सेलिब्रिटीको व्यक्तिगत जीवन हुन्न ?

कलाकारहरूको निजी जीवनमाथि चासो बढ्दै जाँदा उनीहरूले मानसिक तनावको सामना पनि गर्नुपरेको छ, जसले आफ्नो करिअरमै असर पुर्‍याएको छ

श्रावण ९, २०८२

समर्पण श्री

Do celebrities have personal lives?

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा केही दिनअघि एउटा भिडियो क्लिपमा आँखा पर्‍यो । गायिका एलिना चौहानलाई भेट्न आफूलाई पत्रकार बताउने युट्युबरहरू पर्खिरहेका थिए ।

जथाभावी प्रश्न सोध्ने र सनसनीपूर्ण ‘कन्टेन्ट’ बेच्ने लालचमा उभिएकाहरूलाई एलिनाले जवाफ नदिई पन्छिइन् । बरु आफूले अन्तर्वार्ता दिएमा युट्युबका हेडलाइनमा पूर्वपतिको नाम जोडिएर आउँछ भन्दै व्यंग्य फ्याँकिन् । 

केही समयअघि कान्तिपुरसँगको कुराकानीमा पनि उनले यही दुखेसो पोखेकी थिइन्, ‘मलाई जुन कुराले तनाव दिइरहेको थियो । मिडिया भन्नेहरूका हरेक हेडलाइनमा त्यही मात्र जोडिएर आउँथ्यो ।’

उसो त यहाँ कलाकारिता क्षेत्रलाई मनोरञ्जनको आँखाबाट मात्र हेर्ने र तौलिने गरिन्छ । त्यसकारण कलाकारका कलाभन्दा व्यक्तिगत जीवनमा जिज्ञासुहरूको निसाना पुग्छ । अनि परम्परागत बुझाइलाई अन्तिम सत्य मानेझैं गरी भन्ने गरिन्छ- ‘सेलिब्रिटीहरूको व्यक्तिगत जीवन हुन्न !’

यही भनाइलाई शिरोधार्य गरी कलाकारका निजी जीवनलाई भ्युजको व्यापारसँग जोड्नेहरू प्रशस्तै भेटिन्छन् । यही मान्यता बोकेर आफूलाई 'मिडियाकर्मी' दाबी गर्नेहरूलाई एलिनाको त्यो व्यंग्यवाणी नै कन्टेन्ट बनिदियो । क्यामरा तेर्स्याएर बसेपछि त एलिनाले अन्तर्वार्ता दिए पनि ‘कन्टेन्ट’, नदिए पनि ‘कन्टेन्ट’ । जथाभावी हेडलाइन त उनीहरूले बनाइहाले ।

एलिनाको स्वभावमा खोट देखाएर  सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्न तम्सनेहरूको कमी भएन । रोचक त के भने, हिजो हाकाहाकी अभद्र कमेन्ट गर्नेहरू अहिले स्वाट्टै घटेका छन्, तर फेक आइडीबाटै पनि उनलाई अपाच्य गाली गर्नचाहिँ छाडेका छैनन् ।

कुरा एलिनाको मात्रै होइन, सांगीतिक क्षेत्रमा आफ्नो करिअर बनाइरहेकी गायिका समीक्षा अधिकारी पनि अतिरन्जित हेडलाइन र अभद्र कमेन्ट गर्नेहरूको निसानामा परिरहिन् । कलिला उमेरका एलिना र समीक्षा व्यक्तिगत जीवनमा अँध्यारो समयसँग जुध्दै गर्दा उनीहरूलाई हौसला र प्रेरणा दिन सकिन्थ्यो । तर आदर्श जीवनको ढोङ गर्नेहरू नै सामाजिक सञ्जालमा उनीहरूको पीडामाथि पीडा थप्न थाले । सामाजिक सञ्जालमा एउटा यस्तो तप्का देखिएको छ, जो कसैको कमजोरीमाथि केवल मजाक गर्छ र मनोरञ्जन लिन्छ । 

अरुलाई जेसुकै भन्दा र लेख्दा पनि रमाउनेहरूलाई जब तीर आफैंतर्फ फर्कन्छ, तब के हुन्छ ? त्यसको उदाहरण समीक्षा र एलिनाले केही समयअघि असभ्य कमेन्ट गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दाको घटनालाई सम्झन सकिन्छ । अरुलाई खराब टिप्पणी गरिरहेकाहरूको जब प्रोफाइल सार्वजनिक भयो, उनीहरूलाई ऐँठन पर्‍यो । गल्ती महसुस गर्दै हटाइदिन बिन्ती बिसाउन पुगे ।

त्यतिबेला उनीहरूले पक्कै महसुस गरेको हुनुपर्छ कि कसैलाई ट्रोल बनाइनाले भोग्नेलाई कति पीडादायक हुन्छ भनेर । नेपाली चलचित्र‌ वा सांगीतिक क्षेत्रमा विशेषत: महिला कलाकार बढी निसानामा पर्छन् । 

Do celebrities have personal lives?

केही वर्षयताको घटना नियाल्ने हो भने अभिनेता राजेश हमाल को ‘महानायक’ पदवी बहसमा अभिनेत्री दीपाश्री निरौलाले आफ्नो धारणा राख्दा उनी सामाजिक सञ्जालमा बहिष्कारमा परिन् । उनीमाथि थुप्रै अभद्र गाली र कमेन्ट आए । उनका व्यक्तिगत जीवनमाथि नै असर पर्नेगरी साइबर हमला भयो । दीपाश्रीले लामो समय मानसिक हिंसा खेपिरहनुपर्‍यो । कहाँसम्म भने अहिले पनि उनको फेसबुक पोस्टहरूमा केही गालीजन्य टिप्पणी आउन छाडेका छैनन् । एउटा कार्यक्रममा सामान्य ज्ञान नजानेकै कारण पूजा शर्मा निकै समयसम्म ट्रोलको सिकार बनिरहिन् ।

केही महिनाअघि पूर्वराजा र पूर्वयुवराजमाथि आफ्नो स्वस्थ विचार राखेकै कारण अभिनेत्री सुरक्षा पन्तमाथि गाली र घृणा गर्नेहरूको लर्को देखियो । कलाकारहरूको व्यक्तिगत जीवनका कुरा त झन् यहाँ ‘हट केक’ हुन्छन् । मानौं कि कसैलाई कोहीसँग जोडेर बनाइने गसिप, ब्रेकअप र डिभोर्सका समाचार त अति महत्वका सामग्रीका हुन् । यस्ता अतिरञ्जित कुराहरूले ती कलाकारहरूको मानसिक अवस्था कस्तो हुन्छ ?

अभिनेत्री रेखा थापा भन्छिन्, ‘कलाकार भन्दैमा कसको लभ पर्‍यो, कसको ब्रेकअप भयो भनेर निजी जीवनको चासो किन लिने ? व्यक्तिगत जीवनभित्र किन घुस्ने ? यो एकदम खराब प्रवृत्ति छ ।’

यी कुराहरूको असर कलाकारितामा भविष्य देखेर आएका नयाँ पुस्ताहरूमा झन् बढी देखिन्छ । टिकटकबाट उदाएकी मिस पबि अहिले कमेडी दरबारमा कमेडीसँगै फिल्ममा पनि संघर्ष गरिरहेकी छन् । सामाजिक सञ्जालहरूमा कहिले उनको व्यक्तिगत जीवनका विषयमा लेखिका अतिरञ्जित पोस्ट र रिल्स देखिन्छन् ।

आफूलाई निखार्ने प्रयास गरिरहेको समयमा अनावश्यक ट्रोल र टिप्पणीहरूले मानसिक असर पर्ने मिस पविको अनुभव छ । ‘मान्छेको व्यक्तिगत र प्रोफेसनल लाइफ फरक हुन्छ । तर पर्सनल लाइफ बिग्रे नि बिग्रियोस्, बोल्ने र टिप्पणी गर्नेहरूलाई आफू भाइरल हुनुछ,’ उनी भन्छिन्, ‘आफूले राम्रो काम गरिरहँदा पनि बिनागल्ती थ्रेट आउँदा अचम्म लाग्ने रहेछ ।’

एकपल्ट आफूलाई गाली गर्नेहरूलाई मिस पबिले मेसेज नै गरेर सोधिन्, ‘तपाईंले मलाई किन नराम्रो कमेन्ट गर्नुभएको ?’ उताबाट जवाफ आयो, ‘तपाईंको रिप्लाई आउँछ कि आउँदैन भनेर ट्राई गरेको ।’ आफ्नो भ्युज वा व्यापार बढाउन अरुको व्यक्तिगत जीवनमाथि अनावश्यक बोल्ने र टिप्पणीहरूको जमात बढेको उनको ठम्याइ छ ।

कलाकारितासँगै कन्टेन्ट क्रिएसनमा जमिरहेकी इस्टु कार्की इलामको माईपोखरीमा फोटो खिचेकै कारण ट्रोल बनिन् । फोटोलाई लिएर धेरै टिप्पणी भए । सामाजिक सञ्जालमा अहिले पनि उनका पोस्टहरूमा कामको प्रशंसा कम, असभ्य कमेन्ट गर्नेहरू ज्यादा देखिन्छन् ।

कुनै एक टेलिभिजन कार्यक्रममा बहसका क्रममा उनले दिएको एउटा अभिव्यक्तिका कारण पनि उनलाई सामाजिक सञ्जालमा पछिसम्म ट्रोल गरियो । सांगीतिक क्षेत्रमा करिअर बनाइरहेकी गायिका कमला घिमिरेका विषयमा बेलाबेला अतिरञ्जित पोस्टहरू देखिन्छन् । यस्ता किसिमका ट्रोल र अतिरञ्जित शीर्षकको सिकार उनी बनिरहेकी छिन् । कलाकारहरूको काम र सिर्जनशील पाटोमाथि बहस र आलोचना सधैं स्वागतयोग्य छ । तर बुझ्नुपर्ने कुरा यो पनि हो कि हरेकको आफ्नो निजी जीवन हुन्छ । जसको गोपनीयताको हक संविधानले सुनिश्चित गरेको छ । 

‘यस्ता घटनाहरूले यो क्षेत्रमा करिअर बनाउँछु भनेर आउन खोज्नेहरूलाई हतोत्साहित त गर्छ नै । अनि परिवारले पनि कसरी आउन दिन्छ ?’ एलिनाको चिन्ता छ । एलिनाले त यसविरुद्ध लड्नैपर्ने निर्क्यौल गरिन् । अहिले उनी ती असभ्य कमेन्ट गर्नेहरूविरुद्ध जुधिरहेकी छन् । कानुनी लडाइँ पनि जारी राखेकी छन् । ‘मेरा लागि मात्र होइन, अब आउने बहिनीहरूका लागि पनि मैले लड्नुपर्छ । ताकि अभिभावकले पनि यो क्षेत्रमा लाग्न हौसला दिउन्,’ उनको अडान छ ।

आफ्नो ठाउँमा त्यो हदको प्रहार भोग्ने अरु कोही भइदिएको भए के हुन्थ्यो होला ? समीक्षा कहिलेकाहीँ सोच्छिन् । कलिलो उमेरमा पीडामाथि थप पीडा दिँदै खराब कमेन्ट र गालीको सिकार हुनुपर्छ भनेर उनले कहिल्यै सोचेकी थिइनन् । उनले त्यसविरुद्ध लडिरहिन् । आफ्नो सिर्जनशील पाटोलाई कहिल्यै कमजोर बनाइनन् । बरु उत्कृष्ट गीतहरू गाइन् । जित्दै अगाडि बढिन् । ‘त्यही भएर म आफूलाई अहिले स्ट्रङ केटी ठान्छु,’ समीक्षा भन्छिन् ।

अभिनेत्री ऋचा शर्माले यही क्षेत्रमा डेढ दशक बिताइसकिन । अहिले पनि गाली आइरहेको देख्दा उनलाई लाग्छ, ‘गालीले हामीलाई त मानसिक र सामाजिक दबाब हुन्छ भने नयाँलाई के होला ? उनीहरूलाई हौसलाको साटो थ्रेट भइरहेको छ,’ उनी भन्छिन्, ‘हामीलाई पनि पहिला गाली आउँदा एकदमै चित्त दुख्थ्यो । तर बल्ल बुझियो कि कसैले तिमीलाई केही भनिरहेकै छ भने उसले आफ्नो स्तर देखाएको हो ।’ 

अभिनेत्री रेखा थापा आफ्नो सुरुवाती समयतिर फर्केर मूल्यांकन गर्छिन्, ’हाम्रो पालामा सोसल मिडिया थिएन । कसले के भन्छ भन्ने कुरा थाहा हुन्न थियो । त्यतिबेला सेलिब्रेटीलाई देख्नु भनेकै आजिबको कुरा थियो ।’

पहिलो फिल्म गरिरहेको बेलामा रेखामाथि एउटा आलोचकीय दृष्टिकोण लेखिएको आलेख छापियो । ‘त्यसमा मेरो अभिनयमाथिका कमजोरी औंल्याइएको थियो । त्यो आलेखले मैले आफूलाई निखार्ने अवसर पाएँ,’ रेखा भन्छिन्, 'आलोचना त स्वीकार्य छ । तर हाकाहाकी गाली किन आउँछ त ? अहिले सोसल मिडियाको समयमा जो कोही हर मान्छेको पहुँचमा हुन सक्छ । उनीहरूको गतिविधि नियाल्न सक्छ । त्यसले गर्दा यो पुस्ता नकारात्मक सोच भएका मान्छेहरूको असभ्य व्यवहारबाट ग्रसित छ ।’

यस्ता गाली, अनर्गल प्रचार र असभ्य कमेन्टबाट नयाँ पुस्ताहरू हतोत्साहित हुन नहुने रेखा र ऋचाकै धारणा छ । ‘उनीहरूले भनेको कुराबाट हतोत्साहित हुनुहुन्न । आफ्नो छवि आफैंले कमेन्ट मार्फत् धमिल्याइरहेका हुन् भनेर बुझ्नुपर्छ,’ रेखा भन्छिन् । 

ऋचा अफैंले पनि केही महिनाअघि खराब कमेन्ट र गाली गर्नेहरूको प्रोफाइल सार्वजनिक गरी उनीहरूलाई सबक सिकाएकी थिइन् ।  त्यही कारण उनी सुझाउँछिन्, ‘उसले उसको दृष्टिकोण देखाइरहेको छ । तपाईंको माइन्ड सेट होइन त्यो । यसलाई सिरियस्ली लिनु हुन्न । आफूले राम्रो गर्दागर्दै पनि आउँछ भने बरु फाइट ब्याक गर्नुपर्छ ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully