अमेरिकामा नेपाली परिवारमा हत्याकाण्ड : श्रीमती र छोरीको हत्या, प्रहरी कारबाहीमा मारिए आरोपी

गत वर्ष २०२५ नोभेम्बर १२ मा ग्रिनकार्ड प्राप्तपछि भर्जिनियाको फेयरक्याक्सस्थित छोरीको घरमा बस्दै आएका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी छोरी र श्रीमतीको हत्या गरेका हुन् ।

फाल्गुन १२, २०८२

सुदीप शिवाकोटी

Murder case in Nepali family in America: Wife and daughter murdered, accused killed in police action

What you should know

अमेरिका — अमेरिकाको भर्जिनिया राज्यमा नेपाली परिवारमा विभत्स हत्याकाण्ड भएको छ । स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भर्जिनियाको फेयरफ्याक्स काउन्टीको मान्तुवामा नेपाली परिवारमा एक पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् ।

गत वर्ष २०२५ नोभेम्बर १२ मा ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) प्राप्तपछि भर्जिनियाको फेयरक्याक्सस्थित छोरीको घरमा बस्दै आएका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी छोरी र श्रीमतीको हत्या गरेका हुन् ।

छत्रबहादुरले १० इन्च लामो धारिलो हतियार (दाउ) प्रहार गरेर आफ्नी ५१ बर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया ममता थापाको हत्या गरेको फियरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले जनाएको छ । फियरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे सम्बोधन गर्दै हत्यामा संलग्न रहेका आरोपी छत्रबहादुर पनि प्रहरी कारबाहीमा मारिएको बताएका छन् ।

‘घटनालगतै घटनास्थलमा प्रहरी पुग्दा हत्यामा संलग्नमा रहेका व्यक्तिको हातमा राताम्य धारिलो हतियार देखिएको र हतियार भुइँमा बिसाउन आग्रह गर्दा अटेर गरेपछि प्रहरी कारबाहीमा गोली लागेर उनको मृत्यु छ,’ फियरफ्याक्स प्रहरी प्रमुख डेभिसले भने ‘हामीले यस्तो घटनाको सामना गर्नु परेको थिएन, यो बिर्सनै नसकिने घटना हो । हामी यो घटनाबारे गम्भीर छौं । यो घटनाबारे तीव्र अनुसन्धान अघि बढाइने छ ।’

यसैगरी घटनामा छत्रबहादुरले आफ्नो ज्वाइँ सन्तोषकुमार बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए । ३५ वर्षीय सन्तोषकुमार हतियार प्रहारपछि गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते सन्तोषको हाल उपचार भइरहेको छ । उनी नेपालमा हुँदा विराटनगर निवासी थिए ।

घटनामा एक वर्षीय बालक बच्न सफल भएका छन् । प्रहरीले हालसम्म बालकको विवरण खुलाएको छैन । बालक ममता र सन्तोषका छोरा हुन् । प्रहरीका अनुसार बालकको अवस्था सकुशल रहेको र प्रहरीले उनलाई सुरक्षित अवस्थामा बालबालिका स्याहार केन्द्र (चाइल्ड केयर)लाई बुझाइसकेको छ । नेपालमा उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित रामपुर घर भएका छत्रबहादुर मानसिक रोगसम्बन्धि समस्यामा थिए । उनले लामो समयदेखि मानसिक रोगसम्बन्धि औषधिसमेत सेवन गर्दै आएको बुझिएको छ ।

घटनापछि फियरफ्याक्स प्रहरीले आफन्तबारे खोजी गरिरहेको छ । घटनाबारे राजधानी वासिङ्टन डीसीस्थित नेपाली दूतावासले समेत चासो दिएको छ । घटनालगत्तै दूतावासले आफन्तलाई सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । घटनापछि आफन्तको खोजीका लागि दूतावासले अमेरिकामा रहेका नेपाली समुदायसँग सम्बन्धित संस्थासँगै समन्वय गरिएको दूतावासकी अधिकृत जुना अधिकारीले बताइन् । कान्तिपुरसँग कुरा गर्दै अधिकारीले आफन्तको खोजी भइरहेको र घटनाबारे छिटोभन्दा छिटो आफन्तलाई आधिकारीक जानकारी दिने प्रयास गरिरहेको प्रतिक्रिया दिइन् ।

एक वर्षको अन्तरालमा अमेरिकामा नेपाली परिवारमा घटेको यो दोस्रो घटना हो । यसअघि गतवर्ष अगस्तमा टेक्सस राज्यको डालस सहरमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोराको गोली प्रहार गरेर हत्यापछि आफूले आत्महत्या गरेका थिए । ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली प्रहार गरेर हत्या गरेका थिए । ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि पनि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको थियो ।

यस्तै, २०८१ भदौमा नरेश भट्टले श्रीमती ममता काफ्लेको हत्या गरी शव लुकाएको प्रहरीले पुष्टि गरेको थियो ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully