यातायात व्यवस्था विभागले ८ जेठअघि भित्रिएका सार्वजनिक सवारीसाधन दर्ता खुल्ला गरे पनि अन्य नयाँ सवारीसाधन दर्ता अझै रोक्का रहने निर्णय गरेको छ ।
What you should know
काठमाडौँ — यातायात व्यवस्था विभागले परिपत्र गर्नुअघि नेपाल भित्र्याइएका नयाँ सार्वजनिक सवारीसाधन दर्ता खुला गर्ने निर्णय गरेको छ । यसका लागि विभागले सातवटै प्रदेशअन्तर्गतका मन्त्रालय, स्थानीय तहलाई सोमबार पत्र पठाएको हो ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी पत्रमा ८ जेठसम्म प्रतितपत्र (एलसी) खोली सार्वजनिक सवारीसाधन ल्याउन प्रक्रिया अघि बढाइसकेका सवारीसाधन आयातकर्ता कम्पनीलाई सम्बन्धित कागजातहरु पेस गरी दर्ता अघि बढाउन भनिएको हो ।
उक्त समयभित्र एलसी खोलेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारीसाधनहरूको कागजात हेरी सोहीअनुरूप देखिएमा ती सार्वजनिक साधन दर्ता गर्न कुनै बाधा नपर्ने व्यहोरासहितको पत्र विभागले परिपत्र गरेको करिब एक महिनापछि पठाएको हो ।
यसअघि विभागले ७ जेठमा प्रदेश यातायात मन्त्रालय र स्थानीय तहहरूलाई नयाँ सार्वजनिक सवारीसाधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो । अहिले बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतका यातायात व्यवस्था कार्यालयले भने नयाँ सार्वजनिक यातायात दर्ता नियमित रूपमै गरिरहेका छन् । तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्रअनुसार दर्ता रोक्का गरेका छन् ।
सबै नयाँ सार्वजनिक सवारीसाधन दर्ताका लागि खुल्ला गर्ने निर्णय नभएको विभागका निर्देशक भुसालले बताए । ‘सबैलाई दर्ता खुल्ला गरिएको होइन,रोक्का गर्ने निर्णय भन्दा अगाडि नेपाल आएका सवारीसाधनका लागि मात्र खुल्ला गरिएको हो,’ उनले भने, ‘८ जेठपछि भित्रिएका सवारीसाधनको हकमा केही निर्ण भएको छैन,पहिला आएका र प्रक्रियामा रहेकाहरूको हकमा मात्र यो निर्णय लागू हुन्छ ।’
वायु प्रदूषण, इन्धनको मूल्यवृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गर्नुपरेको विभागले जारी गरेको परिपत्रमा उल्लेख थियो । जुन कायमै रहेको विभागले जनाएको छ । ‘सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाइ उत्पन्न भएको छ,’ विभागले सम्बन्धित प्रदेश मन्त्रालयहरूलाई गरेको परिपत्रमा भनिएको छ, ‘इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायातमा पर्न गएको असहजता र कठिनाइ सम्बोधन गर्न सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’
सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्म तत्काल यातायात व्यवस्था ऐन २०४९ को दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएको विभागले जनाएको छ । ऐनअनुसार मन्त्रालयअन्तर्गतका कार्यालय/पालिकाबाट गरिने सार्वजनिक सवारीसाधनको समेत दर्ता रोक्का गर्न विभागले परिपत्र गरेको हो । विभागले गरेको परिपत्रमा विद्युतीय सार्वजनिक सवारीसाधनको समेत दर्ता रोक्का गर्न भनिएको छ । सार्वजनिक सवारी साधनसम्बन्धी मापदण्ड बनाएर मात्र दर्ता खुल्ला गर्ने तयारीमा रहेको विभाग स्रोतको भनाई छ ।
