बुद्ध बने पहिलो नेपाल आइडल

आश्विन ८, २०७४

कान्तिपुर संवाददाता

काठमाडौं — गायक अरुण थापा पोखराका थिए । आफ्नै सहरबासीको गीत ‘आँखाको निद खोसी लाने...’ गाउँदै ‘नेपाल आइडल’ छिरेका बुद्ध लामा अन्तत: प्रतियोगिताको विजेता बनेका छन् । शुक्रबार कतारमा भएको ग्रयान्ड फिनालेमा उनी पहिलो नेपाल आइडल घोषित भए ।

कुल ९ करोड ३१ लाख ८३ हजार ३ सयमध्ये ४ करोड ४८ लाख २ सय ६३ भोट पाएर उनी टाइटल विनर बनेका हुन् । पोखरा, नयाँबजारका लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी कार र १५ लाख रुपैयाँसहितको एल्बम कन्ट्रयाक्ट हात पारेका छन् । 
‘हजुरहरूको साथको म ऋणी छु,’ बुद्धले फेसबुकमा लेखेका छन्, ‘यो गुण कहिले पनि बिसिर्ने छैन । कुन शब्दले धन्यवाद दिऊँ तपाईंहरूलाई । हजुरहरूकै साथले गर्दा म नेपाल आइडल बन्न सफल भएँ ।’ आफूलाई भोट दिएर विजयी बनाउने फयानप्रति आफू नतमस्तक रहेको उनले बताएका छन् । उनको स्टाटसमा हजारौं कमेन्ट आएका छन् भने प्रशस्त सेयर भएको छ । ग्रयान्ड फिनालेमा विजेताको रूपमा उनको नाम घोषणा हुँदा पनि उनले भनेका थिए, ‘म अहिले होसमा छैन ।’ 
प्रतियोगितामा मोरङका निशान भट्टराई फस्ट रनर–अप बने भने ललितपुरका प्रताप दास सेकेन्ड रनर–अप भए । उनीहरूलाई क्रमश: १५ लाख र १० लाख रुपैयाँ प्रदान गरियो । विजेतालाई कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतले पुरस्कार थमाएका थिए । ‘यहाँसम्म पुग्नु नै ठूलो कुरा हो,’ श्रेष्ठले भनेका थिए, ‘यसपछिका दिन अझ चुनौतीपूर्ण हुन सक्छन् ।’
निशानले आफू नेपाल आइडल नबने पनि यसको अनुभव र दर्शकको मायाले आफूलाई जिन्दगीभरको सांगीतिक यात्रामा अगाडि बढ्ने हौसला दिएको बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हजुरहरूप्रति कृतज्ञ छु ।’ निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेको आयोजकको दाबी छ । सेकेन्ड रनर अप भएका प्रतापले चाहिँ १ करोड ३२ लाख ५१ हजार ८ सय ४१ भोट पाएको बताइन्छ । मीठो मुस्कानका लागि पनि फेमस बनेका उनले फिनालेमा नेपथ्यको ‘मै नाचेँ छमछमी...’ गाएका थिए । प्रतापले पनि आफूलाई यो लेभलसम्म ल्याइपुर्‍याइदिएकोमा आफ्ना समर्थकलाई धन्यवाद दिएका छन् । ‘तपाईंहरूको माया र साथले नै यति सम्भव भएको हो,’ उनले फेसबुक पेजमा लेखेका छन्, ‘थ्यांक यु अल ।’

कान्तिपुर

Link copied successfully