रंगमञ्चमा जुर्मुराउँदै पूर्वका तन्नेरी

पछिल्लो समय पूर्वी नेपालमा नाट्य क्षेत्र क्रमशः व्यावसायिक बन्दै गएको छ । टिकट काटेरै नाटक हेर्ने संस्कार सुरु भएसँगै आधा दर्जनभन्दा बढी समूहका रंगकर्मी सक्रिय छन् ।

आश्विन १५, २०८०

पर्वत पोर्तेल

झापा — मन्डला थिएटरमा लामो समय काम गरेका अनुभवी रंगकर्मी हुन् सिजन दाहाल । उनी पाँच वर्षयता दमकमा रंगकर्ममा सक्रिय छन् । समान सोचका केही युवासँग मिलेर दमकमा ‘कदम थिएटर’ स्थापना गरेका उनी काठमाडौं बाहिर रंगमञ्च सम्भावनाको खोजी गर्दै छन् ।

दमक नगरपालिकाले उपलब्ध गराएको जमिनमा निर्माणाधीन थिएटरमै सिजनजस्ता युवाहरू निरन्तर रंगकर्ममा खटिरहेका छन् । कदममा ‘१२ दुर्वासा’, ‘लङ टाइम नो सि’ जस्ता दर्जन बढी नाटक प्रदर्शन भइसकेको छ । कदममा शुक्रबारदेखि दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ प्रदर्शन भइरहेको छ । अघिल्लो पटक सुनील पोखरेलले निर्देशन गरेको यो नाटकलाई पथरीका युवा रंगकर्मी जीवन बरालले निर्देशन गर्दै छन् ।

काठमाडौंको शिल्पी थिएटरमा १० वर्ष काम गरेको अनुभव छ बरालसँग । कोभिडको पछिल्लो संक्रमणपछि भने उनी काठमाडौं फर्किएका छैनन् । गाउँतिरै छन् । मोरङको पथरीका बरालकै निर्देशनमा दमकको कदमसँग सहकार्य गरिरहेका छन् । पथरीमा नाट्य समूह चाहिँ छ । तर, थिएटर गर्ने प्लाटफर्म छैन । त्यही भएर उनी कदमसँग मिलेर नाट्य अभिनयदेखि निर्देशनमा व्यस्त छन् । उनले यसअघि मनबहादुर मुखियाका चर्चित नाटक ‘अनि देउराली रुन्छ’ बाट निक्कै स्याबासी कमाएका थिए । ‘त्यही हौसलाले मलाई रंगकर्ममा निरन्तर सक्रिय बन्न प्रेरित गरेको छ,’ बराल भन्छन् । अब काठमाडौं नफिर्ने निधोमा पुगेका छन् उनी । काठमाडौंमा झैं मोफसलमा पनि रंगकर्मको अत्याधिक सम्भावना देखिरहेका बरालले थपे, ‘अब गाउँतिरै बसेर नाटकमार्फत समाजलाई योगदान दिने हो ।’ 

परिवर्तन थिएटर, काँकडभिट्टाका कलाकार एञ्जल खड्काले पनि चाहेको भए काठमाडौंमै जमेर थिएटर गर्न सक्थे । तर, उनले गाउँ नै फर्किने निधो गरे । ‘काठमाडौंको भीड र कोलाहलमा हराइने रहेछ,’ खड्काले अनुभव साटे, ‘बरु गाउँ नै प्यारो ।’ शिल्पी र कौशी थिएटरबाट प्रशिक्षित खड्का यतिबेला परिवर्तन थिएटरमा नाटक ‘म्लेच्छ’ मा सक्रिय छन् । परिवर्तनकै गणेश बस्नेतले निर्देशन गरेको म्लेच्छ आगामी असोज २५ देखि काँकडभिट्टामा प्रदर्शन गर्ने तयारी भइरहेको छ । निर्देशक बस्नेत पनि एक दशकदेखि रंगकर्ममा निरन्तर सक्रिछ । केही नेपाली सिनेमामा अभिनय गरेका र असिस्टेन्ट डाइरेक्टरको अनुभव पनि सम्हालेका बस्नेतले यसअघि ‘खदामा’ र ‘बिटुलो आख्यान’ नामक दुई नाटक निर्देशन गरिसकेका छन् । 

प्रशस्त मौका पाउँदा पनि उनी कहिल्यै पनि काठमाडौं उक्लिन चाहेनन् । भन्छन्, ‘मलाई त आफ्नै ठाउँको मायाले काठमाडौं जानै दिएन ।’ पूर्वमा करिब आठ वटा जति नाटक समूह सक्रिय छन् । अहिले पाँचमध्ये चार थिएटरले नाटक प्रदर्शन तयारी गरिरहेका छन् । विराटनगरको आरोहण गुरुकुलमा नाटक जारी छ । त्यहाँ लक्ष्मीप्रसाद देवकोटाको चर्चित काव्य ‘मुनामदन’ माथि नाटक भइरहेको छ । यसलाई दीपक कटुवालले निर्देशन गरेका छन् । ‘कोभिडपछि थलिएका पूर्वका थिएटरहरू जुर्मुराउन थाल्नु राम्रो संकेत हो,’ परिवर्तन थिएटरकी नाट्य निर्देशक कविता नेपालले सुनाइन्, ‘यो महिना मात्रै पाँचवटा थिएटरहरूले आ–आफ्ना ठाउँमा एकैपटक नाटक प्रदर्शन गरिरहेका छन् ।’

 पूर्वेली रंगमञ्चको प्रशस्त क्रेज र सम्भावना हुँदाहुँदै पनि ती नाट्य समूहका दुःख अनेक छन् । सरकारको अनुदार नीतिका कारण धेरैको आफ्नै नाटक घर छैन । जसले नियमित नाटक प्रदर्शनमा समस्या हुने गरेको अनुभव छ, चेतना नाट्य समूहका कलाकार सुरेश पोर्तेलको । ‘स्थानीयदेखि संघीय सरकार सबैको रंगकर्मीप्रतिको नजरिया सकारात्मक छैन,’ पोर्तेल गुनासो पोख्छन्, ‘सरकारको थोरै सहयोग र सद्भावले पनि हामी धेरै काम गर्न सक्ने थियौं तर त्यो सम्भव भइरहेको छैन ।’ 

 चुलाचुली नाट्य समूहका कलाकार चेतन आङथुपो मोफसलमा पनि राजधानीमा झैं नाटकलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयत्नमा तल्लीन छन् । एक दशकभन्दा लामो समय उनले गाउँको रंगकर्ममा बिताइसके । लाहुरे बन्ने र विदेश गएर मनग्ये पैसा कमाउने सपनालाई त्यागेर उनी गाउँमै नाटकको विकासमा जुटेका छन् । उनी यस पटक गायक/संगीतकार गणेश रसिकको उपन्यासलाई आधार मानी तयार गरिएको नाटक ‘झोडा’ निर्देशन गर्दै छन् । ‘आकाश गंगाको ओतमुनी’ उपन्यासलाई सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेका हुन् । आङथुपोले थपे, ‘पूर्वमा पैसा तिरेर नाटक हेर्नेर् संस्कार सुरु भइसकेको छ, यसले नाटक बिस्तारै व्यावसायिक बन्न थालेको संकेत गर्छ ।’ नेपाली रंगमञ्चमा धेरै पूर्वेली रंगकर्मी सक्रिय छन् । कति काठमाडौं केन्द्रित छ भने कतिपय आ–आफ्नो थातथलो फर्किएर निरन्तर नाट्य साधनमा जुटेका छन् । संगीता उराउ, सागर खाती, सविन कट्टेल, सेविता अधिकारी, प्रकाश दाहाल, सुदिपजंग कार्की, ज्योति पोख्रेलजस्ता पछिल्लो छिमलका धेरै तन्नेरी रंगकर्ममा जुटेका छन् ।

 झापाका खाती र मोरङका कट्टेल केही वर्षअघि काठमाडौं छाडेर गाउँतिरै फर्किएका थिए । केही समय जिल्लामा काम गरेर पुनः उनीहरू राजधानीतिरै उक्लिएका छन् । ‘गाउँतिरै फर्किएर काम गर्ने योजना थियो,’ लामो समय शिल्पीमा काम गरेका अनुभवी रंगकर्मी कट्टेल भन्छन्, ‘तर, तत्कालका लागि तुहियो ।’ 

कतिपय रंगकर्मी त सिनेमातिर पनि फड्को मार्न थालेका छन् । झापाको परिवर्तन थिएटरकी उत्पादन सेविता अधिकारी कौशी थिएटरमा काम गर्छिन् । त्यही मेसोमा दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ मा उनले असिस्टेन्ट डाइरेक्टरको मौका पाइन् । निर्माणाधीन सिनेमा ‘हात्ती छाप’ मा पनि काम गर्ने अवसर पाएकी छन् । झापाकै प्रकाश दाहाल दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’ का कलाकार हुन् । लामो समय झापामा रंगकर्म गरेका दाहाल पशुपति प्रसादको सिक्वेल ‘भष्मे डन’ मा पुनः देखिँदै छन् ।

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully