‘रियालिटी सो’ ले विजेतालाई किन समयमै पैसा दिदैनन् ?

‘रियालिटी सो’ का विजेताहरू किन आफूले पाउनुपर्ने पुरस्कारका लागि महिनौंसम्म धाउनुपर्ने अवस्थामा छन्? यसको पछाडि आयोजकको नियतमा खोट कि अन्य केही बाध्यता छन् ?

श्रावण २७, २०८२

रीना मोक्तान

Why doesn't 'Reality Show' pay the winner on time?

What you should know

काठमाडौँ — पर्दाभित्र जति चमकधमक देखिए पनि ‘रियालिटी सो’को 'रियालिटी' बेलाबखत बाहिरिरहन्छ। विजेता भएपछिको खुशी भन्दा पनि विजेता भएपछि पाउनुपर्ने रकम र उपहार पाउन गर्नुपर्ने संघर्षले ‘रियालिटी सो’को भव्यतालाई गिज्याइरहेको छ।

‘रियालिटी सो’ पछि पाउनुपर्ने पुरस्कारका लागि किन विजेताहरू आयोजकको पछि महिनौंसम्म कुद्नुपर्ने अवस्था आइरहेको छ ? यसका पछाडि आयोजककै केही बाध्यता छन् कि नियत ? 

पहिलो 'नेपाल आइडल' जितेका बुद्ध लामाकै कुरा सुनौं। ७ वर्षअघिको कुरा हो । कतारको दोहास्थित ग्राण्ड मलमा भव्य कार्यक्रमबीच लामा नेपाल आइडल 'सिजन वान'का विजेता घोषित भए । आयोजकले उनलाई २० लाख रुपैयाँको ठुलो चेकको प्रतिलिपि सार्वजनिक रुपमै हस्तान्तरण गरे।

सोहीदिन आयोजकसँग महिन्द्रा केयूभी १०० कार र १५ लाख बराबरको एल्बम सम्झौता समेत भयो। विजेता भएपछि उनी सबैजसो मिडिया र सामाजिक संजालमा कैयनदिनसम्म छाए। फ्यानहरूको घेराइमा कैयन दिनसम्म परिरहे । तर यो चकमधमक पछाडि उनका आफ्नै हैरानी थिए । 

उनले सुनाए, 'डेढ वर्षसम्म जीतको रकम पाउनै सकस खेप्नु पर्‍यो।' उनले  विजेता भएको केही महिना त उत्सव मनाउँदैमा बितेको अनुभव पनि सुनाए। सुरुवाति दिनमा त  उपहार रकम दिन व्यवस्थापनले आफैँ सम्पर्क गर्ला भनेर कुरेर बसेको पनि उनले बताए। तर दिनहरू बित्दै गए। तर आयोजकले सम्पर्कै गरेन।

तीन महिना बित्दासम्म व्यवस्थापनबाट केही टुङ्गोको खबर नआएपछि  उनी आफैँ रकम माग्न आइडलको अफिस पुगे । व्यवस्थापनले कार्यक्रम गरेरै रकम दिने आश्वासन दियो। तर यस्तो आश्वसनमा भर पर्दा पर्दै डेढ वर्ष बित्यो । उनले त्यसबीचमा उपहार रकम पाउन आफूले निकै दु:ख भोग्नु परेको बताए । 

लामाले जितपछि आयोजकले दिएको दु:ख सम्झिँदै सुनाए, 'खल्तीमा १/२ रुपैयाँ पनि नभएको समय थियो त्यो। अब गर्ने के त ? भन्ने थियो । दुई/चार पैसाको आस थियो, त्यही आसले पनि निराश बनायो । मैले त अति नै दु:ख पाएको हो, धेरै तनाव थियो मलाई ।'

उनले त्यतिबेला आफूलाई नयाँ गीत निकाल्ने कि  कन्सर्ट गर्ने कि भन्ने द्विविधाले सताएको र समयमै आफ्नो उपहार र पैसा नपाउँदा थप चिन्तित हुनुपरेको बताए। उनले भने, 'पैसा माग्न जाँदा कुराइदिन्थे, वास्ता पनि गर्थेनन् । धेरै नै दु:ख पाएँ । डेढ वर्ष वर्ष झुलाए । उनीहरूले अर्काको समय बुझिदिएनन्, बेवास्ता गरिदिए । जितेको रकम पनि नपाउँदा त फ्रस्टेड भइयो ।' 

जितको खुशीभित्र छटपटि बोकेर हिँडेका बुद्ध लामा प्रतिनिधि पात्र मात्रै हुन् । फरक यति मात्रै हो, यस्तो हैरानीबारे कोही मौन बसे त कसैले सहास जुटाएर बोले । गत जेठमा पोइट आइडल २ की विजेता बने,  सिक्किमकी सिमियोन सुकिता राई । त्यतिबेला राईलाई नगद १० लाख पुरस्कार रकम दिने घोषणा भएको थियो । त्यतिबेला खुशी हुँदै उपाधि चुमेका राईको हातमा अहिलेसम्म आधा रकम मात्रै परेको छ । तर उनी अहिल्यै यसबारे बोल्न चाहँदैनन् । 

२ वर्षअघि 'कमेडी च्याम्पियन २'का विजेता भरतमणि पौडेलले एक अन्तरवार्तामा कसरी पुरस्कार रकम हात पर्दा थोरै बनिसक्छ भन्ने अनुभव सुनाएका थिए । भरतमणिले विजेता भएबापत् २४ लाख रुपैयाँ पाउनुपर्नेमा १४ लाख २५ हजार मात्रै हात परेपछि आफू चकित बनेको बताएका थिए । उनले यसबारे बुझाउँदै भनेका थिए, 'धेरैलाई लाग्दो रहेछ, २५ लाख क्यास आउँछ भनेर । तर, उहाँहरूलाई थाहा छैन, लाभांस कर अनि के-के काटेर १४ लाख २५ हजार आउने रहेछ । त्यसको विधि विधान के हो, नियम कानुन के हो? कति काटिनु पर्ने थाहा थिएन मलाई ।'

नेपाल आइडल विजेता लामालाइ पनि यस्तै कुराले द्विविधा थपेको रहेछ । खासमा गाडीको कर तिर्दा बुद्धले पनि घोषित रकमबाट झन्डै आधा मात्रै पाए । २० लाख पाउँछु भन्ने सोचेका लामाले डेड बर्षपछि रकम त पाए त आधाभन्दा कम । उनले हिसाब सुनाउँदै भने, 'गाडीलाई ८ लाख कर तिर्दा लगभग ५/७ लाख मात्रै मेरो हातमा पर्‍यो।' 

हुन त यसबीच सम्झौता अनुसार लामाले १५ लाख बराबरको एल्बममा काम गरे । तर, विजेता भइ नेपाल आइडलसँग गरिएको एक वर्षको सम्झौताले पनि उनलाई निराश बनाएको छ । खासमा नेपाल आइडल जितिसकेपछि लामासहित अन्य २ विजेता (निशान भट्टराई र प्रताप दास) लाई कन्सर्टका लागि आइडलले एक कन्सल्टेन्सीसँग सम्झौता गराइदिएको थियो ।

सम्झौता अनुसार त्यो एक वर्षको दौरानमा गरिएका कामबाट केही रकम कन्सल्टेन्सीले दिने आश्वासन दिएको थियो । तर, अहिलेसम्म त्यहाँबाट 'एक सुको' पनि नपाएको बुद्ध सुनाउँछन् । उनले सुनाए, 'हामीले केही पनि पाएनौ । माग्न त कोसिस पनि गर्यौ । तर अन्य दुई साथिले बोल्नै खोजेनन, त्यसपछि उनीहरूले दिँदा पनि दिएनन् ।'  

लामा आयोजकको व्यवस्थापकिय कमजोरीले आफूले डेढ बर्ष हैरानी भोगेको नमिठो अनुभव सुनाउँछन् । भने, 'त्यतिबेला व्यवस्थापनको पनि कमजोरी थियो । अर्को त रियालिटी सो नै पहिलो वर्षमा थियो । त्यतिबेला अरुको त थाहा भएन । तर, मेरो विषयमा धेरै नै बेवास्ता व्यवस्थापन पक्षबाट भएको थियो ।' 

लामा रियालिटी सोका आयोजकहरूले तोकिएको समयमै विजेतालाई उपहार रकम प्रदान गरिदिनुपर्ने धारणा राख्छन् । 'मलाई के लाग्छ भने व्यवस्थापनले विजेतालाई समयमै उपहार रकम दिएको राम्रो । त्यसले त नयाँ प्रतिभालाई प्रोत्साहन मिल्छ । त्यसै किसिमले ग्रुमिङ पनि गर्नुपर्छ,'लामाले भने,'यसरी झुलाउनु भएन, ढिला हुन्छ भनेर खबर गरिदिनु पर्‍यो । तर, हामीले मिडियामा यसरी आफूले पाउनुपर्ने पैसा पाएनौं भन्दै हिँड्नु त मज्जा भएन । समय त सबैको महत्वपुर्ण हुन्छ नि ।' बुद्धले जस्तै भरतमणिले पनि २ वर्षअघिको उक्त अन्तरवार्तामा 'दिनुपर्ने विषय सल्ट्याइहाल्नुपर्ने' तर्क राखेका थिए । 

पोइट आइडलकै विजेताले रकम नपाएको बिषयमा बुझ्न  कान्तिपुरले  रियालिटी सोका निर्देशक अमनप्रताप अधिकारसँग फोन सम्पर्क गरेको थियो । अधिकारी आफूहरूले पछ्याउँदै आएको 'सेड्यूल'मै विजेता रकम दिँदै आएको बताए । उनका अनुसार सिमियोनलाई पहिलो र दोस्रो चरण गरेर पुरस्कार रकम प्रदान गरिनेछ । 'पोइट आइडल सिजन १ को विजेता निलम गुरुङ हुनुहुन्छ ।

उहाँले अहिलेसम्म विजेता रकम सबै पाइसक्नुभयो । उहाँको कविताको पुस्तक पनि आइसक्यो, 'अमनप्रतापले भने, 'पोइट आइडल सिजन २ को विजेता सिमियोन सुकिता राई हुनुहुन्छ । उहाँले जित्नु भएको १० लाखमा हामीले ५ लाख प्रदान गरिसक्यौं, बाँकी पाँच लाख भने उहाँको कविताको पुस्तक सार्वजनिक गर्दा दिनेछौं ।' 

अमनका अनुसार अहिले सिमियोनले पुस्तकका लागि कविता सबै यता पठाइसके । कवि विप्लव प्रतिकले उनको पुस्तकको सम्पादन सम्हाल्दैछन् । 'पुस्तक विमोचनका लागि हामी सिमियोनलाई काठमाडौं बोलाउँछौं अनि मात्रै बाँकी रकम दिनेछौं,' अमनले भने।

'नेपाल आइडल सिजन वान'का निर्देशक लक्ष्मण पौडेल यस किसिमको कार्यक्रमको आर्थिक स्रोत नै कमजोर हुने हुँदा किस्ताबन्दीमा पैसा वितरण गर्दा पुरस्कार रकम दिन ढिलाई भएको बताउँछन् । 'रियालिटी सो खासमा व्यवसायिक कार्यक्रम नै हो । कार्यक्रमबाट केही पैसा आर्जन हुन्छ । त्यही आर्जित पैसा नै जम्मा गर्दै विजेतालाई दिने भन्ने हुन्छ ।

समाज सेवा भएको भए पो घोषणा गरेकै समय पैसा पनि दिइन्थ्यो होला । सायद आफूलाई सहज बनाउनकै लागि आयोजकले किस्ताबन्दीमा पैसा दिइरहेका हुन्छन् । त्यसो गर्दा प्राइज मनी ढिला दिइन्छ,'भ्वाइस अफ नेपालका निर्देशकसमेत रहेका पौडेल सुनाउँछन् । 

लक्ष्मणले करको विषय विजेताले नबुझेकै कारण घोषित पुरस्कार भन्दा कम रकम पाउँदा चर्चा धेरै हुने गरेको बताए । उनले आयोजकले आफ्नो नियमअनुसार पुरस्कार रकम वितरण गर्दै आइरहेको बताए ।

'खासमा पुरस्कार रकम दिने कुरा कार्यक्रमकै नियमभित्र पर्छ । विजेता घोषणा गर्दा नगद नै दिन्छु अथवा किस्ताबन्दीमा दिन्छु भन्दा पनि हुन्छ । नेपालमा विजेतालाई एक वर्षसम्म सम्झौतामा राख्ने चलन छ । अरु देशमा २-५ वर्षसम्म राख्छन्,' लक्ष्मणले भने, 'ढिला हुनुको खास कारण त आर्थिक स्रोत नै हो । नेपालको अर्थतन्त्र नै कमजोर छ । आयोजकले पनि कहाँ-कहाँ खोजेर दिनुपर्ने हुन्छ । रियालिटी सो हेर्दा दर्शकले पैसा तिर्ने चलन छैन, फिल्म हेर्दा पैसा तिरिरहेका हुन्छन् । अनि रियालिटी सोले कहाँबाट ल्याएर पैसा देओस् । प्रायोजकबाट पैसा खोज्नुपर्छ ।' 

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यसअघिका दुई च्याम्पियनलाई समयमै विजेता रकम दिइए पनि आन्तरिक कलहले गर्दा तेस्रो सिजनको विजेतालाई पुरस्कार रकम दिन ढिला भएको स्वीकार्छन् । 'गत वर्षसम्म हामीले समयमै पैसा दिएका हौं । यो चोटी कम्पनीको सेयर होल्डरबीचको आर्थिक विवादले गर्दा ढिला भएको हो,'विशालले भने।

विशालका अनुसार कमेडी च्याम्पियनले पुरस्कार रकम ढिलाइ गरेको यो पहिलो पटक हो । 'सिजन वानको विजेता हिमेश पन्त र दोस्रो सिजनका विजेता भरतमणि पौडेललाई समयमै पैसा दिएका थियौं,'उनले भने,'यी दुई विजेतालाई सिजन सकिएको एक महिनाभित्रमै पैसा दिइसकेका थियौं ।'

आफूहरूले एक वर्षको सम्झौताभित्रै उपहार रकम प्रदान गर्दै आइरहेको भण्डारीको दाबी छ । आफूले नगद रकम चाँडै दिए पनि 'गाडी' हस्तान्तरणमा केही समय तलमाथि हुँदै आएको उनको तर्क छ । 

यो पटक कमेडी च्याम्पियनका 'सिजन ३'का विजेता सुनिल खड्कालाई उपहार रकम दिए पनि 'गाडी' भने दिन ढिलाइ भएको बताउँछन् । 'पैसा २० प्रतिशत दिन बाँकी छ । सम्झौता सकिने बेलामा दिन्छौ । गाडी चाँहि यही कम्पनीको विवादले गर्दा दिन ढिला भएको हो,' भण्डारीले भने ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully