उपत्यकाका ५० भन्दा बढी स्थानमा एकैपटक बर्डफ्लुको प्रकोप, चिडियाखाना बन्द

संक्रमण पुष्टि भएका फार्मका ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएका छन् । त्यस्तै लाखौं अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ ।

असार ८, २०८३

अर्जुन पौडेल

Bird flu outbreak in more than 50 places in the Valley, zoos closed

What you should know

काठमाडौँ — काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्डफ्लु फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्डफ्लु (एच फाइभ एन वान) पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ ।

'अहिलेसम्म उपत्यकामा ५० भन्दा बढी स्थानमा बर्डफ्लु फैलिइसकेको छ, यो अत्यधिक संख्या हो,' विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले भने, 'हामी नियन्त्रणको प्रयास गर्दैछौं ।' उपाध्यायका अनुसार उपत्यकाका कैयन स-साना फार्ममा पनि बर्ड फ्लु देखिएको छ । 

एभियन इन्फ्लुएन्जा भाइरसहरू ए (एच फाइभ एन वान), ए (एच नाइन एन टु), ए (एच नाइन एन एकस) आदि जसलाई बर्डफ्लु भाइरस पनि भनिन्छ । यो अत्यन्त घातक भाइरस हुन्, जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा, हाँसलगायत प्रभावित हुन्छ । 

फागुनमा पूर्वी नेपालबाट सुरु भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखानालगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ । संक्रमणबाट चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारसलगायत दर्जनौं पन्छी मरिसकेका छन् । जंगली बिरालो, सिभेटलगायत केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ । बिदाको दिन चारदेखि पाँच/हजार अवलोकन गर्न पुग्ने चिडियाखानामा अन्य दिन करिब दुई हजारले भ्रमण गर्ने गरेका थिए ।

अधिकारीहरूका अनुसार सदर चिडियाखानामा यती ठूलो मात्रामा रोग फैलिएको यो पहिलो पटक हो । 'चिडियाखाना कहिले खुल्छ भनेर हामी अहिले केही भन्न सक्ने अवस्थामा छैनौं,' चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले भने, 'हामी परिस्थितिलाई नजिकबाट हेर्दैछौं र संक्रमण थप फैलिन नदिन उपायहरू अपनाइरहेका छौं ।'

चिडियाखानामा पस्ने काग र अन्य जंगली पन्छीबाट संक्रमण फैलिएको अनुमान अधिकारीहरूको छ । जैविक सुरक्षामा भएको लापरबाहीको कारण चिडियाखानामा बर्डफ्लु फैलिएको अनुमान पशु सेवा विभागका अधिकारीहरूको छ । दर्जनौ जंगली चराहरू मरेपछि पनि अधिकारीहरूले घटना लुकाउने प्रयास गरेका आरोप लागेको थियो । 'धेरै चराहरू एकै पटक मर्न थालेपछि मात्र चिडियाखाना अधिकारीहरूले घटना सार्वजनिक गरेका थिए्,' विभागका एक अधिकारीले भने, 'प्रयोगशाला परीक्षणले भाइरस पुष्टि गरेको छ । सरकारले गठन गरेको छानबिन टोलीले प्रतिवेदन दिएपछि मात्र विस्तृत विवरण आउँछ ।'

सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पन्छी, पन्छीजन्य उत्पादन र दाना नष्ट गर्ने, स्थान सिल गर्ने र ४२ दिनसम्म आवतजावतमा रोक लगाउने गर्छ । बाँकी जंगली चराहरू वा जनावरहरूको हकमा भने कुखुरामा जस्तै नियम नलाग्ने र नमारिने अधिकारीहरु बताउँछन् ।अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मका ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएका छन् । त्यस्तै लाखौं अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ । 

विभागका अधिकारीहरुका अनुसार हालसम्म देशका कम्तीमा १० जिल्लाबाट प्रकोप रिपोर्ट आएको छ । कोशी प्रदेशमा भएको संक्रमण ए (एच नाइन एन टु) भाइरसको कारणले भएको थियो । जसले कुखुरा उद्योगमा ठूलो आर्थिक क्षति पुर्‍यायो भने काठमाडौं उपत्यकामा देखिएको भाइरस ए (एच फाइभ एन वान) हो । उनीहरूका अनुसार उपत्यकामा धेरैजसो लोकल कुखुरामा बर्डफ्लु संक्रमण फैलिएको छ । बर्डफ्लु नियन्त्रणको प्रोटोकलअनुसार संक्रमित फार्मको कुखुरा चल्ला, अण्डा, दानालागायत कुखुराको सुली नष्ट गरिसकेपछि निसंक्रमण गरेर ४२३ दिनसम्म मानिसको आवतजावत बन्द गर्नु पर्छ । तर हाल संक्रमण फैलिएको स्थान घनाबस्तीमा छ । न त निसंक्रमण राम्ररी गर्न नै सकिएको छ न मानिसहरूको आवतजावतलाई रोक्न सकिएको छ । 

रोग नियन्त्रणमा आएपछि घनाबस्ती भएका क्षेत्रमा सानो संख्यामा कुखुरा पाल्न अनुमति दिने वा नदिने विषयमा निर्णय गरिने जनाइएको छ । 'हामी सामान्यतया रोग प्रभावित फार्महरूमा कुखुरा, कुखुराजन्य उत्पादन, दाना, मल नष्ट गर्ने, क्षेत्रलाई डिसइन्फेक्ट गर्ने र कम्तीमा ४२ दिनसम्म आवतजावतमा रोक लगाउने गर्छौं,' डा. उपाध्यायले भने, 'तर अहिलेको प्रकोप सानो संख्यामा घरमै पालिएका कुखुरामा पनि देखिएको छ । त्यस्ता क्षेत्रमा सार्वजनिक आवतजावत रोक्न सम्भव हुँदैन, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ ।'

नेपालमा पहिलो पटक बर्डफ्लु संक्रमण २००९ मा देखिएको थियो । त्यसयता लगभग हरेक वर्ष यस्तो प्रकोप देखिँदै आएको छ । जसबाट लाखौं पन्छी र ठूलो मात्रामा कुखुराजन्य उत्पादन नष्ट गरिएको छ । धेरै किसानहरूले क्षतिपूर्ति नपाएकाले कुखुरा पालन नै छोडेका छन् भने कति अझै पनि राहत पाउन संघर्षरत छन् ।

अधिकारीहरूका अनुसार यो वर्ष प्रकोप सुरु भएको महिनौं बितिसके पनि प्रभावित कुखुरापालक किसानहरूको क्षतिपूर्ति रकम पाएका छैनन् ।सरकारले समयमै क्षतिपूर्ति नदिँदा संक्रमित कुखुरा बजारमा पुग्ने जोखिम बढ्ने विज्ञहरू बताउँछन् । किनकि किसानहरू घाटा कम गर्न संक्रमित कुखुरा बेचिदिन सक्छन् ।

नेपालमा बर्डफ्लुबाट सन् २०१९ एक जना मानिसको मृत्यु भएको थियो । उनी काभ्रेपलाञ्चोकका २१ वर्षीय कुखुरा ओसारपसार गर्ने ट्रकका चालक थिए । पछि उनको मृत्यु बर्डफ्लुबाट भएको पुष्टि भएको थियो ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाएमा बर्डफ्लु नसर्ने बताए । उनले कुखुरा फार्ममा काम गर्ने, ओसारपसारमा संलग्नहरु, मासु काटने र मासु पसलमा काम गर्नेहरु बर्डफ्लु संक्रमणको बढी जोखिममा हुने बताए । उनले भने, 'राम्ररी पकाएर खाँदा डराउनु पर्दैन् ।' 

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully