काठमाडौँ — सन् २०२४ मा भने नेपाली फिल्म क्षेत्रका निम्ति अपवादको वर्ष बनेर आयो । विगतका वर्षहरुको पाना पल्टाउने हो भने नेपाली फिल्म क्षेत्रमा एकाधबाहेक धेरै फिल्मले असफलता बेहोर्थे । तर सन् २०२४ मा भने नेपाली फिल्म क्षेत्रका लागि अपवादको वर्ष बनेर आयो । एकपछि अर्को गर्दै फिल्महरु हाउसफुल मात्रै भएनन् केहीले त सय करोड हाराहारीको ब्यापार गर्न पनि सफल भए ।
फिल्म क्षेत्रका लागि २०२४ को सुरुवात उत्साहजनक थिएन् । तर वर्षको पुछारसम्म आइपुग्दा फिल्म क्षेत्रमा बहार नै छायो ।
प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’देखि पछिल्लो बहुचर्चित सरोज पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’सम्म आइपुग्दा दर्शकहरूले सजिलै प्रक्षेपण गरिरहेका छन्, ‘नेपाली फिल्म सय करोड क्लबको नजिक छ ।’ किनकि यो फिल्मले नेपालमा मात्रै ५० करोड हाराहारीको व्यापार गरेको थियो । नेपालबाहिर पनि फिल्मले अहिलेसम्मको सबै रेकर्ड तोडेको थियो ।
कुन–कुन फिल्म रिलिज भए ?
जनवरी यता हेर्ने हो भने करिब ३ दर्जन फिल्म रिलिज भए । जनवरीमा घनश्याम लामिछाने निर्देशित फिल्म चित्रा र दीपक श्रेष्ठको पर्खी बसो तिमीलाई प्रदर्शन भए । त्यसपछि माओत्से गुरुङ निर्देशित दयारानी र सिमोस सुनुवार निर्देशित हात्तीछाप सँगै प्रदर्शनमा आए । त्यसपछि आकाश मगर निर्देशित जिग्री, मिलन चाम्स निर्देशित गुर्खा वारियर, सौरभ चौधरी निर्देशित अगस्त्य : च्याप्टर १, ज्ञानेन्द्र ओझा निर्देशित उपहार, अर्जुन सुवेदी निर्देशित रंगेली, नवल खड्का निर्देशित कााडेतार प्रदर्शनमा आए ।
त्यस्तै, प्रदीप भट्टराई निर्देशित महाजात्रा, सोभित बस्नेत निर्देशित बद्री बहादुर, रामबाबु गुरुङ निर्देशित डिग्री माइला र फिडेल देवकोटा निर्देशित द रेड सुटकेश प्रदर्शनमा आए । महाजात्रा, डिग्री माईला र रेड सुटकेशले फरक फरक स्वाद मात्रै पस्केनन, फिल्म बजारमा आशाको संचार पनि गरे ।
सुलक्षण भारती निर्देशित फिल्म बोक्सीको घर, उपेन्द्र सुब्बा निर्देशित मनसरा, दिनेश राउत निर्देशित पुजार सार्की, सुयोग गुरुङ निर्देशित फर्की फर्की, घनश्याम लामिछाने निर्देशित लण्डन टु पेरिस, अनिल मगर निर्देशित घरज्वाइा, नवीन सुब्बा निर्देशित गाउा आएको बाटो, रुपेश तामाङ निर्देशित दानवी, शंकर कोइराला निर्देशित मोदीबेनी, सुदर्शन थापा निर्देशित रावायण, आकाश बराल र साजन काफ्ले निर्देशित वेहुली फर्म मेघौली, वसन्त निरौला निर्देशित ज्वाईसाब, विराज भट्ट निर्देशित १२ गाउँ, दीपाश्री निरौला निर्देशित छक्का पञ्जा-५, जोन योञ्जन निर्देशित आँखा, सिद्धार्थ पुडासैनी निर्देशित सानो संसार, मीन भाम निर्देशित साम्बला, सरोज पौडेल निर्देशित पूर्ण बहादुरको सारंगी, चन्द्र पन्त निर्देशित ह्रस्वदीर्घ र शंकर घिमिरे निर्देशित तेल भिसालगायतका फिल्म प्रदर्शनमा आए ।
यी फिल्ममध्ये केहीले लगानी उठाएनन् भने केहीले दर्शकमा राम्रो छाप छोड्न सफल भए । बोक्सीको घरले अभिनेत्री केकी अधिकारीको उचाई मात्रै बढाएन, सामाजिक विषयमा बनाईएका फिल्म पनि चल्छन् भन्ने मानक नै स्थापित गर्यो । मनसार, छक्का पञ्जा-५ ले बजार तताए । पूर्ण बहादूरको सारंगीले त एकछत्र बजारमा राज गर्यो । मीन भाम निर्देशित साम्बला नेपाली फिल्मको उचाईलाई संसारभर पुर्यायो ।
अनपेक्षित सफलता
‘महाजात्रा’ त सिक्वेल र ठूला ब्यानरका कारण पनि सफल हुन्छ भन्ने अनुमान धेरै दर्शकलाई थियो । तर दर्शकले अनुमानै नगरेका फिल्महरूले पनि यसपटक अनपेक्षित सफलता हासिल गरे । त्यसको सुरुआत भने ‘बोक्सीको घर’बाटै भयो । त्यसयता हेर्ने हो भने अधिकांश फिल्मले सुखद् व्यापार गरे । ‘पूजार सार्की,’ ‘फर्की फर्की’, ‘घरज्वाइँ’, ‘मनसरा’, डिग्री माइला’, ‘गाउँ आएको बाटो’, ‘खुस्मा’ हुँदै ‘शाम्बाला’ लगायत कुनै पनि फिल्मले व्यापारमा निराश बनाएनन् । केहीले लगानी सुरक्षित गरे त केहीले राम्रो व्यापार । दसैंयता ‘बेहुली फ्रम मेघौली,’ ‘ज्वाईसाब’, छक्का पञ्जा-५’ र ‘१२ गाउँ’सम्म आइपुग्दा एकाधले बाहेक अनपेक्षित व्यापार गरे । ‘पूर्णबहादुरको सारङ्गी’ले त थुप्रै रेकर्ड तोड्यो ।
सबै विधामा आशा
नेपाली फिल्ममा पछिल्लो समय चलेको विधा थियो– कमेडी । कमेडीबाहेक अरू विधाका फिल्म चल्दैनन् भन्ने भाष्य सिर्जना भएको थियो । तर, यो वर्ष त्यो भाष्य तोडिएको छ । किनकि, लामो समयदेखि नेपालमा एक्सन प्रधान फिल्म चलिरहेको थिएन । तर ‘१२ गाउँ’ले बक्स अफिसमा राज गरिरहेको ‘छक्का पञ्जा’ सिरिजलाई व्यापारमा उछिन्यो । धेरैलाई लागेको थियो, ‘अब नेपालमा एक्सन प्रधान फिल्ममात्र चल्छ ।’ तर सामाजिक कथामाथि बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले दर्शक तथा विश्लेषकहरूलाई पनि चकित बनाइदियो । डार्क कथामाथि बनेको फिल्म ‘बोक्सी’को घरदेखि लिएर मौलिक कथाका फिल्महरू ‘घर ज्वाइा’, ‘गाउा आएको बाटोसम्म’ व्यावसायिक हिसाबमा सफल भए । यद्यपि, अन्तर्राष्ट्रिय फेस्टिभलमा राम्रो उपस्थिति जनाएको फिल्म ‘रेड सुटकेश’ भने व्यावसायिक हिसाबमा सफल भएन ।
‘हिरो’को चर्चा
यसपटक फिल्म क्षेत्रमा दुई अभिनेताको चर्चा भने नौलो तरिकाले भयो । फिल्म ‘१२ गाउँ’बाट डेब्यू गरेका समीर भट्ट विशेष आकर्षणका रुपमा रहे । उनको नृत्य र एक्सनको तारिफ निकै भयो । त्यसैगरी सधैं सहायक चरित्र निभाइरहेका अभिनेता विजय बरालको चर्चा ‘पूर्ण बहादुररको सारङ्गी’सँगै चुलियो । उनी नयाँ इतिहास रच्ने अभिनेताका रुपमा दरिए । फिल्ममा उनको अभिनयको चर्चा पनि निकै भयो । गएको अङ्ग्रेजी वर्षले त फिल्म क्षेत्रमा उत्साह भरिदियो । आउँदो नयाँ वर्षमा आगामी फिल्महरूको उपस्थिति कस्तो होला ? त्यो भने हेर्न बाँकी नै छ ।
