अमेरिकामा भएको नेपाली परिवारको हत्याकाण्ड के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

यो घटनाको पृष्ठभूमि के थियो ? यसबारे विस्तृत रूपमा बुझ्न जरुरी किन देखिन्छ भने एक वर्षको अन्तरालमा अमेरिकामा नेपाली परिवारमा घटेको यस्तै प्रकृतिको दोस्रो घटना हो ।

फाल्गुन १२, २०८२

सुदीप शिवाकोटी

What is the Nepali family massacre in America? Understand in five questions and answers

What you should know

अमेरिका — आफ्नै श्रीमती र छोरीको हत्या अनि प्रहरी कारबाहीमा आरोपितको मृत्यु । भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित एक नेपाली परिवारमा भएको यो घटना किन र कसरी भयो ? यो घटनाको पृष्ठभूमि के थियो ? यसबारे विस्तृत रूपमा बुझ्न जरुरी किन देखिन्छ भने एक वर्षको अन्तरालमा अमेरिकामा नेपाली परिवारमा घटेको यो दोस्रो घटना हो । यसअघि गत वर्ष अगस्टमा टेक्सस राज्यको डालस सहरमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरामाथि गोली प्रहार गरी हत्या गरेपछि आफूले आत्महत्या गरेका थिए । यस्तै प्रकृतिको घटना २०८१ भदौमा पनि भएको थियो । उक्त घटनामा नरेश भट्टले श्रीमती ममता काफ्लेको हत्या गरी शव लुकाएको प्रहरीले पुष्टि गरिसकेको छ । फेयरफ्याक्स काउन्टीको यो घटनालाई हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं : 

अमेरिकाको कुन ठाउँमा नेपाली परिवारको हत्या भएको हो ?

नेपाली परिवारका एक पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेको यो घटना अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको मान्तुवामा भएको हो । घटनास्थल राजधानी वासिङ्टन डीसीबाट १४ माइल अर्थात् २२ किलोमिटर पर रहेको एक चर्चित सहर हो, जहाँ नेपाली समुदायको बाक्लो बस्ती रहेको छ । प्रहरीका अनुसार यो घटना स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भएको थियो । ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरेका ५० वर्षीय छत्रबहादुर थापा प्रहरी कारबाहीमा मारिएका छन् । फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे सम्बोधन गर्दै हत्यामा संलग्न रहेका आरोपी छत्रबहादुर पनि प्रहरी कारबाहीमा मारिएको बताएका छन् ।

घटनाका मुख्य आरोपी छत्रबहादुर थापा को हुन् ?
प्रहरीले यो घटनामा सूक्ष्म अनुसन्धान गरिरहेको छ । हालसम्म सार्वजनिक विवरणअनुसार छत्रबहादुर छोरीको घरमा बस्दै आएका थिए । उनी गत वर्ष अर्थात् २०२५ नोभेम्बर १२ मा ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) प्राप्त गरेका व्यक्ति हुन् । छत्रकी श्रीमती बिन्दाले पनि त्यही बेला ग्रिनकार्ड पाएकी थिइन् । छत्रको नेपालको ठेगाना उदयपुरको बेलका नगरपालिकास्थित रामपुर हो । उनी केही समयदेखि मानसिक रोगसम्बन्धी समस्यामा रहेका र लामो समयदेखि मानसिक रोगसम्बन्धी औषधिसमेत सेवन गर्दै आएको बुझिएको छ ।

यो घटना कसरी भयो ?
घटनाको यकिन कारण के थियो भनेर नखुले पनि प्रहरीले घटना कसरी भएको थियो भन्नेबारे अनुसन्धान गरिसकेको थियो । घटना हुनु केही दिन अघिदेखि छत्रबहादुरको श्रीमती बिन्दासँग विवाद हुँदै आएको थियो । प्रहरीले घटनास्थलमा रगतले लतपतिएको १० इन्च लामो धारिलो हतियार (दाउ) फेला पारेको थियो । ‘घटनालगत्तै घटनास्थलमा प्रहरी पुग्दा हत्यामा संलग्न व्यक्तिको हातमा राताम्य धारिलो हतियार देखिएको र हतियार भुइँमा बिसाउन आग्रह गर्दा अटेर गरेपछि प्रहरी कारबाहीमा गोली लागेर उनको मृत्यु भयो,’ फेयरफ्याक्स प्रहरी प्रमुख डेभिसले भने, ‘हामीले यस्तो घटनाको सामना गर्नु परेको थिएन, यो बिर्सनै नसकिने घटना हो । हामी यो घटनाबारे गम्भीर छौं । यो घटनाबारे तीव्र अनुसन्धान अघि बढाइने छ ।’

घटनापछि फेयरफ्याक्स प्रहरीले आफन्तबारे खोजी गरिरहेको छ । घटनाबारे राजधानी वासिङ्टन डीसीस्थित नेपाली दूतावासले समेत चासो दिएको छ । घटनालगत्तै दूतावासले आफन्तलाई सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । घटनापछि आफन्तको खोजीका लागि दूतावासले अमेरिकामा रहेका नेपाली समुदायसँग सम्बन्धित संस्थासँगै समन्वय गरेको दूतावासकी अधिकृत जुना अधिकारीले बताइन् । कान्तिपुरसँग कुरा गर्दै अधिकारीले आफन्तको खोजी भइरहेको र घटनाबारे छिटोभन्दा छिटो आफन्तलाई आधिकारिक जानकारी दिने प्रयास भइरहेको प्रतिक्रिया दिइन् ।

के छत्रबहादुरले श्रीमती र छोरीका अलावा अरूको पनि हत्या गर्न खोजेका थिए ?
प्रहरीका अनुसार श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरेपछि आरोपित छत्रबहादुरले आफ्नै ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए । विराटनगर निवासी सन्तोष गम्भीर घाइते भएका छन् र उनको उपचार जारी रहेको छ । घटनामा ममता र सन्तोषका एक वर्षीय छोरा बच्न सफल भएका छन् । प्रहरीले उनलाई सुरक्षित अवस्थामा बालबालिका स्याहार केन्द्र (चाइल्ड केयर) लाई बुझाइसकेको छ ।

मुख्य आरोपित छत्रको मृत्यु कसरी भयो ?
छोरी र श्रीमतीको हत्या तथा ज्वाइँमाथि प्रहार गरेको घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । अमेरिकाको कानुनअनुसार कुनै पनि हतियारधारी व्यक्तिले प्रहरी वा सुरक्षाकर्मीले हतियार भुइँमा राख्न वा फाल्न बारम्बार आग्रह गर्दा पनि अटेर गरेमा वा आक्रमण गर्ने प्रयास गरेमा प्रहरीले सिधै इन्काउन्टर (जवाफी कारबाही) गर्न पाउँछ । सोमबारको घटनामा छत्रबहादुरलाई प्रहरीले बारम्बार हतियार फाल्न आग्रह गर्दा पनि अटेर गरेपछि प्रहरीले उनीमाथि गोली प्रहार गर्दा घटनास्थलमै उनको ज्यान गएको हो ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully