'कुली' र 'वार २' बिहीबारदेखि एकैसाथ प्रदर्शनमा आउने भएका छन् । एकैदिन हलमा आइपुग्ने दुई फिल्ममध्ये कसले मार्ला बाजी ?
काठमाडौँ — रजनीकान्त र आमिर खानले गर्दा चर्चामा रहेको फिल्म 'कुली' नेपाल प्रदर्शनमा आउने भएको छ । लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्म बिहीबार (साउन २९) देखि नेपाल प्रदर्शनमा आउने भएको हो ।
एक्सन विधाको 'कुली'लाई नेपालमा प्रदर्शन गर्ने जिम्मा ब्यांकटेश इन्टरटेनमेन्टले लिएको छ । प्रदर्शन अगावै उत्तर अमेरिकाको प्रिमियरमा भएको टिकट बिक्रीले यो फिल्मको चर्चा चुलिएको छ । यो फिल्मसँगै ऋतिक रोशनको 'वार २' पनि एकसाथ प्रदर्शनमा आउँदैछ । एकै मितिमा भीड्न आइपुग्ने दुई फिल्ममा कसले बाजी मार्ला ? त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
ब्यांकटेश इन्टरटेनमेन्टका वितरक मनोज राठी 'कुली' दर्शकबीच प्रतिक्षित भएकै कारण फिल्मलाई नेपालमा प्रदर्शनमा ल्याएको बताउँछन् । 'यो फिल्ममा दुई/दुई जना स्टार छ । फिल्म दर्शकबीच पनि प्रतिक्षित भएकाले नेपालमा ल्याएका हौं,'राठीले भने ।
