नेपाली परिवार हत्याकाण्ड : प्रहरीले सार्वजनिक गर्‍यो बडी क्यामेराको फुटेज

फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो।

चैत्र ७, २०८२

सुदीप शिवाकोटी

Nepali family murder case: Police release body camera footage

What you should know

अमेरिका — अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीको मान्तुवाको एक अपार्टमेन्टमा गत फेब्रुअरी २४ सोमबार बिहान ५:१५ बजे नेपाली परिवारमा भएको विभत्स हत्याकाण्डको फुटेज सार्वजनिक गरिएको छ । फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो ।

नेपालमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ९ बासिन्दा ५४ वर्षीय छत्र थापाले गत फेब्रुअरी २४ मा आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका थिए । उनले १० इन्च लामो धारिलो हतियार (दाउ) प्रहार गरेर आफ्नी श्रीमती र छोरीको हत्या गर्दैगर्दा प्रहरी पुगेपछि प्रहरीले घटनाका क्रममा बडी क्यामेराबाट कैद गरेको थियो । घटनाको क्रममा छत्रले आफ्नी श्रीमती बिन्दा र छोरी ममताको हत्या गरेपछि ज्वाँइ सन्तोष बस्नेतले रोक्ने कोशिस गर्दा उनीमाथि पनि दाउ प्रहार गरिएको थियो । 

प्रहरीको बडी क्यामेराले कैद गरेको फुटेजमा अपार्टमेन्ट रुम रक्ताम्य देखिन्छ । छत्रले श्रीमती बिन्दा र छोरी ममताको हत्या गरेपछि आफ्ना ज्वाँइ सन्तोषको हत्या प्रयास गर्दै घुँडा टेकेर उनीमाथि दाउ प्रहार गर्दै दाउ समाएर बसेको प्रहरीले सार्वजनिक गरेको फुटेजमा देखिन्छ । प्रहरीले आत्मसमर्पण गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेर थप प्रहार गर्ने प्रयास गरेपछि एक प्रहरी अधिकारीले हत्या आरोपी छत्रमाथि पटकपटक गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा छोरी ममताको मृत्यु भइसकेको थियो । श्रीमती बिन्दा दुखाइको पीडाले चिच्याउँदै छट्पटाइरहेकी थिइन् । घटना हुँदै गर्दा सामुन्ने रुममा बस्ने महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । ती महिलाले आफ्नो रुम अगाडिबाट चिट्चिहाटको आवाज आइरहेको र ठूलै घटना भएको हुनसक्ने भन्दै प्रहरीलाई आउन अनुरोध गरेको प्रहरीले फुटेजसँगै सार्वजनिक गरेको ९११ मा फोन गरको कल रेकर्डमा सुनिन्छ ।  

घटनाक्रममा सन्तोष र ममताको १ वर्षीय छोरा अपार्टमेन्ट रुम भित्रै रहेको देखिन्छ । प्रहरीले रक्ताम्य रुमबाट बच्चालाई सकुशल उद्धार गरेको थियो । बच्चालाई चाइल्ड केयर सेन्टरमा राखिँदै आएको थियो । हाल ज्वाइँ सन्तोष उपचाररत छन् । फ्यरफ्याक्स प्रहरी डिपार्टमेन्टका प्रमुख केभिन डेभिसले घटनास्थलमै घटनाबारे सम्बोधन गर्दै प्रहरी पुग्न केही समय ढिलाइ भएको भए, सन्तोषको पनि मृत्यु हुनसक्ने बताएका थिए । उनले बच्चा सकुशल रहेकोसमेत पुष्टि गरेका थिए । प्रहरीको आदेशलाई पटकपटक अटेर गर्दा घटनास्थलमै हत्या आरोपी पुष्टि भएका छत्रलाई गोली प्रहार गर्न बाध्य भएको डेभिसले प्रतिक्रिया दिएका थिए ।

एक वर्षको अन्तरालमा अमेरिकामा नेपाली परिवारमा घटेको यो दोस्रो घटना हो । यसअघि गतवर्ष अगस्तमा टेक्सस राज्यको डालस सहरमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोराको गोली प्रहार गरेर हत्यापछि एक पुरुषले आत्महत्या गरेका थिए । ५३ वर्षीय ललित प्रधानमा आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली प्रहार गरेर हत्या गरेका थिए । ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको थियो ।

प्रहरीले अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको यो युट्युब भिडियो

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully