‘अब यहाँबाट पछि हटेँ भनेँ मपछिको पुस्ताले झन् धेरै सहनुपर्ने हुन्छ । कम्तीमा महिलाहरूलाई नेपालमा बाँच्न सजिलो बनाइदेलान् कि ।’
काठमाडौँ — गायिका एलिना चौहान आफूले भोगेको जीवनको अँध्यारो समयलाई स्मृतिबाट निकाल्न चाहन्थिन् र हाँस्न चाहन्थिन्, आफ्ना सिर्जनाहरूमार्फत अरूलाई हँसाउन चाहन्थिन् ।
जुन पीडा भुलेर उनी खुसी हुन खोजिरहिन्, त्यही पीडालाई समाजले पटक पटक कोट्याइरह्यो ।
उनीमाथि बारबार प्रहार भइरह्यो । केही महिनाअघि मोरङमा तय भइसकेको एक कार्यक्रमका लागि उनी तयारी गरिरहेकी थिइन् । एकदिन आयोजकले फोनमार्फत अनपेक्षित कुरा भने, ‘तिमीले डिभोर्स गर्यौ । यसले हाम्रो छोरी चेलीलाई विकृति फैलाउँछ । हामीले कार्यक्रम राख्न सकेनौँ ।’
अँध्यारो समयबाट उठेर उज्यालो दिनका प्रतीक्षा गरिरहेकी उनको आत्मसम्मानमा नराम्रोसँग ठेस पुग्यो ।सोचेकी थिइन्, व्यक्तिगत जीवनको निर्णयलाई समाजले सम्मान गर्ला । ‘तर समाजले त उल्टै यातना दिन थाल्यो,’ उनी भन्छिन् ।
उसो त आफ्नो जीवन सम्मानपूर्वक बाँच्न पाउनु हरकोहीको अधिकार हो । बिना अपराध पटक पटक यही समाजमा प्रताडित भइरहनु कस्तो विडम्बना । ‘कि गर कि मर भन्ने अवस्थामा पुगेको थिएँ म । तर किन हार्ने ? बरु यसविरुद्ध लडेर छाड्छु,’ उनले निर्णय गरिन् ।
त्यसपछि सामाजिक सञ्जालमा उनीविरुद्ध असभ्य कमेन्ट गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्न थालिन् । त्यसअघि गायिका समीक्षा अधिकारीले आफूविरुद्ध आएका असभ्य कमेन्ट गर्ने प्रयोगकर्ताको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
उनले त्यसैलाई निरन्तरता दिइन् । उनी रोकिइनन् । यही क्रममा समीक्षा र उनलाई साथ दिनेहरूको संख्या पनि बाक्लिँदै गयो । कलाकार, राजनीतिकदेखि प्रधानमन्त्रीसम्मले उनीहरूको यो कदमलाई साथ र समर्थन जनाए । त्यो समर्थनले उनीहरूलाई झन्झन् बलियो बनाउँदै लग्यो ।
प्रोफाइल सार्वजनिक गर्ने कुरामा मात्रै रोकिइनन् उनी । उनले पटक पटक असभ्य कमेन्ट र पोस्ट लेखिरहनेविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरीसमेत गरिन् । यही क्रममा उनले र समीक्षाले गृहमन्त्री रमेशसँग भेट पनि गरे ।
गृहमन्त्रीले हौसलाका साथ भने, ‘तिमीहरूले यो विषय आफ्नो लागि मात्र हैन, समाजका लागि उठाइरहेका छौ । कुनबेला कहाँ सहयोग चाहिन्छ हामी तयार छौँ ।’ बिहीबार त उनले जाहेरी दिएका गुन्जन राई पक्राउसमेत परे । बाँकीलाई प्रहरीले खोजी गरिरहेको छ । अहिले उनी आफ्नो अभियानबाट पछि नहट्ने सुरमा छिन् । ‘अब यहाँबाट पछि हटेँ भनेँ मपछिको पुस्ताले झन् धेरै सहनुपर्ने हुन्छ,’ अडानका साथ उनी भन्छिन्, ‘कम्तीमा महिलाहरूलाई नेपालमा बाँच्न सजिलो बनाइदेलान् कि ।’
सांगीतिक क्षेत्रमा लागेदेखि गाली त उनलाई पाइला पाइलामा छन् । चाहे कभर सङ हिट हुँदाको समय होस् वा कुनै विचार व्यक्त गर्दाको क्षण । एक अन्तर्वार्तामा उनले रवि लामिछानेलाई व्यक्तिगत रूपमा चिन्दिनँ भनिन् । उनीमाथि असभ्य गाली बर्सिए । जब उनले विवाह गरेको केही समयपछि पूर्वपतिसँग सम्बन्धविच्छेद गरिन् ।
त्यसपछि त उनीमाथि अनेक लाञ्छना, चरित्र हत्या र दुर्व्यवहार गर्नेको लर्को नै लाग्यो । ‘के मैले जिन्दगीभर यो सहनुपर्ने हो र ? यो त पीडामाथि पीडा थप्ने काम हो नि,’ उनी भन्छिन् ।
व्यक्तिगत जीवनको निर्णयमा पनि अनावश्यक डर खेप्नुपरेका अनुभूति गहिरो रूपमा छ एलिनासँग । उनी डिभोर्सलाई हल्लाको विषय बनाउन चाहन्न थिइन् । ‘मलाई कसैले विचरा नबनाउन् जस्तो लाग्थ्यो । दुवैलाई अप्ठ्यारो नपरोस् भन्ने लाग्थ्यो,’ उनी सुनाउँछिन् ।
जीवनको कठिन समयमा उनीसँग परिवार वैशाखी भएर उभियो । बाले सधैँ भन्थे, ‘तेरो लागि हाम्रो ढोका सधैँ खुला छ । गाह्रो पर्दा जहिल्यै बा आमालाई सम्झनू ।’ नभन्दै उनका हरेक अप्ठ्यारा समयमा बा र आमा सधैँ साथमा उभिए ।
‘जब बा र आमा अगाडि उभिन्छन् संसारै पछि लाग्यो भने पनि केही हुन्न,’ उनी भन्छिन् ।
यस्तो समय आयो, एलिनाले पटक पटक आफ्नै जीवन सकाउने सोच गरिन् । डिप्रेसनबाट गुज्रिरहेको क्षण आफैँलाई प्रश्न गरिन्, ‘मैले यो केका लागि गरिरहेकी छु ? जीवनमा थुप्रै सुन्दर कामहरू गर्न बाँकी छ ।’
त्यसपछि उनको मन अध्यात्मतर्फ मोडियो । उनले ओशोका संवादहरू सुन्न थालिन् । नेपाल आएर उनी ध्यानका लागि तपोवन पनि गइन् । ‘मलाई लाग्छ त्यतिबेला मेरो फेरि जन्म भएजस्तो भयो । सोचाइमा बिस्तारै परिवर्तन आयो,’ उनी सुनाउँछिन् ।
सोचाइको लामो सफरपछि उनले डिभोर्सको निर्णय गरिन् । त्यो निर्णय उन्मुक्त भई बाँच्नका लागि थियो । तर कार्यक्रमहरूमा स्टेजमा उक्लँदा पूर्वपतिको नामबाटै गिज्याउने, घोचपेच गर्ने काममा कमी भएनन् । चाहे आँखाअघि होस् वा सामाजिक सञ्जालका भित्तामा । ‘बारबार मलाई त्यो खाल्डोमा धकेलिरहेको छ भने मैले स्ट्यान्ड लिनैपर्छ । म मरेर हैन गरेर प्रमाणित गर्छु भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘त्यसैले यो समाज दुर्गन्धित भयो यो सफा हुनुपर्छ भनेर लागेको छु ।’
अहिले एलिनाको मन चंगा भएको छ । खराब कमेन्ट उर्लिएको खहरे सुकेझैँ स्वाट्टै सुक्न थालेका छन् । बरु उनलाई पछुतो हुन्छ– यो कुरा किन पहिल्यै गरिनँ भनेर ।
उनको कदमलाई लिएर बा–आमा गर्विलो देखिएका छन् । ‘अब हामीलाई चिन्ता छैन ।हाम्री छोरी आफ्नो लागि मात्र नभई सबै छोरीहरूका लागि बोल्न थाली,’ बा–आमा खुसीसाथ भनिरहेका छन् ।
उनी पछि यतिकै पछि हट्नेवाला छैनन् अब ।
महिला कलाकारमाथि ट्रोल र हिंसा भइरहँदा कति अभिभावक यो क्षेत्रलाई दोष दिन्छन् र छोरीहरूको सपनामा पर्खाल भएर उभिन्छन् । ‘यस्तै कारण कति छोरीहरूको त कलाकार हुने इच्छा नै मरिसकेको हुन्छ । तर म तिनै छोरीहरूका निम्ति पनि उदाहरण हुनुछ,’ उनी दृढ सुनिन्छिन् ।
