तर, यी सबै विषयलाई कथामा उन्न नजान्दा ‘बलिदान’को यो ठूलो क्यानभासको सौन्दर्य हराएको छ ।
फिल्मको कथा र कथा वाचन खासै नयाँ छैन । गाउँमा बैरीको दमन सुरु हुनु, एकल आमाले छोरो हुर्काउनु, त्यही छोरोले पछि दुश्मनसँग बदला लिनु, यसअघि फिल्महरूमा भनिँदै आएको कथा हो । तर, यही कथालाई पनि पटकथाको डोरोले बान्न नसक्दा ‘बलिदान’ले दिन खोजेको बलिदानको खास अर्थ दर्शकसँग सञ्चार हुँदैन । फिल्मले एउटी आमाको कोखबाट जन्मिएको सुपुत्रले अन्यायमा परेकी त्यही आमा र धरती मातका लागि लडेको लडाइँ, दिएको बलिदानको सशक्त कथालाई छुन खोजेको छ । तर, पटकथाले मुख्य कथासँगै अन्य उपकथाको सँगालो मिलाउन सकेको छैन ।
फिल्ममा सजिलै अनुमान गर्न सकिने किसिमका उपकथा छन् । उदाहरणका लागि, गाउँमा देखापरेको नयाँ ‘बाबा’ले भिल्लम गढका मानिसहरुमा शोषण सुरु गर्छ । त्यही शोषणविरुद्ध जाँदा अभय(समीर भट्ट)को बुवालाई बाबाको समूहले मारिदिन्छन् । अन्यायको विरुद्धमा आवाज उठाउने अभयकी आमालाई पनि यो घट्नाले तर्साउँछ । त्यसैले उनी पहिचानविहिन भएर छोरालाई हुर्काउँछिन् । तर, अभय जतिजति हुर्कँदै जान्छ, तब-तब भिल्लम गढमा समस्याहरु उत्पन्न हुन थाल्छ । त्यसपछि अभय ती समस्यासँग जुध्न थाल्छन् । तर, सजिलै अनुमान गर्न सकिने कथा, अतिरञ्जित संवाद र ‘लाउड’ अभिनयले फिल्ममा कथा र उपकथाको कुनै तादम्य मिलाउँदैन । उदाहरणका लागि फिल्मको सुरुवातमै अभयकी आमाले एक बालकलाई सत्रुको हातबाट छुटाएकी हुन्छिन् । तर, बीचमा ती बालक अचानक हराउँछन्, उनीबारे कसैलाई अत्तोपत्तो हुन्न । तर, हामीले सजिलै अनुमान गर्न सक्छौं, कि उक्त पात्र फिल्ममा पछि महत्त्वपूर्ण घडीमा देखापर्नेछन् । तर, उक्त पात्रलाई पनि फिल्ममा सटिक तरिकाले स्थापना गरिएको छैन ।
फिल्मको सुरुवातदेखि सत्तामा भएकाहरु भिल्लम गढका जनताका लागि भन्दै निकै गम्भिर छलफलहरुमा बसिरहन्छन् । तर, त्यतिञ्जेल पनि भिल्लमगढ र त्यहाँका जनतालाई दृश्यमा देखाइन्न, या भनौं त्यतिखेरसम्म पनि हामीलाई उनीहरू कुन सरकारविरुद्धमा गएर कुन जनतालाई बचाउन रणनीति अपनाउँदैछन् भन्ने नै थाहा हुँदैन । दृश्यले पहिल्यै यी विषयलाई स्थापित गरिदिएको भए पो, उक्त कुरामा दर्शकलाई विश्वास लाग्ने थियो । फेरि, फिल्मको बीचतिर टुच्च पहिचानको विषय उठ्छ । अभयले नागरिकताका लागि लडाइँ लड्छन्, त्यो विषयको पनि निरन्तरता टुट्दै जान्छ । अभय अन्य समस्यामा अल्झिँदा त्यो विषय त्यसै हराउँदै जान्छ । यसरी फिल्मले थुप्रै गम्भीर विषय त छुन खोजेको छ तर, त्यसको गहिराइ देखाउन नसक्दा ‘बलिदान’ प्रमुख विषयको सतहमै तैरिरहेको देखिन्छ ।
चरित्र स्थापनामा पनि फिल्म चुकेको छ । जस्तै, यो फिल्ममा थुप्रै पात्रहरू छन् । तर, ती पात्रलाई सही ढंगले स्थापित गराइएको छैन । कामेश्वर चौरसियाको चरित्रलाई जसरी सुरुवातमा स्थान दिइन्छ, कथाको अन्त्यतिर त्यसै हराउँदै जान्छ उक्त पात्र । बीचमा कबिला समूहको कथा त्यसै फिल्ममा जोडिन्छ । तर, उक्त समूहलाई प्रमुख पात्रलाई जंगलमा जोगाउनका लागि त्यसै जबर्जस्त राखिएको भान हुन्छ । उक्त समूहको कथा, उनीहरूको पृष्ठभूमिमा कतै देखाइँदैन । ‘हिरो’लाई जंगलमा आश्रय दिनका लागि मात्रै यो समूह फिल्ममा देखिन्छन् । त्यस्तो हुँदा, निर्देशक सेनले निर्माण गर्न खोजेको कबिला समूह, त्यो जातिमाथि दर्शकले विश्वास गर्नै सक्दैनन् ।
अतिरञ्जनाले भरिएको संवाद फिल्मको अर्को समस्या हो । फिल्ममा हरेक पात्र अतिरञ्जित संवाद बोल्छन् । ती संवादमा कतै पनि बोलीचालीको भाषा भेटिँदैन । त्यसमाथि ‘लाउड’ एक्टिङले फिल्मका सुन्दर दृश्य अतिरञ्जनाले भरिदिएका छन् । अभिनेत्री ऋचा शर्मा, अभिनेता समीर भट्टदेखि अर्पण शर्माकै अभिनय फिल्ममा ‘लाउड’ छन् । कामेश्वर चौरसियाले भने केही दृश्यमा सन्तुलन मिलाएका छन् । फिल्ममा अर्को बिझाउने पक्ष भनेकै रुद्रको भूमिकामा देखिएका सौगात मल्लको नक्कली दारी र कपाल हो । मल्लले अभिनयमा सन्तुलन मिलाउन खोज्दा पनि उनको दारी र कपालले अन्तिमसम्म बिझाइरहन्छ । बारम्बार आमा-छोराको भावनालाई तन्काउँदै दर्शक रुवाउने प्रयास पनि भइरहन्छ ।
जे होस्, स्रोत, साधनको अभावबीच पनि ठूलो क्यानभासमा ‘बलिदान’जस्तो कथा कल्पनु निर्देशक सेनले देखाएको हिम्मत नै हो । त्यसमाथि सेट नै बनाएर यस किसिमको संसारलाई निर्माण गर्न खोज्नु ‘बलिदान’ समूहको अब्बल कोसिस हो । तर, त्यही संसार निर्माण गर्न नसक्दा सेन र उनको समूहको यो मेहनत बलिदान भएको छ ।
